ब्रह्म तीर्थ र ब्रह्मेश्वर महादेवको महिमा
१७ वैशाख २०७९
•
५ मिनेट पाठ
ब्रह्म तीर्थ र ब्रह्मेश्वर महादेवको महिमा
श्री ब्रह्मेश्वर महादेवको मन्दिर नुवाकोट जिल्लाको कविलास गाविस वडा नंं. ८ कपिलास ब्रह्म क्षेत्रमा छ। स्कन्द पुराण हिमवत् खण्डमा उल्लेख गरिएअनुसार ६४ शिवलिङ्गको क्रमाङ्कमा २७ औँ नम्बरमा रहेको श्रीब्रह्मेश्वर सिद्धलिङ्ग ज्यातिर्लिङ्ग स्वयम् सिद्ध भएका महादेव हुन्।




कपिलास बेँसीको मृगेन्द्र पर्वतबाट निस्केको ब्रह्म गंगा (लिखु) र ब्रह्माजीको घुँडाबाट निस्केको भनिएको ब्रह्म पढी गंगाको सङ्गममा आएर ब्रह्माले स्नान गरेकाले यो तीर्थमध्ये उत्तम तीर्थको नाम ब्रह्म तीर्थ रहन गएको हो भनिन्छ। यो ब्रह्म तीर्थलाई ब्रह्माघाट पनि भनिन्छ।

पशुपतिको आर्यघाटमा जस्तै यो ब्रह्मघाटमा पनि लास जलाउने अर्थात् दाहसंस्कार पनि गरिन्छ। यो तीर्थमा स्नान गरेर अलिकति माथि जाँदा ब्रह्मेश्वर महादेवको मन्दिरमा पुगेर देवताको दर्शन गर्न पाइन्छ। यो ब्रह्मेश्वर महादेवको उत्पत्तिको विषयमा हिमवत् खण्डमा यस्तो उल्लेख गरिएको छ। पहिला यो पृथ्वी प्रलय भएको समयमा सारा जीवजगत् एवम् पशुपक्षीसमेत विनाश भए।

ब्रह्मा एक जना मात्र बाँकी रहे। प्रलय भएको १ लाख २० हजार वर्ष बितेपछि ब्रह्मा फेरि सृष्टि गर्ने उद्देश्यले यो तीर्थमा आए। ब्रह्माजी यो तीर्थमा आई विधिपूर्वक स्नान गरिसकेपछि यो तीर्थभन्दा अलि माथि उक्लेर गई पर्वतमा नै बसी भक्तिभावले शिवलिङ्ग बनाई कार्तिक कृष्ण अष्टमीका दिन शिवलिङ्ग स्थापना गरिदिए। ब्रह्माले यहाँ दिव्य हजार वर्षसम्म महादेवको उपासना गरे।

आखिर एउटा शुभरात्रीका दिन महादेवले दर्शन दिएर वरदान दिएकाले ब्रह्माले पहिला जस्तै फेरि सृष्टि गर्न थालेका हुन् भनिन्छ। यसैले यो ज्योतिर्लिङ्गको नाम बह्मेश्वर महादेव हुन गएको हो। यो तीर्थको विषय र महत्त्वको बारेमा उल्लेखित घटनाहरू पनि अत्यन्तै महत्त्वपूर्ण छन्। धेरै पहिला एउटा म्लेच्छले बँदेलको सिकार गर्ने धुनमा एउटा बँदेललाई लखेट्दै गर्दा यही ठाउँमा आइपुग्छ।

उही समयमा यहाँ एउटा राक्षसलाई देखेर उसले मार्छ भन्ने ठानी म्लेच्छले डराएर हतपत वाण हान्छ। वाण लागेर घाइते भएको उक्त राक्षस रिसले चुर भई त्यस म्लेच्छलाई झम्टेर मारी दिन्छ अनि म्लेच्छको मासु खाइदिन्छ। म्लेच्छको मासु खाँदाखाँदै सोही तीर्थमा त्यो राक्षस पनि मर्छ। म्लेच्छले प्राण त्याग गर्न लाग्दा शिव शिव भनेको र ब्रह्मतीर्थको जल छोएर मरेकाले त्यो म्लेच्छ पछि ब्राह्मणको कुलमा जन्म लिन्छ। ऊ सबै शास्त्रमा पारङ्गत भई धुरन्धर विद्वान् हुन पुग्छ। ऊ सत्य वचन बोल्ने र पाप गर्न डराउने हुन्छ।

आखिरमा नाशवान् शरीरको अनित्यलाई विचार गरेर ऊ सन्यासी बनेर तीर्थाटन गर्दागर्दै यही ठाउँमा आइपुग्छ। पूर्वजन्ममा यही तीर्थको जल छोएर गरेको पुण्यको प्रभावले यो ठाउँ देख्ने वित्तिकै उसलाई श्रद्धाभाव जाग्छ। फागुन कृष्ण अष्टमीका दिन उसले यस तीर्थमा विधिपूर्वक स्नान गर्छ अनि उसले घिउमा बालेको आगाको ज्वाला जस्तो स्वच्छ ज्योतिर्रुप महादेवको दर्शन गर्न पाउँछ।

उसले आश्चर्य मानी नजिकै गएर त्यो आगाको ज्वालालाई परिक्रमा गरी दुवै हात जोडेर दण्डवत् गर्दै भूईंमा ढोगेर बारम्बार स्तुति गर्छ। एकचित्त हुँदै शिव मन्त्र एकलाख जप गरिसकेपछि पूर्णिमाका दिन उसको आत्मज्योति शिवमा लीन हुन पुग्छ अर्थात् ऊ मुक्त हुन्छ।

त्यही राक्षस जसको म्लेच्छको मासु खाँदाखाँदै ब्रह्मतीर्थमा प्राण गएको थियो, ऊ पछि गएर दैत्यराज बलिको छोरो भएर जन्म लिन पुग्छ। राजा बलिको उही छोराले आफ्ना बाबुसरह बलवान् हुने इच्छा गर्छ अनि उसले यही तीर्थमा आएर स्नान गरी ब्रह्मेश्वर महादेवलाई फचमीकारले पूजा गरेर १२ वर्षसम्म सेवा गर्छ। त्यसपछि यही शिवलिङ्गबाट महादेव प्रकट भई वरदान माग भन्छन्।

उसले वरदान माग्दै भन्छ– ‘प्रभु ! म दैत्यराज बलिको छोरा वाणासुर हुँ। मेरो शरीरमा हजारवटा हात होस्। म आफ्नो पिताजस्तै पराक्रमी बन्न सकूँ। युद्धमा देवदानव कसैले पनि मलाई जित्न नसकून्। म अजय हुन पाऊँ ।’ वाणासुरको यस्तो प्रार्थना सुनेर महादेवले तथास्तु भनी वरदान दिंँदै तिमीले भने जस्तै हुनेछ भन्छन्।

त्यसपछि फेरी महादेवले भन्छन्– ‘पछि गएर तिमी तिम्रो झण्डा राखेको ठाउँबाट जुन बेला खस्छौ, त्यही बेला आफ्नै छोरीका कारणले तिम्रा दुई हात मात्र बाँकी राखेर अरू सबै हातहरू काटिनेछन्। उक्त समयमा देवताहरू सामु मैले तिमीलाई वरदान दिएर मेरो शरणमा राखी रहन्छु। तिमी आजबाट धेरै समयसम्म बाँची रहन पाउने छौ ।’

यसप्रकार अजय हुने वरदान पाएर वाणासुर अत्यन्तै हर्षित भई शोणितपुरमा आएर देवदानव सबैलाई आफ्नो वशमा राखी राज्य गरिरहन्छ। यसरी वाणासुरले महादेवको वरदान पाएपछि धेरै वर्षसम्म राज्य गर्छ। एकपटक आफ्नै छोरी उषाका कारणले गर्दा यादवहरूसँग युद्ध हुन्छ। भगवान् श्री कृष्णले नै उक्त युद्धमा भाग लिई वाणासुरका हजार हात रुखका हाँगा काटेझैँ काटिदिन्छन्।

अनि वाणासुरले आफू अत्यन्तै ठूलो कष्टमा परेको हुँदा महादेवलाई सम्झन्छ। महादेव पनि तुरुन्तै आएर श्री कृष्णलाई भन्छन्– ‘तपाईंले यो वाणासुरलाई मार्न पाउनु हुन्न किनभने मैले यसलाई अजय हुने वरदान दिएको छु। रूप फरक भए पनि हामी दुवै एकै हौँ ।’ महादेवको यस्तो कुरा सुनेर श्रीकृष्णले युद्ध रोक्छन् अनि श्रीकृष्णले वाणासुरकी छोरी उषालाई नातिनी बुहारी बनाएर द्वारिकामा लान्छन्।

महादेवले पनि सबैका सामु वरदान दिएर वाणासुरलाई कैलाशमा लगी आफ्नो गणको महाकाल बनाई राख्छन्। श्री ब्रह्मेश्वर सिद्धलिङ्ग महादेवको मन्दिरबाट अलिकति माथि रुखमुनि राक्षेश्वर महादेवको मूर्ति स्थापना गरिएको छ। उक्त रुखमा चौतारो पनि बनाइराखेको छ। राक्षेश्वरको मूर्ति प्रष्ट देखिंँदैन; एउटा ढुङ्गा मात्र छ। राक्षेश्वर महादेवसँगै गणेशको पनि मूर्ति छ। गणेशको मूर्ति पनि आकार नभएको एउटा ढुङ्गा मात्रै छ।

त्यस्तै त्यहाँ नरसिंहको पनि मन्दिर मात्र छ तर मूर्ति भने छैन। त्यहीँ भएको भैरवको भने अनुहार भएको एउटा टाउको छ। नरसिंहको मन्दिरसँगै त्यहाँ हनुमानको मूर्ति पनि छ। नरसिंह र हनुमानको मूर्ति भने २०४३/०४४ सालतिर स्थापना गरिएको हो भनिन्छ। त्यहाँ वासुकी नागको मूर्ति पनि रहेको थियो तर त्यो मूर्ति भने माटोले पुरिएको छ।

विसं २०४३ जेठ महिनामा ब्रह्मेश्वर महादेवको मूर्ति चोरी भएछ। महादेवको मूर्ति नभेटिएकाले एउटा ढुङ्गालाई नै ब्रह्मेश्वर महादेवको मूर्ति सम्झेर स्थापना गरिराखेको हो भनिन्छ। ५ फिट अग्लो १० फिट चौडा भएको चारपाटे ढुङ्गाको मूर्तिलाई नै ब्रह्मेश्वर महादेव मानेर पूजा गर्दै आइरहेको छ। यो स्थान धार्मिक पर्यटनको हिसाबले अत्यन्तै महत्त्वपूर्ण र धेरै रमणीय छ।

यो ब्रह्म क्षेत्रको विकास निर्माण गरी धार्मिकस्थलको रूपमा विकसित गर्ने उद्देश्यले २०६७ सालमा लेखप्रसाद बोहराको अध्यक्षतामा श्री ब्रह्मेश्वर विकास कोषको स्थापना गरिएको छ। सुरुमा ५ लाख रूपैयाँ राखेर स्थापित अक्षय कोषमा अलिअलि गर्दै पैसा जम्मा हुँदै छ। यस्तो धार्मिक महत्त्व रहेको ब्रह्म क्षेत्रको विकास प्रवर्द्धन र सम्वर्द्धन गर्ने कार्यमा हामी सबै भक्तजनले चिन्ता चासो लिनु पर्दछ।
अर्को समाचार
दिल्लीसँग गाँसिएको साहित्य साइनो
१० मिनेट अघि
•
१ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
काठमाडाैं, धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
‘दिल्ली दूर है’ को भाष्य अहिले गलत साबित भएको छ। अब हवाईमार्गबाट दुई घण्टाको दुरीमा भारतको राजधानी दिल्ली अवस्थित छ तर यहाँ जान र आउनका लागि दिनभरिको समय लाग्दो रहेछ। दिल्लीसँग मेरो साइनो वर्षौं पुरानो छ। सर्वप्रथम म दिल्ली गएको २४ अक्टोबर १९७१ मा हो।




यो संयुक्त राष्ट्रसंघ दिवस पनि हो। हो, म यसै दिन कोलम्बो योजनाअन्तर्गत विद्यावारिधिको उपाधिका लागि दिल्ली प्रस्थान गर्दा धेरै प्रसन्न थिएँ। म पद्मकन्या कलेजमा प्राध्यापन गरेको चार वर्ष बितिसकेको थियो। आर्थिक र एकेडेमिक दुवै किसिमबाट सन्तुष्ट नै थिएँ तर प्राध्यापन सेवामा विद्यावारिधिको डिग्री आवश्यक थियो भनेर छिमेकी मुलुक भारतबाट विद्यावारिधिको उपाधिका लागि केही विषयहरूमा विद्वत्वृत्तिको अनुरोध कलेजमा आएकाले मेरो मनोनयन तत्कालीन प्राचार्य अंगुरबाबा जोशीले गर्नुभएको थियो। म सहर्ष स्वीकार गरेर उहाँप्रति कृतज्ञतापूर्वक धन्यवाद दिएँ र म तन, मन, धनले दिल्ली जानका लागि तमतयार भएको थिएँ। मैले दिल्ली जानका लागि नै आफ्नो रुचि प्रकट गरेको थिएँ। मैले दिल्ली जाने अवसर पाएको थिइनँ।

हुन त मेरो प्राध्यापक पदको नियुक्तिका निमित्त अन्तर्वार्ता लिन दिल्ली विश्वविद्यालय, हिन्दी विभागका विभागाध्यक्ष तथा प्रसिद्ध समीक्षक डा. नगेन्द्र आउनुभएको थियो। तसर्थ पनि दिल्ली जान मैले आफ्नो रुचि र स्वीकृति दिएको थिएँ। उहाँले मेरो नियुक्तिका लागि सिफारिस गर्नुभएको थियो। उहाँ दिल्ली फर्केपछि तत्कालीन हिन्दी साप्ताहिक पत्रिकामा एउटा आलेख लेख्नुभएको थियो, ‘मेरी पहली विदेश यात्रा’। त्यो आलेख धेरै लोकप्रिय भएको थियो। गोरखापत्र दैनिकका तत्कालीन सहायक सम्पादक र साहित्यकार भैरव अर्यालले मलाई अनुरोध गर्नुभएको थियो कि यसको नेपाली अनुवाद गरिदिनुहोस्, हामी गोरखापत्र दैनिकमा प्रकाशित गर्नेछौं।

मैले उहाँको अनुरोधलाई स्वीकार गर्दै त्यो आलेख नेपालीमा अनुवाद गरेँ र उहाँले सुन्दर साजसज्जासाथ प्रकाशित गर्नुभयो। धेरै नेपाली पाठकले त्यो आलेख पढ्ने अवसर पाए। यसप्रकार डा. नगेन्द्रजस्ता विद्वान् समीक्षकसँग मेरो साइनो जोडियो। म काठमाडौंबाट इन्डियन एयरलाइन्सको हवाईजहाजबाट दिल्ली प्रस्थान गर्ने अवसर प्राप्त गरेँ। त्यसबखत इन्डियन एयरलाइन्सको उडान बनारस, आगरा हुँदै दिल्ली जाने गर्थ्याे। मलाई खुबै मजा आएको थियो। दिल्ली हवाई अन्तर्राष्ट्रिय अड्डामा ओर्लिंदा मलाई लिन भारतीय सांस्कृतिक परिषद्का कर्मचारी आएका थिए। उनले मलाई पहाडगन्जस्थित इन्टरनेसनल होटलमा बसोबासको व्यवस्था गरिदिए। म आरामपूर्वक खाना खाएपछि सुतेँ।

भोलिपल्ट बाराखम्बा रोड, नयाँदिल्लीस्थित नेपाली दूतावासमा प्रा. इन्द्रराज मिश्र सांस्कृतिक सहचारीको पदमा नियुक्त भएर जानुभएको थियो, म उहाँलाई भेट्न गएँ। उहाँले मलाई दिल्ली विश्वविद्यालयमा आफ्नो दूतावासको वाहनमा लगेर त्यहाँको रजिस्ट्रारसँग परिचय गराउनुभयो।मेरो नामांकन विधिवत् सम्पन्न भयो।
म होटलबाट दिल्ली विश्वविद्यालय परिसरमा अवस्थित अतिथिगृहमा केही दिनका लागि बसेँ। त्यसपछि ग्वाएर हलमा मेरो बसोबासको व्यवस्था गरियो। ग्वाएर हलमा विराटनगरका शोधार्थी आनन्द नेपाल र काठमाडौंका दुर्गेशमान सिंह पहिलादेखि नै बस्नुभएको थियो। उहाँहरू अर्थशास्त्रमा विद्यावारिधिका लागि पञ्जीकृत हुनुभएको थियो। पछि उहाँ दुवै जना आफ्नो शोधकार्य स्थगित गरेर नेपाल फर्किनुभयो। आफ्नो–आफ्नो व्यक्तिगत कारणले म दिल्ली बस्दा बस्दै भारत र पाकिस्तानमा युद्ध सुरु भयो। रातभरि ब्ल्याकआउट हुने, साइरन बज्ने आदिले गर्दा म पनि त्रसित भएँ।

मैले सांस्कृतिक सहचारी इन्द्रराज मिश्रलाई नेपाल फर्काउने चाँजोपाँजो मिलाइदिनुहोस् भन्ने अनुरोध गरेँ। उहाँले ‘नडराउनुस्, तपाईंलाई केही हुँदैन’ भन्नुभयो। उहाँले आश्वासन दिनुभयो, मेरो सामुन्नेमा कुनै विकल्प थिएन। म बाध्य भएर आफ्नो विद्यावारिधिको उपाधिका लागि अनुसन्धानमा अनुरक्त भएँ।
एक दिन म डा. नगेन्द्रलाई भेट्न उहाँको क्वाटरमा गएँ। उहाँसँग ‘सिन्दूर की होली’ का लोकप्रिय लेखक लक्ष्मीनारायण लाल बिहानको खाजा खाँदै हुनुहुन्थ्यो। उहाँले मलाई पनि खाजा खुवाउनुभयो। मैले डा. नगेन्द्रलाई पनि अनुरोध गरेँ कि मलाई यहाँ बस्न धेरै डर लाग्छ। लक्ष्मीनारायण लालले मलाई आश्वासन दिनुभयो, ‘सिकवे और सिकायत से जीवन यापन नहीं होता है, धैर्य रखकर अपनी उद्देश्यपूर्ति में लग जाइए।’ म पनि धैर्य धारण गरेर अनुसन्धान कार्यमा जुटिहालेँ। यसप्रकार दिल्लीसँग मेरो दोस्ती गाँसियो।

केही दिनपछि त म सपरिवार त्यहाँ बस्न थालेँ। दिल्ली जाने क्रम जारी नै रह्यो र अहिले पनि यहाँ जाने क्रम जारी नै छ। कहिले संगोष्ठीमा भाग लिन र कहिले आफ्नो छोरा र श्रीमतीको स्वास्थ्योपचारका लागि अखिल भारतीय आयुर्विज्ञान संस्थान र मेदान्त अस्पतालमा जान बाध्य भएँ। आखिर मेरी श्रीमती त स्वर्गीय नै भइन् २०८३ माघ ३ मा।
दुई वर्षपहिला सार्क साहित्य सम्मेलनमा भाग लिने अवसर जुरेको थियो। यसपालि पनि सार्क साहित्य सम्मेलनमा भाग लिनका लागि म र साहित्यकार विधान आचार्यसँगै हवाईमार्गबाट दिल्ली पुग्यौं।

कवि र लेखक भीष्म उप्रेती बेलुकाको उडानबाट आउनुभयो। हामी सँगै साइधाम होटलमा बास बस्यौं। यसबाहेक साहित्यकार र पत्रकार अभय श्रेष्ठ, स्तम्भ लेखिका सरिता तिवारी, अनुषा शर्मा, सुन्दर कुरूप, चन्द्र गुरुङ, हेमन्त विश्वास, केशव सिग्देल, लक्ष्मी रुम्बा, प्रकाश थामसुहाङ, रजनी मिला, रमी प्रिया आदि सहभागी थियौं।
अनुवादक र कवि केशव सिग्देल सार्क लाइफटाइम एचिभमेन्टबाट पुरस्कृत हुनुभयो। मलाई चाहिँ सार्क साहित्यकारका रूपमा सम्मानित गरियो। प्रमुख अतिथि हुनुहुन्थ्यो तारा गान्धी भट्टाचार्य, महात्मा गान्धीकी नातिनी। विशेष अतिथि हुनुहुन्थ्यो भारतीय साहित्य अकादमीका अध्यक्ष माधव कौशिक।

श्रीलंकाकी राजदूत महिशिनी कोलन पनि आमन्त्रित हुनुहुन्थ्यो, तर उहाँहरू उपस्थित हुन सक्नुभएन। यसप्रकार उद्घाटन सत्र सफलतापूर्वक सम्पन्न भएको थियो। नेपालका कार्यवाहक राजदूत सुरेन्द्र थापा पनि आमन्त्रित हुनुहुन्थ्यो तर विभिन्न कारणले गर्दा उपस्थित हुन सक्नुभएन। विधान आचार्य र भीष्म उप्रेतीबिच साहित्यिक संवाद आकर्षक ढंगबाट समाप्त भएको थियो। अभय श्रेष्ठजीले कविता पाठसहित कार्यपत्र पनि प्रस्तुत गर्नुभएको थियो।

मैले चाहिँ ‘द पावर अफ पेन’ अर्थात् कलमको शक्तिबारे कार्यपत्र प्रस्तुत गरेको थिएँ। अन्य नेपाली साहित्यकारहरूले विभिन्न सत्रमा कविता वाचन गर्नुभएको थियो। विधान आचार्य र भीष्म उप्रेतीले पनि कार्यपत्रसहित कविता वाचन गर्ने अवसर पाउनुभएको थियो। केशव सिग्देलले दुई सत्रको अध्यक्षता गर्ने अवसर पाउनुभएको थियो। समग्रतः नेपाली प्रतिनिधिहरूले सफलतापूर्वक आआफ्नो भूमिकाको निर्वाहमा सफल हुनुभएको थियो।
सोही सत्रमा मेरो पुस्तक ‘इलेभेन पोएटस’ को लोकार्पण सहभागी सबै साहित्यकारहरूद्वारा सामूहिक रूपमा सम्पन्न भएको थियो। यस संग्रहमा कविहरू विद्यापति, लक्ष्मीप्रसाद देवकोटा, माधव घिमिरे, सिद्धिचरण श्रेष्ठ, वानीरा गिरी, वासु शशि, दिनेश अधिकारी र भीष्म उप्रेतीबारे समीक्षात्मक लेखहरू समाहित छन्। यसका भूमिका लेखकहरू हुनुहुन्छ अंग्रेजी भाषाका अवकाशप्राप्त प्राध्यापक डा. मोहन लोहनी र डा. श्रीधर गौतम।

यो समारोह नोभेम्बर १५ देखि नोभेम्बर १८ सम्म अर्थात् चार दिनसम्म सफलतापूर्वक सञ्चालन भएको थियो। नेपाली प्रतिनिधिमण्डलबाहेक यस कार्यक्रममा अफगानिस्तानबाट कवि मोहम्मद मंसुर नासिमी एक मात्र प्रतिनिधिले अफगानिस्तानको प्रतिनिधित्व गरिरहनुभएको थियो, जबकि कवि मोहम्मद अफसर रहविन र कवि सोमिया रमिश पनि आमन्त्रित हुनुहुन्थ्यो।
यस्तै बंगलादेशबाट असरफ गेबेल, पकरुल आलम, फरिदुर रहमान, जतन कुमार देवनाथ, कादेसर पलास, लोपा मोमताज, मोहित कमल, मोहम्मद फोरिद हसन, मोहम्मद नुरे आलम पटवारी, नुरुल हक र नुरुनाहरमुनी, कामरुल बहर आरिफ, सौम्या सलेक आदिले कार्यपत्र प्रस्तुतिका साथसाथै कविता वाचन पनि गर्नुभएको थियो।

भुटानबाट वासुदेव आचार्य, चदोर वाग्मो, कुनजंग चोदेन, रिनजिन रिनजिन आदिले कविता वाचनसँगसँगै कार्यपत्र प्रस्तुत गरेर कार्यक्रमको शोभा बढाइरहनुभएको थियो। भारतबाट आलोक भल्ला, अमर मुडी, अमरेन्द्र खटुआ, अमित रञ्जन, अनिता भट्टनागर जैन, विमल सहगल, देवाशिष लहिरी, गुरुप्रती कौर, हरिन्दर सिक्का, के के मोहम्मद, काजल चक्रवर्ती, कविता सिंघल, मन्दिरा घोष, मिनाक्षी गोस्वामी, मौली जोसेफ, मुकुल कुमार, निरा कश्यप, नेहा कृष्णा, पायल नागपाल, परवेज सहरयार, पुरोवी तारा चौधरी, पुष्पेश पन्त, राधा चक्रवर्ती, रेणुका सिंह, ऋषिकेशकुमार सिंह, रविन्सन रोवर्ट, सविना पिल्लैइ, सञ्जुला शर्मा, सरस्वती पोस्वाल, सीमा जैन, शैश्वता महजवी, सोनाली पट्टनायक, सुजाता प्रसाद, सुक्रिता पाल कुमार, सुरेश के गोयल, सुसमिन्दर जित कौर, स्वाती पाल, श्वेता कुमारी, तनविर गौहर, ट्रिना चक्रवर्ती, वनिता, वर्षादास र विनिता बक्सी।
हिन्दी भाषा–साहित्यका सुप्रसिद्ध कविहरू अनामिका, अरुण आदित्य, अरुणकुमार पासवान, अरविन्द ओझा, विनोद खेतान, देवप्रकाश चौधरी, देवशंकर नवीन, देवप्रकाश चौधरी, जावेद आलम खाँ, निर्देश निधि, ओम निश्चल, पुनम वेदी, राजेन्द्र शर्मा, रुमी मल्लिक, रुपा सिंह, संगीता गुप्ता, संगीता अग्रवाल, सविता पाठक, शिखा सिंह, सुमन चौधरी र तेज प्रकाश।
उर्दू भाषामा कविता लेख्ने कविहरूमा ए नसिव खान, आलोक अविरल, असीम पिरजादा, अजरा नकवी र नोमन शौक र रहमान मुसावी आदिको सहभागिताबाट उर्दू भाषा–साहित्यको सफल प्रतिनिधित्व भएको थियो। यस्तै पन्जाबी भाषा–साहित्यका प्रसिद्ध कविहरू गगन दीप शर्मा, गगन दीप सिंह, गगनमित कौर, करणजित सिंह, तरिन्दर कौरको कविता वाचनबाट सार्क सम्मेलनको सर्वसहभागिता स्वयंसिद्ध भइराखेको थियो।
श्रीलंकाका प्रतिनिधि कविहरूको सहभागिताबाट सार्क साहित्य सम्मेलनको सार्थकता सिद्ध भइराखेको थियो। यसमा अमरासिरे विक्रमारत्ने, सिरिल पथिराना, कुमारा हेटिराची, प्रियन्धरा बन्डारा, थमिर मञ्जु, तिलक कापुगे, भूषण निसानसाला र रुवान वातावाला। यसप्रकार सार्क राष्ट्रका साहित्यकारहरूको सक्रिय सहभागिताबाट ६७औं सार्क साहित्य सम्मेलन सफलतापूर्वक सम्पन्न भएको थियो।
सार्कमा राजनीतिक–कूटनीतिक अभिरुचि क्रमशः कम हुँदै गएको स्थितिमा साहित्यिक–सांस्कृतिक अभिरुचि दिनानुदिन बढ्दै गएको स्वतः सिद्ध हुन्छ। सार्कको अस्तित्व र अस्मिता क्रमशः कम हुँदै गएको स्थितिमा सार्क साहित्यको दीप प्रज्ज्वलनमा पद्मश्री उपाधि प्राप्त साहित्यकार अजिन कौर तथा उनकी कलाकार सुपुत्री अर्पणा कौरको अभिरुचि उल्लेख्य पाइन्छ। यी दुईजना प्रसिद्ध साहित्यकार र कलाकारको भूमिका निःसन्देह सराहनीय भन्न सकिन्छ, जसले सार्क राष्ट्रका साहित्यकार आशावादी भएर यस सम्मेलनमा सक्रिय सहभागिता जनाउँदै आएका छन्।
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १० मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस