छायादत्त न्यौपाने
– बाबा, बाबा! म एउटा कुरा सोध्छु नरिसाई उत्तर भन्नू ल !नितेशले बासँग आग्रह गरे।
बाले ल भन न के छ त्यस्तो !
बाबा जसले अरूलाई हेप्छ, बेस्सनी हेप्छ, त्यही मान्छे ठुलो हो ?
–हैन, तिमीलाई कसले हेप्यो र ? अलि परबाट कान थापिरहेका दिदी र आमाले दिउँसो लुगा भित्र लैजाऊ भनेका थियौँ। कतै त्यही गुनासो त हैन ! कानेखुसी गरे।
मलाई त कसैले हेपेको छैन। फेरि मैले अरूले हेप्ने गरी बिराम गरेको पनि छैन। किन त यस्तो प्रश्न गरेको?
– है नि बाबा ! ती आलुको बोरा बोकेर आउने दाइलाई छिमेकी काकाले क्या थर्काउनुभा भन्या ! ती दाइले त पहिला बाचा गरेको ज्याला दिनु मात्र के भनेका थिए ! काकाले त आफूलाई गरेको सहयोगको लागि धन्यवाद भन्नुको सट्टा उल्टै अपमान गर्नुभयो !
भरिया दाइ पनि कडा रहेछन्। उनले पनि भने–तिमी महलेहरू आफ्नै पसिनाले महल बजाउन सक्छौ ? हामी गरिखानेलाई ठगेर अनि देशलाई लुटेर महल बनाका हौ। श्रम गरेको भए आज श्रमिकलाई अपमान गर्ने थिएनौ, थर्काए ! बाबाले हो नि परिश्रमीले त श्रमको मूल्य बुझ्छन्। तिनले ठिक भनेका हुन् परिश्रमी हुनु धेरै राम्रो कुरा हो।
यो त एउटा उदाहरण हो बाबा! यस्ता त कति छन् कति! हामी पुस्तक पसलमा पुग्दा पनि सहयोगीलाई पसलेले हकारिरहेका थिए। खाजा खान जाँदा त्यहाँ पनि बालक मजाले हेपिएका ! खाजा खान आउनेले समेत हकारेका। मलाई त खाजा मिठै भएन। त्यहाँबाट निस्केर बस चढ्न गयौं त्यहाँ पनि हेर्दा भद्र लाग्ने मान्छेले बालकलाई ए फुच्चे ! भनेर बसेको ठाउँबाट उठाएर आफू बसे। बस सहयोगीले पनि बालक र बुढाबुढीलाई यता सर उता सर भनेर हकार्छन् भन्या। म त छक्क परेँ बाबा!
हो नितेश ! तिमीले भनेजस्ता अनुहारले मान्छे व्यवहारले अमान्छे धेरै छन्। खै शरीर सानो ठुलो हुँदैमा कसैले कसैलाई हेप्नु कानुन र मानवता दुवै दृष्टिले गलत काम – कुरा हो। नियम – अनुशासन त सबैले मान्नुपर्ने हो नि ! यहाँ त नियम मिचेर बहादुर बन्नेहरूको भीड छ। तिमीले उठाएको कुरा सही हो र यस्तो असल विचार सफा मन हुने विवेकी मान्छेको आफ्नै बुद्धि र मनबाट निस्किनुपर्नेरहेछ। अरूले भन्दा त सबै कोभन्दा को कम बनेर नैतिक र विवेकी बन्छन् व्यवहारमा यस्तै दरिद्रता देखाउँछन्।
मैले बुझेको पनि बाबाले भन्नु भएजस्तै हो तर मलाई त ठुलो भुँडी भएका अहङ्कारी, अरूलाई हेपेर बोल्ने, ठगाहा, मिचाहा, बेइमान स्वभावका मान्छे पो ठुला हो रहेछन् कि जस्तो शङ्का लागेर नि बाबा।