चलचित्र उद्योग बाहिरबाट हेर्दा जति ‘ग्लामरश’ देखिन्छ, त्यहाँ भित्रको क्रुरुरता, ठगी र शोषण त्यति नै भयावह छ। यो हाम्रो नेपाली चलचित्र उद्योगमा जडा गाड्ने अवस्थामा छ। जहाँ स्थापित कलाकारलाई आफ्नो काम गरेको पारिश्रमिक उठाउन धौधौ परेको हुन्छ। सोच्नुहोस् यस्तो वातावरणमा गाउँबाट चलचित्रमा अभिनय गर्ने सपना बोकेर सहर छिरेका कथाका पात्र जीत बहादुरले कति चुनौतीको सामना गर्नु पर्यो होला। यही विषय वस्तुलाई केन्द्रमा राखेर बनाइएको चलचित्र हो ‘आइ एम जीत बहादुर’। ‘यो कथा जितु नेपालको मात्र नभएर चलचित्र क्षेत्रमा काम गर्ने सपना बोकेर आएका कलाकारहरूको पनि हो’, जितुले स्विकारेका छन्।
चलचित्र ‘आइ एम जीत बहादुर’ नाटक मञ्चदेखि सुरु हुन्छ। जहाँ चलचित्रका मुख्य पात्र जीत बहादुर नाटकलाई नै आफ्नो संसार बनाएका छन्। नाटकबाट उनले कुनै आर्थिक लाभ लिन सकेको छैन। न त उनी अभिनय बाहेक बाकी काम गर्न नै रुचाउँछ। घरमा ठुली भइरहेकी छोरी (ज्योति) जसको भविष्यको चिन्ताले परिवारलाई सताइरहेको छ। श्रीमती (नीति) र उमेर ढल्किँदै गरेका बुवा (जनक) जसले परिवारको सबै खर्च आफै एक्लै जोहो गरिरहेका छन्।
एक दिन जीत बहादुर गाउँमा परिवारलाई छोडेर एक्लै सहर तीर लाग्छन्। चलचित्रमा अभिनयको सपना बोकेका जीत बहादुर जुन व्यक्तिका भरमा सहर पसेका छन्। उनी यो संसार त्यागिसकेको दुई दिन भयो। त्यस पछि सुरु हुन्छ, जीतबहादुरको सङ्घर्ष। उनले चलचित्र र आफ्नो जीविका चलाउन गरेका सङ्घर्ष।
कथाको अभिनय तथा संवाद
कथामा जितु नेपाल, वर्षा राउत, प्रियाँका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल, पवन खतिवडा र बालकालकार साहरा शर्मालगायतका कलाकारको अभिनय रहेको छ। श्रीमतीको भूमिकामा रहेकी अभिनेत्रीको अभिनय प्रशंसा योग्य छ। श्रीमानलाई अभिनेता बनाउन आफूले लगाइरहेको सुन होस् वा गाउँको घर धितो राखेर पैसा निकाली उनलाई चलचित्रमा काम गर्न प्रोत्साहन गर्नु यी सबै दृश्य वा पात्रलाई उनले न्याय लिएकी छन्। उनको शब्द ‘हामीलाई थाहा छ, हाम्रो जीवन तपाइको अभिनयले फर्काउने छ’ यो एक संवाद मात्र नभई श्रीमानको सपना प्रति श्रीमतीको विश्वासको आभास गराउँछ। अर्को तर्फ नाटक प्रशिक्षण दिने विजय बरालको एक संवाद ‘जो नाटकबाट सिनेमामा जान्छन्, त्यो फर्किँदैन वा फर्किन चाहन्न’ उनको यो संवाद नाटकबाट चलचित्र उद्योगमा गएका कलाकारले आफूसँग ‘रिलेट’ गर्न सक्छन्। जितु नेपालको अभिनय राम्रो हुने गर्दछ तर यो सिनेमामा भने उनी दर्शकलाई आफ्नो अभिनयको जादु देखाउन सकेनन्। कतिपय ठाउँमा प्रियाँका कार्कीको अभिनयले अतिरञ्जना गरे झैँ महसुस हुन्छ।
सिनेमाको प्राविधिक तथा निर्देशकिय पक्ष
सिनेमामा वर्षालाई कमजोर पात्रमा प्रस्तुत गरिएको छ। यति सम्म कि उनी आफ्नो व्यक्तिगत निर्णय समेत लिन पुरुषमाथि निर्भर हुन्छिन्। यसलाई कथाको नकारात्मक पक्षको रुपमा लिन सकिन्छ। कतिपय ठाउँमा वर्षा राउतको दृश्यहरूले दर्शकलाई भावुक बनाउँछ। जस्तै उनले लगाउँदै गरेको सुन निकालेर बेच्न होस वा श्रीमानसँग आफ्नो आर्थिक स्थितिबारे झुटो बोल्नु। भने कतिपय ठाउँमा अनावश्यक दृश्य जस कारण दर्शक कथामा आफूलाई डुबाउन सक्दैनन्। सिनेमाको अन्त्यमा समावेश रहेको दृश्यको त कुरै नगरौँ। कथा क्रमसंघ चलिरहेको अवस्थामा अचानक कलाकारलाई अवार्ड वितरण जस्ता अनावश्यक दृश्यले दर्शकको सबै भावनालाई मारी दिन्छ। जस करण दर्शक आफूलाई सिनेमासँग ‘रिलेट’ गर्न सक्दैनन्।
सिनेमा हेरेर महसुस हुन्छ, जितु नेपाललाई चलचित्र निर्माणको यति हतार थियो कि उनले सिनेमाको प्रचारमा त अनेकौँ तरिका अपनाए तर सिनेमामा उनले खास समय दिन सकेनन्।
काठमाडौँ। रमेशप्रसाद तिमल्सिनाकाे ‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ पुस्तक सार्वजनिक गरिएको छ।
‘मास नेपाल’ र गोदावरी साहित्य परिषद्को आयोजनामा ललितपुरको चापागाउँमा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले पुस्तक विमोचन लाेकार्पण गरेका हुन्।
कार्यक्रममा कृति विमोचनसँगै लोकतन्त्रका अभ्यास, उपलब्धि, चुनौती तथा नागरिक जीवनमा लोकतन्त्रको अनुभूतिका विषयमा विमर्श समेत गरियो।
लाेकार्पित पुस्तकमा लोकतन्त्र, नागरिक तथा मानवअधिकार, सामाजिक न्याय, राज्यको जवाफदेहिता, सुशासन र सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विभिन्न समयमा लेखिएका ३० लेख समेटिएका छन्। पुस्तकलाई पाँच खण्डमा विभाजन गरिएको छ।
सञ्चारकर्मी दाहालले लोकतन्त्र जीवनपद्धति भएकाले हाम्रा अभ्यास र व्यवहारले अझै प्रश्नको घेरामा रहेको बताए।
ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले कमजोर हुँदै गएको पठन संस्कृतिप्रति चिन्ता व्यक्त गर्दै अध्ययन र पठन संस्कृतिको विकासमा जोडदिए।
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
अधिकारकर्मी भावना भट्टले लोकतन्त्रलाई निर्वाचनमा मात्रै सीमित नगरी घरघरको व्यवहारमा लोकतान्त्रिक संस्कार स्थापित हुनुपर्नेमा जोड दिए।
जनभावना क्याम्पसका सहायक क्याम्पस प्रमुख गोविन्द सञ्जेलले लोकतान्त्रिक अभ्यास र अवस्थाबारे समयसमयमा समीक्षाको आवश्यकता औँल्याए। गोदावरी साहित्य परिषद्का अध्यक्ष वशिष्ठ अधिकारीले प्रश्न गर्न सक्ने हैसियत र त्यसको उत्तर दिन सक्ने सामर्थ्य भए मात्रै लोकतन्त्रको अनुभूति हुने प्रतिक्रिया दिए।