योग चित्तवृत्ति निरोध
२९ फागुन २०७७
•
११ मिनेट पाठ
योग चित्तवृत्ति निरोध
योग शब्द मूलतः संस्कृत शब्द हो। नेपालीमा यो तत्सम शब्दका रूपमा आएको छ। यो शब्दको बनोट संस्कृतको युुज् धातुबाट भएको हो। यसका अलग अलग अर्थ छन्– समाधि, योग र संयमन। योग शब्दको पहिलो रूप ऋग्वेदमा पाइन्छ। त्यसपछिको प्रयोग यजुर्वेदमा पाइन्छ। वेदपछि उपनिषदमा योग शब्द पाइन्छ। वैदिक युगमा योग शब्दको अर्थ तप, स्वाध्याय तथा ईश्वरप्रणिधानलाई मानिन्थ्यो। योग शब्दको अर्को नाम क्रियायोग पनि हो।




योगको इतिहास लामो छ। योगमा शवलाई शिव बनाउने शक्ति विद्यमान रहेको पाइन्छ। योगको इतिहास हेर्ने हो भने भगवान् शिवलाई ईश्वरतत्व मानिएको छ भने पार्वतीलाई मायातत्व। पार्वती भगवान् शिवबाट योगज्ञान प्राप्त हुनुपूर्व मायाछन्न हुनुहुन्थ्यो, तर शिवबाट योग प्राप्त गरेपछि मायामुक्त भएर कहिल्यै नछुट्टिने गरी एकाकार हुनुभयो, अर्धनारीश्वरका रूपमा। यसको लगत्तै द्वापर युगमा भगवान् कृष्ण योगेश्वरका रूपमा आएको देखिन्छ। कृष्णले योगलाई कर्मयोग र क्रियायोगका रूपमा विकसित गरिदिनुभयो। यसका साथै भगवान् कृष्णले योगलाई साङ्ख्ययोग र क्रियायोगलाई भिन्न रूपमा नबुझून् भनेर अर्जुनलाई गीताका माध्यमबाट सचेत गराउनुभयो।

यत् साङ्ख्यैः प्राप्यते स्थानं तद् योगैरपि गम्यते।

एकं साङ्ख्य. योगं च य पश्यति स पश्यति (गीता,५ः५)

ज्ञान योगले जुन स्थान मिल्दछ, त्यही निष्काम कर्मयोगबाट पनि मिल्दछ। जसले ज्ञानयोग र कर्मयोगलाई यथार्थ देख्दछ, त्यसले यथार्थ देखेको हुन्छ। त्यसकारण निष्काम कर्मयोग पनि ज्ञानयोगको समान हो भन्ने कुरालाई कृष्णले बताएका छन्।

‘श्रुर्तिविभिन्नाः स्मृतयो विभिन्नाः’ भनेजस्तै योग पनि देश, काल समय भेदले विभिन्न रूपमा परिवर्तित हुँदै आएको देखिन्छ। जस्तैः ज्ञानयोग, कर्मयोग, भक्तियोग, तपोयोग, जपयोग, मनोयोग, सन्न्यासयोग, अध्यात्मयोग, तन्त्रयोग, मन्त्रयोग लययोग, हठयोग आदि। आचार्य पतञ्जलीले योगलाई समाधिपाद, साधनपाद, विभूतिपाद र कैवल्यपाद गरी चार भागमा वर्गीकरण गरेका छन्। पादको अर्थ गोडा हो। घर चार सुरमा अडिएको हुन्छ। धर्म चार पाउमा अडिएको हुन्छ। महर्षि पतञ्जलीको योगसूत्रले पनि चार पाउमा समग्रता पाएको देखिन्छ। सामान्यतः कुनै कर्म गर्दा मनोयोगमा एकाग्रता भएन भने त्यसको उचित फल प्राप्त हुँदैन। कुनै पनि कामलाई मनोयोगले पूर्णता दिने गरेको हुन्छ। मनोयोगमा पूर्णता भएन भने मानवले गर्ने सबै काममा विघ्न उपस्थित हुने गरेको पाइन्छ। भान्सामा दूध उम्लनु, दाल तरकारीमा नुन नहाल्नु– मनोयोगमा देखापरेका विचलन हुन्।

योगले मानवीय भावनालाई गहिराइमा लगेर राखेको देखिन्छ। पश्चिमा जगत्का मानिस भोगबाट योगमा फर्केका छन्। हामी योगबाट भोगमा आसक्त बनेका छौँ। यही आसक्तिलाई मेटाउन अघि बढेको हो, योग। आजको शिक्षा शिक्षा मात्र भयो, विद्या हुन सकेन।
योगले कैवल्य मुक्तिलाई विशेष महत्वका साथ हेरेको हुन्छ। कैवल्य मुक्ति चाहने र ब्रह्मानन्द प्राप्त गर्न चाहने साधकले सर्वप्रथम आफूलाई सत्वगुणी बनाउन अत्यन्त आवश्यक मानिन्छ। तमोगुणी साधनाले कहिले पनि कैवल्यमक्ति प्राप्त हुँदैन। त्यसलाई यम भनिएको हुन्छ। अहिंसा, सत्य, अचौर्य, ब्रह्मचर्य र सीमित सङ्ग्रह कैवल्य मुक्तिका केन्द्र मानिएका छन्। योगसाधकले पालना गर्ने पाँच नियम रहेका छन्– शौच, सन्तोष, स्वाध्याय, ईश्वरप्रणिधान अर्थात् शरणागति। यमनियमको पालनाबिना आशनमा स्थिरता आउँदैन। आसनको स्थिरता योगको एउटा स्वरूप मानिएको पाइन्छ।

उपनिषद् भन्छ मानव जीवनको सबैभन्दा महत्वपूर्ण लक्ष्य आनन्द हो। आनन्दले मानिसलाई जीवनदायक स्वरूपमा गणना गरेको हुन्छ। त्यसैले मानिस बाँच्ने र जिउनेकला आनन्दबाट सिकेको हुन्छ। हिजोको अवस्थामा योगको साधना अध्यात्म, कैवल्य तथा आनन्दका लागि गरिन्थ्यो। समाधिबाट जागृत हुँदै मोक्षसम्म पुग्ने काम योगबाट हुने गरेको देखिन्थ्यो। तर, आजको समाजमा योगको अवस्था त्यस किसिमको रहेन। आजको योग थेरापी, औषधोपचार विरोधी र शत्रुको दमन, यौनशक्ति बढाउने उद्देश्यले गरिएको हुन्छ। त्यसकारण आज आएर योग शब्द व्यापक, आकर्षक फेसनजस्तै बनेको पाइन्छ। अतः योग शब्दको अर्थ व्यापक र विस्तृत भए पनि त्यसले जीवन महत्वलाई कमजोर बनाएको पाइन्छ। हाम्रा पूर्वजले दिएको योग जीवनमुक्तिका रूपमा आएको देखिन्छ। आजको योग शारीरिक स्वास्थ्यसित गाँसिएर आएको पाइन्छ।

पातञ्जल योगसूत्रमा रहेका कुरा आज किताबी ज्ञान मात्र भएको देखिन्छ। आजकल योगका साधकलाई आरम्भमै गुरुहरूले प्राणायम सिकाउने गर्छन्। आरम्भमै साधकलाई अनुलोम विलोम र कपालभाती प्राणायाम सिकाउने परम्पराले समाजमा जीवन्तरूप पाएको देखिन्छ। आज पतञ्जलीको योगसाधना पुस्तकको कुरा बनेर रहेको देखियो। आजको समाज निरन्तर भ्रष्टतातिर लागेको छ। यो भ्रष्टताले समाजलाई नवनिर्माण, नवसिर्जनाभन्दा सामाजिक नैरन्तर्यतामा लगेको देखिन्छ।  

योगका आचार्य पतञ्जलीले योगलाई चित्तवृत्तिको निरोध मानेका छन्। सामान्यतया चित्तवृत्तिको निरोध योग हो। यसलाई चित्तमा आउने अनेक प्रकारका गलत भावलाई रोक्ने साधनका रूपमा मानिएको छ। अतः योगलाई जुन तरिकाले पतञ्जलीले परिभाषा दिए, त्यसको स्वरूपमा देखिने आधार मानसिक वा आत्मिक सन्तुष्टि हो। मन, बुद्धि, चित्त, अहङ्कारलाई सूक्ष्म शरीरको गुण मानिएको छ। त्यसैले चित्त सूक्ष्म शरीरसित जोडिएको छ। सहज शरीरमा रहेका चित्तवृत्तिको आवृत्ति वा रोक्नु नै योगलाई मानिएको छ। सूूक्ष्म शरीरका सत्र अवयव छन्। पाँच ज्ञानेन्द्रिय (आँखा, कान, नाक, जिब्रो र छाला), पाँच कर्मेन्द्रिय (मुख, हात, गोडा, गुह्यद्वार र उपस्थ), पाँच वायु (प्राण, अपान, व्यान, समान र उदान) अनि बुद्धि र मन। यी सत्र अवयव नै मानिसका सूक्ष्म शरीरका अंग मानिएका छन्।

योगको सम्बन्ध सूक्ष्म शरीरसित रहेको हुन्छ। स्थुल शरीर योगका साधनाका सन्दर्भमा अन्तर्निहित रहेको मानिँदैन। योगभित्र शारीरिक व्यायाम आउँदैन। शारीरिक व्यायामले मानिसका मांसपेशीलाई मजबुत बनाएको हुन्छ। सूक्ष्मलाई होइन। त्यसैले व्यायाम र योगको सम्बन्धलाई सीधा तरिकाबाट हेर्न मिल्दैन। बिहान भ्रमण गर्ने प्रवृत्तिले चित्तलाई शान्त र अन्तर्मुखी नबनाएमा योग भन्न मिल्दैन। त्यसलाई व्यायाम या शरीरलाई थकाउने प्रयास मात्र हो भन्न सकिन्छ। एउटा मजदुर काम गर्छ थाक्छ, तर उसको थकानलाई योग भन्न मिल्दैन। योग चित्तबाट हुन्छ र त्यो पूर्ण मानसिक हुने गर्दछ। शरीरसित त्यसको कुनै सम्बन्ध रहँदैन। शरीर त केवल अन्तर्मनलाई वहन गर्ने साधन मात्र हो। कुनै सवारीसाधनमा महत्वपूर्ण पक्ष इन्जिन हुन्छ, त्यसको ढाँचा वा बनावट होइन। शरीरको योगमा कुनै प्रकारको हात रहेको पाइँदैन, त्यो शारीरिक स्वरूप मात्र हो।

पतञ्जलीको योगदर्शनले चित्तको निरोध गर वा चित्तलाई नियन्त्रण गर, तर शरीरको कुनै उपस्थापन नगर भनेको छ। योगको मूल उद्देश्य तीन पद्धतिमा केन्द्रित रहेको छ। पहिलो शरीरबाट बाहिर आउनु, दोस्रो मनबाट बाहिर निक्लनु, तेस्रो परमतत्वको बोध गर्नु। त्यसैले योग आन्तरिक प्रक्रिया हो, बाहिरी होइन। योगबाट अन्तर्मन स्वस्थ हुन्छ, बाहिरी आवरण होइन। भित्री मन स्वस्थ हुनासाथ मानिसमा आभा, प्रभा दिव्य भएर आएको हुन्छ। मानिसमा विद्यमान योग प्रक्रियाले उसको व्यावहारिक तथा मानवीय सम्भावनालाई जीवन्त तुल्याएको हुन्छ। यही प्रक्रियालाई योग मानिएको हो। समाजमा विद्यमान योगलाई मानिसले महत्वका साथ हेरेको पाइन्छ।

आजको मानिस मानसिक रूपमा अस्तव्यस्त छ। त्यो अस्तव्यस्तताको समयलाई लिएर गरिने दैनिन्दिनी प्रक्रियालाई योगले जीवन्तता दिन्छ। त्यही प्रक्रियालाई जीवन्त तुल्याउन योगले गतिलो भूमिका निर्वाह गरेको पाइन्छ। मानिसलाई व्यायामले फूर्ति दिएको हुन्छ। मानिसको मनमा त्यसको प्रभाव पर्दैन। मानवीय संवेदनालाई योगले बोकेको हुन्छ। मानिसको संवेदनामा देखापर्ने सबै क्रियालाई योगले दिने गरेको छ। त्यसकारण मानसिक शान्ति प्रदान गर्ने भावलाई नै योग मानिएको छ।

श्रीकृष्णले गीतामा योगलाई अत्यधिक महत्व प्रदान गरेका छन्। गीताको कर्मयोगले मानिसमा विद्यमान भावलाई जीवन्त तुल्याएको छ। गीताका योगेश्वर कृष्णले जीवनका सबै पक्षलाई जीवन्त बनाउनका लागि योगको आवश्यकता रहेको तथ्यलाई बाहिर ल्याएका छन्। योग नै जीवनदायक तत्व कृष्णले मानेका छन्। गीतामा कृष्ण भन्छन्–  

योगस्थः कुरु कर्माणि सङ्गं त्यक्त्वा धनञ्जय।

सिद्धयसिद्धयोःसमो भूत्वा समत्वं योग उच्यते। (गीता,२ः४८ )

यहाँ कृष्णले अर्जुनलाई आसक्तिलाई त्यागेर सिद्धि र असिद्धिप्रति समान भाव राखेर योगमा स्थित रहन र कर्तव्यमा लीन रहन आग्रह गरेको देखिन्छ। यही समत्व नै कृष्णका दृष्टिमा योग मानिएको छ। योगका सन्दर्भमा कृष्णले भनेका कुराले वास्तवमा मानव जीवन र उसले जीवन जिउने कलालाई गतिशील तुल्याएको छ। सफलता र असफलतामा रम्ने मानिसलाई कृष्णले समभावमा रहेर कर्म गर्न आग्रह गरेको पाइन्छ।

पतञ्जलीले अष्टांग योगको चर्चा गरेका छन्। यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि। यी अष्टांगयोगको चर्चा पतञ्जलीले गरेका छन्। सामान्य रूपमा हेर्ने हो भने भागवतको दास्रो स्कन्धको दोस्रो अध्यायको २३औँ श्लोकमा शुकदेवले परीक्षितलाई सम्बोधन गर्दै भनेका छन्, ‘जितासनो जितश्वासो जितसङ्गो जितेन्द्रिय।’ अर्थात् पहिला आसन, दोस्रो श्वास, तेस्रो सङ्ग र चौथो इन्द्रिय जित। यसरी जितेपछि आउने स्वरूपलाई नै भागवतमा योगका रूपमा लिएको देखिन्छ। यम वा मानिसले मान्ने नियमबाट आरम्भ भएर समाधिसम्मको अवस्थालाई योगका रूपमा लिइएको देखिन्छ।  

कृष्णले गीतामा समत्व भावलाई योगका रूपमा ग्रहण गरेका छन्। सोही रूपमा उनले अर्जुनलाई बताएका छन्। समभाव अथवा तेरो, मेरो भावनाबाट मुक्त हुनुलाई कृष्णले गीतामा योग मानेको देखिन्छ। त्यसैले योग समानताको स्वरूप वा समत्वको पहिचान पनि हो। बसुधैव कुटुम्बकम् (बसुधा समग्र पृथ्वी मेरा आफन्त हुन्) भन्ने भावनाबाट प्रेरित हाम्रो संस्कारले योगलाई अति महत्वका साथ हेरेको देखिन्छ। अतः योग समाजको चेतना, मानवीय भावना, तेजको विकास, समभावको कल्पना, सामाजिक व्यवहारमा परिवर्तन आदिको विकासमा समन्वय गर्ने आधारबिन्दु पनि हो। मानव सभ्यताको इतिहासमा योगले जुन किसिमको स्थिरता प्रदान गरेको छ, त्यो आजको समाजका लागि अत्यन्त आवश्यक बनेर देखिने आधारबीज हो।

योग आजको वस्तु वा आजदेखि आरम्भ भएको पूर्वको दार्शनिक चेतना होइन। त्यसले मानवजीवनलाई जीवन्त तुल्याएर मानिसको शारीरिक र मानसिक स्वास्थ्यका लागि आवश्यक पर्ने जीवनको उपयोगी महत्तालाई योग भनिएको पाइन्छ। १९१४ सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसंघको महासभामा भारतीय प्रधानमन्त्रीले सम्बोधन गर्दै भनेका थिए– योगले मानिसको मस्तिष्क, विचार, शरीर र कर्महरूको माध्यमबाट मानिस र प्रकृतिको नाता कायम गरेर शरीरलाई सम्पूर्ण रूपमा स्वस्थ रहनका लागि अभिप्रेरित गर्दछ। योग शारीरिक अभ्यास मात्र होइन, यसले मानिसभित्र रहेको आत्मालाई विश्व र प्रकृतिसित जोडेर हेर्ने गर्दछ। यसले हाम्रो व्यस्त दिनचर्या र जीवन पद्धतिसहितको हावापानीमा हुने फेरबदललाई समेत सम्बोधन गर्दछ। त्यसैले अब हामी मिलेर अन्तर्राष्ट्रिय योगदिवस मनाऔँ। यी अभिव्यक्तिले भारत वर्षको योगलाई अन्तर्राष्ट्रिय रूपमा चिनाएको देखिन्छ। यसको फलस्वरूप संसारमा योगदिवसको आरम्भ भएको हो। मानसिक र शारीरिक स्वास्थ्यका लागि योग अनिवार्य जीवनचर्या बनेर आएको पाइन्छ।  

मानिस आज अनेक प्रकारका सांसारिक मोह र अन्धताबाट पूर्णतया असन्तोषले भरिएर बसेको छ। हजारपति लखपति हुने होडमा, लखपति करोडपति बन्ने भावनामा तथा करोडपति अर्बपति र अर्बपति खर्बपति बन्ने भावनाले अभिप्रेरित भएर कुदिरहेका छन्। यो कुदाइ जीवनको स्वरूप र सो स्वरूपलाई निर्धारण गर्ने आधारले देखाएको पाइन्छ। त्यही आधारलाई हेर्ने हो भने नेपालको अवस्थामा योगको अति महत्व रहेको पाइन्छ। अहिलेको अवस्थामा नेपाली समाजलाई हेर्ने हो भने खेत बारी, बारी खरबारी, खरबारी झाडी बनेका छन्। युवा सबै खाडी पुगेका छन्। यो व्यस्ततालाई जीवन्त बनाउन र मानसिक स्वास्थ्यलाई तन्दुरुस्त बनाउन योग साधना अनिवार्य मानिएको छ। त्यसैले संसारमा आज योग अत्यधिक आवश्यक जीवनादायक तत्वका रूपमा आएको छ।

विश्व आज सन्त्रासमय वातावरणमा हुर्केको छ। प्रकृतिमा आएको परिवर्तनले मानिसलाई जीवनका हरेकपलमा संवेदनायुक्त बनाउन सकेको छैन। मानिसका यावत क्रियाकलापले उसको जीवनका मानवीय संवेदनालाई भुलाउँदै लगेको देखिन्छ। क्रूर तथा आततायी बन्ने होडमा मानिसको जीवनका अनुभूतिहरू अघि बढेका छन्। यही परिवेशको चित्रणमा मानिसका सबै भावना अतिसय बनेका छन्। यो सन्त्रासमय वातावरणलाई चिरेर मानव जीवनलाई जीवन्तता प्रदान गर्ने कुनै सम्पत्ति छ भने त्यो योग हो। योग समत्वको पहिचान हो। योग निरोगिताको प्रमाण हो। योग तेजवृद्धिको जीवन हो। योग मानवीय संवेदनाको महत्वपूर्ण परिवेश हो।  

आजको संसार औषधिका भरमा बाँचेको छ। संसारका हरेक मानिसमा रोगले घर गरेको छ। त्यो रोगलाई एलोपेथी औषधिले क्षणिक रूपमा सहयोग र जीवनदायक विषय बनाएको छ। औषधिको भरमा बाँचेको मानिसलाई समत्वमा ल्याउनु छ। समत्वलाई योगले चिनेको छ, भोगले होइन। योगले मानवीय भावनालाई गहिराइमा लगेर राखेको देखिन्छ। अझ भनौँ, पश्चिमा जगत्का मानिस भोगबाट योगमा फर्केका छन्। हामी योगबाट भोगमा आसक्त बनेका छौँ। यही आसक्तिलाई मेटाउन अघि बढेको हो, योग। आजको शिक्षा शिक्षा मात्र भयो, विद्या हुन सकेन। विद्याका सन्दर्भमा भनिएको छ–  

विद्या ददाति विनयं विनयाद् याति पात्रताम्।  

पात्रत्वात् धनमाप्नोति धनात् धर्म ततः सुखम्।।

विद्याले विनयशीलता दिन्छ। विनयशीलताले पात्रता प्रदान गरेको हुन्छ। पात्रताले धन प्रदान गर्दछ, धनले धर्म हुन्छ, धर्मले सुख प्रदान गर्दछ भन्ने आसय यो पद्यको रहेको छ। माथि उल्लेख गरिएका सबै तत्वलाई दिने आधार विद्या हो, शिक्षा होइन। हामीले विद्या दिएका छैनौँ, शिक्षा दिएका छौँ। यही शिक्षालाई विद्यामा परिवर्तन गर्ने आधार योग हो। यसरी सबै सम्प्रदाय, धर्म, भाषा, संस्कृति, परम्परामा आज योगको महत्व बढ्दै गएको पाइन्छ। यसरी प्राच्य परम्परामा जीवित रहेको र मानवीय संवेदनालाई नजिकबाट हेरेको योग हाम्रो जीवन हो। मानव चित्तमा रहेका समग्र परिवेशलाई जीवन्त बनाउने र मानिसलाई स्वस्थ, तन्दुरुस्त राख्न सकिने योगलाई चित्तवृत्तिको निरोध मानिएको छ। कृष्णले गीताको दोस्रो अध्यायमा योगः कर्मसु कौशलम् भनेर कर्मको कुशलतालाई योग मानेका छन्। अर्जुनलाई कर्म गर र अघि बढ भन्ने उद्देश्यले योगलाई कर्ममा समर्पित गर्न आग्रह गरेका छन्। यही समग्रता नै योग हो।  

योग हाम्रो दिनचर्या बनोस्। ध्यानले मानिसलाई मानिस बनाओस्।
अर्को समाचार
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
५ घण्टा अघि
•
१ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
काठमाडौँ। रमेशप्रसाद तिमल्सिनाकाे ‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ पुस्तक सार्वजनिक गरिएको छ।

 

‘मास नेपाल’ र गोदावरी साहित्य परिषद्को आयोजनामा ललितपुरको चापागाउँमा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले पुस्तक विमोचन लाेकार्पण गरेका हुन्।

 

कार्यक्रममा कृति विमोचनसँगै लोकतन्त्रका अभ्यास, उपलब्धि, चुनौती तथा नागरिक जीवनमा लोकतन्त्रको अनुभूतिका विषयमा विमर्श समेत गरियो।

 

लाेकार्पित पुस्तकमा लोकतन्त्र, नागरिक तथा मानवअधिकार, सामाजिक न्याय, राज्यको जवाफदेहिता, सुशासन र सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विभिन्न समयमा लेखिएका ३० लेख समेटिएका छन्। पुस्तकलाई पाँच खण्डमा विभाजन गरिएको छ।

 

सञ्चारकर्मी दाहालले लोकतन्त्र जीवनपद्धति भएकाले हाम्रा अभ्यास र व्यवहारले अझै प्रश्नको घेरामा रहेको बताए।

 

ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले कमजोर हुँदै गएको पठन संस्कृतिप्रति चिन्ता व्यक्त गर्दै अध्ययन र पठन संस्कृतिको विकासमा जोडदिए।

 

कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।

अधिकारकर्मी भावना भट्टले लोकतन्त्रलाई निर्वाचनमा मात्रै सीमित नगरी घरघरको व्यवहारमा लोकतान्त्रिक संस्कार स्थापित हुनुपर्नेमा जोड दिए।

 

जनभावना क्याम्पसका सहायक क्याम्पस प्रमुख गोविन्द सञ्जेलले लोकतान्त्रिक अभ्यास र अवस्थाबारे समयसमयमा समीक्षाको आवश्यकता औँल्याए। गोदावरी साहित्य परिषद्का अध्यक्ष वशिष्ठ अधिकारीले प्रश्न गर्न सक्ने हैसियत र त्यसको उत्तर दिन सक्ने सामर्थ्य भए मात्रै लोकतन्त्रको अनुभूति हुने प्रतिक्रिया दिए।



तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
यो पनि पढौँ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस