त्रास
०३ जेष्ठ २०७८
•
५ मिनेट पाठ
त्रास

किशन पौडेल

 




उसले लामो श्वास तान्यो एकछिन फोक्सोभित्र राख्यो र फाल्यो । पुनः तान्यो फाल्यो र लामो सुस्केरा हाल्दै आँखा चिम्लियो । अस्पतालमा अक्सिजन नपाएर छटपटिएका हृदयविदारक समाचारहरू उसको मानसपटलमा दौडिन थाले । जुरुक्क उठ्यो कोठाको एउटा कुनाबाट अर्को कुनामा पुगेर चर्किएको ऐना हेर्यो आफ्नै अनुहार उसलाई भयभीत लाग्दै जान थाल्यो।

“हेर उजेली आत्मबल बलियो बना। तँलाई केही हुँदैन। छिटो निको हुन्छ । ल, यो टिम्मुर ज्वानो पानी तनक्क पार । पिँधमा रहेको यो टिम्बुर ,ज्वानो , जिराको छोक्राहरू मुखभित्र राखेर चुस् । टिम्मुरले अक्सिजन लेबल बढाउँछ बुझिस्” तीन दिनदेखि जरोले सिकिस्त श्रीमतीलाई हौसला दिँदै डेक्चीबाट उम्लिरहेको पानी खन्याउँदै एक गिलास श्रीमतीको नजिकै लगेर राखिदियो।

जिन्दगीमा कयौँ पटक रुघाखोकी ज्वरो आयो होला । उसले सामान्य रूपमा अदुवा, बेसार, तातोपानी पिएरै भगाएको थियो । ऊ कहिल्यै यति धेरै आत्तिएको थिएन । आज ऊ त्यसै त्यसै आतिइरहेछ । मन त्रसित भएको छ । समाचार हेर्यो  जतासुकै हाहाकार छ । जताततै दर्दनाक दृश्यहरू देखिन्छ । अक्सिजन सकिएको छ रे हस्पिटलमा जरो आएको बिरामीलाई भर्ना नलिने रे ! अचम्म लाग्छ सुन्दा पनि यत्रो अक्सिजन छ हाम्रो वायुमण्डलमा कसरी सकिन्छ होला ! एक प्रकारको आक्रोश उब्जन्छ मनभित्र समाचारहरूले पनि कति आतंकित बनाएका हुन् । बिरामीको भन्दा नि सद्दे मान्छेकै कुन बेला प्राण लिएर जाने हो चिन्ताले ऊ  छटपटिदै आगनमा आएर आकाशतिर हेरेर टोलाउन थाल्यो।

आकाशमा एउटा हेलिकप्टर उसैको टाउको माथि मडारियो । खुसीले ऊ फुरुङ्ङ हुँदै हेलिकप्टरलाई हेर्दै सोच्न थाल्यो– कतै मेरै उजेलीलाई अस्पताल लिएर जान आएको त होइन ! हेर्दाहेर्दै हेलिकप्टर आकाशबाट ओझेल भैसकेको थियो।

– पुन्टेको बा, पुन्टेको बा ! भित्रबाट उजेलीले बोलाएको मधुरो आवाजले ऊ झसङ्ग भयो र दौडिएर भित्र हेर्न पुग्यो । पुन्टे आमाको छेउमा बसेर आमाको टाउको सुमसुम्याउँदै रहेछ।

“मलाई धेरै गाह्रो भो, अस्पताल जान पाए हुन्थ्यो” उजेलीको पीडामिश्रित स्वरले ऊ झनै विचलित हुँदै गयो ।

“खै कसरी अस्पतालसम्म पुरयाउने होला ! छरछिमेक हेर्नसम्म पनि आएका छैनन् सवारी साधन गाउँमा एउटै चलेको छैन । मर्दापर्दा त मैले धेरैलाई ज्यानले सकेको सहयोग गरेकै थिएँ । आज आफूलाई पर्दा कोही भएनन् हरे शिव !” पुर्पुरोमा हात राखेर बिलौना गर्छ । गाउँकै एक चिनजान प्रतिष्ठित हरि दाइलाई फोन लगायो फोन उठेन।

“उजेली चिन्ता नगर।  बिहानसम्म तँलाई ठिक हुन्छ।  बिस्तारै जरो ओर्लिन्छ।  म पानीपट्टी लगाइदिन्छु । अहिले सुत उजेली । ” 

बुढीलाई कोरोना त लागेकै होइन भन्ने कुरामा ऊ निश्चिन्त थियो । कुनै मान्छेसँग न भेटघाट न सम्पर्क थियो । लकडाउन भएदेखि आफ्नै बारीमा मकै गोडेर बसेकी थिइन । कतै गाउँ छरछिमेककोमा गएकी नि छैन । कसरी सर्न सक्छ र कोरोना ? उसले मनमनै सोच्न थाल्यो।

फेरि गाउँलेहरू किन यति निर्दयी भएका होलान् है ! कस्तो दिन पनि देख्न परेको । बिरामी पर्दा गाउँमा कति धेरै मान्छेहरू कुर्नलाई जम्मा हुन्थे। दुःखसुखका कुराहरू एक आपसमा गरेर सहानुभूति दिँदै रातभरि बिरामी कुरेर बसिन्थ्यो । आत्मबल कति बलियो हुन्थ्यो । साँच्चिकै कलियुगको अन्त्य हुनै लागेछ अब ! सब निर्दयी भए । मनभित्र अनेकौ कुराहरू खेलाउँदै पुन्टेलाई सुताएर उजेलीसँगै छेउमा ऊ पनि निदाउने कोसिस गर्छ । मध्यरातमा उठेर उजेलीको निधार छाम्यो चिसो न चिसो। बेलुकी त्यस्तो तातो थियो। अहिले त चिसो भइसकेछ। ऊ अतालियो । टाउको काखमा राखेर सुमसुम्यायो।

–उजेली, उजेली!

इन्तु न चिन्तु आवाजविहीन चिसो मुडोजस्तै शरीर छामेर ऊ हतासियो । फेरि अँगालो हालेर भक्कानियो ।

सम्हालिन खोज्यो । निद्रामा मस्त सुतेको छोराको अनुहारमा पुलुक्क हेर्यो । बिहानै सधैं ‘आमा’ “भन्दै बिउँझिने छोरो आमा बोलिन भने के सोच्छ होला । मनभित्रका तर्कनाले उसका आँखा रसाउन थाले । फेरि सम्हालिन खोज्यो । उजेलीले कल्पना गरेको छोराको भविष्य सम्झिन्छ । छोरालाई पढाएर ठुलो मान्छे बनाउने एउटा सपना र आशाले अलिकति मन भित्र हौसला पलाउँछ।

अब के गर्ने अन्योलग्रस्त भएर मन अत्तालिँदै छ । मुटुको धडकन जोडजोडले धड्किरहेछ । मध्यरातमा बाहिर निस्केर कराउँदै चिच्याउँछ । कसैले उसको आवाज सुन्दैनन् ।

वडाका हर्ताकर्ता वडा सदस्य हर्क दाइलाई मध्यरातमा फोन गर्छ। “कोरोना लागेको रिपोर्ट छ कि छैन ? रिपोर्ट भए आर्मी आएर लिएर जान्छन्। छैन भने आफैँ गर्नुपर्छ दाहसंस्कार। बिहान उतै घाटमा भेटुँला बोकेर लिएर आइज” उसको खरो निर्दयी स्वरले उसको मन झनै दुखित हुन्छ।

मान्छे मर्दा कति धेरै सहानुभूति प्राप्त हुन्थे । साथसहयोगका भावनाहरू उर्लिन्थे । रातबिहान केही भन्दैन थिए। खै आज न कसैको सहानुभूति देखिन्छ न साथसहयोग । मान्छेको मृत्यु पनि कति सस्तो हुँदै गएछ ! कुकुर बिरालोको मृत्युजस्तै लाग्न थाल्यो उसलाई । टाउकोमा हात राखेर एक्लै बिलौनामा धेरै आँसु बगायो । गरिबीले आक्रान्त बनाएको सहाराविहीन एक्लो जिन्दगी व्यर्थ लाग्न थाल्छ उसलाई।

मस्त सुतिरहेको छोराको अनुहारमा पुलुक्क हेर्छ । छोराको निधारमा हात राख्छ “सुतिरहनु बाबू, म आमालाई अस्पताल लिएर जान्छु ” एउटा झुटो आश्वासन पनि उसलाई मिठो लाग्छ।

जुरुक्क उठेर श्रीमतीलाई सकीनसकी काँधमा बोकेर घर बाहिर निस्किन्छ । अँध्यारो बाटो कान्लाकुन्ली, कति पटक ठेस लाग्यो, कति काँडा बिझ्यो उसलाई अत्तोपत्तो छैन । झिसमिसे उज्यालोमा तल बगरको घाटमा पुग्यो।

सुनसान, खोलाको कलकल आवाजबाहेक अरू केही थिएन। उजेलीलाई भुईँमा राखेर केही बेर श्रीमतीको मुहार हेरिरह्यो र डाँको छाडेर रोयो । उसको रुवाइले शान्त निश्छल झिसमिसे प्रहरलाई नमिठो गरी चिरयो ।

दुईचार गाउँलेहरूले दाउरा ल्याएर टाढैबाट फालिदिए । कोही उसका नजिक परेनन् ।

“अलि टाढै बस।  हामीलाई फेरि कोरोना सर्छ ”  गाउँलेहरूको वचनले उसको मुटु झन् छियाछिया भयो।

मन मुटु कठोर पारेर श्रीमतीको सग्लो देहमा आगो सल्कायो। छिनभरमै खरानी भएकी उजेलीलाई सम्झेर केहीबेर टोलाइरह्यो । सुतिरहेको छोरालाई सम्झिएर झस्कियो र सम्हालिँदै उठ्यो । घर गएर छोरालाई लिएर ऊ सरासर स्वास्थ्य चौकीतर्फ लाग्यो ।

दुई दिनपछि रिपोर्ट आयो कोरोना टेस्ट – नेगेटिभ !
अर्को समाचार
नदी तटीय क्षेत्रमा बाढीको त्रासः न लाग्छ निद्रा, न भोक
२० साउन २०७९
•
४ मिनेट पाठ
नदी तटीय क्षेत्रमा बाढीको त्रासः न लाग्छ निद्रा, न भोक
गत वर्ष कात्तिकमा आएको बाढीमा घरखेत गुमाएका कैलालीका तटीय क्षेत्रका नागरिक नियमित वर्षा हुन थालेपछि त्रासमा छन्। वर्षा नियमित र नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका नागरिक रातिको समयमा निदाउन सकेका छैनन्।  




टीकापुरको वैदीकी सुशीला बस्नेतले गत वर्ष धान स्याहार्न नपाएको पीडा भुलेकी  छैनन्। उनलाई नियमित वर्षा हुन थालेपछि त्रासले सताएको छ। सुशीलाको परिवार र छिमेकी राति वर्षा हुँदा निदाउन सक्दैनन्। 'मोहना र पथरैया नदीमा पानीको बहाव बढेको छ। नदीको पानी कतिखेर बस्तीमा पस्छ भन्ने त्रास कायम छ', उनी भन्छिन् 'वर्षा हुन थाले त्रास बढ्छ, राति पानी आएमा त हामी कहिल्यै सुत्दैनौँ, वर्षा हुन थालेपछि छिमेकीलाई फोन गर्ने, म्यासेज गर्ने गरेर एकअर्काको खबर लिएर बस्छौँ।'

सुशीलाजस्तै प्रतिपुरका बलबहादुर चौधरीको गत वर्ष लटरम्म फलेको थियो। बाढीले चार बिघा जमिनको धान बगायो। उनले बर्सेनि समस्या झेल्नुपरेकाले सरकारले बाढीबाट नागरिक बचाउन प्रयास नगरेको गुनासो गर्छिन्। 'नदीमा पानीको बहाव बढी भएमा बस्तीमा पस्छ, सरकारले तटबन्ध थोरै–थोरै गरिरहेको छ। त्यही तटबन्ध भत्कँदै गएको छ', चौधरी भन्छन,'हाम्रो सुरक्षाबारे सरकारले ध्यान दिनुपर्छ । हामी धन, सम्पत्ति जोगाउनेभन्दा पनि ज्यान जोगाउने चिन्तामा हुन्छौँ ।'

मीनादेवी चौधरीको पनि गत वर्ष १८ कठ्ठा धान बगेको थियो। मीनादेवीलाई पनि वर्षा हुनेबित्तिकै त्रासले सताउँछ। मीनादेवीको घरमा बढी वर्षा भएमा पानी पस्ने जोखिम रहेकाले  सरकारले समस्या समाधान गर्नुपर्ने माग गर्छिन्। 'एकातिर मेहेनत गरेर लगाएको खेती डुबान र कटान हुने जोखिम छ। अर्कातर्फ बाढीमा बगिन्छ कि भन्ने त्रास छ', मीनादेवी ,भन्छिन् 'हरेक वर्ष हामी त्रासमा बाँच्नुपरेको छ। त्रासमा कसरी निद्रा, भोक लाग्छ।'

सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्रप्रसाद रेग्मी नागरिकका विभिन्न समस्या रहेका बताउँदै सरकारले बाढीसँग जोडेर जीविकोपार्जनका कार्य गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले स्थानीय सरकार, सङ्घसंस्था र विपद् व्यवस्थापन समितिले विभिन्न प्रयास गरिरहेको बताए। 'हामीले स्थानीयस्तरमा नागरिक कसरी जोगाउने, कसरी अत्यावश्यक कागजात जोगाउने भनी समुदायलाई तालिम दिएका छौँ, कसरी खोज तथा उद्धारमा खट्ने भनी युवालाई तयारी राखेका छौँ', रेग्मी भन्छन्, 'उच्च घरहरु तयारी अवस्थामा राखेका छौँ, कतिखेर बस्ती छाड्नपर्छ थाहा छैन ।'

विपद्बाट बच्न पूर्वतयारीसँगै तीनै तहका सरकार मिलेर नागरिक सुरक्षित बस्न पाउने वातावरण बनाउनुपर्ने स्थानीयको माग छ। बाढीको त्रास बढ्दै गएका बेला टीकापुर नगरपालिकाले गत वर्ष पूर्ण क्षति भएको वडा नं ८ मा खोज तथा उद्धार तालिम गरेको छ। नगरपालिकाले विभिन्न संघसंस्थाको सहयोगमा समुदायलाई विपद्को सामाना कसरी गर्ने भनी तालिम दिएको हो। तालिम समापन कार्यक्रममा बोल्दै नगरपालिकाका उपप्रमुख खडकबहादुर शाहले विपद्को समयमा सूचना महत्वपूर्ण हुने बताए।  

'विपद्को समयमा समयमै सूचना पाए क्षति हुनबाट जोगाउन सकिन्छ, त्यसैले समुदायमा आफूले पाएको सूचना छिटो दिनुपर्छ', शाह भन्छन् 'खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी, नेपाल जनपद प्रहरी, रेडक्रस र समुदायमा रहेका सबैले संयुक्तरूपमा मिलेर काम गरेमा विपद्लाई न्यूनीकरण र व्यवस्थापन गर्न सकिन्छ। हामी सबै मिलेर विपद्को सामना गर्ने हो।'

खोज तथा उद्धार तालिममा सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मकरूपमा विपद्को समयमा कसरी उद्धार गर्न सकिन्छ भनेर अभ्यास गराइएको थियो। साथै तालिमका सहभागीले स्थानीय स्रोतबाट ढुङ्गा, लाइफ ज्याकेट निर्माण गरेका थिए। गत वर्ष २०७८ कात्तिक २ गतेको वर्षापछि कर्णालीमा आएको बाढीले गरेको क्षतिबाट प्रभावित भएको यस क्षेत्रमा यस वर्ष पनि जोखिम घटेको छैन। यहाँ कर्णाली नदीमा रानी जमरा कुलरिया सिँचाइ आयोजनाले निर्माण गरिरहेको तटबन्ध ठाउँ–ठाउँमा भत्किन लागेकाले जोखिम उस्तै छ।

कर्णाली नदीले बर्सेनि धार परिवर्तन गर्दा थप जोखिम बढेको हाे। कर्णाली नदी किनारका मसानघाट, जमरा कुलाको मुहान, शिवशक्ति, सामुदायिक वनको क्षेत्र, रानीकुलो मुहान क्षेत्र, भुराखानी सामुदायिक वनको क्षेत्र, टीकापुर पार्क र वनगाउँ, सत्ती कर्णाली सामुदायिक वन क्षेत्रलगायतका स्थान जोखिममा छन्। जोखिममा रहेका यी क्षेत्रमा तटबन्ध बन्न बाँकी र पहिले बनेका तटबन्ध भत्किरहेका छन्। कर्णाली नदीमा तटबन्ध भत्किएका कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिका डुबान तथा कटानको जोखिममा पर्ने देखिन्छ।
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस