गत वर्ष प्रदर्शनमा आएको निर्देशक चन्द्र पन्तको चलचित्र ‘आ बाट आमा’ को सफलतापछि निर्माण टिमले यसको सिक्वेल ‘आ बाट आमा २’ निर्माण गर्ने तयारी गरेको छ।
पोस्टर सार्वजनिक गरिसकिएको र प्रदर्शन मिति घोषणा भइसकेको यस चलचित्रले फेरि एक नयाँ कलाकारलाई नेपाली चलचित्र क्षेत्रमा प्रवेश गराउने भएको छ।
गत वर्ष माघ १६ गतेदेखि प्रदर्शनमा आएको ‘आ बाट आमा’ व्यावसायिक रूपमा सफल बनेको थियो। चलचित्रले करिब १४ करोड रुपैयाँको व्यापार गर्दै दर्शकबाट राम्रो प्रतिक्रिया पाएको थियो। यसै चलचित्रमार्फत सामाजिक सञ्जाल टिकटकबाट चर्चित बनेकी उषा उप्रेती र कथावाचकका रूपमा परिचित साईग्रेस पोखरेलले ठूलो पर्दामा डेब्यू गरेका थिए।
अब ‘आ बाट आमा २’ ले पनि नयाँ प्रतिभालाई अवसर दिएको छ। निर्माण टिमले आगामी दशैँलाई लक्षित गर्दै सिक्वेलको घोषणा गरिसकेको छ। यस क्रममा ‘मेरो डान्स युनिभर्स–२’ की विजेता रिश्ता गुरुङ चलचित्रमा नायिकाका रूपमा अनुबन्धित भएकी छन्। पत्रकार सम्मेलनमार्फत निर्माण टिमले उनको औपचारिक परिचय गराएको हो।
यसअघि नै चलचित्रका लागि पल शाह, आकाश श्रेष्ठ, विपना थापा, प्रदीप रावत, साईग्रेस पोखरेल, गजित विष्ट र नरेन खड्का अनुबन्धित भइसकेका छन्। निर्माण पक्षका अनुसार चलचित्रको अमेरिका र क्यानडाको प्रदर्शन अधिकारसमेत अग्रिम रूपमा बिक्री भइसकेको छ।
चलचित्रको कथा तथा पटकथा निर्देशक चन्द्र पन्त स्वयंले लेखेका हुन्। ‘आ बाट आमा २’ आगामी असोज ३० गते, अर्थात् दशैँको फूलपातीको अवसर पारेर देशभर प्रदर्शनमा आउने तयारीमा रहेको निर्माण टिमले जनाएको छ।
काठमाडौँ। रमेशप्रसाद तिमल्सिनाकाे ‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ पुस्तक सार्वजनिक गरिएको छ।
‘मास नेपाल’ र गोदावरी साहित्य परिषद्को आयोजनामा ललितपुरको चापागाउँमा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले पुस्तक विमोचन लाेकार्पण गरेका हुन्।
कार्यक्रममा कृति विमोचनसँगै लोकतन्त्रका अभ्यास, उपलब्धि, चुनौती तथा नागरिक जीवनमा लोकतन्त्रको अनुभूतिका विषयमा विमर्श समेत गरियो।
लाेकार्पित पुस्तकमा लोकतन्त्र, नागरिक तथा मानवअधिकार, सामाजिक न्याय, राज्यको जवाफदेहिता, सुशासन र सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विभिन्न समयमा लेखिएका ३० लेख समेटिएका छन्। पुस्तकलाई पाँच खण्डमा विभाजन गरिएको छ।
सञ्चारकर्मी दाहालले लोकतन्त्र जीवनपद्धति भएकाले हाम्रा अभ्यास र व्यवहारले अझै प्रश्नको घेरामा रहेको बताए।
ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले कमजोर हुँदै गएको पठन संस्कृतिप्रति चिन्ता व्यक्त गर्दै अध्ययन र पठन संस्कृतिको विकासमा जोडदिए।
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
अधिकारकर्मी भावना भट्टले लोकतन्त्रलाई निर्वाचनमा मात्रै सीमित नगरी घरघरको व्यवहारमा लोकतान्त्रिक संस्कार स्थापित हुनुपर्नेमा जोड दिए।
जनभावना क्याम्पसका सहायक क्याम्पस प्रमुख गोविन्द सञ्जेलले लोकतान्त्रिक अभ्यास र अवस्थाबारे समयसमयमा समीक्षाको आवश्यकता औँल्याए। गोदावरी साहित्य परिषद्का अध्यक्ष वशिष्ठ अधिकारीले प्रश्न गर्न सक्ने हैसियत र त्यसको उत्तर दिन सक्ने सामर्थ्य भए मात्रै लोकतन्त्रको अनुभूति हुने प्रतिक्रिया दिए।