कर्म र करुणाका देवता रातो मच्छिन्द्रनाथ
३१ वैशाख २०७९
•
६ मिनेट पाठ
कर्म र करुणाका देवता रातो मच्छिन्द्रनाथ
वर्षा, खेती र सहकालका देवता रातो मच्छिन्द्रनाथको करुणा समस्त प्राणीहरूमा सधैँ बराबरी रही रहने भएकाले नै करुणामय मच्छिन्द्रनाथ पनि भन्ने गरिएको हो। सम्पूर्ण प्राणीहरूलाई वात्सल्य भावले स्नेह राखी उद्दार गर्ने करुणामय रातो मच्छिन्द्रनाथ प्रजाका लागि मात्र नभएर राजा–महाराजाहरूका लागि पनि कतिसम्म पूजनीय देवता हुन् भन्ने प्रमाण श्रीनिवास मल्लको पालामा पाटनको तःबहालमा करुणामयको मन्दिरभित्र राखिरहेको एउटा शिलालेखले पुष्टि गर्दछ।




उक्त शिलालेखको एक टुक्रा कुराको अर्थ यस्तो छ– ‘यी देवताको जात्रामा शोभा बढाउन राजा–महाराजाहरू जस्तोसुकै काम परे पनि सामेल हुनुपर्छ।’ सोही परम्पराअनुसार हालसम्म पनि मच्छिन्द्रनाथको महास्नानको जात्रामा होस् वा रथ तान्ने जात्रामा होस्, १७ औँ शताब्दीका राजा सिद्धिनरसिंह मल्लको ऐतिहासिक खड्गलाई झल्लर भएको छत्रले ओढाएर ल्याउनुपर्छ।

प्रसिद्ध बौद्ध ग्रन्थ कारब्यूहमा उल्लेख गरेअनुसार करुणामय आर्यावलोकितेश्वरलाई विष्णु मानेर पूजा गर्नेहरूलाई करुणामयले विष्णुकै अवतार लिएर दर्शन दिनुहुन्छ, महादेव मानेर पूजा गर्नेहरूलाई महादेवकै अवतारको रूपमा दर्शन दिनुहुन्छ। त्यस्तै गणेश मानेर पूजा गर्नेहरूलाई गणेशकै अवतारका रूपमा दर्शन दिनुहुन्छ। त्यसरी नै कसैले राजा सम्झेर श्रद्धाभक्ति गर्नेहरूलाई राजाकै रूपमा दर्शन दिनुहुन्छ भने आमाबाबु सम्झेर पूजा गर्नेहरूलाई आमाबाबुकै अवतारका रूपमा दर्शन दिनुहुन्छ।

करुणामय रातो मच्छिन्द्रनाथको सम्पूर्ण प्राणीहरूमा कतिसम्म करुणा र स्नेह छ भन्ने कुरामा पौराणिक कथा र किंवदन्तीहरू धेरै छन्। कर्ममा पूरा विश्वास राखी लोककल्याण गर्ने कार्यमा मच्छिन्द्रनाथ कतिसम्म दृढ सङ्कल्पित हुनुभएको छ भन्ने कुराको प्रमाणस्वरूप यहाँ एउटा किंवदन्ती प्रस्तुत गरेको छु।

एकपटक आदिनाथ स्वयम्भूले देवताहरूको एउटा भव्य सभाको आयोजना गरी ३३ कोटि देवताहरूलाई आमन्त्रण गर्नुभएको थियो। उक्त भव्य सभामा सम्पूर्ण देवताहरू आइपुगे तर मच्छिन्द्रनाथ भने आएनन्। मच्छिन्द्रनाथ किन नआएको भनी सोध्न पठाउँदा सधैँ संसारका सारा मानिसलगाायतका प्राणीहरूको उद्धार गर्ने कार्यमा व्यस्त हुनुपरेकोले फुर्सद नभएको भनी जवाफ पठाए। मच्छिन्द्रनाथको यो जवाफका कारण स्वयम्भूले आफू अपमानित भएको ठाने।

स्वयम्भूले पनि रिसाएर त्यसको बदला लिनेक्रममा देशैभर पानी नै बन्द गरिदिए अनि बिनावर्षा हुने अनिकालबाट प्रजाजनलाई कसरी बचाउँछन् भनी तमासा हेर्ने मनस्थिति स्वयम्भूले बनाए। वर्षा नभएकाले खेतमा धान रोप्ने कार्य नै हुन पाएन। सबै किसानहरूमा हाहाकार मच्चियो। मच्छिन्द्रनाथले जनताका दुःख हेर्न नसकेर एउटा बुढाको रूप लिई आए। अनि पानी नपरे पनि किसानहरूलाई धान रोप्ने कार्य गर्न सल्लाह दिए। खेतखेतमैँ गएर मच्छिन्द्रनाथले सबै किसानहरूलाई धान रोपेर हेर भन्दै हिँडे। त्यो बुढाको कुरा सुनेर सबै किसानहरू प्रभावित भए।

त्यो बुढाको कुरामा विश्वास गरेर सबैले खेतमा पानी नभए पनि धान रोप्छन्। यसरी पानी नभएको खेतमा धान रोपे पनि राम्ररी धान सप्रेको देखेर किसानहरू खुशी हुन्छन्। मच्छिन्द्रनाथको प्रभावले यस्तो भएको हो भनी किसानहरूले देवतालाई धेरैधेरै श्रद्धाभाव व्यक्त गर्छन्। स्वयम्भू भगवानले यो कुरा थाहा पाएर आश्चर्य मान्छन् अनि सोही बेलादेखि स्वयम्भूले मच्छिन्द्रनाथ करुणामयलाई साँच्चिकै एक महान् कर्मयोगी मानेर सम्मानपूर्वक हेर्न थाले।

हुन त यो एउटा जनश्रुति मात्र हो। यो जनश्रुति विभिन्न स्थानमा विभिन्न किसिमले भन्ने गरिन्छ तर यसको मुख्य सारतत्त्व भने एउटै देखिन्छ। सबै जनश्रुतिमा करुणामय मच्छिन्द्रनाथलाई कर्ममा विश्वास गर्ने, लोकको उद्धार गर्ने कार्यमा सधैँ तयार भैरहने एक महान् कर्मयोगीका रूपमा वर्णन गरिएको देखिन्छ।

एउटा रमाइलो लाग्ने परम्परा र चलनअनुसार आफूलाई ललित ज्यापु (चक्रधर) का वंशज भनी गौरव मान्ने पाटनको इबही टोलका ज्यापुहरूले विवाह गर्दा चिना देखाउने गर्र्दैनन्। यसको सट्टा उनीहरूले फूल, अक्षेता र टीकाले करुणामय मच्छिन्द्रनाथको पूजा गर्छन्। देवताको प्रसाद फूल, अक्षेता र टीका लिई घरमा फर्कन्छन्। विवाह गर्नुपर्ने युवा र युवतीको बीचमा त्यही प्रसाद साटासाट हुन्छ। यसरी साटासाट गरेको प्रसाद उनीहरूले शिरानी मुनी राखेर सुत्छन्। अनि उनीहरूले सपनामा के देख्छन्, त्यसैका आधारमा निर्णय गरिन्छ। सपनाकै आधारमा उनीहरूको विवाहको निर्णय गरिन्छ। सपना सकारात्मक र शुभ देखिएमा विवाह पक्का गरिन्छ, यदि सपना नकारात्मक र अशुभ देखिएमा भने विवाह हुँदैन।

त्यस्तै अर्को परम्परागत भनाइ पनि छ। मच्छिन्द्रनाथको पूजा गरेर भोज खाने जति पनि गुठी छन्, ती सबै आजसम्म ज्यापुहरूले नै चलाउँदै आइरहेका छन्। मच्छिन्द्रनाथ देवताका बारेमा ज्यापुहरूमा यस्तो ठूलो विश्वास छ कि मच्छिन्द्रनाथलाई नियमित रूपमा सङ्क्रान्तिमा पूजा गर्ने गुठी नभएको टोलमा बस्नु हुँदैन भन्ने परम्परागत भनाइ र जनविश्वास छ।

एकपटक मच्छिन्द्रनाथ करुणामयले तपस्या गरेर निर्वाण प्राप्त गरिसकेपछि भौतिक संसार छाडेर शास्वत सत्य शून्यमा विलीन भएर जान तयार भैसकेपछि सुमेरु पर्वतको दूरशिखरबाट आएको ज्यादै नै कोलाहलपूर्ण स्वर सुनिन्छ। यो आवाज सुनेर करुणामय टक्क अडिन्छन् अनि यो आवाज कहाँबाट आएको हो भनी ध्यान दृष्टिले हेर्दा करुणामय मच्छिन्द्रनाथले छाडेर जान लागेको थाहा पाई सम्पूर्ण जन आत्तिएर त्राहिमाम–त्राहिमाम भनी कराइरहेको आवाज रहेको थाहा पाउँछन्।

विभिन्न किसिमले दुःख पाइरहेका प्राणीहरूको पुकार सुनेर मच्छिन्द्रनाथको मनमा करुणा भरिएर आउँछ। तब तत्कालै मच्छिन्द्रनाथ फर्किन्छन् अनि यो धरतीमा दुःख पाइरहेका एकजना प्राणी रहुञ्जेल मैले उसको उद्धार गर्ने छु, जस्तोसुकै पुण्य पाइने भए तापनि मोक्षको बाटोमा जाने छैन, अब मैले यही संसारमा बसेर मानिसहरूको उद्धार गर्ने काम गरेर बस्ने छु भन्ने प्रतिज्ञा गरेर बस्छन्।

राजा नरेन्द्रदेवको पालामा नेपाल मण्डलमा १२ वर्षसम्म पानी नपरेर अनिकाल भयो। तब राजा नरेन्द्रदेवले टेबहालका तान्त्रिक बन्धुदत्तलाई बोलाएर के कारणले यस्तो भएको भनी सोधनी गर्दा बौद्ध धर्मावलम्बी उपत्यकाका जनताले गुरु गोरखनाथलाई भिक्षा नदिएकाले रिसाई गोरखनाथले नौवटा नागको आसन बनाई श्लेषमान्तक वनमा तपस्या गरी बसेकाले पानी नपरेको कुरा बताए। यो समस्याको समाधान गर्न गुरु गोरखनाथका पनि गुरु आर्यावलोकितेश्वर करुणामय मच्छिन्द्रनाथलाई कामरुकामाक्षा आसामबाट ल्याउन सकेमा गुरुको सम्मानमा गोरखनाथले आफ्नो आसनबाट उठेर आउँछन् अनि पानी परेर सहकाल हुने छ भनी तान्त्रिक बन्धुदत्तले सल्लाह दिन्छन्।

तान्त्रिककै भनाइअनुसार नै राजा नरेन्द्रदेव, तान्त्रिक बन्धुदत्त र पाटनका ललित ज्यापु (चक्रधर) आसाममा गई अत्यन्तै कष्ट गरी करुणामयलाई ल्याउन सफल हुन्छन्। तान्त्रिक बन्धुदत्तले भने जस्तै गुरु गोरखनाथले आफ्ना गुरु आएको थाहा पाई गुरुको सम्मानमा उठेर आई दर्शन गर्न जान्छन् अनि वर्षा भई उपत्यकामा सहकाल हुन्छ। सहकाल सुरु भएको उपलक्ष्यमा मच्छिन्द्रनाथको जात्रा चलाएको हो भनिन्छ। अक्षय तृतीयाका दिन महादेव र पार्वतीको शुभविवाह भएको शुभदिनमा आर्यावलोकितेश्वर मच्छिन्द्रनाथले आफू नाथ सम्प्रदायको भए तापनि मत्स्य अवतारको रूप दर्शन दिएकाले करुणामयलाई मच्छिन्द्रनाथ भनिएको हो।

बौद्धहरूले करुणामय, वैष्णवहरूले मत्स्य अवतार, शैवहरूले अर्धनारीश्वर शिव–पार्वती र नाथ सम्प्रदायहरूले मच्छिन्द्रनातका रूपमा मान्छन्। नेवार संस्कृतिमा रातो करुणामय मच्छिन्द्रनाथलाई वर्षा र सहकालका देवताका रूपमा मान्दै आइरहेको पाइन्छ। 
अर्को समाचार
दिल्लीसँग गाँसिएको साहित्य साइनो
१० मिनेट अघि
•
१ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
काठमाडाैं, धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
‘दिल्ली दूर है’ को भाष्य अहिले गलत साबित भएको छ। अब हवाईमार्गबाट दुई घण्टाको दुरीमा भारतको राजधानी दिल्ली अवस्थित छ तर यहाँ जान र आउनका लागि दिनभरिको समय लाग्दो रहेछ। दिल्लीसँग मेरो साइनो वर्षौं पुरानो छ। सर्वप्रथम म दिल्ली गएको २४ अक्टोबर १९७१ मा हो।




यो संयुक्त राष्ट्रसंघ दिवस पनि हो। हो, म यसै दिन कोलम्बो योजनाअन्तर्गत विद्यावारिधिको उपाधिका लागि दिल्ली प्रस्थान गर्दा धेरै प्रसन्न थिएँ। म पद्मकन्या कलेजमा प्राध्यापन गरेको चार वर्ष बितिसकेको थियो। आर्थिक र एकेडेमिक दुवै किसिमबाट सन्तुष्ट नै थिएँ तर प्राध्यापन सेवामा विद्यावारिधिको डिग्री आवश्यक थियो भनेर छिमेकी मुलुक भारतबाट विद्यावारिधिको उपाधिका लागि केही विषयहरूमा विद्वत्वृत्तिको अनुरोध कलेजमा आएकाले मेरो मनोनयन तत्कालीन प्राचार्य अंगुरबाबा जोशीले गर्नुभएको थियो। म सहर्ष स्वीकार गरेर उहाँप्रति कृतज्ञतापूर्वक धन्यवाद दिएँ र म तन, मन, धनले दिल्ली जानका लागि तमतयार भएको थिएँ। मैले दिल्ली जानका लागि नै आफ्नो रुचि प्रकट गरेको थिएँ। मैले दिल्ली जाने अवसर पाएको थिइनँ।

हुन त मेरो प्राध्यापक पदको नियुक्तिका निमित्त अन्तर्वार्ता लिन दिल्ली विश्वविद्यालय, हिन्दी विभागका विभागाध्यक्ष तथा प्रसिद्ध समीक्षक डा. नगेन्द्र आउनुभएको थियो। तसर्थ पनि दिल्ली जान मैले आफ्नो रुचि र स्वीकृति दिएको थिएँ। उहाँले मेरो नियुक्तिका लागि सिफारिस गर्नुभएको थियो। उहाँ दिल्ली फर्केपछि तत्कालीन हिन्दी साप्ताहिक पत्रिकामा एउटा आलेख लेख्नुभएको थियो, ‘मेरी पहली विदेश यात्रा’। त्यो आलेख धेरै लोकप्रिय भएको थियो। गोरखापत्र दैनिकका तत्कालीन सहायक सम्पादक र साहित्यकार भैरव अर्यालले मलाई अनुरोध गर्नुभएको थियो कि यसको नेपाली अनुवाद गरिदिनुहोस्, हामी गोरखापत्र दैनिकमा प्रकाशित गर्नेछौं।

मैले उहाँको अनुरोधलाई स्वीकार गर्दै त्यो आलेख नेपालीमा अनुवाद गरेँ र उहाँले सुन्दर साजसज्जासाथ प्रकाशित गर्नुभयो। धेरै नेपाली पाठकले त्यो आलेख पढ्ने अवसर पाए। यसप्रकार डा. नगेन्द्रजस्ता विद्वान् समीक्षकसँग मेरो साइनो जोडियो। म काठमाडौंबाट इन्डियन एयरलाइन्सको हवाईजहाजबाट दिल्ली प्रस्थान गर्ने अवसर प्राप्त गरेँ। त्यसबखत इन्डियन एयरलाइन्सको उडान बनारस, आगरा हुँदै दिल्ली जाने गर्थ्याे। मलाई खुबै मजा आएको थियो। दिल्ली हवाई अन्तर्राष्ट्रिय अड्डामा ओर्लिंदा मलाई लिन भारतीय सांस्कृतिक परिषद्का कर्मचारी आएका थिए। उनले मलाई पहाडगन्जस्थित इन्टरनेसनल होटलमा बसोबासको व्यवस्था गरिदिए। म आरामपूर्वक खाना खाएपछि सुतेँ।

भोलिपल्ट बाराखम्बा रोड, नयाँदिल्लीस्थित नेपाली दूतावासमा प्रा. इन्द्रराज मिश्र सांस्कृतिक सहचारीको पदमा नियुक्त भएर जानुभएको थियो, म उहाँलाई भेट्न गएँ। उहाँले मलाई दिल्ली विश्वविद्यालयमा आफ्नो दूतावासको वाहनमा लगेर त्यहाँको रजिस्ट्रारसँग परिचय गराउनुभयो।मेरो नामांकन विधिवत् सम्पन्न भयो।
म होटलबाट दिल्ली विश्वविद्यालय परिसरमा अवस्थित अतिथिगृहमा केही दिनका लागि बसेँ। त्यसपछि ग्वाएर हलमा मेरो बसोबासको व्यवस्था गरियो। ग्वाएर हलमा विराटनगरका शोधार्थी आनन्द नेपाल र काठमाडौंका दुर्गेशमान सिंह पहिलादेखि नै बस्नुभएको थियो। उहाँहरू अर्थशास्त्रमा विद्यावारिधिका लागि पञ्जीकृत हुनुभएको थियो। पछि उहाँ दुवै जना आफ्नो शोधकार्य स्थगित गरेर नेपाल फर्किनुभयो। आफ्नो–आफ्नो व्यक्तिगत कारणले म दिल्ली बस्दा बस्दै भारत र पाकिस्तानमा युद्ध सुरु भयो। रातभरि ब्ल्याकआउट हुने, साइरन बज्ने आदिले गर्दा म पनि त्रसित भएँ।

मैले सांस्कृतिक सहचारी इन्द्रराज मिश्रलाई नेपाल फर्काउने चाँजोपाँजो मिलाइदिनुहोस् भन्ने अनुरोध गरेँ। उहाँले ‘नडराउनुस्, तपाईंलाई केही हुँदैन’ भन्नुभयो। उहाँले आश्वासन दिनुभयो, मेरो सामुन्नेमा कुनै विकल्प थिएन। म बाध्य भएर आफ्नो विद्यावारिधिको उपाधिका लागि अनुसन्धानमा अनुरक्त भएँ।
एक दिन म डा. नगेन्द्रलाई भेट्न उहाँको क्वाटरमा गएँ। उहाँसँग ‘सिन्दूर की होली’ का लोकप्रिय लेखक लक्ष्मीनारायण लाल बिहानको खाजा खाँदै हुनुहुन्थ्यो। उहाँले मलाई पनि खाजा खुवाउनुभयो। मैले डा. नगेन्द्रलाई पनि अनुरोध गरेँ कि मलाई यहाँ बस्न धेरै डर लाग्छ। लक्ष्मीनारायण लालले मलाई आश्वासन दिनुभयो, ‘सिकवे और सिकायत से जीवन यापन नहीं होता है, धैर्य रखकर अपनी उद्देश्यपूर्ति में लग जाइए।’ म पनि धैर्य धारण गरेर अनुसन्धान कार्यमा जुटिहालेँ। यसप्रकार दिल्लीसँग मेरो दोस्ती गाँसियो।

केही दिनपछि त म सपरिवार त्यहाँ बस्न थालेँ। दिल्ली जाने क्रम जारी नै रह्यो र अहिले पनि यहाँ जाने क्रम जारी नै छ। कहिले संगोष्ठीमा भाग लिन र कहिले आफ्नो छोरा र श्रीमतीको स्वास्थ्योपचारका लागि अखिल भारतीय आयुर्विज्ञान संस्थान र मेदान्त अस्पतालमा जान बाध्य भएँ। आखिर मेरी श्रीमती त स्वर्गीय नै भइन् २०८३ माघ ३ मा।
दुई वर्षपहिला सार्क साहित्य सम्मेलनमा भाग लिने अवसर जुरेको थियो। यसपालि पनि सार्क साहित्य सम्मेलनमा भाग लिनका लागि म र साहित्यकार विधान आचार्यसँगै हवाईमार्गबाट दिल्ली पुग्यौं।

कवि र लेखक भीष्म उप्रेती बेलुकाको उडानबाट आउनुभयो। हामी सँगै साइधाम होटलमा बास बस्यौं। यसबाहेक साहित्यकार र पत्रकार अभय श्रेष्ठ, स्तम्भ लेखिका सरिता तिवारी, अनुषा शर्मा, सुन्दर कुरूप, चन्द्र गुरुङ, हेमन्त विश्वास, केशव सिग्देल, लक्ष्मी रुम्बा, प्रकाश थामसुहाङ, रजनी मिला, रमी प्रिया आदि सहभागी थियौं।
अनुवादक र कवि केशव सिग्देल सार्क लाइफटाइम एचिभमेन्टबाट पुरस्कृत हुनुभयो। मलाई चाहिँ सार्क साहित्यकारका रूपमा सम्मानित गरियो। प्रमुख अतिथि हुनुहुन्थ्यो तारा गान्धी भट्टाचार्य, महात्मा गान्धीकी नातिनी। विशेष अतिथि हुनुहुन्थ्यो भारतीय साहित्य अकादमीका अध्यक्ष माधव कौशिक।

श्रीलंकाकी राजदूत महिशिनी कोलन पनि आमन्त्रित हुनुहुन्थ्यो, तर उहाँहरू उपस्थित हुन सक्नुभएन। यसप्रकार उद्घाटन सत्र सफलतापूर्वक सम्पन्न भएको थियो। नेपालका कार्यवाहक राजदूत सुरेन्द्र थापा पनि आमन्त्रित हुनुहुन्थ्यो तर विभिन्न कारणले गर्दा उपस्थित हुन सक्नुभएन। विधान आचार्य र भीष्म उप्रेतीबिच साहित्यिक संवाद आकर्षक ढंगबाट समाप्त भएको थियो। अभय श्रेष्ठजीले कविता पाठसहित कार्यपत्र पनि प्रस्तुत गर्नुभएको थियो।

मैले चाहिँ ‘द पावर अफ पेन’ अर्थात् कलमको शक्तिबारे कार्यपत्र प्रस्तुत गरेको थिएँ। अन्य नेपाली साहित्यकारहरूले विभिन्न सत्रमा कविता वाचन गर्नुभएको थियो। विधान आचार्य र भीष्म उप्रेतीले पनि कार्यपत्रसहित कविता वाचन गर्ने अवसर पाउनुभएको थियो। केशव सिग्देलले दुई सत्रको अध्यक्षता गर्ने अवसर पाउनुभएको थियो। समग्रतः नेपाली प्रतिनिधिहरूले सफलतापूर्वक आआफ्नो भूमिकाको निर्वाहमा सफल हुनुभएको थियो।
सोही सत्रमा मेरो पुस्तक ‘इलेभेन पोएटस’ को लोकार्पण सहभागी सबै साहित्यकारहरूद्वारा सामूहिक रूपमा सम्पन्न भएको थियो। यस संग्रहमा कविहरू विद्यापति, लक्ष्मीप्रसाद देवकोटा, माधव घिमिरे, सिद्धिचरण श्रेष्ठ, वानीरा गिरी, वासु शशि, दिनेश अधिकारी र भीष्म उप्रेतीबारे समीक्षात्मक लेखहरू समाहित छन्। यसका भूमिका लेखकहरू हुनुहुन्छ अंग्रेजी भाषाका अवकाशप्राप्त प्राध्यापक डा. मोहन लोहनी र डा. श्रीधर गौतम।

यो समारोह नोभेम्बर १५ देखि नोभेम्बर १८ सम्म अर्थात् चार दिनसम्म सफलतापूर्वक सञ्चालन भएको थियो। नेपाली प्रतिनिधिमण्डलबाहेक यस कार्यक्रममा अफगानिस्तानबाट कवि मोहम्मद मंसुर नासिमी एक मात्र प्रतिनिधिले अफगानिस्तानको प्रतिनिधित्व गरिरहनुभएको थियो, जबकि कवि मोहम्मद अफसर रहविन र कवि सोमिया रमिश पनि आमन्त्रित हुनुहुन्थ्यो।
यस्तै बंगलादेशबाट असरफ गेबेल, पकरुल आलम, फरिदुर रहमान, जतन कुमार देवनाथ, कादेसर पलास, लोपा मोमताज, मोहित कमल, मोहम्मद फोरिद हसन, मोहम्मद नुरे आलम पटवारी, नुरुल हक र नुरुनाहरमुनी, कामरुल बहर आरिफ, सौम्या सलेक आदिले कार्यपत्र प्रस्तुतिका साथसाथै कविता वाचन पनि गर्नुभएको थियो।

भुटानबाट वासुदेव आचार्य, चदोर वाग्मो, कुनजंग चोदेन, रिनजिन रिनजिन आदिले कविता वाचनसँगसँगै कार्यपत्र प्रस्तुत गरेर कार्यक्रमको शोभा बढाइरहनुभएको थियो। भारतबाट आलोक भल्ला, अमर मुडी, अमरेन्द्र खटुआ, अमित रञ्जन, अनिता भट्टनागर जैन, विमल सहगल, देवाशिष लहिरी, गुरुप्रती कौर, हरिन्दर सिक्का, के के मोहम्मद, काजल चक्रवर्ती, कविता सिंघल, मन्दिरा घोष, मिनाक्षी गोस्वामी, मौली जोसेफ, मुकुल कुमार, निरा कश्यप, नेहा कृष्णा, पायल नागपाल, परवेज सहरयार, पुरोवी तारा चौधरी, पुष्पेश पन्त, राधा चक्रवर्ती, रेणुका सिंह, ऋषिकेशकुमार सिंह, रविन्सन रोवर्ट, सविना पिल्लैइ, सञ्जुला शर्मा, सरस्वती पोस्वाल, सीमा जैन, शैश्वता महजवी, सोनाली पट्टनायक, सुजाता प्रसाद, सुक्रिता पाल कुमार, सुरेश के गोयल, सुसमिन्दर जित कौर, स्वाती पाल, श्वेता कुमारी, तनविर गौहर, ट्रिना चक्रवर्ती, वनिता, वर्षादास र विनिता बक्सी।
हिन्दी भाषा–साहित्यका सुप्रसिद्ध कविहरू अनामिका, अरुण आदित्य, अरुणकुमार पासवान, अरविन्द ओझा, विनोद खेतान, देवप्रकाश चौधरी, देवशंकर नवीन, देवप्रकाश चौधरी, जावेद आलम खाँ, निर्देश निधि, ओम निश्चल, पुनम वेदी, राजेन्द्र शर्मा, रुमी मल्लिक, रुपा सिंह, संगीता गुप्ता, संगीता अग्रवाल, सविता पाठक, शिखा सिंह, सुमन चौधरी र तेज प्रकाश।
उर्दू भाषामा कविता लेख्ने कविहरूमा ए नसिव खान, आलोक अविरल, असीम पिरजादा, अजरा नकवी र नोमन शौक र रहमान मुसावी आदिको सहभागिताबाट उर्दू भाषा–साहित्यको सफल प्रतिनिधित्व भएको थियो। यस्तै पन्जाबी भाषा–साहित्यका प्रसिद्ध कविहरू गगन दीप शर्मा, गगन दीप सिंह, गगनमित कौर, करणजित सिंह, तरिन्दर कौरको कविता वाचनबाट सार्क सम्मेलनको सर्वसहभागिता स्वयंसिद्ध भइराखेको थियो।
श्रीलंकाका प्रतिनिधि कविहरूको सहभागिताबाट सार्क साहित्य सम्मेलनको सार्थकता सिद्ध भइराखेको थियो। यसमा अमरासिरे विक्रमारत्ने, सिरिल पथिराना, कुमारा हेटिराची, प्रियन्धरा बन्डारा, थमिर मञ्जु, तिलक कापुगे, भूषण निसानसाला र रुवान वातावाला। यसप्रकार सार्क राष्ट्रका साहित्यकारहरूको सक्रिय सहभागिताबाट ६७औं सार्क साहित्य सम्मेलन सफलतापूर्वक सम्पन्न भएको थियो।
सार्कमा राजनीतिक–कूटनीतिक अभिरुचि क्रमशः कम हुँदै गएको स्थितिमा साहित्यिक–सांस्कृतिक अभिरुचि दिनानुदिन बढ्दै गएको स्वतः सिद्ध हुन्छ। सार्कको अस्तित्व र अस्मिता क्रमशः कम हुँदै गएको स्थितिमा सार्क साहित्यको दीप प्रज्ज्वलनमा पद्मश्री उपाधि प्राप्त साहित्यकार अजिन कौर तथा उनकी कलाकार सुपुत्री अर्पणा कौरको अभिरुचि उल्लेख्य पाइन्छ। यी दुईजना प्रसिद्ध साहित्यकार र कलाकारको भूमिका निःसन्देह सराहनीय भन्न सकिन्छ, जसले सार्क राष्ट्रका साहित्यकार आशावादी भएर यस सम्मेलनमा सक्रिय सहभागिता जनाउँदै आएका छन्।
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १० मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस