पोखरा-गीतबाट स्थापित र गजलबाट थप चर्चित प्रकट पगेनी शिव शुक्रबार पोखरामा कवि अवतारमा प्रकट भए। देशका प्रमुख सहरहरुमा गजल बाचन गर्न भ्याइसकेका उनको कवितामा भने पहिलो एकल बाचन थियो। गाउँघर, पानी पँधेरा, मेलापात अनि वनपाखाका शब्दलाई संगालेर गीत/गजल उन्न खली उनका कवितामा पनि गाउँकै झल्को आयो।
बाटुलेचौरको प्रगति साहित्य मच्चको आँगन उक्लनासाथ उनले आफ्नो जन्मभूमि कास्कीको देउराली गाउँ र आमामा समर्पित कविता सुनाए। गजलमा जस्तै हात हल्लाउँदै र मच्चिदै अनि औंलाहरु नचाउँदै जसै प्रकटले काव्यवाणी छरे, उसै दर्शकका दुई हातका पञ्जाहरु ठोक्किन हतारिए र थपडीले गुञ्जियो मञ्च।
प्रकट प्रायः गाउँमा होइन सहरमा बस्छन्। अझ गृहनगर पोखरामा भन्दा बाहिरै बाक्लो छ उनको बसाइ अचेल। तै पनि ग्रामीण कविको पगरी फुकाल्ने अनुमति उनका कविताले दिएनन्। किन त? यसको कथा पनि सुनाए प्रकटले, 'म १० वर्ष कास्कीको लुम्ले गाउँमा बसेँ, त्यहींको पानी र परिवेशले मलाई गाउँका गीत, कविता र गजल लेख्ने बनायो।'
जसरी उनी ग्रामीण कवि हुनुको कथा छ। त्यस्तै कथाहरु उनका कवितैपिच्छे छन्। समवयी कवि तथा गीतकार विनोद गौचनसँगको यात्राका कथाहरुलाई उनेको कविता धम्पुस गाउँमाथि कोरिएको थियो। पर्यटकीय गाउँ धम्पुसको संस्कृति र प्रकृतिलाई संगालेर लेखेको कवितामा उनी बिहानी प्रहरको हिमालजस्तै मुस्कुराए।
सर्लक्क खुलेको बिहान
टलक्क टक्लेका सुनौला हिमाल
छनक्क सम्झेका प्रेयसीका सम्झनाहरुलाई
टपक्क टिपेर भन्यो
गुड मर्निङ धम्पुस
अनि ल्वाङघलेल गाउँ जाँदाको यात्रालाई रोधीको गीतजस्तो लयात्मक गाए। त्यहाँको वनपाखा, ऐंसेलु र पानीअमला, ढुंगेधारा र ढुंगेछपनी भएका चौताराका चित्रहरुलाई कवितामा उतारेका थिए प्रकटले।
१५ थान कविताको बिटो लिएर पलेंटी कसेका प्रकटका बहुमत कविताले उनको यात्राको भोगाइ अभिव्यक्त गरे। कमेरो माटो बगेर भासिएको कास्कीको अर्मला गाउँ जाँदा होस् या भरतपोखरी दुवै ठाउँको कथाव्यथामा असमानताको मसिनो र नजानिँदो धर्सोमात्रै कोरिएको थियो प्रकटको कवितामा। रेमिटेन्सको आहारा खाएर बाँचिरहेको गाउँका बुढाबुढी र कताकति गाईपालन गरिरहेका युवाका स्वर गुञ्जाए कवितामा उनले। छोराछोरी विदेशमा र बुढा बाबुआमा स्वदेशमा भएका गाउँको कथामा मानवीय संवेदना घोलेर चखाएको उनको कविताले दर्शकलाई सिरिङसिरिङ बनायो।
विदा हुनुअघि भोकको यस्तो कथा सुनाए प्रकटले जसबाट दर्शकलाई भक्कानिन उद्वेलित बनायो। द्वन्द्वग्रस्त मुलुक सुडानमा भोकले रन्थनिएको बालक र त्यो बालक मर्ला र खाउँला भनी ढुकिरहेको गिद्धको तस्बिरको कथालाई प्रकटले कवितामा उतारेका थिए। त्यही तस्बिरको बालक बनेर प्रकटले आमालाई सम्बोधन गर्दै अन्तिम हरफ पाठ गर्दा दर्शकदीर्घा मौनधारणमा उभिएको पंक्तिजस्तो बन्यो।
आमा यतिखेर म भोकभन्दा धेरै सोच्नै सक्दिन
तिमी बाटो छोट्याएर छिट्टै फर्क आमा
तिमी नफर्कदै यो आकाश खस्यो भने
यो धर्ती भासियो भने
तिमीले फेरि मेरो जिन्दगीका
छेउकुनाहरु सुम्सुम्याउने पाउने छैनौ
डेढ घन्टाको बाचनको बीचमा प्रकटलाई विद्यार्थी आशा गुरुङले एउटा कविता बाचन गरेर सघाएकी थिइन्। सँगसँगै प्रकटले असारे मौसम अनि जीवन र जगतसँग सम्बन्धी कविता पनि सुनाए। प्रगति साहित्य मञ्चले अर्को महिना कवि जे अस्मितालाई काव्य मञ्चमा डाक्ने भएको छ। स्थानीय विद्यार्थीहरुले गठन गरेको मञ्चमा प्रकट पहिलो निम्तालु थिए।