१) असन्तुलित आरक्षण
ब्वाँसाहरूले कमजोर जनावरहरूलाई अधिकार दिेने बताए । त्यसका लागि ती जनावरहरूले ब्वाँसाहरूको सर्त मान्नु पर्दथ्यो । कमजोर जनावरहरूले सहर्ष स्वीकारे ।कमजोर जनावरको साथ पाएपछि ब्वाँसाहरूले सिंह बस्ने सिंहासन हत्याए । जनावरहरूको हितका लागि आरक्षण व्यवस्था लागु गरे । अबचाहिँ अधिकार पाइयो भनी सबै निमुखा जनावरहरूले खुसी मनाए । हतार–हतार प्रयोगको रूपमा जथाभावी तरिकाले सिमान्तकृत जनावरहरूले मौका पाए ।
एकदिन भ्यागुतो बिरामी भयो । डाहा छटपटी गर्न थाल्यो । कान्लामुनिको भ्यागुतो कान्लाको कान्ला नै भनेजस्तै उसमा ब्वाँसाहरूको जस्तो विदेशी घना जङ्गलमा उपचार गर्न जाने हैसियत थिएन । उसको परिवारले जनावरहरूको सार्वजनिक अस्पतालमा उसलाई लिएर गए ।
डाक्टर स्यालले भ्यागुतोको अप्रेशन ग¥यो । अप्रेशन गर्नासाथ भ्यागुतो म¥यो । पेटको अप्रेशन गर्नु पर्नेमा स्यालले घाँटीको अप्रेशन गरेको थियो । स्याल अस्ति भर्खर आरक्षण पद्घतिबाट वरिष्ठ सर्जनमा बढुवा भएको थियो । स्याललाई टाठाबाठा सिमान्तकृत भनेर अरू जनावरहरूले बुझ्दथे ।
२) फाइदा
चोकमा माया नाम गरेकी भट्टीवाल्नीको पसल थियो । त्यहाँ शुद्घ शाकाहारी पसल अरू थिएन । निम्न आय भएका मजदुरहरू हुन् वा मतवाली स्वभाव नभएको मान्छे हुन्, त्यही पसलमा जान बाध्यथिए । पसलमा फुर्मासी खर्च गर्नेहरू पनि जान्थे । उनीहरू रक्सी र सितनमा चाहिँ, सेकुवा खान्थे । त्यसमा बढी फाइदा देखेर होला, माया पनि उनीहरूमै खास नजर राख्दथी । चिया र चना अनि यस्तै मात्र खानेलाई ग्राहक नै होइन जस्तो गर्दथी । रक्सी खानेहरू पनि आँखा सन्काईसन्काई उसलाई पनि सँगै राखेर खुवाउँथे । माया पनि लोग्ने मान्छेसँग टाँस्सिएरै बसेर खान्थी ।
एकदिन मायाको भट्टीमा पुलिसले छापा मा¥यो । ड्रमका ड्रम घरेलु रक्सीले भरिएका रहेछन् । घरेलु रक्सी राख्नु अवैध हुनाले पुलिसले सबै रक्सी नालीमा बगाइदियो । अनि उल्टै जरिवाना पनि तोक्यो । त्यहीबेला उसको भट्टीमा शाकाहारी ग्राहक आइपुग्यो । उसले भट्टीवाल्नीको टीठलाग्दो अनुहार देखेर भन्यो —
“चिया चमेना मात्रै बेचेको भए, आज तपाईँको यत्रो नोक्सानी हुने नै थिएन । एकैचोटि धेरै धनी बन्न खोज्दा यस्तै हुन्छ साहुनी ।”
३) ठूलो साहित्यकार
उसले दर्जनाँै साहित्यिक कृतिहरू लेख्यो । कसैले वास्ता गरेनन् । पाठक कम भएको मुलुकमा सर्वसाधारणले उसलाई चिन्ने त सवालै भएन । पुराना साहित्यिक हस्तीहरूले पनि उसलाई भाउ दिएनन् । दिउन् पनि कसरी ? ठूलालाई आदर गर्नु भनेको ऊ चाकरी गर्नु हो भन्ने सम्झन्थ्यो । अनि कतिपय ठूला भनाउँदाहरू पनि यताउताका रचना चोरचार ग¥यो, त्यसमा एकदुई शब्द जोरजार ग¥यो गर्ने गर्थे । उनीहरू उसको साहित्यबारेमा अनभिज्ञ थिए ।एकदिन प्रलय भयो । हिमाल समुन्द्रसँग झुक्यो भनेजस्तै भयो । ठूलो दाइको आशीर्वादले उसले महत्वपूर्ण पद पायो । त्यसपछि त उसलाई भेटघाट गर्नेको ओइरो लाग्यो ।
उसले लेखेका प्रत्येक साहित्यिक रचनाहरूका केस्राकेस्रा केलाएर समालोचना छापिन थाले । साहित्यिक मन्चहरूमा उसकै चर्चा चल्न थाले । रातारात ऊ पनि देशको ठूलो साहित्यकार बन्यो ।
४) सिमलटार
२०३२ सालतिरको कुरा हो । गाउँ र आदर्श गाउँ भनेर चिनिने इलाकाहरूलाई गाउँ र नगरमा छुट्याउने समय आयो । गाउँ र नगरको विकास गर्नलाई आकर्षक मोडेलहरू तयार थिए । ठीक त्यसैबेला सिमलटारलाई नगरमा जाने कि गाउँमै बस्ने भनेर प्रश्न आयो । चिया पसलमा भेला भएर गफ गर्ने बूढापाकाहरू अलमलिए । गाउँमै बस्दा जोरपाटी गाउँसँग मिल्नुपथ्र्यो भने नगर हुन बौद्घसँग । आखिर बौद्घलाई नगर हुन सानो कुराको आवश्यक थियो, जुन सिमलटारले दिन सक्थ्यो । त्यसैले बौद्घका टाठाबाठाले सिमलटारका बूढापाकाहरूलाई गाउँमा भन्दा बढी नगरमा विकास हुन्छ भनेर फकाए । कम पढे लेखेका सोझा मान्छेहरूको बाहुल्य रहेको सिमलटार बौद्घको लागि भोट बैङ्कजस्तै थियो । जोरपाटीलाई यसमा मतलबै थिएन । गाउँका युवाहरूले कपन गाउँसँग मिल्ने भनेको कुरालाई बूढापाकाहरूले बिँडीको धूँवासँगै उडाए । बौद्घजस्तै विकास हुन्छ भनेर उनीहरू अन्ततः बौद्घसँग मिले । छिमेकी गाउँलेहरूको अगाडि नगरवासी भनेर नाक ठूलो पारे ।बिस्तारै बूढापाकाहरू बिते । युवाहरू वृद्घ त, बच्चाहरू युवा भए । बौद्घका सरकारी कार्यालयहरूमा कति हाकिमहरू हानथाप गरेर आए गए । कति गैह्र नेपालीहरूले बौद्घको सिफारिसमा नेपाली नागरिकता पाए । कति ठुल्ठुला उद्योगहरूका फूलहरू फुले । सोझो सिमलटारले त्यस फूलको वासनासम्म पनि सुँघ्न सकेन ।
आज बौद्धको खुट्टामा अल्झिएर सिमलटार पनि महानगरपालिकाको अङ्ग भएको छ । आफूहरूलाई महानगरवासी बनाउने ती स्वर्गीय बाजेहरूलाई सम्झेर आजका पुस्ताहरू गर्व गर्छन् । गर्व किन नगरून् विचरा । छिमेकी गाउँलेहरूले जस्तो स्वास्थ्यचौकी, विद्यालय, पुस्तकालय, राजनीतिक पहुँच आदि नपाए पनि उनीहरूले चर्को दरमा कर तिरेर देशको सेवा गरेका छन् । यही चर्को करको कुरालाई लिई बढी सुविधा लिएर कम कर तिर्ने पल्लो गाउँका साथीहरूलाई उनीहरूले मजाक उडाउने मौका दिएका छन् । गरिब सिमलटारेको यो हैसियत ‘तालुखुइलेले कलप किनेर दलेको फुर्ती’ भन्दा त के कम छ र ? नाम मात्रैको भए पनि महानगरवासी भएका छन् । अर्थात् महा ..........नगर (गर्दै नगर).........बासी(साजी होइन) ।
(नोटः सिमलटार एउटा प्रतिनिधि टोल मात्रै हो । यस्ता गाउँ र नगरहरू धेरै पाउन सकिन्छ ।)
५) डढेलो
वन उपभोक्ता समितिहरूले राम्रो काम गरिरहेको खबर चारैतिर फैलिरहेको थियो । यस्तै राम्रो काम गर्ने एउटा उपभोक्ता समितिमा एकदिन बैठक बस्यो । बैठकमा वन उपभोक्ता समूह, स्थानीय पकड जमाएका राजनीतिक लाउकेहरू, स्थानीय प्रशासनका केही कर्मचारीहरू, पुलिस एकदुई जना र वन मन्त्रालयका केही प्रतिनिधिहरूले, तराईको एउटा घरमा बसेर बैठक पास गरे । बैठकमा उनीहरूले नयाँ वन बनाउने सर्वसम्मत निर्णय गरेका थिए ।त्यही रातिदेखि त्यस इलाकाको सरकारी वनका रूखहरू भकाभक काटिन थाले । तीन–चार दिनमै अरबौँ मूल्य बराबरका रूखहरू काटिए र तुरुन्तै सीमा पारी निकासी भए । अब जङ्गलमा रूखका ठुटा र पातपतिङ्गरहरू मात्रै बाँकी थिए । त्यसलाई पनि आगो लगाए । चैत्र महिनाको समय थियो, आगोले ती पातपतिङ्गरहरूलाई निमेषभरमै खरानी बनायो । त्यसैको भोलिपल्ट प्रमुख अखबारहरूमा यस्तो समाचार छापियो —
“तराईको एउटा सामुदायिक वनमा डढेलो लागेर जङ्गल सखाप भयो ।”
त्यहाँ समितिले नयाँ बिरुवा रोपेन । दुई–चार महिना त्यसै बित्यो । बिस्तारै यो घटनालाई सर्वसाधारणले बिर्सन थाले । त्यही मौकामा त्यस ठाउँमा आफूलाई सुकुमवासी भन्दै हुकुमवासीहरूले घर बनाउन थाले । ती हुकुमवासीहरू त्यही समितिका आसेपासे नातेदारहरू थिए । यस्तैमा एउटा हुकुमवासीले अर्को हुकुमवासीसँग भन्दै थियो —
‘‘ रूख रोप्यो भने त यो पुरानो वनभन्दा के फरक हुन्छ र ? अब यहाँ हाम्रो ढलाने घर रोपेपछि, यो कङ्क्रिट जङ्गल भएन त ? अर्थात् नयाँ वन !’’