ह्विल चेयरको फन्को
०६ फागुन २०७७
•
११ मिनेट पाठ
ह्विल चेयरको फन्को
‘दिज्यू, हजुरले नपकाउनू, म सबै भ्याइहाल्छु नि’ भाइबुहारीले भनिरहेकी छिन् । तर आज मेरो छोरोको बर्थडे हो । जन्मदिन हो । ऊ ठ्याक्कै सोर वर्षको लाग्यो ।  पन्ध्रसम्म खड्गो छ भन्थे ज्योतिषीले । अब त्यो पनि काट्यो छोराले । ऊ निकै लाठे भएझैँ लागिरहेको छ । मेरो छोरा १६ वर्षको लाग्यो । काटीकुटी त्यसकै बाउजस्तै । बलियो उस्तै । चौडा छाती । हिँड्छ उसैगरी । बोल्छ उसैगरी । उसको बाउ पढ्न कस्तो थियो कुन्नि थाहा भएन । तर मेरो छोरो पढ्छ । पढैया छ । अहिलेसम्म गुनासोे गर्ने ठाउँ दिएको छैन ।  




आज प्रेसमा फोल्डिङ गर्ने कामबाट पनि बिदा लिएँ छोराको बर्थडे भनेर । मैले ह्विलचेयरमै बसेर पुलाउ पकाएँ । आलुको अचार बनाएँ । चिकेन चिली बनाएँ । अरू कुरा भाइबुहारीले पकाइन् । बानेश्वरको सुविधानगरको भित्री गल्लीमा मेरो डेरा छ । चारैपट्टि अग्ला घरहरूका बिचमा दुई तले घरमा छ मेरो डेरा । चिसो पनि छ । अँध्यारो पनि छ । तर मेरो मन उज्यालिएको छ । तातिएको छ । म खुसी छु । त्यसैत्यसै फुर्किएकी छु । मनभरि न पेटभरि भएकी छु । चिच्याएर कराउन मन लागेको छ । आज मेरो छोराले खड्गो काटेको छ । म बसेको ह्विलचेयर पनि खुसी भएझैँ लागिरहेछ । मलाई यो ह्विल चेयर दिने संस्थालाई धन्यवाद दिइरहेकी छु । त्यही ह्विलचेयरमा बसेर परपर देखिने आकाशलाई हेरिरहेकी छु । आकाश छ्याङ्ङ छ । निलो आकाश हाँसिरहेको छ । खोई यी गुलाबका  फूलहरू, कलकल बग्ने कल्पनाको रोसी खोला पनि, निलो आकाश पनि र पारिको जंगल पनि म हाँसे मात्रै हाँस्छन् कि क्या हो ! यसअघि कहिल्यै यी हाँसेको देखेको थिइनँ।

छोराका साथीहरू आउन थालेका छन् । आफन्तहरू आउन थालेका छन् । मेरो भाइ र बुहारी पनि खुसी मारे पागल भइरहेका छन् । उच्छवास छाएको छ यो घरमा याने मेरो डेरामा । म भने ह्विलचेयरमै बसेर केही खोजिरहेकी छु । निलो आकाशभित्रबाट त्यो पापी आइहाल्छ कि जस्तो लागिरहेछ । अझै एउटा आश मरेको छैन । ऊ आइदिए मात्र हुन्थ्यो । म उसलाई धन्यवाद भन्ने थिएँ । कस्तो पापी रहेछ मलाई धन्यवाद भन्ने पनि मौकै नदिई भाग्यो । दुम लुकाएर भाग्यो । मलाई जीवनको घनघोर जंगलमा एकलै छोडेर भाग्यो । निर्दयी मोरो । ऊ आए ता हुन्थ्यो नि । कहाँ होला निर्मोही ? के गरिरहेको होला कुन्नि त्यो मान्छे ? जहाँ भए पनि उसको जय होस् ।

मेरो यो ह्विल चेयर साथी भएको छ । मलाई जहाँ पनि यसैले पुरयाउँछ । यो ह्विल चेयरले मलाई माया गरेर भन्छ– ‘निमा दिज्यू, तपाईँ जहाँ जानुस् म हजुरलाई पुरयाइदिन्छु । तपाईँले गर्न नसकेको काम के छ र दिज्यू ? तपाईँलाई कसले अपाङ्ग भन्न सक्तछ र दिज्यू । बरु सपाङ्गहरू तास खेलेर बसेका होलान् । जीवन भोगेर भागेका होलान् । दायित्व बिर्सिएर हराएका  होलान् । ती बोझ हुन् जीवनका । देशका । समाजका । समग्र विश्व र मानवजगतका । तर तपाईँले त जीवन बाँच्नुभएको छ । दायित्व निर्वाह गर्नुभएको छ । काम गर्नुभएको छ । छोरो पाल्नुभएको छ । जीवनका अस्मेल दुर्दिनहरूलाई झेलेर आउनुभएको छ । मान्छे भएर जन्मेको तपाईँको जीवन सार्थक भएको छ’तर पनि जब एकान्त आउँछ, त्यही मोरो, निर्दयी मोरो, विश्वासघाती मोराको याद आउँछ । त्यही पापीको याद आउँछ।

आज मलाई किनकिन बाबाको याद आइरहेको छ । घरबाहिर राखिएको खाटमा पल्टिरहेकी हुन्थेँ । बाबा इन्डियाको रेल कम्पनीको जागिरे । आमा मेलापात र भाइ स्कुल । यो हाम्रो घरको नियति थियो । म घस्रेर भित्रबाहिर गर्थेँ । तिघ्रामुनिको भाग चल्दैनथ्यो । हिँड्डुल गर्न सक्तिनथेँ । स्कुल जाने काम बन्द भएको थियो । म त्यसै खाटमा पल्टेर जीवनसँग टोलाएर बाँचिरहेकी थिएँ । आखिर मान्छेले बाँच्नै पर्दो रहेछ । खासमा भन्दा म मृत्यु पर्खिरहेकी थिएँ । सायद आमाबाको मनमा मप्रति के आउँथ्यो कुन्नि, कहिल्यै भन्नु भएन । मावलमा के कुरा हुन्थ्यो कुन्नि कहिल्यै बिझाउनु भएन । सायद छिमेकी र आफन्त भन्थे होला– ‘यो कुँजी बोझ भै आमाबाबुको ।  तर, मलाई लाग्थ्यो कि म कुँजी होइन । मेरा  पूरै शरीर चल्छ । म कुँजिएकी छैन।  यी खुट्टाले धोका दिएका हुन् ।  

मलाई लाग्थ्यो म किन भगवानलाई धेर भएँ । मैले विधाताको के बिगारेकी थिएँ  र मलाई यो सजाय । बिनाअपराधको सजाय भोगिरहेकी थिएँ । कहिलेकाहीं आत्महत्या गरूँ भन्ने सोच पनि आउँथ्यो । गरूँ त गरूँ, कसरी गरूँ  ! मेरो जीवन यस्तै थियो । यस्तै भोग्दै थिएँ । मान्छे भन्थे–  उस जन्मको पाप, के गर्ने भोग्नै पर्छ।

तर मैले के पाप गरेकी थिएँ न ती भन्नेलाई थाहा थियो न मलाई । न परिवेशलाई थाहा थियो न बाल्यकालमा स्कुल जाँदा खेलेको भगवती मन्दिरलाई । तर, म अभिशप्त भोग्दै थिएँ । मेरो दिसापिसाब पनि मेरो बोझ भएको थियो । कहिलेकाहीं लाग्थ्यो कि यो भगवान् नामको कुनै चिज छैन । भए सर्वव्यापी भगवान् यस्तो निर्दयी हुने थिएन । मैले सधैँ पूजा गर्ने गथेँ, भगवान् भए कृतघ्न हुने थिएन । मेरी आमा सधैँ पूजा गर्नुहुन्थ्यो । भगवानसँग सायद मेरो पापमोचनको भिख माग्नुहुन्थ्यो होला । र मलाई टीका लगाइदिनुहुन्थ्यो । म चूपचाप टीका लगाउँथेँ।

केटाकेटीमा म नाच्थेँ । तन्दुरुस्त थिएँ । ओल्लो कान्लाबाट पल्लो कान्लामा फाल हाल्थेँ । तर विधाताले के रोग पठाइदिए कुन्नि, मेरा तिघ्रा चल्न छोडे । सायद उसलाई म नाचेको मन परेन होला । म हाँसेको मन परेन होला । म चलेको मन परेन होला । म उफ्रेको रिस उठ्यो होला।

खुट्टा नचले पनि मेरो तिघ्रामाथिका भागहरू चलायमान थिए । ती बढ्दै  थिए । ती उर्लँदै थिए । ती बहकिँदै थिए । म हेरिरहेकी हुन्थेँ । देखिरहेकी हुन्थेँ । मेरा गुप्ताङ्गमा रौँ पलाउन थालेका थिए । मेरो छातीमा गुच्चाजस्तो डल्लो देखिन थालेको थियो । केही दिनपछि नै थ्याप्चो ओखरजस्तो भएर आए । र एकदिन मेरो गुप्ताङ्गबाट रगत चुहियो । मैले घरबाहिर पनि निस्कन पाइनँ । मान्छे मेरै सामुन्नेमै भन्थे– ‘कठै यो कुँजीलाई किन बैँस आएको होला ? किन प्रारब्ध यति बेइमान भएको होला ?’  मन लाग्थ्यो म समाजसँग विद्रोह गरूँ । मलाई कुँजी भन्ने मान्छेलाई भनूँ कि ए मान्छेहरू हो म कुँजी होइन । हेर मेरा दुई हात सगल्ता छन् । मेरो शरीर पूर्ण छ । ममा पनि उच्छवास छ । तर मसँग द्रविभूत हुनुबाहेक अरू केही उपाय थिएन।

म जन्मेको १६ वर्ष पुगेको थियो । आमा मन्दिर जानुभयो । आएर टीका लगाइदिनुभयो र भन्नुभयो– ‘रक्खे गर है भगवान् ।’  बाबा पनि इन्डियाबाट आउनुभएको थियो । खानेकुरा ल्याइदिनुभएको थियो । लुगाकपडा ल्याइदिनुभएको थियो । माया गर्नुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो– ‘छोरी, उता इन्डियामा भा बहुत सजिलो हुन्थ्यो । कौनै फिकर थिएन । सरकारले नै ह्विल चेयरको व्यवस्था गथ्र्यो । स्कुल पढ्न पाइन्थ्यो । यता केही छैन । यताको सर्कार पनि के सर्कार ? नासमझ सरकार । तर कौनै धन्दा नमान छोरी म अर्कोपल्ट आउँदा परिवारै उतै लैजान्छु । बडेसा’बसँग कुरा गर्छु । लैजान्छु तिमीलाई त्यसै त के छोड्थेँ म । तिमी कौनै फिकर नलेऊ है छोरी’

बाबाको यो कुरा सुन्दा मलाई आनन्द लाग्थ्यो । र्मैले ह्विलचेयर पाएर हिँडन डुल्न पाउने कुराले म हर्षित हुन्थेँ । स्कुल जान पाउने कुराले रोमान्चित हुन्थेँ । सरकारले नै व्यवस्था गर्छ भन्ने कुराले त म झन् अचम्ममा परेकी थिएँ । म मनमनै इन्डिया जान तयार भएँ । आफ्नो देश भनेर के गर्नु ? आफ्नो ठाउँ भनेर के गर्नु ? आफ्नो घर पाखो र यो रोसी खोला भनेर के गर्नु ? सरकार नै निर्लज्ज छ । कुनै व्यवस्था छैन । ह्विलचेयर भए म पनि हिँड्थेँ होला । पढ्थेँ होला । जागिर खान्थेँ होला । देशको सेवा गर्थेँ होला । तर उफ, केही थिएन । ह्विलचेयर थिएन । स्कुल थिएन । भाग्य थिएन । जीवन थिएन । म ओसारीको खाटमा बसेर आमालाई पर्खी बस्थेँ । भाइलाई पर्खिबस्थेँ । जीवन यस्तै बित्दै थियो।

बाबा जागिरमा जानुभयो । केही महिनापछि खवर आयो । बा बित्नुभएछ । बाका चाहनाहरू मरिहाले । मेरा ह्विलचेयरमा डुल्ने चाहनाहरू बाको मृत्युपछि त्यसै मरे । मेरो स्कुल पढ्ने इच्छाहरू बाको स्वर्गवासको खबर सँगसँगै मरे । दबिए । मेरो सारा पृथ्वी धसेझँ भएको थियो । आमाको राता पहिरन खोसिएको थियो । आमा घरि मलाई हेर्नुहुन्थ्यो । सायद उहाँलाई लाग्थ्यो होला कि यो छोरी म के गरूँ ? सायद भाइलाई हेर्दा केही आड लाग्दो हो । आश लाग्दो हो । भरोसा लाग्दो हो  र बाबाको नामको पेन्सन पट्टालाई कन्तुरमा सुरक्षित थन्क्याएर जीवन बाँच्ने आँट गर्नुभयो होला ।  

हाम्रो घरको मास्तिर डाँडामा सैनिक क्याम्प थियो । त्यो क्याम्पबाट घन्टाघन्टामा बज्ने घन्टीका आवाजहरू आइरहन्थे । घरिघरि ती सैनिकहरू चिच्याएको आवाज पनि आउँथ्यो । म घर बसेरै ती आवाजहरू सुन्थेँ । एकदिन आमा हाटबजार गर्न पनौती बजार जानुभएको थियो । मैले घस्रेरै घरभरिका भान्साका कामहरू गरेँ । भाँडा माझेँ । बेलुकालाई तरकारी केलाएँ । लुगा पट्याएँ । भाइ स्कुल गएको थियो । काम सकेर म घरको ओसारीकै खाटमा लेटेकी थिएँ । एउटा लर्दु आयो । उसले आफूलाई सैनिक बतायो । मैले उसलाई हेरेँ । ऊ भन्दै थियो– ‘आमाबा खोई त नानी ?’

मैले लजाएरै भनेको थिएँ– ‘आमा पनौती, बाबा इन्डिया, भाइ स्कुल ।’

उसले केही यस्तैयस्तै कुराहरू बोलेर गयो । बात मारेर गयो । हँसाएर गयो । नजिकिएर गयो । माया गरेझैँ गरेर गयो । मभने ऊ गएपछि उसलाई सम्झिन थालेँ । कस्तो कसिलो शरीर ? कस्तो मिठो बोली ? कस्तो मिहीन हँसाइ ? भगवानको कस्तो राम्रो मिलेको सृष्टि ? कस्तो काइदाको मान्छे ?

ऊ अर्को दिन पनि आयो । आमा घरमै हुनुहुन्थ्यो । आमासँग भलाकुसारी गर्यो । आमासँग पनि नजिकियो । आफन्तजस्तै भयो।

अब ऊ आमा नभएको बेला आउन थाल्यो । मलाई बिस्कुट ल्याइदिन थाल्यो । चकलेट ल्याइदिन थाल्यो । म नजिकै बस्न थाल्यो । टाउकोमा हात राख्न थाल्यो । मलाई सुम्सुम्याउन थाल्यो । मेरा लुगा त्यसै पनि अस्तव्यस्त नै हुन्थ्यो । उसले मलाई खेलाएर गयो । ऊ गयो । तर मलाई भने मिठो काउकुती लागिरह्यो । मेरो मन अधैर्य भइरह्यो । मैले ऊ आएको कुरा खोई किन हो कुन्नि आमालाई भनिनँ । अब ऊ दिनहुँ जस्तो आउन थाल्यो । आमा नभएको मौका पारेर आउन थाल्यो । भाइ नभएको बेला पारेर आउन थाल्यो ।  

दुई तीन दिन ऊ आएन । मलाई खल्लो लागिरह्यो । नियाँस्रो लागिरह्यो । किनकिन उसको सम्झना आइरह्यो । हरेक दिउँसो अनायासै मेरा आँखाहरू उसलाई खोज्न थालेका थिए । चौथो दिन ऊ फेरि आयो । हातमा एक झोला खानेकुरा बोकेर आएछ । ऊ भन्दै थियो– ‘दुई तीन दिन काजमा सिन्धुली व्यारेक गएको थिएँ’

उसले मलाई जुरुक्क बोक्यो ओसारीबाट घरभित्रको ओछ्यानमा पुर्यायो । ढोका लगायो  र मेरो लुगा खोल्न थाल्यो । मैले नाईनाई भनेँ । उसले भन्यो– ‘पगली म तिमीलाई कान्छी बनाउँछु, बिहे गर्छु के? ’

मैले उसका कुरा पत्याएँ । ऊ मलाई भोग्न थाल्यो । मलाई अप्ठ्यारो महसुस भयो । अलिअलि मिठो पीडा पनि भयो । तर ममा अचम्मको भाव देखापर्यो । म त्यसैत्यसै किन हलुङ्गो भएँ कुन्नि ? यो शरीरमा किन फुर्ति आएजस्तो भयो  । उसले जाँदाजाँदै माया गरेर गयो  । मेरो गाला चाटेरै गयो र भन्दै गयो– ‘निमा, यो कुरा कसैलाई पनि नभन है, आमालाई पनि नभन है ।’

म चुप लागेँ । आमालाई पनि भनिनँ । कसैलाई भनिनँ । ऊ बाक्लै आयो । मौका मिल्नेबित्तिकै आयो । कन्डम बोकेरै आयो । माया लिएरै आयो । मलाई लाग्न थाल्यो मेरा पनि कोही छन् संसारमा । एकदिन उसले सहवासपछि भन्यो– ‘ला, बित्यास पर्यो निमा, कन्डम त फुटेछ ।’  उसले खल्तीबाट एउटा औषधी झिक्यो र मलाई खुवायो । र फेरि भन्यो–‘नडराऊ निमा, यो औषधिले गर्भ रहँदैन’

मेरो महिना टरयो । उसलाई भनेँ । ऊ उदाश देखिन्थ्यो । तर भोग्थ्यो जान्थ्यो । अर्को महिना पनि टरेपछि उसले मलाई भन्यो– ‘निमा, कसरी हो काठमाडौँ जाने ? एवोर्सन गर्नुपर्ने भो ।’  म एकलै आमाको स्वीकृति बेगर काठमाडौँ जाने सम्भव थिएन । मैले आमालाई आफू पर नसरेको कुरो सुनाएँ । ऊ आयो  र आमासँग मलाई बिहे गर्ने आश्वासन दिएर गयो । त्यसपछि १५ दिन भयो ऊ आएन । एक महिना भयो ऊ आएन । मेरी आमा छटपट गर्न थाल्नुभयो । आमा क्याम्पमा पुग्नु भो । तर, ढोकामा उभिएको मयुरप्वाँखेले आमालाई भनेछ– ‘ए त्यो हर्के ? त्यो त सरुवा भएर गयो । खोई कहाँ गयो कुन्नि ? मलाई थाहा छैन ।’

सैनिक क्याम्पभित्र हाम्रो उजुरी गर्ने सामथ्र्य थिएन । म बान्ता गर्न थालिसकेकी थिएँ । अमिलो खान थालिसकेकी थिएँ । आमाले हेल्थपोस्टको डाक्टरलाई बोलाएर ल्याउनुभयो । उसले मलाई जाँच्यो र भन्यो– ‘अब धेरै ढिलो भइसक्यो । जन्मन दिनू । आफ्नो भाग्य लिएरै आउँछ । खान्छ ।’

गाउँमा हामीलाई सबैले हेला गर्न थाले । आमाले मलाई मामाघरमा पुर्याइदिनु भयो । जोरपाटीमा पुर्याइदिनुभयो । शहरमा अलि चियोचर्चो कम हो कि जस्तो लाग्यो ।  

मैले छोरो पाएँ । त्यही छोराको आज बर्थडे हो।

आमा बितेको बाह्र वर्ष भयो । आमा थला परेपछि बेस्सरी रुनुभएको थियो । उहाँ एकोहोरो भन्नुहुन्थ्यो– ‘ठुली, अब म बाँच्दिनँ । पक्कापक्की बाँच्दिनँ । मेरो मनले हरेस खाइसकेको छ । सपनीमा पनि तेरो बाबालाई देख्छु । जहिले पनि ‘आऊ सानू यतै आऊ भन्नुहुन्छ ।’ 

उहाँले भाइलाई बोलाउनु भयो र भन्नुभयो– ‘बाबु छोरा, यो दिदी छे । यसको भगवान पनि आफ्ना भएनन् । एउटा नाति छ । त्यसले पाल्ला । मैले कुशेश्वर महादेवसँग भाकल गरेकी छु । यो नातिका लागि, तेरी दिदीका लागि । यो नातिले १५ वर्ष काटेपछि लाखबत्ती बालेस् । तैँले यो दिदीको माया गरेस् । सहारा बनेस्, त्यो नातिको संरक्षक भएस् । भावी भएस् ।’

त्यो रात हामी सबै बेस्सरी रोयौँ । भोलिपल्ट बिहानै आमाको चोला उठेको थियो । 

म बरन्डामा बसेर सोचिरहेकी छु । संस्थाले मलाई यो ह्विलचेयर नदिएको भए ? यो जागिर नदिएको भए ? यो उत्साह,  जिन्दगी बाँच्ने साहस  र सहारा नदिएको भए ? तर दियो । र म अहिले समयको तिरमा बसेर आमालाई सम्झिरहेकी छु । बाबालाई सम्झिरहेकी छु । मलाई ह्विल चेयरमा देखेर बाबा कति खुसी हुनुहुन्थ्यो होला ? मेरो  जवान छोरा देखेर कति पुलकित हुनुहुन्थ्यो होला । आमाबाबालाई सम्झेर म भावविह्वल भएकी छु । सम्झिरहेकी छु, मेरा बाबाले मलाई तिरस्कार गरेको भए म के गर्थेँ होला ? आमाले ‘अलच्छिनी’ भनेर निकालिदिएको भए म गर्थेँ होला ? भाइले र बुहारीले हेपेर गलहत्याएको भए म के गर्थेँ कुन्नि ? ठुलो उकालो हिँडिसकेपछिको थकाइ लागेको छ मलाई । मेरा दिमागभरि मेरो विगत आइरहेको छ । छोरोले बोलाएको सुने– ‘आमा’ । उसको स्वर उसकै बाउको जस्तो लाग्यो । बरन्डाबाट हेरेँ । परपर पहाड देखियो । फेरि हेरिरहेकी छु कि कहीँ त्यो पापी आइहाल्छ कि ? । म रोइरहेकी रहिछु । छोराले आएर कसिलो अँगालो हाल्यो उसको बाबुले जस्तै । मैले डाँडाको पारिपट्टि शीतल चन्द्रमा उदाएको देखेँ ।  
अर्को समाचार
शिखर यात्रामा डा.पुष्करराज भट्ट
२२ वैशाख २०८१
•
२ मिनेट पाठ
शिखर यात्रामा डा.पुष्करराज भट्ट
लघुकथा सर्जक डा.पुष्करराज भट्ट आफ्नो पाँचौ लघुकथासंग्रह शिखर यात्रा लिएर बजारमा आएका छन्। उनी लामो समयदेखि नेपाली साहित्य सिर्जना, समालोचना, अनुवाद एवं सम्पादनको क्षेत्रमा सक्रिय छन्। भाषा आयोग, नेपालको सदस्य डा.भट्टका हिन्दी, डोट्याली र थारु भाषामा पनि लघुकथा प्रकाशित हुँदै आएका छन्। 




भुँडीपुराण प्रकाशन, बागबजार, काठमाडौंले बजारमा ल्याएको यस लघुकथासङ्ग्रहमा ५१ लघुकथा समावेश छन्। यी लघुकथाको लेखन काल विसंं २०६५ देखि २०८० सम्म रहेको छ। उनका लघुकथामा सामाजिक विकृति-विससङ्गतिप्रति आलोचना पाइन्छ। उनका लघुकथामा बदलिंदो सामाजिक अवस्थाको चित्रण पाइन्छ। यी मानिसका अहङ्कार, उच्छृङ्खलता र स्वार्थीपनाप्रति आलोचना पाइन्छ।

त्यस्तै उनका लघुकथामा गणतन्त्रकालीन राजनीतिक परिदृश्य पाइन्छ। राजनीतिमा इमान्दारिता, स्वतन्त्रता र प्रतिबद्धता गुमेको, देश र जनताको पक्षमा काम नभएको, राजनीतिमा देश र जनता माथि हुनुपर्नेमा व्यक्तिगत स्वार्थले सर्वोच्च स्थान पाएको अवस्था वर्णन गरिएको छ।

यी रचनामा देशको शिक्षा, स्वास्थ्य, साहित्य कला क्षेत्रमा देखिएका विसंगत यथार्थको प्रस्तुति, विकृतिको आलोचना एवं व्यङ्ग्य पाइन्छ।

उनका लघुकथाको शैली सरल हुनुका साथै संवादको प्रयोग पाइन्छ। उनका लघृकथामा जनपक्षीय स्वर पाइन्छ। उनका लघुकथाका पात्र निम्न एवं निम्नमध्यम वर्गका छन्। आम मानिसको जीवनको सङ्घर्ष र सफलता यी लघुकथाको मूल पक्ष बनेर आएको छ।

वरिष्ठ समालोचक एवं लघुकथा सर्जक प्राडा कपिल लामिछानेले भूमिकामा नेपाली लघुकथाका क्षेत्रमा डा. पुष्करराज भट्टको योगदानको चर्चा गरेका छन्। उनले भट्टलाई समालोचक प्राडा दयाराम श्रेष्ठले लघुकथाका तपसीका रुपमा विशेषण दिएको सन्दर्भलाई उल्लेख गरेका छन्।

शिखर यात्रा लघुकथा कृतिका अधिकांश लघुकथाको भावमूल्यको विश्लेषणका साथै समग्रमा कृतिको मूल्याङ्कन गर्दै एउटा जिम्मेवारीका साथ सिर्जना गरिएको लघुकथाको सङ्ग्रह भएको बताएका छन्।

लघुकथाको समूचित आयाम, बाह्य र आन्तरिक दृष्टिबिन्दुको प्रयोग, सरल, वर्णनात्मक र नाटकीय शैलीका कारण यी लघुकथा पठनीय एवं सम्प्रेष्य छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
रमितेखोलो
रमितेखोलो
टङ्क भट्टराई टङ्क भट्टराई • · २१ वैशाख २०८१ · ११ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस