नाति
११ माघ २०७७
•
१२ मिनेट पाठ
नाति
मानिस आफूलाई अथवा आफ्नो शरीरका अङ्गहरूलाई हेरेर पनि रुँदो रहेछ । मानिस कति कमलो मन लिएर बाँचिरहेको हुन्छ । जीवनमा आएका कस्ता–कस्ता विपत्तिहरूका आँधीबेहेरी बेहोरियो, कष्ट खेपियो । खुइय  गरिएन । हार मानिएन । डटेर मुकाबिला गरियो, ‘रुने नामर्द म होइन’ भनियो । तर, आज अकस्मात म आफ्ना हातहरू, हत्केलाहरू र आफ्नो शरीर देखेर, हेरेर रोइरहेको छु ।  आफ्ना हातहरू, हत्केलाहरू र आफ्नो शरीर देख्दा मन अमिलिएर आएको छ । आफ्नो यस्तो वृद्धावस्था देख्दा आ“खाबाट बररर आँसुु बगिरहेको छ।




हातहरू आँखासामु छन् । चालिस वर्षअघिको बुबाको र मेरो हातमा केही अन्तर छैन, छाला चाउरिएको छ, झोलिएको छ । तन्नेरी हातको सुन्दरता हराएको छ । म बुबालाई सम्झन्छु । ऐना हेर्छु बुबाको र मेरो अनुहारमा थुप्रै समानता पाउँछु अर्थात् मेरो अनुहार पनि वृद्ध बुबाको जस्तै भएको छ । मलाई बुबाको अघोर माया लागेर आउँछ र बुबाजस्तै बूढो भएको आफूलाई सहानुभूति गर्न पुग्छु । म बूढो भएको छु । कठै, यो मेरो जीवनमा वृद्धावस्थाले पूर्णतया प्रवेश गरिसकेको छ ।

– वृद्धावस्था । वृद्धावस्थामा  शारीरिक असमर्थता र एक्लोपन जम्ल्याहाजस्ता रहेछन् ।

पुग्नुपर्ने कतै छैन, गन्तव्य छैन तर हिँडिरहनुपर्ने । पाउनुपर्ने नयाँ  प्राप्ति केही छैन, सामर्थ्य छैन तर प्रयत्नशील भइरहनुपर्ने । जीवनको अवसान नजिक पुग्न लागिएको परिस्थिति, रूप, तागत, बलबैंस,  आँट, जाँगर अथवा जीवनका सुन्दरताहरूले छाड्न लागेको अवस्था, मृत्यु नजिक पुगेको अनुभूतिले गिजोलिरहेको मन । ‘यति रमाइलो संसार छोडेर जानुपर्ने’ भन्ने भावनाले दिएको पीडा, यो संसारकै, जीवनकै चलन, रीत र नियम हो । यहाँ कोही पनि जिउँदाहरूले सदैव बाँचिचरहन पाउँदैनन् । मृत्युले सब जिउँदारूलाई निल्छ– निल्छ । मृत्युको पूर्व आभास कति पीडादायी छ, मन चसक्क दुख्छ । मर्नै पर्छ, जानै पर्छ यो धरती छाडेर । मेरा पिता मरे, आमा मरिन्, अघिल्लो पुस्ताका सबै मरिसके । अब मर्ने पालो मेरो यो वर्तमान पुस्ताको, भावी पुस्ताका लागि ठाउँ खाली गर्नै पर्छ ।

फेरि एक जन्म वा अर्को थप एक जीवन बा“च्न पाए.... म कल्पिन्छु । तर कसैले दुई जीवन बा“च्न पाएका छन् र ? म पनि डा“डाको घाम, निभ्न लागेको दियो भएको छु । मैले पनि ...जानै पर्छ ।

अजङको एकान्तले उब्जाएको परिवेशले मनमनै म मृत्युदेखि त्रसित–त्रसित भएर एक्लै मनभित्रभित्रै रोइरहेको बेला मेरो नाति ‘आ“..आ“..’ भर्खर फुट्न लागेको अष्पस्ट बोली निकाल्दै टुकुटुकु हिडेर आउँछ र मेरो काखमा लुट्पुटिन्छ । मेरो मानसिक धरातलमा देखिन थालेको कालो अँध्यारो बादल फाटेर झलमल्ल उज्यालो मेरो मनको आयतनभरि फैलिन्छ । बिर्सन्छु आÏनो वृद्धपन, एक्लोपन र नियास्रोपन र झलझली देख्न थाल्छु भावी सन्तानको प्रतिविम्वित रूप आफ्नै नातीको अनुहारमा ।

नाति ।

मेरै जीवनको क्रमिकता होइन र । मपछि छोरा, छोरापछि नाति, नातिपछि पनाति, जनाति, खनाति । मेरै जीवनको निरन्तरता मान्न थाल्छु । मेरो अन्तरकुन्तरमा चम्किलो घाम उदाउँछ। आँसु आँखामा  बिलाएर जान्छ । बुबाको रूपबाट म आफू र म आफूबाट नातिको कलिलोपनमा रूपान्तरित हुन थालेको हुन्छु थाहै नपाई । म नरहे पनि मेरो अंश, शेष वा सन्तान यस धरतीमा रहिरहनेछ । मभित्र एक प्रकारको मीठो भाव, उत्साह, प्रसन्नता र गौरव प्रस्फुटन हुन्छ ।

नाति, केही वर्ष अगाडिसम्म मलाई ‘बाजे’ भनेर बोलाएको पटक्कै मन पर्दैनथ्यो । मेरा एक जना मित्रलाई पनि त्यस्तै हुन्थ्यो रे, ‘बाजे’ सम्बोधन सुन्दा कन्सिरी तातेर आउने कुरा उनले आनो संस्मरणमा लेखेका छन् । तर। वास्तविक रूपमै नातिनातिनीहरू जन्मिसकेपछि ‘बाजे’ सम्बोधन पनि मिठासयुक्त र स्वाभाविक लाग्न थालेको छ ।

मलाई नातिनी बारम्बार भन्छे, “कोपा,कोपा  बाजे, बाजे  ” यो सम्बोधनमा एउटा साइनो छ, जसले वंशवृक्ष झ्याङ्गिदै गरेको सङ्केत दिन्छ । यसबाट म सन्तुष्ट हुन्छु । नाति जन्मेपछि त नातिनातिनीहरूको अबोध बालसंसारमा रमाउन मन पराउन थालेको छु । धेरै वर्ष अगाडिदेखि गाउन छाडेका गीतहरू फेरि लयबद्ध स्वरहरूमा तिनीहरूसँग खेल्दा स्वतः स्फूर्त रूपमा अनायास मेरा कण्ठबाट तरङ्गित हुन्छन् । म अझै गाउन सक्दो रहेछु, नातिनातिनीहरूको अबोध बालक संसारमा युवाहरूजस्तै गाउँदै नाच्न सक्छु । रमाइलो गर्छु र सम्झन पुग्छु फेरि मधुर जीवनको पुनरागमन भएको छ । नातिनातिनीहरू साँच्चै मायालाग्दा छन् ।  यसैले मानिसहरूले ‘सावाँको भन्दा ब्याजको माया’ भन्ने गरेका होलान् ।

म मेरा नातिनातिनीहरू संसारमा सबैभन्दा सुखी भएको हेर्न चाहन्छु ।  तिनीहरूलाई जब मेरा छोरा–बुहारीहरूले कुटेर रुवाउँछन्, हकार्छन्, नमीठो लाग्छ, मनमा औडाहा लाग्छ । छोरा–बुहारीलाई हकार्दै म तिनीहरूलाई काखमा खेलाएर वा बोकेर फकाउन थालिहाल्छु । तिनीहरू पनि मेरो आडभरोसा, सहारा पाएर मेरो छातीमा टाँसिन थालिहाल्छन्, त्यसबेला म सारा संसार बिर्सन्छु । आफ्नैै रोग, शोक, पीडा र आफ्नो अवस्था पनि बिर्सन पुग्छु । सम्झन्छु विश्वकै सबैभन्दा सुखी मानिस हुँ जसको कोपिलाजस्ता नातिनातिनीहरू छन् ।

समयलाई कसले पो रोक्न, छेक्न वा वशमा राख्न सकेको छ र ।  म ती मसिना नातिनातिनीहरूसँग अनन्त कालसम्म खेलिरहूँ ‘, तिनीहरू त्यत्रै रहिरहून् र हाम्रो आत्मीय रमाइलो कौतुकमय क्रिडा सदैव रहिरहोस् । तिनीहरू सधैंं मसँग खेलिरहुन् । मन आनन्दले हराभरा भइरहोस्, तर त्यस्तो हुँदैन ।

हामी बाजेबोजु तिनीहरूलाई देख्दा अघोर खुसी हुन्थ्यो । सम्पूर्ण सांसारिक दुःखकष्ट बिर्सन्थ्यो र तिनीहरूका लागि अनेकौ ‘दुःख–कष्ट झेल्न तयार थियौ । समय क्रममा मबाट मेरी मायालु पत्नी छुटिन् । तिनको देहान्तको असह्य वेदना पनि नातिनातिनीहरूको मुख हेर्दै सहे । ममाथि वृद्धावस्थाका असमर्थताका साथै विभिन्न रोगहरू थपिए । म परिवारमाझ बसेर पनि नितान्त एक्लो–एक्लो हुँदै गइरहेको छु । मेरो घरभित्रको घरमुलीको शासन, ढलीमली र हैकम पनि घट्दै गएको छ ख। मेरा सामाजिक, आर्थिक, सांस्कृतिक र राजनैतिक गतिविधि पनि स्वात्तै घटेको छ । अब प्रायः घरबाहिरका यस्ता क्रियाकलाप शून्य भएका छन् ।

कुनै–कुनै बेला साथीहरू आउने–जाने गर्थे । घरमा मेरा साथीभाइहरूको उचित मानसम्मान, र आतीथ्य हुन छाडेको छ । जसले गर्दा उनीहरू पनि आउन छाडेका छन् । म पनि साथीभाइहरू घरमा जान छाडेको छु । मलाई लाग्छ, पहिलाजस्तो मेरो पनि अरूको पाहुना हुँदा खातिरदारी, स्वागत–सत्कार हुन छाडेको छ र म आफ्नो कोठाको एकान्तमा बस्न अभ्यस्त छु ।

जाने पनि कहाँ ।  गर्नै पो के सक्छु र । म चाहन्छु–  आफूले  हाडछाला घोटेर अनेकौं दुःखसाथ हुर्काएका मेरा छोरालाई अझै हरप्रकारले मद्दत गरूँ । तर शारीरिक असक्तता बाधा भइरहेको हुन्छ । म चाहन्छु  कैयौ दशक लामो मेरो जिन्दगीको अनुभवबाट प्राप्त ज्ञान, सीप र समस्या समाधानका उपाय, सल्लाह, सुझावहरू दिएर  पारिवारिक र अन्य समस्याहरूमा सहयोगी बन्न सकूँ । तर मैले बटुलेको अनुभव, शिक्षा र सल्लाह कोही सुन्न चाहँदैनन्, ‘उहिलेको कुरा खुइले ।’ म उपयोगिताविहीन बूढा, मेरा सल्लाह–सुझाव उनीहरूलाई अनावश्यक हस्तक्षेप लाग्छ । सायद यही नै ‘जेनेरेसन ग्याप’ होला । 

घर खर्च दिन प्रतिदिन बढ्न थालेको छ । महँगीको जमाना, तैपनि केही तडकभडक गर्नै परयो । साथीभाइहरूभन्दा कम देखिनु भएन । भोजभतेर, क्लब, बिहेबटुलो, बिजुली, पानी,  टेलिभिजन च्यानल महसुल, स्कुलको शुल्क आदि अनेकौ‘ खर्चहरू । मलाई पनि थाहा छ, धानीसक्नु छैन । कुनामा बसेर टुलुटुलु हेरिरहनबाहेक म के नै गर्न सक्छु र ।

घरखर्च चलाउनेदेखि घरायसी अन्य सबै निर्णयहरू गर्दा मलाई सोधिँदैन । अब त्यस्ता विषयहरूसँग मेरो कुनै सरोकार छैन । म कोठामा बसेर  दोहोरयाईतेहेरयाई पुस्तकहरू  पढ्छु । कथा बुझ्न थालेकी नातिनी आई भने दन्त्यकथा, पञ्चतन्त्र, र इसपनीतिका कथाहरू सुनाउँछु । कथा सुनाउँदा मलाई निकै आनन्द आउँछ  । कथाको प्रवाह मेरो खोकीले बीच–बीचमा रोकिँदा भने नातिनी नियाँस्रो मान्छे ।

“कोपाको छेउमा धेरै नजा, खोकी र अरू रोगहरू सर्ला ।” बुहारीले नातिनीलाई भनेको झट्ट सुन्छु । मनमा च्वास्स बिझे पनि नसुनेझै गर्छु । प्रतिकार गर्ने सामथ्र्य मस“ग अब रहेन ।

“म घरमै बस्छु, कोपालाई छोडेर जान्न ।” चिच्याइरहेकी थिई नातिनी ।  

झोला, बक्स र केही सामानका साथ जबरजस्ती मेरी ठूली नातिनीलाई बोर्डिङ स्कुलको बोर्डसमा पठाइन्छ । त्यसको चिच्याहटले अनायासै मेरो आ“खा टलपलाउँछ, कठै। मेरो सानी साथी नातिनी पनि मसँग छुट्टिएर गई । 

नातिनीको अभाव नातिले पूरा गरिरहेको हुन्छ । ऊ मेरो कोठामा आएर बालसुलभ अनेक उपद्रोहरू गर्छ, मेरो पुरानो कापी र पुस्तक  च्यात्नु, चस्मा बिगार्नु, बिस्तारामा पिसाब फेर्नु आदि उपद्रोहरू । ती उपद्रोहरू उसँग खेल्दा, बस्दा र हाँस्दा प्राप्त हुने आनन्दको अगाडि  केही होइन । ऊ मसँग बस्छ, खेल्छ र हाँस्छ । म उसलाई अत्यधिक माया गर्छु । ऊ मसँग हुँदा सबथोक बिर्सन्छु र चाहन्छु ऊ सदैव मसँग बसिरहोस्, खेलिरहोस् । ऊसँग बस्दा मलाई अपूर्व आनन्द आउँछ, जुन आनन्द प्रत्येक बाजेहरूले मात्र अनुभव गरेका हुन्छन् । त्यो अनुभव बाजे हुने उमेरसम्म बाँचेकाहरूले मात्र प्राप्त गर्छन् । म पनि बाजे हुन पाएकोमा गौरवान्वित हुन्छु र मेरो ओठमा मुस्कान खेल्छ ।

छोरालाई बोलाएर हामी दुईको विभिन्न मुद्राका फोटोहरू खिच्न लगाउँछु । हामी दुईको ‘मूभी’ पनि उसले खिच्छ । क्यामेरामा नै ती फोटाहरू हेरेर म मक्खै पर्छु । भन्छु “यी तस्वीरहरू प्रिन्ट गरेर ल्याइदेओ ।”

“म कम्प्युटरमा ‘सेभ’ गर्छु । पछि एकैचोटि  ‘प्रिन्ट’ गरौला“ ।” छोराको जवाफ हुन्छ । तर ती तस्वीरहरू प्रिन्ट भएको मैले देख्न पाएको छैन ।

समय त बतासजस्तै, खोलाजस्तै वा समयजस्तै बगिरहेकै हुन्छ । पहिरो गएको पहाडजस्तै ओरालो लागेको मेरो वृद्धावस्था दिन–प्रंतिदिन झन्–झन् ओरालो लागिरहेको हुन्छ । म हिजोभन्दा आज, आजभन्दा भोलि झन्झन् असमर्थ, अशक्त र दयनीय बन्दै गइरहेको छु । खेल्ने, बोल्ने र हाँसखेल गर्ने साथी नहुनु बुढेसकालको बेमज्जाको स्थिति रहेछ भन्ने महसुस मेरो नाति ‘मोन्टेसोरी’को ‘प्ले ग्रुप ’ मा भर्ना भएर दिनभर उतै बस्न थालेपछि हुन थालेको छ । शनिबार छुट्टीको दिनमा मात्र केहीबेर उसँग खेल्न पाउँछु । उसँग खेल्ने मेरो लालसा पनि अधुरै हुन थालेको छ ।

एक दिन अकस्मात मेरो निम्ति नयाँ पोशाक लिएर छोरा–बुहारी मेरो कोठामा आउँछन् । मलाई  नयाँ  पोशाक ठीक भयो–भएन  लगाएर जाँच्न भन्छन् । म फुरुक्क पर्छु – मेरो पनि छोरा–बुहारीले ध्यान दिन थालेछन् । 

“वृद्धाश्रम, बालआश्रम र अस्पताल पनि भएको ‘मानव संसार’ उपयुक्त वृद्धाश्रम हो, त्यहॉ बस्ने वृद्धहरूले कुनै प्रकारको कष्ट, पीडा भोग्नु पर्दैन ।” छोरो भन्छ ।

“बुबाको थोरै आउने पेन्सनले मात्र त्यहाँ शुल्क तिरेर बस्न अपुग हुने भएकाले प्रत्येक महिनामा अपुग रकम जम्मा गर्नेछौ । सबै बन्दोबस्त मिलाएका छौं ।” बुहारी थप्छे ।

“म नोकरीको सिलसिलामा कहिले कहाँ कहिले कहाँ गइरहनुपर्ने हुन्छ । बुहारीले पनि सानोतिनो जागिर पाएकी छन् । घरमा बुबाको स्याहारसम्भार गर्ने मान्छे हुँदैन । ‘मानव संसार’ वृद्धाश्रम नै बुबाको लागि ठीक हुने फैसला गरयो । भोलिदेखि नैै बुबाले त्यहाँ बस्नुपर्छ, हामी तपाईलाई बिहानै पुरयाइदिनेछौ ।” छोराको आदेश ।

कति सजिलै भने उनीहरूले । नयाँ लुगाको अर्थ खुल्यो । म छाँगाबाट खस्छु । अब मैले पनि यो घर छोडनै पर्ने भएको छ । मेरो मान्नु र नमान्नुको कुनै अर्थ नहुने भएकैले  उनीहरूले मलाई वृद्धाश्रम पठाउने निर्णय गरिसकेका छन् । मभित्र बाह्र रेक्टर स्केलको भुइँचालो ल्याउने निर्णय सुनाएर उनीहरू बाहिर गइसकेका छन् ।

अहा, यो घर, यो कोठा , कस्तो परिश्रम गरेर आफ्नो र पत्नीको रुचिअनुसार यो घर बनाएका थियौ । यही घरमा हामीले छोराछोरी हुर्कायौ । उनीहरू आज स्वावलम्बी भएका छन् र मलाई आफ्नो निर्णय थुपार्न सक्षम भएका छन् । यो आधुनिक युगले उब्जाएको यान्त्रिक, सांस्कृतिक र सामाजिक प्रचलन हो कि । अब मैले बनाएको यो घरलाई ‘मेरो हो’ भनेर यसैमा बस्ने अड्डी कस्न सक्दिनँ । छोरा–बुहारीको आदेश शिरोपर गर्नुबाहेक मसँग अर्को उपाय छैन ।

यो मेरो घर, मेरो कोठा, मेरो पलङ । भोलिदेखि मसँग यी केही पनि रहने छैनन् । म यो घरमा हुनेछैन । कैयौं दशक सुखदुःखसाथ पत्नीसँग बिताएको यो पलङ मसँग हुनेछैन । कठै पत्नी हुँदा जस्तै पत्नीलाई मुसारेझै  कोठाका भित्ता, पलङको छेउकुना सब–सब सुमसुम्याउँछु । यात्रीले अन्तिम बेला बिदा माग्दै टिल्पिलाएको आँखाले सबैलाई हेरेझै मन अघाइन्जेल म आज कोठा, पलङ र घरका सबै चिजहरू हेर्छु । आँखाबाट आँसुको भेल बग्छ तर यो आँसुको के मूल्य छ र ।  कोठाका सबै वस्तुलाई छाम्छु, छुन्छु, म्वाइँ खान्छु, अर्धविक्षिप्तझै ती सबलाई हेरेर भावविह्वल हुन्छु । म रातभर निदाउन सक्दिनँ ,  सोच्छु— यो घर, कोठा र पलङको बास आजसम्म मात्र रहेछ ।

रातभर म मेरो र पत्नीको तस्वीर हेरेर गुनगुन कुरा गरिरहन्छु, “शोभना, यहाँको बास आजसम्म मात्र रहेछ, तिमी भाग्यमानी रहिछौ, यो कोठाको पलङमा मेरै काखमा प्राण त्याग्न पायौ । तर म तिमीले मृत्युवरण गरेको पलङमा नै मेरो पनि प्राण जाओस् भन्ने चाहन्छु । अभागी म, मेरो त्यो सानो चाहना पनि पूरा नहुने भो । ” यस्तै के–के म शोभना जीवित भएझै  उसको तस्वीरसँग रातभर कुरा गरिरहन्छु । त्यसरी कुरा नगरेको भए म बौलाउन सक्थे वा बौलाएर नै कुरा गरिरहेको हुन्छु । म भित्तामा झुन्ड्याइएको हाम्रो तस्वीर झिक्छु र भोलि आफूसँगै लैजाने निधो गर्छु र तस्वीरकी शोभनालाई भन्छु, “जहॉ मैले मेरो जीवनको अन्तिम कालखण्डमा बास पाइनँ ।  त्यहॉ हाम्रो तस्वीरको कुनै इज्जत हुनेछैन ।”

मलाई ‘डोको’ लोककथाको सम्झना आउँछ ।  बाबुले बूढो बाजेलाई डोकोमा बोकेर लगी भीरको टुप्पोबाट बाजेलाई फाल्न लाग्दा नातिले ‘डोकोचाहिँ  नफाल्नुहोला, त्यो डोको मैले पछि तपाई‘लाई फाल्न काम लाग्छ’ भनेको थियो  र त्यसले बाबुको मनमा सद्बुद्धि पलाएर बाजेको ज्यान बाँचेको थियो । त्यो कथामा जस्तै मेरो नाति पनि ठूलो भएको भए भन्थ्यो कि “कोपालाई घरमै राखौ ।”

बिहानै म नयाँ लुगा लगाएर तयार हुन्छु । बोर्डिङ स्कुल जाने मेरी नातिनीको भन्दा कम मेरा सामानहरू गाडीमा राखिसकेपछि छोरा–बुहारी पनि बस्छन् । म पनि बस्छु । फर्की–फर्की घर हेर्छु तर मेरो धीत मर्दैन । पूरै जीवन बिताएको यो घरसँग छुट्टिनुपर्दा मन भक्कानिएर आउँछ ।

मृत्युमा सबसँग छुट्टिनुपर्छ । तर,  मर्ने व्यक्ति जो मरिसकेको हुन्छ उसले कुनै पीडाबोध गर्नुपर्दैन । तर म जीवितावस्थामा नै घर, परिवार र सबसँग छुट्टिदै छु र म अग्घोर पीडाबोध गर्न विवश छु । जिउँदो भएर पनि यो एक प्रकारले मेरो मृत्यु नै हो जसले मेरो सब–सब मबाट खोसेर लगिरहेको छ । मृत्युमा झै सब मसँग छुट्टिदै छ ।

“बिदा, मलाई र मेरो परिवारलाई आश्रय दिने घर बिदा । मेरा छोरा, नाति, पनाति, जनातिहरूलाई  सुब्बेफाब्बे होस् ।” बिदा लिन लागेको मेरो मन सबैले सुन्ने गरी यी शब्दहरू फलाक्न पुग्छ ।

“छोरा, मलाई  नातिसँग बसेर खिचेको हाम्रो तस्वीर देऊ ।”

“किन चाहियो तपाईलाई ? वृद्धाश्रमको भित्तामा त्यो टाँग्ने  ठाउँ  हुँदैन । तपाईलाई भेट्न नातिनातिनीहरू आइरहनेछन् नि ।”

अब मेरो तस्वीर टाँग्ने कुनै भित्ता छैन । अब मलाई कुनै तस्वीरको खाँचो छैन । म गाडीमा बस्दै छोरालाई अन्तिम पटक सोध्छु, “साँच्चै मलाई भेट्न मेरो नाति त्यहाँ आउछ ?”
अर्को समाचार
बाजे र नाति पुस्ता बीचको सम्बन्ध: ‘आलोपालो’
२५ असोज २०८३
•
१ मिनेट पाठ
बाजे र नाति पुस्ता बीचको सम्बन्ध: ‘आलोपालो’
कथाकार रत्न प्रजापतिको ‘आलोपालो’ बालचित्रकथा प्रकाशित भएको छ। यस पुस्तकलाई बालसंसार प्रालिले प्रकाशन गरेको छ।




समय परिवर्तनशील छ र जीवन पनि परिवर्तनशील छ भन्ने मूल मर्ममा आधारित यो बालचित्रकथामा कथाकार प्रजापतिले सामाजिकीकरणमा बाजे र नाति पुस्ता बीचको सम्बन्धको महत्त्व देखाउन खोजेका छन्।

समयअनुसार नातिलाई बाजेको र बाजेलाई नातिको सहयोगको आवश्यकता पर्छ भन्ने यथार्थ यो बालचित्रकथामा निकै सरल ढङ्गले प्रस्तुत गरिएको छ।

साना बाबुनानीको रुचिलाई ध्यानमा राखेर लेखिएको यो पुस्तकले पठनको आनन्दसँगै जीवनमूलक सन्देश पनि दिनेछ। पुस्तकमा रश्मी श्रेष्ठले बनाएका कथा सुहाउँदा चित्रहरू छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस