जनकविकेशरीको सङ्गीत साधना
०२ साउन २०८३
•
१० मिनेट पाठ
जनकविकेशरीको सङ्गीत साधना
धुरुधुरु न रोऊ आमा,




तिम्रो आँसु पुछेर छाडौंला।

पच्चिसको दशकमा तत्कालीन नेपालको आर्र्थिक, सामाजिक र भौगोलिक अवस्थाको चित्रण गर्दै जनकविकेशरी धर्मराज थापाले गाएको नेपाल आमाबारेको गीत जति सान्दर्भिक थियो, अहिले पनि करिब उस्तै देखिन्छ। भौगोलिक रूपमा विकास नभएको भन्न सकिन्न।  राजनीतिक र सामाजिक स्वरूप पनि धेरै नै बदलिएको पाइन्छ तर मानिसको नैसर्गिक विकासमा आमूल परिवर्तन न आउँदा अहिले पनि जनकविले नेपाल आमाबारे चर्चा गरेझैं आँसु पुछ्न अझै बाँकी देखिन्छ।

जनकविकेशरी धर्मराज थापाको १०३ औं जन्मजयन्ती हिजो मनाइएको छ।  नेपाली लोकगीत र लोकसंगीतका धुरी जनकवि बाँचिदिएको खण्डमा यसपटक उनी १०३ वर्षका थिए।  १९८१ साउन संक्रान्तिका दिन पिता हर्कबहादुर थापा र आमा मनमाया थापाका कोखबाट बाटुलेचौर, पोखरामा उनको जन्म भयो।  यसैगरी २०७१ असोज २८ गते ९० वर्षको उमेरमा जनकविकेशरीको काठमाडौंस्थित आफ्नै निवासमा निधन भयो।  नेपाली परम्पराअनुसार श्रावण महिना धानकोदो रोप्ने र असोजमा पाकेको धान भिœयाउने गरिन्छ।  यसैगरी दसैंजस्ता राष्ट्रिय पर्वको स्वागत गर्ने महिना मानिन्छ।  जनकवि सिर्जनाका साह्रै उज्याला व्यक्तित्व थिए।  उनको हेराइ, बुझाइ, समाज र व्यक्तिप्रतिको दृष्टिकोण सदैव सकारात्मक देखिन्थ्यो।  मायाका खानी जनकविकेशरी नेपाल आमाका सच्चा सिर्जना थिए।

गीत र संगीतप्रति धर्मराज थापाको मोह

‘लहरा पहरा छाँगा र छहराको सुन्दर मुलुक हो नेपाल।  नेपालमा जन्मन पाउनु आफैंमा भाग्यमानी हुनु हो’ जनकविकेशरीको भनाइ हो यो।  ‘बडामहाराजधिराज पृथ्वीनारायण शाह, आदिकवि भानुभक्त आचार्य, प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा, महिला आरोही पासाङ ल्हामु शेर्पा, भृकुटीजस्ता वीर वीरांगनाको मुलुक हो नेपाल’ भन्ने गर्थे उनी।  एक समारोहमा उनले प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको पनि मुक्तकण्ठले प्रशंसा गरेको पंक्तिकारले सुनेको छु।  यिनै छाँगाछहरा, हिमालको मुलुक वीरहरूको जन्मभूमि नेपालको दर्शन गर्न उनी मेचीदेखि महाकाली पुगे २०१२÷१३ देखि २०२२÷२३ सालसम्म।  सुदूरपश्चिमका गाउँबस्ती र गराहरूमा काम गर्दै गरेका किसानहरूसँग नेपाली नाता र गीतसंगीतसँग मितेरी लगाउन पुगे, गीतका बान्की र गेडीहरू लोकसंगीतमा बुने।  उनको गीतको मोह नेपाली माटोसँग थियो, जसमा लोकसंगीत हिमालबाट बग्दै आएका कोसी, कर्णाली, महाकाली गण्डकीजस्ता हिमनदीसँग मिश्रित थियो।  कोइली, न्याउली र जुरेली चरीको आवाजको मिठो धुनसँग पनि मिसिएकाले उनले गाएका गीत जति कर्णप्रिय थिए, गीतमा पाइने लोकगीतिपन अझ मिठासपूर्ण थियो र यो मिठास चिरकालसम्म रहिरहनेछ।

जनकविकेशरी धर्मराज थापाका गीतमा।  २०१४/१५ साल ताका लोकगीत संकलन गर्ने उद्देश्यले उनी बझाङ पुगेछन्।  हालको सदरमुकाम चैनपुरस्थित तत्कालीन बझाङी राजा देवीजंगबहादुर सिंहको ऐतिहासिक हात्तीसार दरबारको अवलोकन गरेछन्।  त्यो दरबारलाई काठमाडौंस्थित सिंहदरबारसँग तुलना गर्दै बझाङको सिंहदरबार नामकरण गरेछन्।  त्यताबाट उनी बझाङको रमणीय र अन्नको भण्डार मानिएको छान्ना क्षेत्र पुगेछन्।  छान्नाको माझीगाउँमा बास बसेछन्।  हलो जोत्दैै गरेका किसानलाई देखेर गीतको सिर्जना गरे– ‘हो हो माले हो हो, हरियो डाँडामाथि हलो जोत्ने साथी...।’

यो बझाङबाट सिर्जित गीत हो भन्छन् छान्ना माझी गाउँका वयोवृद्ध करनबहादुर रोकाया।  उनी अछाम, बैतडी, डडेलधुरा पुगे।  बैतडी र भारतको पिथौरागढ जोड्ने ऐतिहासिक झुलाघाटको पुल तरेर छिमेकी मित्रराष्ट्र भारतको देहरादुन पुगे।  जहाँ असंख्य नेपालीको माया पाए।  उत्तरी व्यापारिक केन्द्र टनकपुर भएर रेलगाडीमा लखनउ–रक्सौल हुँदै नेपाल प्रवेश गरे।  त्यसबेलाको कठिन यात्रा उनले सहज रूपमा संस्कृति र लोकगीत संरक्षण गर्नका लागि मात्र गरे।

यसै गरी जनकविकेशरी थापा ताप्लेजुङ, पाँचथर, धनकुटा, इलाममा पुगे।  भारतको पूर्वी सिमाना जहाँ नेपालीहरूको बाक्लो बसोबास छ, त्यहाँ पुगे।  दार्जिलिङ, कालिंपोङ, मिरिक, भाक्सु, बर्माको सिमानासँग जोडिएका विभिन्न बस्तीमा पुगी नेपाली भाषाभाषीको ठुलो समुदायसँग बसी नेपाली गीतसंगीतबारे जानकारी लिने दिने काम गरे।  मेची महाकाली र प्रवासी नेपालीहरूसँगको मिलन उनको शुद्ध रूपमा नेपाली भाषाको विस्तार र लोकसंगीतको सम्वर्धनका लागि मात्र रहेको पाइन्छ।  जुन भ्रमण उनको निजी थियो।  अहिलेको जस्तो सरकारमुखी थिएन।

जनकविले गाएका विविध गीतहरूमा पाइने विविधता

जनकविकेशरी धर्मराज थापा समय, ठाउँ र विषयवस्तुलाई केन्द्रमा राखी शब्द बुन्नमा खप्पिस लोककलाकार थिए।  उनका गीतको शब्द भण्डारण र गीतका लयमा पाइने विविधता अन्य लोकगीतका गायकगायिकामा त्यति पाइँदैन।  उनी आफैं लोकपारखी, भाषाप्रेमी र सांस्कृतिक पहिचानको सिंगो फूलबारी भएका कारण उनका गीतमा विविधता मिसिएको पाइन्छ।

लोकसाहित्य र लोकसंगीत सँगसँगै दौडाउन सक्ने उनीमा अद्भुत शक्ति भएका कारण जनकवि बन्न सफल भएका हुन्।  विभिन्न कालखण्डमा गरी उनले ३० देखि ४० वटा कालजयी गीत रेकर्ड गरे।  केही गीत सिडीमा सुरक्षित छन्।  ‘केही गीत रेडियो नेपालमा सुरक्षित छन्।  केही गीत सुरक्षित गर्न सकिनँ,’ पंक्तिकारसँगको भेटमा उनले सुनाएका थिए।

जब असार पन्ध्र सुरु हुन्छ, त्यसबेला कृषिसम्बन्धी गीत गाउने ‘हरियो डाडामाथि हलो जोत्ने साथी’का गायक भनेर उनै धर्मराज थापालाई सम्झिने गर्छन् सबैले।  त्यतिले मात्र पुग्दैन, सगरमाथा आरोहण गर्ने बेला वैशाख जेठमा ‘हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरो...’को याद गर्छन् शेर्पा दाइ र बहिनीहरूले।  वैशाखको बुद्ध पूर्णिमाको बेला आउँदा उनले गाएको गीत ‘जन्मेछ बुद्ध नेपालमा...’को सान्दर्भिकता बुद्धमार्गी मात्र नभएर सबै नेपालीजनले मनमनबाट उनको सम्झना गर्छन्। नवजोडीका मनहरू जब आपसमा मिसिन्छन्, कहिलेकाहीं टाढिन्छन्, त्यसबेला उनले गाएको गीत ‘तिमीले भने बिर्सेकी हौली’ले मायालुको मन नै पग्लिन्छ।  जब देशमा परिवर्तनको खाँचो हुुन्छ, त्यसबेला हरेक नागरिक आवाज बुलन्द पार्दै गायकगायिकाहरू हातमा मादल बोक्दै परिवर्तनका गीत गाउन अघि सर्छन्, २०३५÷३६, २०४२, २०४६, २०६२÷६३ सालको जनआन्दोलनको बेलामा झैं। त्यसबेला जनकवि ‘आज मादल बजेको किन, गाउँघर दुनिया ब्युँझाउन’ गीतको सम्झना गर्छन्। यसबाहेक जनकविका केही कालजयी गीतहरू– धुरु धुरु नरोऊ आमा, आज मलाई सन्चो छैन, आइपुग्यौ रेलैमा, नेपालीले माया मा¥यो बरिलै, कालिपारी दाइ कति राम्रो, साइली रिमै, तानसेन शीतल, सिरिमा सिरी नि कान्छी बतासै चल्यो, बाग्लुङको बजार आदि रहेका छन्।

तत्कालीन पञ्चायत सरकारले २०४० साललाई सञ्चार वर्ष मनाएको थियो।  केही विशिष्ट कलाकारलाई रेडियो नेपालले गीत रेकर्ड गर्न अनुमति दिएको थियो।  जनकविकेशरी थापाले गीत रेकर्ड गर्दै हुनुहुन्छ भन्ने सूचनाका आधारमा म पनि त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तरको एक दिनको पढाइ छोडी जनकविको गीत रेकर्ड गरेको सुन्न र हेर्नका लागि रेडियो नेपालको नयाँ भवन पुगेँ। जुन अत्याधुनिक भवन जापान सरकारको सहयोगमा निर्माण गरिएको थियो।  दौरा, सुरुवाल, कोट र ढाका टोपी लगाएका उनले कुर्सीमा बसेर हँसिलो पाराले दुइटा गीत गाएर लोकसंगीतको भण्डारमा थप भण्डारण गरे। स्व. सुन्दर श्रेष्ठ, स्व. युक्त गुरुङ र गायक सूर्य थुलुङले संगीत संयोजन गरेका ती मिठा गीत थिए– ‘कर्म रुखो छेउ लागेपछि त, सँगको साथी कहाँ बोल्छ मसित’ र ‘बुक्यानीमा बुकी फुल्यो’ माथिका दुइटा लोकगीत नै जनकविका अन्तिम आवाजका नमुना हुन्।

मदन पुरस्कारप्राप्त व्यक्तित्व

साहित्य र लोकगीतसंगीत जनकविका एउटै रथका दुई पांग्रा हुन्।  उनका साहित्य सिर्जनामा नितान्त मौलिकपन भेटिन्छ।  कविताका बान्कीहरूमा नेपाली भाषा, नेपाली शैली र जनजीवनको चित्रण गरिएको पाइन्छ।  जनकविका गीतिसङ्ग्रह, कविता, नियात्रा, काव्य खण्डकाव्य आदि गरी २८ वटा अमर कृतिहरू प्रकाशनमा आएका देखिन्छन्।  जसमध्ये नल दमयन्ती, नीलकण्ठ दर्शन, पञ्चायती प्रजातन्त्र, मुक्तिनाथ दर्शन, वसन्ती वसन्त, हाम्रो लोकगीत संग्रह, हिमालको आँसु, मंगली कुसुम, फूलबारी आदि हुन्।  जनकविले मंगली कुसुम कृतिका लागि २०२७ सालमा पद्य विद्यातर्फ ‘मदन पुरस्कार’ प्राप्त गरेका थिए।

यसैगरी जीवनभर नेपाली भाषा, साहित्य र लोकगीतका लागि सेवा गरेबापत उनलाई २०५७ सालमा ‘जगदम्बा श्री’ पुरस्कार प्रदान गरिएको थियो।  नेपाली भाषा साहित्य र लोकगीत संगीतको पनि रथ हाक्न सक्ने अद्भुत खुबी भएका व्यक्तिले माथि उल्लिखित मर्यादित पुरस्कार प्राप्त गर्न सक्नु सिर्जना शक्तिको ऐतिहासिक उदाहरण मान्न सकिन्छ।

गन्धर्व जातिका कलाकारका अभिभावक

गण्डकी प्रदेशका कास्की, तनहुँ, बाग्लुङ र लमजुङका केही भागमा गन्धर्व जातिका कलाकारहरूको जन्म भएको मानिन्छ।  घटनाक्रम र सवाईसम्बन्धी गीत गाउन र नेपाली मौलिक बाजा सारंगीको मिठो धुन निकाल्न गन्धर्व जातिका कलाकारलाई अरुले भ्याउँदैनन्।  पोखराका स्व. झलकमान गन्धर्व, तनहुँका तीर्थ गन्धर्व, सल्यानका स्व. जंगबहादुर गन्धर्व यसका उदाहरण हुन्।

यसैगरी कृष्ण गन्धर्व, खड्ग गन्धर्व, धनकुटाका सुरेश गन्धर्वको खारिएको सारंगी धुनको खुबीलाई पनि कम आँकलन गर्न सकिँदैन।  जनकविकेशरी रेडियो नेपालमा लोकगीत फाँटको संयोजक भएर काम गर्दा पोखरा बाटुलेचौरबाट स्व. झलकमान गन्धर्वलाई बोलाएर गीत गाउन लगाए।  पछि अरूहरूलाई पनि उनले बोलाए।  ‘आमाले सोध्लिन् नि खै छोरा भन्लिन् ?’ भन्ने घटनाप्रधान र कहानी मूलक लोकगीत, ‘तानसेन घमाइलो’ आदि गीत, स्व. झलकमान गन्धर्वले गाएर लोकगीत संगीतको इतिहास रचे।  उनी भन्ने गर्थे– धर्मराज थापाले नबोलाएको भए सायद मेरा गीतहरू गर्भमै तुहिन्थ।

कारागारको यात्रा

लोकगीत लोकसंगीत र साहित्यमा उनी जति नरम देखिन्छन्, सायद राजनीतिक परिघटनाले होला, समाज परिवर्तनका लागि उनी केही गरम पनि देखिन्छन्। २००७ सालमा नेपाली कांग्रेस, राणाशासक र भारत सरकारबिचको त्रिपक्षीय सहमतिअनुसार देशमा १०४ वर्षीय राणा शासनको अन्त्य भयो।  डा. केआई सिंहले सो कदमको विरोध गर्दै दिल्ली सम्झौता धोका हो भनी प्रचा छरे र २००८ सालमा विद्रोह गरे।  जनकवि धर्मराजले डा. केआई सिंहको पक्षको अनुशरण गरे।  उनका बारे गीत गाए।  त्यो घटना थियो २००९ सालको। परिणामस्वरूप एक महिना हालको नक्खु कारागारमा थुनिए।  उनका ससाना बालबालिका अलपत्र परे। पछि कवि केदारमान व्यथितको सहायताले कारागारबाट छुटे।

‘जनकविकेशरी धर्मराज थापा सावित्री थापा’ गुठीको स्थापना

नेपाली गीत संगीत र साहित्यमा लागी परेका स्रष्टाहरूलाई सम्झेर उनीहरूको योगदानको कदरस्वरूप थापा परिवारको निजी स्रोतमा गुठीको स्थापना भयो।  २०५२ वैशाख २३ गते सो गुठीको स्थापना भएको थियो।  यस संस्थाले आफ्नो स्थापनाकालदेखि नै देशका मूर्धन्य साहित्यकार एवं विशिष्ट कलासाधकलाई सार्वजनिक रूपमा पुरस्कृत गर्दै आइरहेको छ। 

यसरी सो संस्थाबाट पुरस्कार प्राप्त गर्नुहुने स्रष्टाहरूमा भैरवबहादुर थापा, कुमार बस्नेत, ज्ञानु राणा, नन्दकृष्ण जोशी, बिमाकुमारी दुरा, बमबहादुर कार्की, शिला आलेलगायत हुनुहुन्छ।  पचास–पचास हजार नगद र ताम्रपत्रसहित प्रत्येक वर्ष श्रावण १ गते दुई विद्यामा प्रदान गरिँदै आएको छ। जनकविका तीन छोराहरू क्रमशः मदनराज थापा, कुञ्जराज थापा, डा. बुलन्दराज थापा र प्रसिद्ध गायिका ज्ञानु राणाले आफ्ना मातापिताको नाममा स्थापना गरेका सो गुठीका विविध काम जनसमक्ष ल्याउँदै आइराखेका छन्।  हाल सो गुठीको अध्यक्ष कवि मदनराज थापा हुनुहुन्छ।

स्वदेशलाई माया गर्ने अमर स्रष्टा

२०६९ असोजको कुरा हो।  जनकवि बिरामीका कारण अशक्त भएर वीर अस्पतालमा उपचारार्थ भर्ना भएका थिए।  उहाँलाई भेट गर्न भनी नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, डा. रामशरण महत, डा. मीनेन्द्र रिजाल, रामनाथ अधिकारी, नेकपा एमालेका नेता सोमनाथ पाण्डे, प्रदीप ज्ञवाली, पत्रकार ऋषि धमलालगायतका व्यक्तित्वको उपस्थिति थियो।  हालका राष्ट्रपति रामचन्द्र पौडेल र रामनाथ अधिकारीले दिल्लीको अस्पतालमा थप उपचारका लागि लैजाने प्रस्ताव राखे तर जनकविले सो प्रस्ताव स्विकार्नुभएन।

उहाँले भन्नुभयो, ‘अब मेरो धेरै आयु छैन, ३÷४ वर्षभित्र म यो लोकमा रहनेछैन। ’ जनकविको उक्त कुरा सुनेर सबैले मुखामुख गरे।  आफ्नो मृत्यु नजिक आउँदै छ भन्ने बोध जनकविलाई कसरी भयो होला ? हुनपनि दुई वर्षपछि असोजमा उहाँको निधन भयो।  
अर्को समाचार
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
१ घण्टा अघि
•
१ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
काठमाडाैं, नेपाली लोकसंस्कृतिका अनुसन्धाता तथा प्रजातन्त्रका सेनानी स्व. कालीभक्त पन्तले नेपाली संस्कृति, गीतसंगीतलगायत तत्कालीन नेपाली समाजका विविध विषय तथा क्षेत्रको खोज, अनुसन्धान मात्र गर्नुभएन, नयाँ पुस्तालाई त्यसको अभिलेखसमेत तयार गरिदिनुभयो। त्यसकै आधारमा अहिलेको पुस्ताले त्यो बेलाको नेपालको इतिहास थाहा पाएको छ। उहाँको अर्को परिचय भनेको गीतकार, लोकगीत संकलक तथा गायकको पनि हो। उहाँले लेखेको लोकगीत रेडियो नेपालबाट प्रसारण भइरहेका छन्। ‘क्या यस्तो चाल पर्‍यो, मायासित बोल्दैमा गाल पर्‍यो’ तीमध्ये एक हो। प्राध्यापक पार्थिवेश्वरप्रसाद तिमिल्सिनाका अनुसार पन्तको गायनको क्षेत्रमा प्रवेश गर्नुको उद्देश्य गायक बनी नाम कमाउने थिएन। उहाँले नेपाली समाज अशिक्षित भएकाले समाजमा लोकगीतमार्फत जागरण ल्याउन पुस्तक–पुस्तिका, पम्प्लेट आदिको माध्यमबाट मात्र सम्भव नहुने हुँदा गाउँलेहरूलाई बुझाउने लोकगीतहरू रचेर अनेकौं सांस्कृतिक कार्यक्रमहरू गर्नुहुन्थ्यो। उहाँलाई जनतामा कसरी राजनीतिक, सामाजिक चेतना बढाउने भन्ने तरिकाको ज्ञान थियो।




यसरी गाउँलेहरूमा राजनीतिक चेतनाको अभिवृद्धि गर्न उहाँले सांस्कृतिक टोलीहरूको गठन पनि गर्नुभएको थियो। सो समयमा पन्तले ब्यान्जोको आकारको ‘कालीबाजा’को निर्माण पनि गर्नुभएको थियो। यो पनि अब एउटा इतिहास बनिसकेको छ। पर्वत तथा बागलुङमा हुने चैते–दसैंजस्ता मेलामा पन्तले महिला जागरणको मात्र नभई कन्या बेच्ने बाबुआमाविरोधी गीत पनि गाउनुभएको थियो। उदाहरणका लागि ‘छोरी बेचा हे बाहुन बाजे/अझै तँलाई लाग्दैन सरम’, ‘बिहा मलाई गर्ने हो भने/ल्याउनु होला कत्तुवा, चर्खा, तान’ उहाँले समाजका छुवाछुतलगायतका रूढिवादी परम्पराको अन्त्य तथा महिला र जनजातिको उत्थान गर्ने उद्देश्य राखेर विविध चेतनामूलक कार्य गर्नुभएको थियो।

२००७ सालको राजनीतिक परिवर्तनको आन्दोलनका बेला पश्चिम ४ नम्बरको कमान्डरको जिम्मेवारी पाउनुभएका पन्तले क्रान्तिका नेताका रूपमा पर्वत कुस्मा र बागलुङको मुक्तिसेना सञ्चालन गर्नुभएको थियो। त्यस्तै, पन्तले सो क्षेत्र कब्जा गरी सर्वश्री ओमप्रसाद गौचनको नेतृत्वको प्रान्तीय सरकारमा उपप्रधानमन्त्री भई काम गर्नुभएको थियो। यस समयमा पन्तले सूचना विभाग हेर्नुपथ्र्यो। २०१७ सालको पञ्चायती व्यवस्थाविरुद्धसमेत लड्नुभएको थियो। सो क्रममा उहाँले भूमिगत तथा जेलजीवनसमेत बिताउनुपरेको थियो। २०१९ सालदेखि राजनीतिबाट टाढिनुभएका पन्त त्यसपछि पूर्ण रूपमा लेखनमा लाग्नुभएको थियो।

इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। सो क्रममा पन्त भारत (सिक्किम, दार्जिलिङ, कुमाउँ–गढवाल, आसाम, हिमाञ्चल प्रदेश), चीन, भुटान, पाकिस्तान, श्रीलंका तथा बेलायतमा पुग्नुभएको थियो। म्याट्रिक पास गर्नुभएका पन्तलाई नेपालीबाहेक संस्कृत, हिन्दी, उर्दू, अंग्रेजी भाषाको समेत ज्ञान थियो।

उहाँको जन्म १९६४ साल भदौ ६ गते पर्वत जिल्लाको लिमिठानामा भएको थियो। पिता नरेन्द्र पन्त, माता निलकुमारी पन्तका कान्छा छोरा कालीभक्त २००९ सालदेखि भने पर्वतको फलेवासमा बस्दै आउनुभएको थियो। १७ वर्षको उमेरमा कालीभक्तको कृष्णा पन्तसँग विवाह भएको थियो। उहाँहरूका तीन छोरी र ६ छोरा भए। साहित्यकार देवीप्रसाद वनवासीका अनुसार पन्तको जन्मथलो तत्कालीन धौलागिरी अञ्चल, पर्वत जिल्लामा परे पनि उनी प. ४ नं. स्याङ्जा हो। ‘साइलादाइ कहाँ गयो’ भनेर दोहोरी गाउने मसानेका समकालीन पाथे भाइ हुन्। 
कालीभक्त पन्तका ‘पश्चिम ४ नम्बर (नेपाल) को इतिहास’ (२००९), ‘किसान गीता’ (२०१२), ‘हाम्रो राष्ट्रिय कर्तव्य दर्शन’ (२०२७), ‘हाम्रो सांस्कृतिक इतिहास’ (२०२८), ‘गीत सुधारको राष्ट्रिय बाटो’ (२०३३), ‘छुतभेद र कर्तव्य’ (२०३८), ‘शुम्भबध’ (नाटक, निधनपश्चात् २०५० मा प्रकाशित) लगायतका कृति प्रकाशित छन्। यसबाहेक पन्तका विभिन्न विषयका लेखहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका देखिन्छन्।

विशेषगरी ‘हाम्रो सांस्कृतिक इतिहास’मा पन्तले राष्ट्रिय संस्कृति र यसको आवश्यकताको विषयबाट सुरु गरी राष्ट्रियता, हाम्रा गीत, भाषा आदिको प्रारम्भिक स्थिति, नेपालमा झ्याउरे गीतको बीजरोपण, हाम्रा देशका गीतहरूको बनावटको सिलसिला, गीतको आइनो गर्दा भाषा र लिपि, हाम्रा राष्ट्रिय ध्वनिको दिग्दर्शन र विश्वका गीतका ध्वनिहरू, हाम्रा गीतका बीजरोपक र परिवर्तनकर्ता, हाम्रा गीतका छन्दहरू, लोकगीत र तीबाहेकका गीत–बाजा, हाम्रा गीत–बाजाका भेद, गीतको संक्षिप्त महिमा, दार्जिलिङ–सिक्किम–भुटानका गोर्खालीका र हाम्रा गीतमा एकरूपता, हाम्रा देशमा शास्त्रीय संगीतलगायतका विषयमा केन्द्रित रहेर नेपालको समग्र सांस्कृतिक इतिहासलाई खोजी अभिलेख गर्ने काम गर्नुभएको छ।

दिवंगत संस्कृतिविद् वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले पन्तको यसै कृति अध्ययन गरेर आफूलाई उहाँप्रति निकै श्रद्धा लागेको बताउनुभएको थियो। उहाँले पन्तलाई लोकसंस्कृतिको अगुवा बताउँदै सो समयमा लोकगीत, परम्परा र संस्कृतिका सम्बन्धमा कलम चलाई योगदान पुर्‍याउनु अतुलनीय रहेको बताउनुभएको थियो। भाषा तथा लोकसंस्कृतिविद् प्रा.डा. चूडामणि बन्धुका अनुसार पन्तले ‘हाम्रो सांस्कृतिक इतिहास’मा लोकगीत र लोकनृत्यलाई राष्ट्रिय संस्कृतिका महत्त्वपूर्ण अंगका रूपमा विवेचना गर्नुभएको छ। उहाँका अनुसार यस कृतिमा धेरै कुरा पहिलोपटक प्रस्तुत गरिएका छन् र नेपाली भाषा र लोकगीतमा अनुसन्धान गर्नेहरूका लागि यी तथ्य र विश्लेषण स्रोतका रूपमा रहेका छन्।

बालबालिका, किशोरकिशोरी र युवायुवतीलाई सहगान, सहनृत्य र सहकार्यमा अनिवार्य रूपले सहभागी बनाएर उपयोगी शिक्षा दिन सकिन्छ भन्ने उहाँको महत्त्वपूर्ण मान्यता पनि यस कृतिमा चर्चित छ। ‘गीत सुधारको राष्ट्रिय बाटो’ पुस्तक पन्तले नेपालीले आफ्नै सांस्कृतिक पद्धतिअनुसार गीत सुधार गरी अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सकून् भन्ने उद्देश्यले तयार गर्नुभएको थियो। जसमा उहाँले गायन र नृत्यकलाको प्रारम्भ, नाच्ने–गाउने भावना र गला–कला, छन्दसाहित्य (तीजे, लहरी, झ्याउरे, अनुष्टुप, शार्दूलविक्रीडित, शिखरिणी आदि), हाम्रा पुर्खाकालीन सांगीतिक शाब्दिक सरजाम, गीतको संक्षिप्त महिमा, बहादुर सिंह बराल र नेपाली गीतका बनावटको इतिहास, आफ्नोपना र त्यसको पूर्ति, गीतका संज्ञा, परिभाषा र शब्दकोश, संगीत शब्द र भ्रम, हाम्रा गीत साहित्यले बदल्दै आएको ऐतिहासिक मोड, गीत रेकर्ड गर्नुभन्दा पहिले, केही फुटकर कुरा र गुनासाहरूलगायतका शीर्षकमा रहेर नेपाली गीतसंगीतका विविध विषय तथा पक्षको चर्चा गर्नुभएको छ।

संस्कृतिविद् तुलसी दिवस पन्तका ‘हाम्रो सांस्कृतिक इतिहास’ र ‘गीत सुधारको राष्ट्रिय बाटो’ पढेपछि उहाँबाट निकै प्रभावित हुनुभएको थियो। उहाँका अनुसार ‘नेपालको मेची–महाकालीलगायत पूर्वदार्जिलिङ, सिक्किमदेखि पश्चिम कुमाउँ–गढवालसम्म आफैं घुमेर लोकगीत, साहित्य र संस्कृतिको तथ्य संकलन र अन्वेषण गर्नु त्यो समयमा चानचुने कुरा थिएन, त्यो पनि आफ्नै खर्चले।’

यस्तै पन्तले लेखेका तथा संकलन गरेका थुप्रै रचना तथा कृतिहरू अझै अप्रकाशित देखिन्छन्। तिनलाई संकलन तथा सम्पादन गरी प्रकाशन गर्नु आवश्यक देखिन्छ।

उहाँको निधन भने २०४८ फागुन ६ गते भएको थियो। कालीभक्तको निधन हुनुभन्दा २२ वर्षअघि अर्थात् २०२६ माघ ११ गते नै धर्मपत्नी कृष्णा पन्तको ६० वर्षको उमेरमा निधन भइसकेको थियो। उहाँहरूको स्मृतिमा २०७४ वैशाख १ गतेदेखि कालीभक्त कृष्णा पन्त प्रतिष्ठान स्थापना गरिएको थियो। प्रतिष्ठानले ‘स्रष्टा कालीभक्त पन्त अन्तर्राष्ट्रिय लोक–साहित्य पुरस्कार’सँगै विभिन्न सामाजिक, शैक्षिक, खेलकुद, मानवीय सहयोग तथा सांस्कृतिक गतिविधि पनि गर्दै आएको छ।
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
यो पनि पढौँ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस