यात्रा साहित्य विश्व साहित्यमै लोकप्रिय विधाको रूपमा मानिन थालिएको छ। सभ्यता र संस्कृति जीवन र जगत्को अनुभव र अनुभूतिका कारण नियात्राका पाठक बढेर असाहित्यिक वर्गमा पनि प्रभावकारी बन्दै गएको छ। यही कारण अन्य विधामा हात हालेका स्थापित लेखकहरू पनि यस विधाप्रति आकर्षित भइरहेका छन्।
‘यायावर पाइला‘ कथाकार एवं नियात्राकार खेमराज पोखरेलको २०७७ मा पछिल्लो कृतिको रूपमा प्रकाशित भएको छ। उनको पहिलो कृति सबैथोक छ केही छैन नामक निबन्धसङ्ग्रह २०६६ सालमा निस्केको थियो। यस सङ्ग्रहभित्र स्वर्गद्वारीको स्वर्ग, टनकपुरमा दनदनी दुखेको टाउको, सम्झनामा तप्केनीमा मेरो हलेसी, कस्तो मोहनी लायौ नि पाथीभरा! फर्कनै मन लागेन नि खप्तड! लगायत विभिन्न शीर्षकका १५ वटा नियात्रा समेटिएका छन्।
यस सङ्ग्रहभित्रको स्वर्गद्वारीको स्वर्ग शीर्षकको पहिलो नियात्रामा यो पवित्र तीर्थस्थल प्यूठान जिल्लाको स्वर्गद्वारी खालमा अवस्थित रहेछ। समुद्री सतहबाट ६८९० फिटको उचाइमा अवस्थित यो स्वर्गद्वारीबाट अन्नपूर्ण हिमाल, धौलागिरि र मनास्लु आँखै अगाडि नाचिरहेका थिए। सूर्य झुलुक्क उदाएको दृश्य निकै रोमाञ्चक थियो। सूर्यको किरणले श्वेत हिमाललाई ताम्र बनाइदिएको थियो भनिएको छ। टनकपुरमा टनटनी दुखेको टाउको शीर्षकभित्र राजा महेन्द्रले टाउन प्लानिङ गर्न लगाएर बनाएको शहर हो महेन्द्रनगर। त्योभन्दा पहिले यसको नाम धुर्सुली बजार थियो। शहर निकै व्यवस्थित देखिन्थ्यो। बाटाघाटा फराकिला र सुन्दर मिलेका थिए। नेपालमा केही थोरै शहरहरू छन् जसको प्रारूप टाउनप्लानिङ मार्फत बनाइएको देखिन्छ। यता गणतन्त्र आएपछि महेन्द्रनगर नगरपालिकाको नाम फेरेर भीमदत्त नगरपालिका बनाइएको छ। यसरी पुरानो नामलाई फेरेर नयाँ नाम राख्ने क्रान्तिकारी चलनले नेपालको इतिहास आक्रान्त छ भनिएको छ। यो समाजका केही विपरीत तस्वीर पनि छन् नियात्राकारका नजरमा परेका।
नियात्राकार खेमराज पोखरेलको ‘यायावर पाइला‘आफूले पढेको, सुनेको भूगोल र प्रकृतिलाई प्रत्यक्ष रूपमा भोग्ने इच्छाबाट अभिप्रेरित भएर नेपालका विभिन्न जिल्ला घुमिसकेका लेखकले सफलतापूर्वक पाठकलाई पनि आफैंसँग घुमाएका छन्। उनको नियात्राशैली सरल छ, सरस छ र सम्प्रेष्य छ। यात्रामा देखिएका र भेटिएका दृश्य घटनाहरूको कृति मार्फत् चित्रण गर्ने खुबी यिनमा छ। यस सङ्ग्रहभित्र स्वदेश भ्रमण गर्दाका बारेमा लेखिएका नियात्राहरू समावेश गरिएका छन्। शालीन व्यङ्ग्यको उपस्थिति यिनका नियात्राको अलग पहिचान बनेका छन् भने कुतूहुलता पैदा गर्नु जिज्ञासा पैदा गर्नु यिनका नियात्राको अर्को विशेषता हो। नियात्राको बनोटमा रोचकता तथा रसिलो प्रस्तुति छ यसभित्र। नियात्रा पढ्दा पाठकलाई चित्रकथा पढेझैं अनुभूत हुन्छ। बागलुङ बेनी घुमेर आउँदा शीर्षकको नियात्रामा मन सम्झँदै थियो बागलुङलाई। अझै रमाउँदै छ कालीगण्डकीको कलकलमा। हिमालमा हरिया पाखामा पखेरामा भनिएको छ।
नियात्राकार पोखरेलले यात्राका क्रममा देखेका, भोगेका, सुनेका र भेटिएका नियात्राहरू यसभित्र छन्। संक्षेपमा भन्नुपर्दा सोझा, सरस, सहज र सरल भाषामा लेखिएका नियात्राहरू यस सङ्ग्रहभित्र पढ्न पाइन्छ। यी यात्रा निबन्धमा भेटिने अनुुभूतिको रमरम र स्थान, समय, परिवेशमाथिको आलोचनात्मक दृष्टि यात्रा संस्मरणका प्रमुख पक्ष हुन्।
उनले लेखेका प्रायः सबै नियात्रा लामा भए पनि मीठा छन्। नेपाली साहित्यमा नियात्रा र संस्मरण सबै खाले लेखक र पाठकले लेख्ने र पढ्ने विधाका रूपमा दरिंदै आएका विधा हुन्। विषयवस्तुका विविधता, सरल भाषाशैली र शीर्षक सार्थक रहेकाले पोखरेलका यी नियात्राहरू पढेर नसकुन्जेल कौतूहलले चिमोटिरहने र पाठकलाई आफू पनि लेखकसँगै यात्रा गरिरहेको अनुभूति गराउने खालका छन्। जब उनी नेपाल घुम्छन् केही देख्ने रहरले, केही भोग्ने रहरले पनि घुम्ने गर्छन्।
सम्झनाका तप्केनीमा मेरो हलेसी शीर्षकको नियात्राभित्र एकदम टड्कारो सम्झिरहेको छु मेरो बाल्यकालको कुरा। आमा मलाई अक्सर हलेसीको कथा सुनाउनुहुन्थ्यो। आमाका काखमा टाउको राखेर आमाका मीठा माया मिसिएका भावनाका हातले ढुंगा हान्दै भनिने हलेसीका कथाहरूले नियात्राकारलाई आनन्दविभोर बनाउँथ्यो भनिएको छ।
प्रकृति नियात्राकार पोखरेललाई अत्यन्त प्यारो लाग्छ। आधुनिक साहित्यमा गद्यविधा अन्तर्गत निबन्धको एउटा सशक्त उपविधाका रूपमा विकसित हुँदै आएको छ यात्रासाहित्य। यात्रासाहित्य वा नियात्रा यात्रा र संस्मरणको निबन्धात्मक समन्वित संरचना हो। यात्राका मोड, घुम्ती अनि गोरेटोमा भेटिएका अनुहारहरूलाई नाटकका पात्र जस्तै एउटा कथाभरि सँगसँगै रहेर छोडिएपछि अर्को कथामा आफूसहितको कुनै दृश्यको प्रतीक्षा उनले गरिरहेझैं लाग्छ। यात्रा र स्थान परिवर्तनले मनभित्र नयाँ शक्ति प्रदान गर्दछ। आँखाले पढेको हृदयभन्दा मनले भेटेको शब्द बढी प्रभावकारी हुन्छ यात्रामा।
प्रस्तुत नियात्राकृति स्रष्टाले देखेको भोगेको यथार्थ पनि हो। प्रस्तुत कृतिमा स्रष्टा पोखरेलले आफूले देखेको, भोगेको रअनुभूति गरेको यथास्थितिलाई प्रस्तुत गरेका छन्।
भ्रमणबाट देशदेशावर र गाउँठाउँ मात्र देखिंदैनन् त्यहाँका भूबनोट र प्राकृतिक दृश्य, थरिथरिका मानिस र तिनका जीवनशैली, वेशभूषा, खानपिन, मूर्तअमूर्त, संस्कृति अनि भाषाबारे पनि थुप्रै जानकारी, सूचना र ज्ञान पाइन्छ।
भनिन्छ पनि पढेरभन्दा परेर जानिन्छ। भ्रमणबाट प्राप्त हुने ज्ञान पनि परेर जानिने ज्ञान नै हो। त्यसैले पनि भ्रमणको विशिष्ट महत्त्व छ। कस्तो मोहनी लायौ नि पाथीभरा! शीर्षकको नियात्रामा मेरा सम्झनाका तरेलीमा यो बेला म केटाकेटी हुँदाको पाथीभराको कुरा सम्झँदै छु। म आफू पनि पूर्वकै भएकाले पाथीभराको बारेमा कहिलेदेखि चाल पाएँ थाहा छैन। बालकै छँदा पाथीभराको महिमा हावासरी आइपुग्थ्यो नियात्राकार पोखरेलले लेखेका छन्।
यस सङ्ग्रहभित्रका नियात्राहरूमा जीवनबोध, जीवनको मौलिक परिभाषा र जीवनको कटु सत्यसँग आत्मसात् पाइन्छ। सम्झनामा मनाङ तिर्सनामा मस्र्याङ्दी शीर्षकको नियात्रामा नियात्राकारका मित्र डाक्टर बमबहादुर अधिकारीका ठूल्दाइ रणबहादुर बितेको अस्तिजस्तो लाग्छ तर वर्ष दिन नाघेछ। म यो अधिकारी परिवारसँग किनकिन जोडिएको छु। अनप्लान्ड जोडिएको छु। त्यसै जोडिएको छु भनिएको छ।
नियात्राको सवालमा यो उनको पहिलो कृति हो। यात्रासंस्मरण, यात्रा विवरण, यात्रासाहित्य तथा नियात्राको शास्त्रीय साङ्लाको बेराइले नियात्राकार दिग्भ्रमित भइरहेका हुन्छन् प्रायः। चिची कुन हो पापा कुन हो छुट्याउन उनलाई निकै गाह्रो भैरहेको हुन्छ।
यस सङ्ग्रहभित्रको सम्झनाका तरेलीमा दलचोकी मनकामना शीर्षकको अन्तिम नियात्रामा बाटामा दलचोकी थान थियो। थानको मुन्तिर सरकारी हाइस्कुल थियो। यसले पक्का घर भेटेको थियो। स्कुलकै आधिपत्यको खेलमैदानको खुड्किलामा बसेर भोजनग्रहण गरियो। म त पहिलो यात्री रित्तै थिएँ तर स्रष्टाका हात र सीपहरू भोजन सिर्जनामा पनि खप्पिस देखिए नियात्राकारले लेखेका छन्।
नेपाली साहित्यको निबन्ध विधामा पर्ने यो यात्रा वृत्तान्त सबै पाठकले पढ्नै पर्छ। यसमा लेखकको आफ्नै अनुभूति स्वाद छ उनको निजी भावना जताततै छरिएको छ। लेखनशैली स्वतन्त्र छ। उनका यात्राहरू रोचक र रसिला छन्। यात्राहरू पेचिला र पुष्टकारी प्रतीत छन्। संक्षिप्तमा भन्दा यस कृतिले नेपाली साहित्यमा महनीय स्थान लिएको छ। यस कृृतिलाई नेपाली साहित्यप्रेमी पाठकहरूको मनले रुचाउनेछ। यस्तै अन्य कृतिहरू पढ्न पाइरहने अपेक्षा गर्दछु।
काठमाडाैं, धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ। ‘दिल्ली दूर है’ को भाष्य अहिले गलत साबित भएको छ। अब हवाईमार्गबाट दुई घण्टाको दुरीमा भारतको राजधानी दिल्ली अवस्थित छ तर यहाँ जान र आउनका लागि दिनभरिको समय लाग्दो रहेछ। दिल्लीसँग मेरो साइनो वर्षौं पुरानो छ। सर्वप्रथम म दिल्ली गएको २४ अक्टोबर १९७१ मा हो।
यो संयुक्त राष्ट्रसंघ दिवस पनि हो। हो, म यसै दिन कोलम्बो योजनाअन्तर्गत विद्यावारिधिको उपाधिका लागि दिल्ली प्रस्थान गर्दा धेरै प्रसन्न थिएँ। म पद्मकन्या कलेजमा प्राध्यापन गरेको चार वर्ष बितिसकेको थियो। आर्थिक र एकेडेमिक दुवै किसिमबाट सन्तुष्ट नै थिएँ तर प्राध्यापन सेवामा विद्यावारिधिको डिग्री आवश्यक थियो भनेर छिमेकी मुलुक भारतबाट विद्यावारिधिको उपाधिका लागि केही विषयहरूमा विद्वत्वृत्तिको अनुरोध कलेजमा आएकाले मेरो मनोनयन तत्कालीन प्राचार्य अंगुरबाबा जोशीले गर्नुभएको थियो। म सहर्ष स्वीकार गरेर उहाँप्रति कृतज्ञतापूर्वक धन्यवाद दिएँ र म तन, मन, धनले दिल्ली जानका लागि तमतयार भएको थिएँ। मैले दिल्ली जानका लागि नै आफ्नो रुचि प्रकट गरेको थिएँ। मैले दिल्ली जाने अवसर पाएको थिइनँ।
हुन त मेरो प्राध्यापक पदको नियुक्तिका निमित्त अन्तर्वार्ता लिन दिल्ली विश्वविद्यालय, हिन्दी विभागका विभागाध्यक्ष तथा प्रसिद्ध समीक्षक डा. नगेन्द्र आउनुभएको थियो। तसर्थ पनि दिल्ली जान मैले आफ्नो रुचि र स्वीकृति दिएको थिएँ। उहाँले मेरो नियुक्तिका लागि सिफारिस गर्नुभएको थियो। उहाँ दिल्ली फर्केपछि तत्कालीन हिन्दी साप्ताहिक पत्रिकामा एउटा आलेख लेख्नुभएको थियो, ‘मेरी पहली विदेश यात्रा’। त्यो आलेख धेरै लोकप्रिय भएको थियो। गोरखापत्र दैनिकका तत्कालीन सहायक सम्पादक र साहित्यकार भैरव अर्यालले मलाई अनुरोध गर्नुभएको थियो कि यसको नेपाली अनुवाद गरिदिनुहोस्, हामी गोरखापत्र दैनिकमा प्रकाशित गर्नेछौं।
मैले उहाँको अनुरोधलाई स्वीकार गर्दै त्यो आलेख नेपालीमा अनुवाद गरेँ र उहाँले सुन्दर साजसज्जासाथ प्रकाशित गर्नुभयो। धेरै नेपाली पाठकले त्यो आलेख पढ्ने अवसर पाए। यसप्रकार डा. नगेन्द्रजस्ता विद्वान् समीक्षकसँग मेरो साइनो जोडियो। म काठमाडौंबाट इन्डियन एयरलाइन्सको हवाईजहाजबाट दिल्ली प्रस्थान गर्ने अवसर प्राप्त गरेँ। त्यसबखत इन्डियन एयरलाइन्सको उडान बनारस, आगरा हुँदै दिल्ली जाने गर्थ्याे। मलाई खुबै मजा आएको थियो। दिल्ली हवाई अन्तर्राष्ट्रिय अड्डामा ओर्लिंदा मलाई लिन भारतीय सांस्कृतिक परिषद्का कर्मचारी आएका थिए। उनले मलाई पहाडगन्जस्थित इन्टरनेसनल होटलमा बसोबासको व्यवस्था गरिदिए। म आरामपूर्वक खाना खाएपछि सुतेँ।
भोलिपल्ट बाराखम्बा रोड, नयाँदिल्लीस्थित नेपाली दूतावासमा प्रा. इन्द्रराज मिश्र सांस्कृतिक सहचारीको पदमा नियुक्त भएर जानुभएको थियो, म उहाँलाई भेट्न गएँ। उहाँले मलाई दिल्ली विश्वविद्यालयमा आफ्नो दूतावासको वाहनमा लगेर त्यहाँको रजिस्ट्रारसँग परिचय गराउनुभयो।मेरो नामांकन विधिवत् सम्पन्न भयो। म होटलबाट दिल्ली विश्वविद्यालय परिसरमा अवस्थित अतिथिगृहमा केही दिनका लागि बसेँ। त्यसपछि ग्वाएर हलमा मेरो बसोबासको व्यवस्था गरियो। ग्वाएर हलमा विराटनगरका शोधार्थी आनन्द नेपाल र काठमाडौंका दुर्गेशमान सिंह पहिलादेखि नै बस्नुभएको थियो। उहाँहरू अर्थशास्त्रमा विद्यावारिधिका लागि पञ्जीकृत हुनुभएको थियो। पछि उहाँ दुवै जना आफ्नो शोधकार्य स्थगित गरेर नेपाल फर्किनुभयो। आफ्नो–आफ्नो व्यक्तिगत कारणले म दिल्ली बस्दा बस्दै भारत र पाकिस्तानमा युद्ध सुरु भयो। रातभरि ब्ल्याकआउट हुने, साइरन बज्ने आदिले गर्दा म पनि त्रसित भएँ।
मैले सांस्कृतिक सहचारी इन्द्रराज मिश्रलाई नेपाल फर्काउने चाँजोपाँजो मिलाइदिनुहोस् भन्ने अनुरोध गरेँ। उहाँले ‘नडराउनुस्, तपाईंलाई केही हुँदैन’ भन्नुभयो। उहाँले आश्वासन दिनुभयो, मेरो सामुन्नेमा कुनै विकल्प थिएन। म बाध्य भएर आफ्नो विद्यावारिधिको उपाधिका लागि अनुसन्धानमा अनुरक्त भएँ। एक दिन म डा. नगेन्द्रलाई भेट्न उहाँको क्वाटरमा गएँ। उहाँसँग ‘सिन्दूर की होली’ का लोकप्रिय लेखक लक्ष्मीनारायण लाल बिहानको खाजा खाँदै हुनुहुन्थ्यो। उहाँले मलाई पनि खाजा खुवाउनुभयो। मैले डा. नगेन्द्रलाई पनि अनुरोध गरेँ कि मलाई यहाँ बस्न धेरै डर लाग्छ। लक्ष्मीनारायण लालले मलाई आश्वासन दिनुभयो, ‘सिकवे और सिकायत से जीवन यापन नहीं होता है, धैर्य रखकर अपनी उद्देश्यपूर्ति में लग जाइए।’ म पनि धैर्य धारण गरेर अनुसन्धान कार्यमा जुटिहालेँ। यसप्रकार दिल्लीसँग मेरो दोस्ती गाँसियो।
केही दिनपछि त म सपरिवार त्यहाँ बस्न थालेँ। दिल्ली जाने क्रम जारी नै रह्यो र अहिले पनि यहाँ जाने क्रम जारी नै छ। कहिले संगोष्ठीमा भाग लिन र कहिले आफ्नो छोरा र श्रीमतीको स्वास्थ्योपचारका लागि अखिल भारतीय आयुर्विज्ञान संस्थान र मेदान्त अस्पतालमा जान बाध्य भएँ। आखिर मेरी श्रीमती त स्वर्गीय नै भइन् २०८३ माघ ३ मा। दुई वर्षपहिला सार्क साहित्य सम्मेलनमा भाग लिने अवसर जुरेको थियो। यसपालि पनि सार्क साहित्य सम्मेलनमा भाग लिनका लागि म र साहित्यकार विधान आचार्यसँगै हवाईमार्गबाट दिल्ली पुग्यौं।
कवि र लेखक भीष्म उप्रेती बेलुकाको उडानबाट आउनुभयो। हामी सँगै साइधाम होटलमा बास बस्यौं। यसबाहेक साहित्यकार र पत्रकार अभय श्रेष्ठ, स्तम्भ लेखिका सरिता तिवारी, अनुषा शर्मा, सुन्दर कुरूप, चन्द्र गुरुङ, हेमन्त विश्वास, केशव सिग्देल, लक्ष्मी रुम्बा, प्रकाश थामसुहाङ, रजनी मिला, रमी प्रिया आदि सहभागी थियौं। अनुवादक र कवि केशव सिग्देल सार्क लाइफटाइम एचिभमेन्टबाट पुरस्कृत हुनुभयो। मलाई चाहिँ सार्क साहित्यकारका रूपमा सम्मानित गरियो। प्रमुख अतिथि हुनुहुन्थ्यो तारा गान्धी भट्टाचार्य, महात्मा गान्धीकी नातिनी। विशेष अतिथि हुनुहुन्थ्यो भारतीय साहित्य अकादमीका अध्यक्ष माधव कौशिक।
श्रीलंकाकी राजदूत महिशिनी कोलन पनि आमन्त्रित हुनुहुन्थ्यो, तर उहाँहरू उपस्थित हुन सक्नुभएन। यसप्रकार उद्घाटन सत्र सफलतापूर्वक सम्पन्न भएको थियो। नेपालका कार्यवाहक राजदूत सुरेन्द्र थापा पनि आमन्त्रित हुनुहुन्थ्यो तर विभिन्न कारणले गर्दा उपस्थित हुन सक्नुभएन। विधान आचार्य र भीष्म उप्रेतीबिच साहित्यिक संवाद आकर्षक ढंगबाट समाप्त भएको थियो। अभय श्रेष्ठजीले कविता पाठसहित कार्यपत्र पनि प्रस्तुत गर्नुभएको थियो।
मैले चाहिँ ‘द पावर अफ पेन’ अर्थात् कलमको शक्तिबारे कार्यपत्र प्रस्तुत गरेको थिएँ। अन्य नेपाली साहित्यकारहरूले विभिन्न सत्रमा कविता वाचन गर्नुभएको थियो। विधान आचार्य र भीष्म उप्रेतीले पनि कार्यपत्रसहित कविता वाचन गर्ने अवसर पाउनुभएको थियो। केशव सिग्देलले दुई सत्रको अध्यक्षता गर्ने अवसर पाउनुभएको थियो। समग्रतः नेपाली प्रतिनिधिहरूले सफलतापूर्वक आआफ्नो भूमिकाको निर्वाहमा सफल हुनुभएको थियो। सोही सत्रमा मेरो पुस्तक ‘इलेभेन पोएटस’ को लोकार्पण सहभागी सबै साहित्यकारहरूद्वारा सामूहिक रूपमा सम्पन्न भएको थियो। यस संग्रहमा कविहरू विद्यापति, लक्ष्मीप्रसाद देवकोटा, माधव घिमिरे, सिद्धिचरण श्रेष्ठ, वानीरा गिरी, वासु शशि, दिनेश अधिकारी र भीष्म उप्रेतीबारे समीक्षात्मक लेखहरू समाहित छन्। यसका भूमिका लेखकहरू हुनुहुन्छ अंग्रेजी भाषाका अवकाशप्राप्त प्राध्यापक डा. मोहन लोहनी र डा. श्रीधर गौतम।
यो समारोह नोभेम्बर १५ देखि नोभेम्बर १८ सम्म अर्थात् चार दिनसम्म सफलतापूर्वक सञ्चालन भएको थियो। नेपाली प्रतिनिधिमण्डलबाहेक यस कार्यक्रममा अफगानिस्तानबाट कवि मोहम्मद मंसुर नासिमी एक मात्र प्रतिनिधिले अफगानिस्तानको प्रतिनिधित्व गरिरहनुभएको थियो, जबकि कवि मोहम्मद अफसर रहविन र कवि सोमिया रमिश पनि आमन्त्रित हुनुहुन्थ्यो। यस्तै बंगलादेशबाट असरफ गेबेल, पकरुल आलम, फरिदुर रहमान, जतन कुमार देवनाथ, कादेसर पलास, लोपा मोमताज, मोहित कमल, मोहम्मद फोरिद हसन, मोहम्मद नुरे आलम पटवारी, नुरुल हक र नुरुनाहरमुनी, कामरुल बहर आरिफ, सौम्या सलेक आदिले कार्यपत्र प्रस्तुतिका साथसाथै कविता वाचन पनि गर्नुभएको थियो।
भुटानबाट वासुदेव आचार्य, चदोर वाग्मो, कुनजंग चोदेन, रिनजिन रिनजिन आदिले कविता वाचनसँगसँगै कार्यपत्र प्रस्तुत गरेर कार्यक्रमको शोभा बढाइरहनुभएको थियो। भारतबाट आलोक भल्ला, अमर मुडी, अमरेन्द्र खटुआ, अमित रञ्जन, अनिता भट्टनागर जैन, विमल सहगल, देवाशिष लहिरी, गुरुप्रती कौर, हरिन्दर सिक्का, के के मोहम्मद, काजल चक्रवर्ती, कविता सिंघल, मन्दिरा घोष, मिनाक्षी गोस्वामी, मौली जोसेफ, मुकुल कुमार, निरा कश्यप, नेहा कृष्णा, पायल नागपाल, परवेज सहरयार, पुरोवी तारा चौधरी, पुष्पेश पन्त, राधा चक्रवर्ती, रेणुका सिंह, ऋषिकेशकुमार सिंह, रविन्सन रोवर्ट, सविना पिल्लैइ, सञ्जुला शर्मा, सरस्वती पोस्वाल, सीमा जैन, शैश्वता महजवी, सोनाली पट्टनायक, सुजाता प्रसाद, सुक्रिता पाल कुमार, सुरेश के गोयल, सुसमिन्दर जित कौर, स्वाती पाल, श्वेता कुमारी, तनविर गौहर, ट्रिना चक्रवर्ती, वनिता, वर्षादास र विनिता बक्सी। हिन्दी भाषा–साहित्यका सुप्रसिद्ध कविहरू अनामिका, अरुण आदित्य, अरुणकुमार पासवान, अरविन्द ओझा, विनोद खेतान, देवप्रकाश चौधरी, देवशंकर नवीन, देवप्रकाश चौधरी, जावेद आलम खाँ, निर्देश निधि, ओम निश्चल, पुनम वेदी, राजेन्द्र शर्मा, रुमी मल्लिक, रुपा सिंह, संगीता गुप्ता, संगीता अग्रवाल, सविता पाठक, शिखा सिंह, सुमन चौधरी र तेज प्रकाश। उर्दू भाषामा कविता लेख्ने कविहरूमा ए नसिव खान, आलोक अविरल, असीम पिरजादा, अजरा नकवी र नोमन शौक र रहमान मुसावी आदिको सहभागिताबाट उर्दू भाषा–साहित्यको सफल प्रतिनिधित्व भएको थियो। यस्तै पन्जाबी भाषा–साहित्यका प्रसिद्ध कविहरू गगन दीप शर्मा, गगन दीप सिंह, गगनमित कौर, करणजित सिंह, तरिन्दर कौरको कविता वाचनबाट सार्क सम्मेलनको सर्वसहभागिता स्वयंसिद्ध भइराखेको थियो। श्रीलंकाका प्रतिनिधि कविहरूको सहभागिताबाट सार्क साहित्य सम्मेलनको सार्थकता सिद्ध भइराखेको थियो। यसमा अमरासिरे विक्रमारत्ने, सिरिल पथिराना, कुमारा हेटिराची, प्रियन्धरा बन्डारा, थमिर मञ्जु, तिलक कापुगे, भूषण निसानसाला र रुवान वातावाला। यसप्रकार सार्क राष्ट्रका साहित्यकारहरूको सक्रिय सहभागिताबाट ६७औं सार्क साहित्य सम्मेलन सफलतापूर्वक सम्पन्न भएको थियो। सार्कमा राजनीतिक–कूटनीतिक अभिरुचि क्रमशः कम हुँदै गएको स्थितिमा साहित्यिक–सांस्कृतिक अभिरुचि दिनानुदिन बढ्दै गएको स्वतः सिद्ध हुन्छ। सार्कको अस्तित्व र अस्मिता क्रमशः कम हुँदै गएको स्थितिमा सार्क साहित्यको दीप प्रज्ज्वलनमा पद्मश्री उपाधि प्राप्त साहित्यकार अजिन कौर तथा उनकी कलाकार सुपुत्री अर्पणा कौरको अभिरुचि उल्लेख्य पाइन्छ। यी दुईजना प्रसिद्ध साहित्यकार र कलाकारको भूमिका निःसन्देह सराहनीय भन्न सकिन्छ, जसले सार्क राष्ट्रका साहित्यकार आशावादी भएर यस सम्मेलनमा सक्रिय सहभागिता जनाउँदै आएका छन्।
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...