विनापार्टीको मान्छे!
०२ फागुन २०८२
•
११ मिनेट पाठ
विनापार्टीको मान्छे!
त्यो फुच्चे केटो म चढेको स्टेशनभन्दा पल्लो स्टेशनबाट वस चढेको रहेछ सायद। दुई जनाको वसको सीटमा झ्यालतिर चेप्पिएर बसेको थियो। उसको हातमा बाँसको कप्टेरोमा बनाइएको कागजको सानो झण्डा थियो र झ्यालबाट आएको हावामा फिरफिर भइरहेथ्यो झण्डा। हातको झण्डाको फिरफिरसँगै फुच्चे प्रफुल्लित मुद्रामा मुस्कुराइरहेथ्यो र आफ्नै तालमा ऊ गाउँदै पनि थियो -




सैयौँ थुँगा फूलका हामी एउटै माला नेपाली

सार्वभौम भई फैलिएका मेची–महाकाली।

फुच्चेले पटकपटक नयाँ राष्ट्रिय गानका पङ्क्तिहरू दोहोर्‍याइरहेको थियो। सँगै बसेकी उसकी दिदी होलिन् सायद - ‘चुप लाग, चुप लाग’ भनिरहेकी थिइन्। फुच्चे चाहिँ चुप लाग्न टेरिरहेको थिएन।

- मैले केटोलाई सोधेँ– बाबु, यो झण्डा कसले बनाएको?

- फुच्चेले सहजै जवाफ दियो -म आफैँले।

- अनि यो राष्ट्रिय गान कसले रचेको हो नि, थाहा छ?

- उसले भन्यो– व्याकुल माइलाले।

- तिम्रो नाम के हो नि?

- देशभक्त आचार्य।

फुच्चे निक्कै तीखो लाग्छ। जुनसुकै सवालजवाफमा पनि पछि नहट्नेजस्तो छ ऊ। उसकी दिदीचाहिँ मुसुमुसु हाँसिरहेकी छन्।

सडक जाम छ। गाडीहरू घ्यार्रघ्यार्र गरिरहेछन्। अलिकति सर्दा पनि यात्रुहरू खुशी हुँदै भन्छन् - सरोसरो! के भएको हो यस्तो? एक दिन होइन, दुई दिन होइन। सधैँको जामे रोगले मरिने भइयो - कोही ठड्यौली बोली बोल्छ।

म फुच्चेको हातको चन्द्र–सूर्य अङ्कित राष्ट्रिय झण्डा र फुच्चेको बोलीमा आकर्षित भइरहेको छु। ऊ हँसिलो छ, चङ्खे परेको अनुहार छ।

उमेरमा त्यस्तै नौ/दस वर्षको हुँदो हो।

- बाबु तिम्रो झण्डा मलाई देऊ न, मैले भनेँ।

- अहँ, दिन्न। फुच्चेले भन्यो।

- तिमी अर्को बनाऊ न, यो मलाई देऊ, मैले फेरि भनेँ।

- अहँ, दिन्न, ऊ एकोहोरो लागिरह्यो।

- म पैसा दिन्छु नि, मैले लोभ्याउन खोजेँ।

- उसले भन्यो– कति दिने?

- मैले भने– पाँच रुपियाँ।

- उसले भन्यो– अहँ दिन्न।

- मैले बढाउँदै गएँ– दस रुपियाँ, वीस रुपियाँ।

- ऊ केवल अहँ दिन्न मात्र भन्दै गयो।

- म सय, पाँच सय र हजार रुपियाँसम्म पनि पुगेँ।

- उसको जवाफ उही रह्यो।

हजारमा पुगेपछि फुच्चेले ‘ल हुन्छ, दिन्छु’ भनेको भए म के गर्थेँ हो कुन्नि! पिलपिले कागजको सानो बाँसको कप्टेरोमा बनाएको त्यो झण्डा वास्तवमा एक दिनभन्दा दुई दिन टिक्नेवाला थिएन। फुच्चे लरतरो पनि थिएन। हजार रुपियाँ फ्याट्ट भनिहालेँ। त्यसपछि पो म झसङ्ग भएँ। ल, दिन्छु ल्याउनुस् हजार रुपियाँ भनिदिएको भए यतिबेलासम्म उससँग गरेको रमाइलो वसभरि छताछुल्ल भएर पोखिनेवाला थियो। म लिन्न भन्न नपाउने परिवन्दमा परिसकेको थिएँ। वरिपरिका सीटका चार/पाँच जना र उसकी दिदीले पनि हाम्रो संवाद राम्रैसँग सुनेका छन्। म एकाएक सतर्क भएँ। फुच्चे पनि एकछिन्सम्म बोलेन। सोचेँ - यसले पक्कै हजार रुपियाँ निकाल्नुस्, दिन्छु भन्नैलाई सोच्दैछ।

अलिक ढिलो गरेर भन्यो भने त मलाई पनि जवाफ दिने ठाउँ बन्छ, किन मैले भन्नेबित्तिकै हुन्छ, दिन्छु नभनेको त? अब त चाहिएन भन्न सक्छु तर त्यति ढिलो पनि छैन यो केटो। यसले उसको उमेरको झण्डैझण्डै चौदोब्बरको मलाई पक्कै पनि पछार्ने भयो। निकै खुम्चिएँ म। फुच्चेको अनुहारमा पनि नहेरी ध्यान अन्यत्र बदल्न खोजेँ। यतिसम्म कि उससँग म कुनै संवादमा उत्रिएकै छैनझैँ बन्न खोजेँ।

‘नजाने गाउँको बाटै नसोध्नु’ भनेका त्यसै होइन रहेछन्। वास्तवमा मैले फुच्चेलाई जिस्क्याउनै नहुने थियो। विचरा बच्चाले रहरले सानो झण्डा बनाएर बोकेको थियो। गाडीमा हिँड्दा झ्यालको हावामा फिरफिरफिरफिर हुँदा केटाकेटीलाई मज्जा लाग्छ। प्लाष्टिक, कागजका पाना त्यसै पनि बच्चाले हावामा उडाएर मज्जा लिइरहेकै हुन्छन्। सानोमा बाँसको पट्याँसको फिरफिरे बनाएर मै पनि कति कुद्थेँ हावामा तर आज यो केटाले अप्ठ्यारोमा पार्ने नै भयो। आफूले खनेको खाल्डोमा आफैँ पर्ने भएँ। यसबाट उम्किन पाएँ भनेँ मेरो ठूलै विजय भएजस्तै हुनेछ। बरु गाडी रोक्न लगाएर यतै झरौँ र अर्कोमा चढेर जाउँ कि भन्ने पनि नसोचेको त होइन तर फुच्चे त्यति ढिलो छँदै थिएन। उसले एकछिनचाहिँ खै किन हो, सोच्यो र मतिर फर्किएर बोल्यो -ओ अङ्कल!

म थर्कमान् भएँ; पक्कै यसले ल्याउनुस् हजार रुपियाँ भन्यो अब। मरेजत्तिकै हुने भएँ। केटाकेटी हो, जे पनि भन्न सक्छ। मलाई गाली गर्न सक्छ, नलिने भए किन जिस्क्याएको त पनि भन्न सक्छ। मुखै छोडेर भन्न थाल्यो भने पनि ऊ केटाकेटी छ, सुहाउँछ। न पिट्नु, न मुख थुनिदिनु।  

“हजार त के, लाख रुपियाँ दिए पनि दिन्न। आफ्नो देशको राष्ट्रिय झण्डा पनि कसैले बेच्छ?”

मभित्रको उकुसमुकुस पानीपानी भयो। म छ्याङ्ग भएँ। मन हलुङ्गो भयो तर अघिसम्म गुम्सिएको भाव त्यसै हराउन सकेन। त्यसले निस्किने बाटो खोज्यो। दुःख, खुशी, पीडा, सन्त्रास, डर, जे भनौँ, सबैले आँखैलाई आफ्नो सहज निकासको बाटो ठान्दछन्। आँखा दुःखमा पनि भिज्छन् र हर्षमा पनि भिज्छन्। सायद धेरै कोमल भएकै कारणले होला आँखा यति छिट्टै पग्लिएका। मेरा आँखा पनि पग्लिएर तर मैले आफ्ना आँखा पग्लिएको कुनै पनि हालतमा अरूलाई देखाउनै हुन्नथ्यो। मलाई निकै हम्मेहम्मे पर्‍यो पग्लिएको भाव लुकाउनलाई। बनावटी हाँसो मुसुक्क हाँसेर फुच्चेको गालामा थपथपाएँ। उसकी दिदीलाई हेरेँ। ऊ पनि हँसिली पाराले मलाई नै हेरिरहेकी थिई। अब मलाई त्यति असजिलो भएन पचाउन।

देशमा लोकतन्त्र आएको छ। रङ्गीचङ्गी झण्डाहरू सडकमा यत्रतत्र देखिन्छन्। छयालीस सालमा बहुदल आएको बेला त झन् यतिबेलाको भन्दा ज्यादा घरघरमा पार्टीका झण्डाहरू फरफराएको देखिन्थ्यो। आआफ्नो आस्था र सिद्धान्तका पार्टीका झण्डाहरू घरैपिच्छे देखिन्थे। कतैकतै त एउटै घरमा पनि बेग्लाबेग्लै पार्टीका तीनवटासम्म झण्डा फरफराएको पनि देखिएकै हो। दलीय व्यवस्थाको स्वतन्त्रता नै यही हो। एउटै घरमा पनि वैचारिक मतभिन्नता भइदिँदा श्रीमानले एउटा पार्टीको, श्रीमतीले अर्को पार्टीको र छोरोले अर्कै पार्टीको आफ्नो आस्था अनुसारको झण्डा राख्ने स्वतन्त्रताको उपयोग थियो त्यो तर राष्ट्रिय झण्डाचाहिँ त्यतिबेला पनि विचरो अवस्थामा थियो र यतिबेला पनि विचरै अवस्थामा छ। कि त सरकारी कार्यालयहरूमा देख्न पाइन्छ, कि त स्कूलहरू र कि त केही लहडी व्यक्तिहरूका हातमा मात्र।

दोलखा जाँदा सदरमुकाम चरिकोटको सात दोबाटो चोकमा राखिएको राष्ट्रिय झण्डा हावामा फरफराउँदै वरिपरि घुम्दा पहिलोचोटि देख्नेलाई अचम्म लाग्न सक्छ। यो देखेर म कति हर्षित भएँथे। सम्भवतः नेपालभरमै यो नै एउटा ठाउँ हो चोकमा त्यसरी राष्ट्रिय झण्डा राखिएको।

राष्ट्रिय झण्डा बोक्ने केही व्यक्तिहरूका आआफ्नै स्वभाव छन्। के यो केटो पनि तिनै लहडी स्वभावका व्यक्तिहरूकै सूचीमा पर्छ त? म मनमनै सोच्छु।

एकजना विश्व साइकल यात्री छन्। उनी आफ्नो साइकलमा राष्ट्रिय झण्डालाई बाँधेर विश्व भ्रमणमा हिँडिरहेका छन्। घरव्यवहार, जागिर केही नभनी साइकलमा राष्ट्रिय झण्डा बाँधेर महादेशहरू चहार्नु उनको सोख हो कि लहड? सगरमाथा आरोहण गर्नेहरूले पनि अब त आआफ्नो धर्म, आस्था र पार्टीको झण्डालाई राष्ट्रिय झण्डासँगै चुचुरोमा गाड्न थालिसकेका छन्।

अर्का छन् अचम्मको व्यक्तित्वका विम्ब बनेका लक्ष्मणसिंह खड्का। उनी काँधमा एकातिर राष्ट्रिय झण्डा र अर्कोतिर कोदालो र सावेल बोकेर काठमाडौँको सडकका खाल्दा र बिग्रिएका ढलहरू बनाउँदै, पुर्दै हिँड्छन्। अनि चोकचोकमा भाषण पनि गरिहाल्छन्। उनलाई पनि मान्छेले अर्कै आँखाले हेर्छन् र हास्यपात्रको रूपमा उपयोग गर्छन्।

अर्का एक जना छन्, जसले पिठ्यूँमा जस्तापातालाई कच्याककुचुक पारेर बनाएको बाक्से झोला बोकेका हुन्छन् र उनको भएभरको श्रीसम्पत्ति त्यसैमा अटाएझैँ गरी बोकेका हुन्छन्। उनको एक हातमा राष्ट्रिय झण्डा र अर्को हातमा शिवजीको प्रिय बाजा डम्बरु हुन्छ। उनी डम्बरु बजाउँदै हिँडिरहेका भेटिन्छन्। कोहीसँग नबोल्नु र नमाग्नु उनको विशेषता हो। देख्नेहरूले उनलाई सायद पागल भन्न सक्छन्। खुट्टामा जुत्ता–चप्पल नहुनु, झुत्रेझात्रे र त्यस किसिमको रूपरङ्ग मान्छेका आँखामा सद्दे त पक्कै पनि हुँदैन। म सोच्छु, कतै राष्ट्रियताप्रतिको गम्भीर चिन्ताले पो यसो गरेका हुन् कि यिनले!

अनेक कुरा सोच्दै म मौनतामै टोलाइरहेको थिएँ। फुच्चे आफ्नै ठाउँमा थियो। उसले फेरि बोलायो। म त उससँग बोल्नसक्ने अवस्थामै थिइनँ। हारिसकेको थिएँ मैले फुच्चेको राष्ट्रियतासँग।

“अङ्कल, अचेल टेलिभिजनमा कुन हो एउटा फलामे डण्डीको विज्ञापन आउँछ नि! तपाईंले हेर्नुभएको छ?

विज्ञापन त हरेक डण्डीका आउँछन्। कुनैका ढुक्कले निदाउनका लागि भन्ने, कुनैका त्यो डण्डी भएको बाटो नै फलामै फलाम बनेर बज्ने, कुनैका वरिपरिका सबै घर भूकम्पले भत्किँदा पनि त्यो डण्डीबाट बनेको घरचाहिँ जस्ताको तस्तै रहने, कुनैका टेन्सन छैन भन्ने, कुनैका दूरबीनले डण्डी पसल खोज्ने, कति छन् कति? फुच्चेले के भन्न लाग्यो हो कुन्नि? यसले भन्ने कुरो पक्कै पनि गहिरै हुनुपर्छ।

सोधेँ– कुन विज्ञापन देशभक्त बाबू?

“त्यही क्या त पत्रकार भूषण दाहालले राष्ट्रिय झण्डा फरफराउँदै राष्ट्र निर्माणका लागि भरपर्दो आधार भन्छन् नि, फुच्चेले व्याख्या गयो।

मैले झट्ट सम्झिएँ त्यो विज्ञापन। हेर्दा तान त तुनको छ। झण्डा हल्लाएर पनि के विज्ञापन गरेको होला अहिलेको ग्ल्यामरको जमानामा पनि भनेजस्तो तर त्यो विज्ञापन टेलिभिजनमा आउन थालेदेखि मेरी छोरीले पनि हैरान पार्न थालेकी छे– “बाबा मलाई पनि त्यस्तै झण्डा ल्याइदिनु न” भनेर।

सायद त्यो फुच्चेसँग झण्डा माग्नुको, मोलमोलाई गर्नुको मेरो उद्देश्यमा छोरीको आग्रहले पनि कताकता नजानिदो काम गरिरहेको पो थियो कि!

यति सानो केटोमा पनि कति ठूलो चेत ! यो केटो भविष्यको राजनेता हुनसक्छ, प्रखर राष्ट्रवादी। पार्टीपार्टीमा विभाजित नेताहरूलाई हामी राजनेता भनिरहेका छौँ र मानिरहेका छौँ। राष्ट्र र राष्ट्रियताकै लागि मात्र सोच्ने, व्यक्तिगत र पार्टीगत सोचभन्दा माथि उठेको को छ र यहाँ? पुष्कर शाह, लक्ष्मणसिंह र डम्बरुवालालाई त नभनौँ, डण्डीको विज्ञापनमा चाहिँ व्यापारिक स्वार्थ छ नै तर राष्ट्रिय भावनाबाट पनि व्यापारिक विज्ञापन प्रचार गर्न सकिँदोरहेछ भन्ने उदाहरणचाहिँ हो यो।

फुच्चे एकाएक अर्को गीत गाउँछ

“राष्ट्रको गौरव झण्डा यो

हावामा फिरफिर नाच्दछ

चन्द्र र सूर्य उचाली

देशभक्त गीत गाउँछ।’’

“यो गीत चाहिँ कसले लेखेको हो नि बाबु” फुच्चेलाई सोधेँ।

“म आफैँले बनाएको हो” फुच्चेले भन्यो। उसको नाम पनि गीतको लाइनमै भएकोले मैले केही बोल्ने ठाउँ थिएन।

वस जाममा रोकिदै, सर्दै तीनकुने पुगिसकेको थियो। भक्तपुरको गठ्ठाघरबाट कोटेश्वर तीनकुने पुग्नलाई ठ्याक्कै दुई घण्टा लागेछ। समयको कुनै मूल्य छैन। कहीँ कतै कुनै काममा जानुपर्दा दिनै बित्छ। दिनभरको समय आउँदा र जाँदै ठिक्क। आज गणतन्त्र प्राप्तिको खुसीयालीमा आउँदा र जाँदै ठिक्क हुने भयो। गणतन्त्र प्राप्तिको खुसीयालीमा सामुहिक विजय यात्रा छ पार्टीहरूको, त्यसैले जाम भएको हो भनेर मान्छेहरूले चित्त बुझाए पनि जाम त प्राय: भइरहेकै छ। यथार्थ उही त हो व्यङ्ग्यबाजे भैरव अर्यालले भानुभक्तको अलकापुरीलाई भनेजस्तो–

“पथ सात फुटे वस नौ गजको

सीट वीस भए भीड सौ तकको ...”

बाटाहरू उही हुन् साँघुरा, गाडीहरू बढ्दा छन् थरीथरीका। अनि बाटोले के पुगोस् तर आज भने साँच्चैको र्‍याली नै रहेछ। तीनकुनेबाट गाडी अगाडि जाने कुरै थिएन। सबै यात्रीहरू त्यहीँ ओरालिए। त्यो फुच्चे र उसकी दिदी पनि त्यहीँ झरे। फुच्चेको एक हातमा उसको झण्डा र अर्को हात दिदीको हातमा थियो।

र्‍याली सामूहिक थियो। त्यहाँ सबै पार्टीका झण्डाहरू थिए रङरङका। र्‍याली शुरू भइसकेको थियो। झण्डा र व्यानरहरूले सडक भरिएको थियो। बाटो हिँड्नलाई पनि ठेलमठेल र घुर्चाघुर्ची थियो। मैले फुच्चेलाई सोधेँ -देशभक्त, तिमीहरू कहाँ हिँडेका?

उसले दिदीको मुखमा हेर्‍यो। दिदीले भनी - बानेश्वर मामाघर।

म पनि उतै जाने त हो, अफिस हिँडेको तर आधा बाटोमै एक बजिसक्यो। हतारिएर पनि अर्को उपाय थिएन। उनीहरूसँगसँगै अघि बढेँ, र्‍यालीको चेपचेपबाट छिर्दैछिर्दै।

फुच्चेले चारैतिर आँखा घुमाइरहेको छ। अनेक रूप र रङका झण्डाहरूमा सायद आफूले बोकेको रूपरङको जस्तो झण्डा खोजिरहेका छन् उसका आँखाले। उसले कतै नदेखेपछि हुनसक्छ, एकाएक निन्याउरो अनुहार लगायो र मलाई भन्यो– “अङ्कल, खै त किन कसैले पनि राष्ट्रिय झण्डाचाहिँ नबोकेका?”

म धर्मसङ्कटमा परेँ। के उत्तर दिनु यसलाई? के भनेर चित्त बुझाउनु यो फुच्चेको? यिनीहरू पार्टीपार्टीका मान्छे हुन्, यिनीहरूमा राष्ट्रियता छैन, त्यसैले राष्ट्रिय झण्डा नबोकेका भनेर उत्तर दिउँ भने पनि फेरि के भन्ने हो ? त्यस र्‍यालीमा राजनेताहरू पनि थिए। लोकतन्त्रका, गणतन्त्रका, विजयोत्सवका, राजतन्त्रको विरुद्धका नाराहरू लागिरहेका थिए।

पार्टी र झण्डाकै विषयमा कुरा हुँदा एक दिन एउटी महिला मित्रले भनेकी थिइन्– विदेशबाट आएका उनका श्रीमान्ले पनि यसैगरी सोधेका थिए अरे। विदेशमा त राष्ट्रिय झण्डालाई पनि सबै पार्टीकाले उत्तिकै मानेर बोक्छन् अरे। यहाँ त्यस्तो नपाउँदा उनका श्रीमानले “म जान्छु राष्ट्रिय झण्डा बोकेर त्यो जुलुसमा” भनेर जिद्धी गरेका थिए अरे। श्रीमतीजीले बल्लतल्ल श्रीमान्लाई रोक्न सकेकोमा ठूलै सङ्कट टारेझैँ प्रफुल्ल थिइन्।

मैले फुच्चेलाई कुनै जवाफ दिन नपाउँदै ऊ मरीमरी रुन–कराउन थालिसकेको थियो। लोकतन्त्रको विजयोत्सवको भीडमा उसको हातको कागजको त्यो सानो राष्ट्रिय झण्डा कसैले थुतेर किचीपिची पारेर भुइँमा फ्याँकिदिइसकेको थियो। उसको रुवाई झन्झन् चर्को हुँदै थियो। नमज्जा लाग्यो मलाई पनि। उसलाई फकाउने उद्देश्यले कुनै भद्रको हातमा भएको एउटा पार्टीको झण्डा मागेर फुच्चेलाई दिएँ।

मैले यहाँ पनि फुच्चेप्रति अर्को गल्ती गरेँ। उसलाई चिनिसकेर पनि मैले नगर्नु पर्ने गल्ती गरेँ।

उसले त्यो पार्टीको झण्डा स्वीकार्ने कुरै थिएन। उसले रुवाइसँगै भन्यो - “म पार्टीको मान्छे होइन अङ्कल, बोक्नु छैन यस्तो झण्डा मलाई!”

मलाई फेरि अर्को पटक उसले पगाल्यो। म पग्लिएर पानीपानी भएँ। अघिकै जसरी पानीले आँखाबाट निकास खोज्यो।

देशभक्त भने एकोहोरो रुँदै थियो - “मेरो झण्डा, मेरो झण्डा।”

(कथाकार काेइरालाकाे  ‘न्यूराेडका झाँकी’ मा सङ्गृहीत)
अर्को समाचार
एकल व्यक्ति चमत्कारवाद!
८ मिनेट अघि
•
१ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
काठमाडाैं, हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं। कोही सरकारी जागिरबाट बिदा लिएका, कोही अड्डा–अदालतमा सेवा गरिरहेका त कोही मालपोतका हाकिम, साथै मालपोतमा लेखापढी गर्ने, सबै जना साथीहरू विभिन्न पार्टीका समर्थक छौं।




कहिलेकाहीं छलफलकै क्रममा चर्काचर्की पनि पर्छ। यसै क्रममा एकजना दाइको मुखबाट यो राज्यमा एकल व्यक्ति चमत्कारवादले काम गरेको छ भन्ने कुरा निस्कियो। अनि के हो त एकल व्यक्ति चमत्कारवाद ? भन्ने विषयमा केन्द्रित भएर मैले केही लेख्ने जमर्को गरेको छु।

सर्वप्रथम त एकल व्यक्ति चमत्कारवाद भनेको के हो, बुझ्न जरुरी हुन्छ। एकल व्यक्ति चमत्कारवाद भनेको यस्तो सोच वा प्रवृत्ति हो, जहाँ समाज, राजनीति वा राष्ट्रका सबै समस्या एकजना विशेष व्यक्तिले मात्र समाधान गर्न सक्छ भन्ने विश्वास गरिन्छ। अझ यसलाई सरल शब्दमा भन्दा यो देश, पार्टी, समाज बिग्रिएको छ, अब फलानो व्यक्ति आएपछि सबै ठिक हुन्छ भन्ने सोच नै एकल व्यक्ति चमत्कारवाद हो।

२०४६ सालमा बहुदलीय व्यवस्था आएपछिको एकल व्यक्ति चमत्कारवादका केही कुरा गरौं।
उदाहरण नम्बर एक: स्वर्गीय नेता मदन भण्डारी स्पष्ट वैचारिक प्रतिवाद गर्न सक्ने नेतामा गनिए। उनले टुँडिखेलमा गरेको भाषणमा राजालाई श्रीपेच फुकालेर आफूसँग चुनाव लड्न चुनौती दिए। यो भाषणबाट नेपाली जनता प्रभावित भएका थिए। पछिल्लो उनको दस्ताबेज नेपालमा (जबज) जनताको बहुदलीय जनवाद ल्याएर एउटा चमत्कार गरे। त्यस दस्ताबेजलाई अहिले पनि नेकपा एमालेले अनुसरण गरिरहेको छ। त्यतिबेला स्व. मदन भण्डारीलाई महान् मानव मानेर पुज्ने जनता थिए र छन्। भलै यो व्यक्ति बाँचेको भए देख्न पाइन्थ्यो, त्यो नेपालीहरूको दुर्भाग्य भयो।

उदाहरण नम्बर दुई:  नेता शेरबहादुर देउवा अहिलेसम्म पाँच पटक यो देशको प्रधानमन्त्री भएका व्यक्ति हुन्। उनले अहिलेसम्म डडेल्धुरा जिल्लाबाट निर्वाचनमा हारेका छैनन्। अझै छैटौं पटक प्रधानमन्त्री हुने होडमा थिए। उनी कम उमेरमै गृहमन्त्री हुँदै २०५१ सालमा प्रधानमन्त्री भएका थिए। २०८२ भदौ २३ र २४ को जेनजी आन्दोलनबाट उनको राजनीतिमा ब्रेक लाग्यो।

नेकपा एमाले र नेपाली कांग्रेसको सरकार थियो। शेरबहादुरकी पत्नी आरजु राणा परराष्ट्रमन्त्री थिइन्। उनीहरू दुवै जनालाई जेनजी आन्दोलनमा मरणासन्न हुने गरी घाइते बनाइयो। देउवा निवासमा तोडफोड र आगजनी गरियो। कम बोल्ने र जनताका लागि खासै काम केही नगर्ने देउवाले अझै चेतेको अवस्था देखिँदैन। जनताले लखेटेको नेतालाई नेपाली कांग्रेसका कतिपय कार्यकर्ताले अझै उनको चमत्कारवाद हेर्न रुचाउँछन् र उनको सपोर्टमा लागिपरेको देखिन्छन्।
उदाहरण नम्बर तीन: नेता पुष्पकमल दाहाल, उनले २०५२ बाट सुरु गरेको माओवादी जनयुद्धले नेपाली समाजलाई आक्रान्त बनायो। उनका सहयोगी बाबुराम भट्टराईले देउवा प्रधानमन्त्री भएको बखत ४२ बुँदे ज्ञापनपत्र दिएर जंगल पसेको माओवादीका अध्यक्ष पुष्पकमल दाहाल २०६२–६३ सम्म आइपुग्दा नेपाली समाजको रूपान्तरणका लागि आशाको केन्द्रमा थिए।

यिनलाई पनि नेपाली समाजले केही गर्ने नेताको रूपमा हेरेर पहिलो संविधानसभामा लगभग बहुमत दिएर संसद्मा पुर्‍याएका थिए। तर नेपाली सेनाका प्रधानसेनापति रुक्मांगत कटुवाललाई फाल्ने जुन प्रपञ्च यिनले गरे, आफैं उत्तानो परे। विभिन्न समयमा गरी तीन पटक यो देशको प्रधानमन्त्री त भए तर पनि यिनीबाट देशका लागि केही हुन सकेको अवस्था छैन। अझै म बाँचुन्जेल यो देशमा उथलपुथल गर्छु भन्दै नेपाली जनतालाई धम्की दिन्छन्। अब पनि म नेपाली जनता र देशका लागि केही गर्छु भनी हुँकार 
पिट्दै छन्।

उदाहरण नम्बर चार:  झापा काण्डबाट चौध–पन्ध्र वर्ष जेल जीवन बिताएका नेकपा एमालेका नेता खड्गप्रसाद ओलीलाई २०७४ सालको निर्वाचनमा झन्डै दुईतिहाइ बहुमत पाएर पनि सरकार टिकाउन सकेनन्। उनले दुई–दुई पटक संसद् विघटन गरे। उनी तीन पटक प्रधानमन्त्री भए। उखान–टुक्का जान्ने र भाषण गर्न सक्ने खुबी उनमा छ। पछिल्लो पटक २०८० मा उनी सबैभन्दा ठुलो दल नेपाली कांग्रेस र नेकपा एमालेको सरकारका प्रधानमन्त्री थिए।

२०८२ भदौ २३ र २४ गते जेनजीहरूले आन्दोलन गरे। त्यसमा २३ गतेको आन्दोलनमा परी १९ जनाको हत्या भयो। यो अवस्थामा गृहमन्त्री रमेश लेखकले राजीनामा दिए। ओलीले भोलिपल्ट २४ गते स्थिति सम्हाल्न नसकेपछि आफ्नै ज्यान जोगाउन धौ–धौ भयो। सेनाको सुरक्षामा हेलिकोप्टर चढेर भागे। उनले २४ गते २ बजेपछि मात्र प्रधानमन्त्री पदबाट राजीनामा दिए। यो धेरै ढिला भइसकेको थियो। सारा जनता घरघरबाट सडकमा निस्किएका थिए। झन् ठुलो आन्दोलन भयो।

सिंहदरबार, सर्वोच्च अदालत, प्रहरी विभागहरू, काठमाडौं जिल्ला अदालतदेखि महत्त्वपूर्ण कार्यालयहरू जलेर खरानी भए। त्यस दिनमा पनि ५०–५५ जनाको ज्यान गयो। सरकारमा बस्ने प्रधानमन्त्रीले यसको जिम्मेवारी लिएनन्। 
उदाहरण नम्बर पाँच:  २०७९ सालमा यही वैकल्पिक धारको नेतृत्व गर्दै मिडियामा नाम कमाएका व्यक्ति रवि लामिछानेले रास्वपा पार्टी खोलेर ६ महिनामै चमत्कार गरिदिए। एकै चुनावमा राष्ट्रिय पार्टी बनेर २० सिट जितेर गृहमन्त्री तथा उपप्रधानमन्त्री पड्काए। त्यसपछि काठमाडौंको मेयर पद जितेर कहलाएका पूर्वमेयर केशव स्थापितलाई उत्तानो पारेर बालेन्द्र शाहले मेयरको पद पड्काए। हाल यिनै शाह देशका प्रधानमन्त्री छन्। यिनीहरू पनि चमत्कारी व्यक्ति गणना भए।
विभिन्न कालखण्डमा यसरी एउटै व्यक्तिलाई हिरो बनाउने र त्यसको पछाडि लागेर भजन गाउने संस्कारले नेपाली समाज आक्रान्त छ। अझै पनि नेपाली समाजमा चेत पलाएको छैन। एकल व्यक्ति चमत्कारवादका जति उदाहरण हेरे पनि आजसम्म यो देशले सही दिशा लिन सकेको देखिँदैन। यो किन भने एकल व्यक्ति चमत्कारवादले यहाँ केही हुनेवाला छैन।

यस्तै कुसंस्कार र एकल व्यक्तिवादी सोच र चरित्रले गर्दा नै देश यो अवस्थामा पुगेको हो भन्न सकिन्छ। यहाँ हरेक क्षेत्रमा कुसंस्कार छ, भ्रष्टाचार छ, मनमौजी सोच छ, जसले जे गरे पनि छुट छ, न्यायालयमा न्याय छैन, सबैलाई समान अवसर छैन, ठुलालाई चैन र सानालाई ऐन छ, गरिब जनता झन्–झन् गरिब भएका छन्। नेपालका प्रायः सबै पार्टी आआफ्नो विचारबाट स्खलित भएका छन्, मूल्य र मान्यताबाट च्युत भएका छन्।

सत्तामा पुग्ने र मिलेर खाने प्रवृत्ति देखेर जनता आजित छन्। एउटै व्यक्ति पटक–पटक सत्तामा पुग्ने र जनताका लागि कुनै राम्रो काम नगर्ने भएर नै पार्टीप्रति विश्वास घट्दै गएको छ। अहिलेको अवस्थामा जनतालाई यो चाहिँ पार्टी ठिक छ भन्ने विश्वास नै छैन।
त्यसैले आजको आवश्यकता कुनै नयाँ चमत्कारी व्यक्ति खोज्नु होइन, विधिको शासनमा आधारित बलियो प्रणाली निर्माण गर्नु हो। व्यक्ति आउँछन्, जान्छन् तर राष्ट्र संस्थाले चल्नुपर्छ। एकल व्यक्ति चमत्कारवादले क्षणिक आशा त दिन सक्छ तर दीर्घकालीन रूपमा यसले समाजलाई अझै निराश र दिशाहीन बनाउने खतरा रहन्छ। सचेत नागरिक, उत्तरदायी संस्था र पारदर्शी शासनबिना समृद्ध नेपाल सम्भव छैन।

– सापकोटा नेपाली सेनाबाट अवकाशप्राप्त मानार्थ उपसेनानी हुन्।
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस