आगामी भदौ ५ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘मास्टर्नी’ को एउटा प्रमोशनल (‘म्याथसिक्ने’) गीत विवादमा परेपछि निर्माण पक्ष र गायकले माफी मागेका छन्।
शिक्षक समुदायको मानमर्दन हुने गरी शब्द प्रयोग गरिएको भन्दै नेपाल शिक्षक महासंघ र महिला शिक्षक समाजले आपत्ति जनाएपछि यस्तो कदम चालिएको हो। विवाद बढेपछि चलचित्रको निर्माण संस्था आयंका फिल्म्स प्रालिका तर्फबाट अध्यक्ष प्रियंका कार्कीले एक प्रेस विज्ञप्ति जारी गर्दै माफी मागेकी छिन्। उनले भनकी छिन्, ‘गीत चलचित्रको प्रचारप्रसारका लागि मात्र प्रयोग गरिएको थियो, शिक्षक समुदाय वा शिक्षण पेसाप्रति अपमान गर्ने उद्देश्य हाम्रो थिएन।’ उनले चलचित्रको मूल कथावस्तुसँग उक्त गीतको कुनै सम्बन्ध नरहेको स्पष्ट पार्दै विवादित गीत हटाइसकेको जानकारी दिइन्।
त्यस्तै, गीतका सर्जक तथा गायक दुर्गेश थापाले पनि आफ्ना दर्शक र शिक्षकसँग माफी मागेका छन्। उनले भनेका छन्, ‘गीतका केही शब्द र प्रस्तुतीकरणका कारण शिक्षक र गुरुजनको भावनामा चोट पुगेको महसुस गरेका छौँ, त्यसप्रति म र मेरो टिम हृदयदेखि माफी माग्छौँ।’ उनले प्राप्त सुझावलाई सम्मान गर्दै आफ्नो युट्युब च्यानललगायत सबै सामाजिक सञ्जालबाट उक्त गीत हटाइसकेको बताएका छन्।
यसअघि नेपाल शिक्षक महासंघ र महिला शिक्षक समाजले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै शिक्षक र शिक्षण पेसाको गरिमामा आँच पुर्याएको भन्दै गीत तत्काल हटाउन र चलचित्रमा प्रयोग नगर्न चेतावनी दिएका थिए। उनीहरूले गीतबाट शिक्षक समुदायको मानमर्दन भएको भन्दै आपत्ति जनाएका थिए।
गीतकार प्रतिष्ठान, नेपालले हरेक वर्ष प्रदान गर्दै आएको गीतकार पुरस्कार २०८३ गीतकार सागर उदासलाई प्रदान गर्ने भएको छ।
नगद ११ हजार १११ रुपियाँ, दोसल्ला र सम्मानपत्रसहितको पुरस्कार प्रतिष्ठानले आफ्नो छैटौँ वार्षिक साधारण सभाको अवसर पारेर आगामी मङ्सिर १९ गते शनिवार पोखरामा प्रदान गर्ने अध्यक्ष अनुराग अधिकारीले जानकारी दिए। यसअगि ५ हजार ५५५ रुपियाँ दिइँदै आएकामा यस वर्षदेखि पुरस्कारको राशि ११ हजार १११ रुपियाँ पुर्याइएको अध्यक्ष अधिकारीले जनाए।
तनहुँको दमौलीमा रहेर करिब ४ दशकदेखि गीत लेखनमा क्रियाशील सागर उदासको पहिलो गीत ‘हिँडेको छु छातीभरि व्यथाहरू बोकी...’ बोलमा रेडियो नेपालमा २०५१ सालमा रेकर्ड भएको थियो। उनका सागरभित्रका कर्णहरू (२०५२), सागर सुसेली (२०७९) र फैलिन्छ कि माया (२०७९) गरी ३ गीतसङ्ग्रह प्रकाशन भएका छन् भने आभार (२०६०) र रवि (२०७०) गरी २ गीतिएल्बम सार्वजनिक भएका छन्।
उनका जिउँदाको जन्ती..., फुल्यो गुराँस तारे भिरैमा..., घाम पनि माग्छु..., छैन है रहर... लगायत गीत चर्चित छन्। गण्डकी वाङ्मय प्रतिष्ठानका पूर्वअध्यक्षसमेत रहेका उनले २ दर्जनभन्दा बढी सम्मान र पुरस्कार प्राप्त गरेका छन्।
प्रतिष्ठानका पूर्वअध्यक्ष शीतल गिरीको संयोजकत्वमा यसअगि सम्मानित प्रतिभा सरस्वती श्रेष्ठ ‘सरू’ र सङ्गम सांस्कृतिक मञ्चका अध्यक्ष काजी गाउँले सदस्य तथा अध्यक्ष अनुराग अधिकारी र सचिव रुपिन्द्र प्रभावी पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसलाई अनुमोदन गर्दै उदासलाई पुरस्कार प्रदान गर्ने निर्णय प्रतिष्ठानले गरेको हो।
उक्त पुरस्कारबाट यसअगि गीतकार प्रकट पगेनी ‘शिव’, सरस्वती श्रेष्ठ ‘सरू’, शीतल कादम्बिनी र आरजु विष्ट ‘सल्यानी’ पुरस्कृत भइसकेका छन्।
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...