पोखरा-'जिन्दगी र कवितामा साधारण हुन कठिन छ,' कवि तीर्थ श्रेष्ठले कविता र जिन्दगीलाई एकै घानमा व्याख्या गरे, 'सबैजस्तो देखिने भएर पनि पृथक पहिचान बनाउन कठिन छ।' कवि भोजराज न्यौपानेको किताब छुटेको जुत्तामाथि शनिबार पोखरेली युवा सांस्कृतिक परिवारले आयोजना गरेको परिचर्चा कार्यक्रममा श्रेष्ठले साधारण र सरल कविताको पक्षमा वकालत गरे।
न्यौपानेका कविता सरल भएको भन्दै श्रेष्ठले हृदयको बन्द ढोका ढकढक्याउने तागत उनका कवितामा रहेको बताए। महात्मा गान्धीले धोती लगाएर अति साधारण बन्दा नै असाधारण बनेको तर्क गर्दै श्रेष्ठले कवितामा पनि अति साधारण शब्दहरुबाटै असाधारण कुरा भन्न सकिने धारणा राखे। 'अत्यन्त साधारण हुँदा असाधारण कुरा प्रकट हुन्छ,' उनले भने, 'उल्टो कोट वा टोपी लगाएर हिँडे पनि असाधारण त भइन्छ, तर त्यस्तो असाधारणको अर्थ छैन।'
अर्का कवि ईश्वरमणि अधिकारीले अतिवादको प्रतिवादमा भोजराजका कविता आएको विचार प्रकट गरे।
कवि सरस्वती प्रतीक्षाले सिद्धान्त र चिन्तनको डुंगा पर राखेर संवेदनाको डुंगामा भोजराजका कवितासँग यात्रा गर्न सकिने बताइन्। साधारण र सरल शब्द शैलीमा लेखिएका कवितालाई उनले मेकअप नगरिएको अनुहारको संज्ञा दिइन्। कवि न्यौपानेले पोखरामा आफ्नो पहिलो कविता संग्रह विमोचन गरेको र अहिले फेरि १२ वर्षपछि अर्को संग्रहमाथि चर्चा गर्दा खोलो फर्किएको अनुभूति भएको सुनाए। दोलखा पुर्ख्यौली भएका कवि केही समय पोखरा बसेका थिए। पोखरा बसाइमै आफ्नो सिर्जनशीलता उन्नत भएको पनि उनले बताए। आयोजक संस्थाका अध्यक्ष सुरेश रानाभाट, उपाध्यक्ष दीपक समीप र सचिव अर्जुन अधिकारीले पनि कवि न्यौपानेका कवितामाथि चर्चा गर्न पाएकोमा खुसी व्यक्त गरे।