चितवन-शिक्षणसँगै संगीतलाई पनि पेशा बनाएका नवलपरासी गैंडाकोटका विशाल ढकालले फिल्ममा पनि अवसर पाएका छन्। उनले संगीत दिएको पहिलो फिल्म 'जोश' प्रदर्शनको तरखरमा पुगेको छ। अर्को फिल्म 'खतरनाक' अन्तिम चरणमा छ। 'बादशाह'को भर्खर सुटिङ सुरु भएको छ।
ढकालले अहिलेसम्म ८० आधुनिक गीतमा संगीत दिएका छन्। यो वर्ष फिल्म संगीतमा पाएको मौकाका कारण उनको हौसला बढेको छ। २०५७ सालदेखि यस क्षेत्रमा सक्रिय ढकालले संगीतको दुई वर्षे आधारभूत शिक्षा लिएका छन्।
'आधारभूत ज्ञान लिएपछि आफ्नै प्रयासमा थप निखार ल्याउँदै थिए। अब चाहिँ यतिले नपुग्ला भन्ने लागेको छ। शास्त्रीय संगित सिक्ने तयारीमा छु,' ढकालले भने। गैंडाकोट वडा नं. ५ मा बस्ने ३३ वर्षीय ढकाल स्थानीय बालविकास बोर्डिङ स्कुलमा अंग्रेजी पढाउँछन्।
'काठमाडौंभन्दा बाहिर बसेर विद्यालयमा पढाउँदै संगीतमा पनि सक्रिय हुन पोख्त बन्न आवश्यक देखेकोले शास्त्रीय संगीत सिक्ने योजनामा छु,' ढकालले भने। उनको संगीतमा रामकृष्ण ढकाल राजेशपायल राई, सत्यस्वरुप आचार्य, दीपक लिम्बु, रामचन्द्र काफ्ले, प्रमोद खरेल, रिमा गुरुङ, अञ्जु पन्त लगायतले स्वर दिएका छन्।
उनको संगीतमा आधुनिक गीतका चारवटा एकल एल्बम समेत निस्किसकेको छ। उनको पहिलो एकल एल्बम २०६१ सालमा निस्केको 'पिरतीको नाउँमा' हो। ६५ सालमा निस्केको 'बैगुनी', ६८ सालको 'यादहरु' र गत वर्षको 'समय' एल्बममा उनले संगीत दिएका गीतहरु छन्।
राजेशपायलको स्वर रहेको 'पिरतीको नाममा सधैं धोका खाई हिँडेको मान्छे म' स्वरुपराज आचार्यका स्वर रहेको 'वर रुँदा पिपलको मन थामिएन' रामकृष्ण ढकालले गाएको 'सारङ्गीको तारको' भन्ने गीत उनले संगित दिएका चर्चित गीतहरु हुन्।
भरतपुरको कालिका एफएमले २०६२ सालमा उनलाई सर्वोत्कृष्ट संगीतकारको सम्मान प्रदान गरेको थियो। दैनिक दुई घन्टा संगीत अभ्यासमा बिताउने ढकाल फिल्मले आफूलाई थप पहिचान दिने आशामा छन्।