प्रश्नहरूको समाज
०३ माघ २०८२
•
७ मिनेट पाठ
प्रश्नहरूको समाज
सत्कर्म गर्नकै लागि जन्मेको हो मान्छे। उसको अन्तरात्माले सधैं सत्कर्म गर्न नै प्रेरित गरिरहन्छ। वास्तवमा कर्म गर्ने हात निःस्वार्थ हुन्छन्। भुलवश गल्ती गरे पनि ती हातमा बद्नियत हुँदैन। ती हातको चाहना हुन्छ -समयको शिरम आफू बसिरहन पाऊँ, समाजको नजरमा आफ्नो वास्तविक छवि देखियोस्, हातका निला ठेलामा अपमानको घाउ नलागोस्। तर समाज ती हातको आत्मा बोलेको सुन्दैन, हात रोएको देख्दैन। मात्र गरिरहन्छ अभिमानका प्रश्नहरू, उठाइरहन्छ अपमानका सवालहरू।




खेत रोपेर समाजमा छिर्दै गर्दा काम देख्दैन समाज। दिनभरि हलो जोतेर घर फर्कंदै गरेका हलिदाइको फाटेको इस्टकोट देख्छ समाजले, देख्दैन सियोका डोबहरू। जङ्गलमा घाँस काटेर फर्कंदै गरेकी आमाको दिनभरिको दुःख कहाँ देख्छन् र दुनियाका आँखाले। समाजले देख्ने त घाँसको भारी मात्रै हो। समाजले देख्दैन भैंसी र भकारो। भैंसीले हानेको लात्तो देख्दैन, लात्ताले बनाएको नीलडाम देख्दैन, देख्छ त केवल दुहेर ल्याएको दुधको बाल्टी अनि नाप्छ कति लिटर दुध भनेर। अनि समाजले खेतबाट फर्कंदै गरेका बाउसे दाइलाई सोध्छ– किन नपखालेको खुट्टाको कलेटो? दिनभर जोतेर थाकेका हलीदाइलाई सोध्छ– किन पुछिदिएनौ गोरुको पिठ्युँ? घाँसको भारी बोकेर फर्कंदै गरेकी आमालाई सोध्छ– आँखा हेरेर घाँस काट्नुपर्दैन? किन हात काटेकी? दुध दुहेर फर्कंदै गरेका बुबालाई सोध्छ– पोसिलो घाँस पुगेन, नत्र लैनो भैंसीको दुध किन यति थोरै?

एक वर्षपछि फुर्सद निकालेर दसैंमा घर गएको थिएँ। आमाबुबा, दाजुभाइ, इष्टमित्र, गाईवस्तु, खेतखला अनि वनपाखा सबैसित साक्षात्कार भयो। केही दिन रमाइलोमा पुलकिएँ। समाजले मलाई पुलपुल्याउँदै हेरिरह्यो– मेरा फुलेका जुँगा, खुइलिएको तालु, झोलिएका गह अनि सुनिएका गोलीगाँठा। समाजले पढिरह्यो– भरिएको मेरो मनको पाना, थलिएको सात्विक आत्मा,  एकोहोरो निसासिएको भावना अनि स्वयं पग्लिएर बग्दै गरेको आवाज। मेरो अपेक्षामा समाजले सोधिदिए हुन्थ्यो भन्ने प्रश्नहरू थिए– फुलेको जुँगाको कात्तिक कहिले आउँछ? झोलिएका गहका सपना के हुन्? खुइलिएको तालुको मैदानमा कुन खेल चलिरहेको छ? कति प्रहरको यात्रा जोड्दा सुनिन्छन् गोलीगाँठा? तर समाजले दिनभरिको अँध्यारो र सपनाको उज्यालोमा प्रश्न सोधिरह्यो– किन काट्दैनस् नसुहाउने जुँगा? आँखा हेर्दा त निद्रा नपुगेजस्तो छ नि? आफ्नै शिरको पनि जतन गर्न नजान्ने मान्छेले अरू शिरको हेरचाह गर्ला ? हाम्रा त सुनिँदैनन् त खुट्टा, कति कमजोर हिँडाइ? अझै कति हिँड्न बाँकी छ, थाहा छ?

यहाँ प्रश्नको निषेध गरिएको होइन। वास्तवमा प्रश्नजस्तो प्रश्नले नै समाजलाई जिउँदो बनाउने हो। प्रश्न नउठ्ने समाजमा जडशान्ति मात्र हुने हो, त्यस्तो शान्ति जहाँ लुप्त भयले सधैं सताइरहन्छ। प्रश्न गर्नु अराजकताको द्योतक होइन, चेतनाको उच्चतम रूप हो। प्रश्नले सत्तालाई नाङ्गो बनाउँछ, परम्परालाई कठघरामा उभ्याउँछ। इतिहास हेर्ने हो भने जडसमाजमा प्रश्नकर्तालाई अपराधी करार गरियो। सुकरातलाई विष पिलाइयो, ग्यालिलियोलाई मौन गराइयो, बुद्धलाई विघटनकारी ठहर्‍याइयो, बिपीलाई देशद्रोही बनाइयो। वास्तवमा सभ्यता सधैं प्रश्नको घेरामा हुन्छ। समाजले त विद्र्रूप बनाइदिन्छ प्रश्नकर्तालाई। वास्तवमा प्रश्नले नै मान्छेले आफैंलाई, आफ्नो समयलाई र आफ्नो सत्तालाई निरन्तर सोधिरहन्छ– हामी ठिक बाटोमा छौं त?

मलाई झन्डै एकचौथाइ शतकपछि अहिले पनि सम्झना छ, एसएलसीको नतिजा आएपछि सबैले प्रश्न गरे -कति प्रतिशत आयो? आइए, बिए, एमए, एमफिलसम्मका सबै तहका नतिजा आएपछि समाजले गर्ने प्रश्न यही थियो– कति प्रतिशत आयो? कति जिपिए ल्यायौ? तर कसैले सोधेन– तिमीले जिन्दगी कति चिन्यौ? सत्य बोक्न कति सिक्यौ? झुट चिन्यौ कि चिनेनौ? छद्म जिन्दगी र सत्य जिन्दगीको अन्तर नाप्यौ?

जागिर खाँदा उही प्रश्न। जागिरे छोरो सहरबाट वर्षको एक पटक दसैंको बिदा पारेर गाउँ जान्थ्यो, काँधमा झोला बोकेर, गोजीमा खर्च बोकेर, मनमा उत्साह बोकेर। मन नै फरुङ्ङ हुन्थ्यो गाउँ जान पाउँदा। तीन महिना अगाडिदेखि एक एक गर्दै कुरेर आएको दिन हुन्थ्यो त्यो। गाउँ पुग्नासाथ  त्यहाँका पैसामुखी ठुलाबडाहरूले प्रश्न गर्थे– वर्षदिनमा आउँछस्। बरु अरब गएको लाहुरे छिटो आउला, तँ वर्षको एक चोटि आउँछस्। घरमा बुढा बुबाआमा छन्। के छ जागिर?  कति कमाउँछस्? तर कसैले सोध्दैन– तेरो पढाइ अनि जागिरले तँलाई मान्छे बनाउँदै छ कि मेसिन?

विवाहपछि माइत जाँदा श्रीमतीमाथि प्रश्नको वर्षा भयो अरे। श्रीमतीले भनेका कुरा अहिले सम्झनामा झलझली आइरहेका छन्। ज्वाइँले के गर्छन्? मानौं त्यो समाजलाई ज्वाइँ चाहिएको होइन, पैसा चाहिएको छ। यो प्रश्नले सच्चा मान्छेरूपी ज्वाइँको अपेक्षा गरेको छैन, पद र पैसारूपी अहङ्कार खोजेको छ। ‘अब बच्चा कहिले? विचार गरेर पाउनुपर्छ है, छोरा नै पाउनुपर्छ’ समाजको ध्यान यता छ, मानौं विवाह बच्चा पकाउने ओभन हो, जहाँ सन्तान भोक दिनदिनै लागिरहन्छ।

यता विवाहपछि मेरो हालत पनि त्यस्तै। समाज प्रश्नहरूको कारखाना नै हो जस्तो लाग्थ्यो। विवाहपछि बुबाआमालाई भुल्ने त होइन? अब बुबाआमाको चाहना के छ थाहा छ? बुहारीले काम गर्छिन् कि घरमै बस्छिन्? बुहारी हाम्रो संस्कारमा मिल्ने छन् कि छैनन्? दसैंमा टीका लगाउँदासमेत ‘अब पाउनुपर्छ है सन्तान, छोरै पाउनुपर्छ सुरुमा’ भनेर आशीर्वाद दिएजस्तो गरेर प्रश्न नै सोध्थे। घरपरिवार अनि समाजले यी प्रश्न सोधिरहँदा मेरो मनमा प्रतिप्रश्न उत्पन्न भइरहन्थे - व्यक्तिको भूमिका केही फेरियो भन्दैमा व्यक्तित्व पनि मर्नुपर्छ र? नारीको जीवनलाई  समाजले  किन सधैं सामाजिक हतियार बनाइरह्यो? सन्तान चाहना वंशको निरन्तरता हो कि मृत्युको भय? घरलाई समाजले किन बलियो भावनात्मक सम्बन्ध बनाउन चाहँदैन? विवाह प्रेमको परिणति पनि हो। प्रेममा किन यति धेरै नियम? नियमहरूको साङ्लोभित्र प्रेम प्रेम रहँदैन, प्रेमको अभिनय मात्र रहन्छ।

अहिले जमाना फेरिएको छ। वास्तविकता लुकाउन र छद्म भेष प्रदर्शन गर्न सजिलो छ। प्रविधिमार्फत अनुहारको कालोपोतो र चाउरी हटाउन पनि सकिन्छ। सधैं दुःख गर्ने मान्छेले पनि रातदिन हाँसखेल गरिरहेको सन्देश प्रवाह गर्न सकिन्छ। धेरैले यसैगरी आफूलाई देखाइराखेका पनि छन्। यहाँनेर प्रश्न छ– रूप किन बदल्नुपर्‍यो? अरूलाई झुक्याएर आफ्नो उमेर बदलिन्छ र? अरूको नजरले आफ्नो जिन्दगीको जाँच हुने हो र? सामाजिक प्रदर्शनले भोगाइ बदलिने हो र?

प्रश्न गर्न सजिलो छ, जवाफ दिन मुस्किल छ। वास्तवमा जवाफभन्दा प्रश्न नै महत्त्वपूर्ण हुन्छन्। उत्तरले यात्रा टुङ्ग्याउँछ, प्रश्नले यात्रा सुरु गर्छ। जवाफ त प्रश्नको गुणवत्ता अनुसार दिने न हो। श्रीमद्भागवद गीताको जन्म श्रीकृष्णको उत्तरबाट जन्मेको हो कि अर्जुनको प्रश्नबाट? बुद्धले सधैं प्रश्न गर्थे रे– दुःख किन छ? दुःखबाट मुक्ति कसरी हुने? यही जिज्ञासाले नै यी प्रश्नमा उनले आफ्नो धारणा बनाउन सकेका हुन्। यो कुरो हाम्रो समाजले कहिल्यै बुझेजस्तो लाग्दैन। समाज त सधैं परम्परामा बाँच्यो। समाजको चरित्र नै परम्परागत हुँदो रहेछ। त्यसैले त प्रश्न पनि जहिल्यै परम्परागत सोधिरह्यो।

विभेद बालबालिकाको मस्तिष्कमा भरिदिने प्रमुख खजाना रहेछ। नत्र ती साना बालकमा म छोरी  हुँ, म बाहुन हुँ, म हिन्दु हुँ, म होचो छु, मेरा बाबाको जागिर छैन, मैले अंग्रेजी बोल्न जान्दिनँ जस्ता मनोवैज्ञानिक सवाल किन फस्टाए? अस्ति छोराको कपाल काट्न जाँदा छोरीलाई सोधेँ– तिम्रो कपाल पनि अलि अलि मिलाऔं है? छोरीको जवाफ थियो– ‘बाबा, म छोरी हुँ, मैले कपाल काट्नु हुँदैन।’

नङमा पोलिस गर्न, लिपिस्टिक लगाउन, कपाल राम्रोसँग बाटिदिँदा र हल्का मेकअप गरिदिँदा मक्ख पर्न भने छोरीलाई सिकाउनै परेन। समाज–परिवारको व्यवहार र चालचलनले सिकाउँदो रहेछ क्यारे। तिमी छोरी हौ, तिमीले कपाल काट्नु हुँदैन जस्ता विभेदकारी व्यवहार किन सिकाउँछ समाज? तिमी हिन्दु हौ, यी देवीदेवताको पूजा गर, तिमी मुस्लिम हौ, यतिदिन उपवास बस भनेर किन तोक्छ समाज? अंग्रेजी खरर बोल्न जान्नुपर्छ भन्दै सानैदेखि बालमस्तिष्कमा किन पश्चिमी दास मनोविज्ञान भरिदिन्छ समाज? यस्ता थुपै्र प्रश्न छन्, जुन सधैं प्रश्न सोध्ने समाजलाई हामीले नै सोध्नुपर्ने प्रश्न।

समाज प्रश्नहरूको कारखाना हो, जहाँ मान्छेमाथि मात्र होइन, प्रकृति, विश्वास अनि आकाशमाथि समेत प्रश्नहरू थोपरिन्छन्। दसैंतिरको कुरा हो, म स्याङ्जा जाँदै थिएँ। एकाएक सडकजाम सुरु भयो। लामै समय रोकिनुपर्‍यो। यति धेरै सवारी साधन अनि हजारौं मान्छेलाई रोक्ने कारण सडक भासिनु रहेछ। सबैले मनमनै सडकलाई गाली गर्दै थिए– मै आएको बेला किन भासिनुपरेको यो सडकलाई? वास्तवमा पहाडको छाती चिरेर सडक बनाउने अनि सडकको छातीमाथि कुल्चिएर दौडने मान्छेमाथि खनिनुपर्ने हो प्रश्न। समाजले प्रश्न जो कमजोर छ उसैलाई सोध्ने न हो, सडक कमजोर हुँदा सडकलाई, मान्छे कमजोर हुँदा मान्छेलाई।

प्रश्नको ठोस आकार नै हुँदो रहेनछ। प्रश्न जसरी बनाइदिए पनि हुने। नदीमाथि मौन प्रश्न मनमा उब्जिन्छ– नदी किन बगिरहेको हो यति हतार गरेर? तर हामी आफैंलाई कहिल्यै सोध्दैनौं– किन हामी रोकिइरहेका छौं? नदीसँग प्रेरणा लिएर निरन्तर प्रवाहशील भए हुँदैन र? प्राकृतिक विपत्तिपश्चात् हामीले प्रश्न गर्छौं– यो प्रकृति कति कठोर भएको? तर हामी आफैंलाई कहिल्यै सोध्दैनौं– हामीले प्रकृतिमाथि कति निर्दयी व्यवहार गर्‍यौं? हामीले प्रकृतिलाई सद्भावसाथ कहिल्यै प्रश्न गर्‍यौं त– हामी तिमीबिना बाँच्न सक्दैनौं, तिमी हामीबिना बाँच्न सक्छौ?

समाजको भविष्य त्यही प्रश्नमा लुकेको छ, जुन अहिले सोधिएको छैन।
अर्को समाचार
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
१८ मिनेट अघि
•
१ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
काठमाडाैं, नेपाली लोकसंस्कृतिका अनुसन्धाता तथा प्रजातन्त्रका सेनानी स्व. कालीभक्त पन्तले नेपाली संस्कृति, गीतसंगीतलगायत तत्कालीन नेपाली समाजका विविध विषय तथा क्षेत्रको खोज, अनुसन्धान मात्र गर्नुभएन, नयाँ पुस्तालाई त्यसको अभिलेखसमेत तयार गरिदिनुभयो। त्यसकै आधारमा अहिलेको पुस्ताले त्यो बेलाको नेपालको इतिहास थाहा पाएको छ। उहाँको अर्को परिचय भनेको गीतकार, लोकगीत संकलक तथा गायकको पनि हो। उहाँले लेखेको लोकगीत रेडियो नेपालबाट प्रसारण भइरहेका छन्। ‘क्या यस्तो चाल पर्‍यो, मायासित बोल्दैमा गाल पर्‍यो’ तीमध्ये एक हो। प्राध्यापक पार्थिवेश्वरप्रसाद तिमिल्सिनाका अनुसार पन्तको गायनको क्षेत्रमा प्रवेश गर्नुको उद्देश्य गायक बनी नाम कमाउने थिएन। उहाँले नेपाली समाज अशिक्षित भएकाले समाजमा लोकगीतमार्फत जागरण ल्याउन पुस्तक–पुस्तिका, पम्प्लेट आदिको माध्यमबाट मात्र सम्भव नहुने हुँदा गाउँलेहरूलाई बुझाउने लोकगीतहरू रचेर अनेकौं सांस्कृतिक कार्यक्रमहरू गर्नुहुन्थ्यो। उहाँलाई जनतामा कसरी राजनीतिक, सामाजिक चेतना बढाउने भन्ने तरिकाको ज्ञान थियो।




यसरी गाउँलेहरूमा राजनीतिक चेतनाको अभिवृद्धि गर्न उहाँले सांस्कृतिक टोलीहरूको गठन पनि गर्नुभएको थियो। सो समयमा पन्तले ब्यान्जोको आकारको ‘कालीबाजा’को निर्माण पनि गर्नुभएको थियो। यो पनि अब एउटा इतिहास बनिसकेको छ। पर्वत तथा बागलुङमा हुने चैते–दसैंजस्ता मेलामा पन्तले महिला जागरणको मात्र नभई कन्या बेच्ने बाबुआमाविरोधी गीत पनि गाउनुभएको थियो। उदाहरणका लागि ‘छोरी बेचा हे बाहुन बाजे/अझै तँलाई लाग्दैन सरम’, ‘बिहा मलाई गर्ने हो भने/ल्याउनु होला कत्तुवा, चर्खा, तान’ उहाँले समाजका छुवाछुतलगायतका रूढिवादी परम्पराको अन्त्य तथा महिला र जनजातिको उत्थान गर्ने उद्देश्य राखेर विविध चेतनामूलक कार्य गर्नुभएको थियो।

२००७ सालको राजनीतिक परिवर्तनको आन्दोलनका बेला पश्चिम ४ नम्बरको कमान्डरको जिम्मेवारी पाउनुभएका पन्तले क्रान्तिका नेताका रूपमा पर्वत कुस्मा र बागलुङको मुक्तिसेना सञ्चालन गर्नुभएको थियो। त्यस्तै, पन्तले सो क्षेत्र कब्जा गरी सर्वश्री ओमप्रसाद गौचनको नेतृत्वको प्रान्तीय सरकारमा उपप्रधानमन्त्री भई काम गर्नुभएको थियो। यस समयमा पन्तले सूचना विभाग हेर्नुपथ्र्यो। २०१७ सालको पञ्चायती व्यवस्थाविरुद्धसमेत लड्नुभएको थियो। सो क्रममा उहाँले भूमिगत तथा जेलजीवनसमेत बिताउनुपरेको थियो। २०१९ सालदेखि राजनीतिबाट टाढिनुभएका पन्त त्यसपछि पूर्ण रूपमा लेखनमा लाग्नुभएको थियो।

इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। सो क्रममा पन्त भारत (सिक्किम, दार्जिलिङ, कुमाउँ–गढवाल, आसाम, हिमाञ्चल प्रदेश), चीन, भुटान, पाकिस्तान, श्रीलंका तथा बेलायतमा पुग्नुभएको थियो। म्याट्रिक पास गर्नुभएका पन्तलाई नेपालीबाहेक संस्कृत, हिन्दी, उर्दू, अंग्रेजी भाषाको समेत ज्ञान थियो।

उहाँको जन्म १९६४ साल भदौ ६ गते पर्वत जिल्लाको लिमिठानामा भएको थियो। पिता नरेन्द्र पन्त, माता निलकुमारी पन्तका कान्छा छोरा कालीभक्त २००९ सालदेखि भने पर्वतको फलेवासमा बस्दै आउनुभएको थियो। १७ वर्षको उमेरमा कालीभक्तको कृष्णा पन्तसँग विवाह भएको थियो। उहाँहरूका तीन छोरी र ६ छोरा भए। साहित्यकार देवीप्रसाद वनवासीका अनुसार पन्तको जन्मथलो तत्कालीन धौलागिरी अञ्चल, पर्वत जिल्लामा परे पनि उनी प. ४ नं. स्याङ्जा हो। ‘साइलादाइ कहाँ गयो’ भनेर दोहोरी गाउने मसानेका समकालीन पाथे भाइ हुन्। 
कालीभक्त पन्तका ‘पश्चिम ४ नम्बर (नेपाल) को इतिहास’ (२००९), ‘किसान गीता’ (२०१२), ‘हाम्रो राष्ट्रिय कर्तव्य दर्शन’ (२०२७), ‘हाम्रो सांस्कृतिक इतिहास’ (२०२८), ‘गीत सुधारको राष्ट्रिय बाटो’ (२०३३), ‘छुतभेद र कर्तव्य’ (२०३८), ‘शुम्भबध’ (नाटक, निधनपश्चात् २०५० मा प्रकाशित) लगायतका कृति प्रकाशित छन्। यसबाहेक पन्तका विभिन्न विषयका लेखहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका देखिन्छन्।

विशेषगरी ‘हाम्रो सांस्कृतिक इतिहास’मा पन्तले राष्ट्रिय संस्कृति र यसको आवश्यकताको विषयबाट सुरु गरी राष्ट्रियता, हाम्रा गीत, भाषा आदिको प्रारम्भिक स्थिति, नेपालमा झ्याउरे गीतको बीजरोपण, हाम्रा देशका गीतहरूको बनावटको सिलसिला, गीतको आइनो गर्दा भाषा र लिपि, हाम्रा राष्ट्रिय ध्वनिको दिग्दर्शन र विश्वका गीतका ध्वनिहरू, हाम्रा गीतका बीजरोपक र परिवर्तनकर्ता, हाम्रा गीतका छन्दहरू, लोकगीत र तीबाहेकका गीत–बाजा, हाम्रा गीत–बाजाका भेद, गीतको संक्षिप्त महिमा, दार्जिलिङ–सिक्किम–भुटानका गोर्खालीका र हाम्रा गीतमा एकरूपता, हाम्रा देशमा शास्त्रीय संगीतलगायतका विषयमा केन्द्रित रहेर नेपालको समग्र सांस्कृतिक इतिहासलाई खोजी अभिलेख गर्ने काम गर्नुभएको छ।

दिवंगत संस्कृतिविद् वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले पन्तको यसै कृति अध्ययन गरेर आफूलाई उहाँप्रति निकै श्रद्धा लागेको बताउनुभएको थियो। उहाँले पन्तलाई लोकसंस्कृतिको अगुवा बताउँदै सो समयमा लोकगीत, परम्परा र संस्कृतिका सम्बन्धमा कलम चलाई योगदान पुर्‍याउनु अतुलनीय रहेको बताउनुभएको थियो। भाषा तथा लोकसंस्कृतिविद् प्रा.डा. चूडामणि बन्धुका अनुसार पन्तले ‘हाम्रो सांस्कृतिक इतिहास’मा लोकगीत र लोकनृत्यलाई राष्ट्रिय संस्कृतिका महत्त्वपूर्ण अंगका रूपमा विवेचना गर्नुभएको छ। उहाँका अनुसार यस कृतिमा धेरै कुरा पहिलोपटक प्रस्तुत गरिएका छन् र नेपाली भाषा र लोकगीतमा अनुसन्धान गर्नेहरूका लागि यी तथ्य र विश्लेषण स्रोतका रूपमा रहेका छन्।

बालबालिका, किशोरकिशोरी र युवायुवतीलाई सहगान, सहनृत्य र सहकार्यमा अनिवार्य रूपले सहभागी बनाएर उपयोगी शिक्षा दिन सकिन्छ भन्ने उहाँको महत्त्वपूर्ण मान्यता पनि यस कृतिमा चर्चित छ। ‘गीत सुधारको राष्ट्रिय बाटो’ पुस्तक पन्तले नेपालीले आफ्नै सांस्कृतिक पद्धतिअनुसार गीत सुधार गरी अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सकून् भन्ने उद्देश्यले तयार गर्नुभएको थियो। जसमा उहाँले गायन र नृत्यकलाको प्रारम्भ, नाच्ने–गाउने भावना र गला–कला, छन्दसाहित्य (तीजे, लहरी, झ्याउरे, अनुष्टुप, शार्दूलविक्रीडित, शिखरिणी आदि), हाम्रा पुर्खाकालीन सांगीतिक शाब्दिक सरजाम, गीतको संक्षिप्त महिमा, बहादुर सिंह बराल र नेपाली गीतका बनावटको इतिहास, आफ्नोपना र त्यसको पूर्ति, गीतका संज्ञा, परिभाषा र शब्दकोश, संगीत शब्द र भ्रम, हाम्रा गीत साहित्यले बदल्दै आएको ऐतिहासिक मोड, गीत रेकर्ड गर्नुभन्दा पहिले, केही फुटकर कुरा र गुनासाहरूलगायतका शीर्षकमा रहेर नेपाली गीतसंगीतका विविध विषय तथा पक्षको चर्चा गर्नुभएको छ।

संस्कृतिविद् तुलसी दिवस पन्तका ‘हाम्रो सांस्कृतिक इतिहास’ र ‘गीत सुधारको राष्ट्रिय बाटो’ पढेपछि उहाँबाट निकै प्रभावित हुनुभएको थियो। उहाँका अनुसार ‘नेपालको मेची–महाकालीलगायत पूर्वदार्जिलिङ, सिक्किमदेखि पश्चिम कुमाउँ–गढवालसम्म आफैं घुमेर लोकगीत, साहित्य र संस्कृतिको तथ्य संकलन र अन्वेषण गर्नु त्यो समयमा चानचुने कुरा थिएन, त्यो पनि आफ्नै खर्चले।’

यस्तै पन्तले लेखेका तथा संकलन गरेका थुप्रै रचना तथा कृतिहरू अझै अप्रकाशित देखिन्छन्। तिनलाई संकलन तथा सम्पादन गरी प्रकाशन गर्नु आवश्यक देखिन्छ।

उहाँको निधन भने २०४८ फागुन ६ गते भएको थियो। कालीभक्तको निधन हुनुभन्दा २२ वर्षअघि अर्थात् २०२६ माघ ११ गते नै धर्मपत्नी कृष्णा पन्तको ६० वर्षको उमेरमा निधन भइसकेको थियो। उहाँहरूको स्मृतिमा २०७४ वैशाख १ गतेदेखि कालीभक्त कृष्णा पन्त प्रतिष्ठान स्थापना गरिएको थियो। प्रतिष्ठानले ‘स्रष्टा कालीभक्त पन्त अन्तर्राष्ट्रिय लोक–साहित्य पुरस्कार’सँगै विभिन्न सामाजिक, शैक्षिक, खेलकुद, मानवीय सहयोग तथा सांस्कृतिक गतिविधि पनि गर्दै आएको छ।
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
यो पनि पढौँ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस