डिजिटल युगमा लेखनको सार्थकता: एक बौद्धिक विमर्श
१४ कार्तिक २०८३
•
७ मिनेट पाठ
डिजिटल युगमा लेखनको सार्थकता: एक बौद्धिक विमर्श
आधुनिक युगको बजार र सत्ताले हामीलाई यस्तो सुविधाभोगी चौबाटोमा उभ्याइदिएको छ, जहाँ विवेक बेचेर भौतिक सुख किन्ने प्रवृत्ति नै आजको ‘मोक्ष–मार्ग’ बन्न पुग्यो। आजको एउटा विमर्शमा प्रश्न उठ्यो– किन लेख्ने? विषयको चयन कसरी गर्ने? साहित्य लेखेर के हुन्छ? अध्ययनका रूप फेरिएपछि अडियो बुक्स र डिजिटल युगमा किताब कसले पढ्छ? अब त हरेक लेखन एआईले तयार गरिदिन्छ भन्ने चर्चा चले। यी जिज्ञासाबाट तर्किन सकिँदैनथ्यो। तब मेरो मानसपटलमा आजको डिग्रीधारी, सुविधाभोगी र प्रविधिको दास बनेको आधुनिक मान्छेको अनुहार प्रस्ट झल्कियो। यी तमाम प्रश्नको उत्तर खोज्दै गर्दा आजको बौद्धिक जगत्, सत्ताको चाटुकारिता र सिर्जनशील लेखनले भोगिरहेको विडम्बनापूर्ण यथार्थलाई केलाउनु अनिवार्य हुन्छ।




सत्ताको आस र त्रास

साहित्यकार कसरी बन्छ भजनकार? सत्ता र शक्तिसँग एउटा यस्तो अदृश्य जादु हुन्छ, जसले स्वाभिमानी साहित्यकारलाई रातारात ‘भजनकार’मा फेरिदिन्छ। सत्ताले एकातिर पद, पुरस्कार, मानसम्मान र राजकीय अनुकम्पाको आस देखाउँछ भने अर्कातिर सामाजिक बहिष्कार, राज्यको वक्रदृष्टि र जेल यातनाको त्रास पैदा गर्छ। यस्तै आस र त्रासमा जेलिएको लेखक जब चौबाटोमा उभिन्छ– ‘के लेख्ने? कसरी लेख्ने? कुन विषय चयन गर्ने?’ तब उसको अन्तरआत्माबाट होइन, मालिकको दरबारबाट हुकुम आउँछ– ‘मालिकका हुकुम आया है, चोरोंका जयजयकार करो!’

अनि सुरु हुन्छ चाटुकारिताको लेखन। सत्ताको भजन गाउनु नै उसको धर्म बन्छ। उसको अन्धविश्वास र दम्भ कतिसम्म हुन्छ भने उसले जे लेख्छ, त्यो नै महान् साहित्य हो भन्ने भ्रममा ऊ बाँच्छ। सत्ता समर्थित समालोचकहरूले त्यसलाई ‘सुन्दर र उच्च दर्जा’को तक्मा भिराइदिन्छन् र चाटुकारितामै अभ्यस्त भइसकेका पाठकहरूले पनि त्यसैलाई पढेर पत्याइदिइहाल्छन्’ भन्ने भ्रम लेखकमा जाग्छ। यस्तो नियति देख्दा मलाई महान् रुसी लेखक निकोलाई गोगोल र क्रान्तिकारी चिन्तक अलेक्जेन्डर हर्जेनबिचको ऐतिहासिक विमर्श र वैचारिक टकरावको याद आउँछ।

जीवनको अन्त्यतिर जब गोगोल धार्मिक अन्धता र रुढिवादी सत्ताको प्रभावमा परेर आफ्नै मास्टर पिस ‘डेड सोल्स’को मर्मविपरीत सत्ता र धर्मको पक्षपोषण गर्न थाले, तब हर्जेनजस्ता क्रान्तिकारी चेतना भएका समकालीनहरूले गोगोलको त्यो बौद्धिक पतनमाथि गहिरो शोक र तीव्र असन्तोष व्यक्त गरेका थिए।

प्रखर लेखक मरेर सत्ताको भजनकारमा फेरिएपछि हिजोको विद्रोही कवि आफ्नै ‘नैतिकलास’ बोकेर साच्चैका पाठकका हृदयमा नभई सडकमा हल्लिन थाल्छ। जब ऊ आफ्नै चेतनाको लास काँधमा बोकेर समाजमा देखिएपछि त्यसका वैचारिक दुर्गन्धले सिंगो समाज र संस्कृतिलाई नै दूषित र दुर्गन्धित बनाइदिन्छ।

के हामीले पनि हिजोका महान् कविले आज आफ्नै डुङडुङ्ती गनाइरहेका लास बोक्दै भौतारिरहेको देख्दा हर्जनले जस्तै गहिरो शोक र तीव्र असन्तोष नजनाउने? उफ ! अहिले सडकमा भौतारिएको मान्छे, तिम्रो पृय कवि होइन, उसकै प्रेतछाया मात्रै हो।

किन लेख्ने र विषयको चयन कसरी गर्ने?

आजका कयौं डिग्रीधारी प्रोफेसर, इन्जिनियर, वरिष्ठ पत्रकार वा आइटी विशेषज्ञका जीवनको सबैभन्दा ठुलो विशेषता भनेको हो -दिमाग र विवेक खर्च गर्ने मामिलामा महाकन्जुस हुनु। उनीहरू म जान्ने छु, मलाई छान भनेर चाकरीका दस्ताबेज लेख्दै छन्। आफ्नै मगजको अलिकति पनि प्रयोग नगरीकन जीवन कसरी चलाउने? भन्ने कलामा विद्यावारिधि नै गरेर सर्टिफिकेट चाकरीको दस्ताबेज वा स्वबिक्रीको लालपुर्जा पो बनाउँदै छन्। ऊ आलोचनात्मक चेतले भरिएका पुस्तक देखेर यसरी तर्सिन्छ। विज्ञान पढेको छ तर विज्ञान बुझ्न होइन, कक्षामा उच्च ‘ग्रेड’ ल्याएर राम्रो सर्टिफिकेट भिर्न र बहुराष्ट्रिय कम्पनी वा आइएनजिओमा जागिर पड्काउन मात्र अथवा जान्ने वर्गमा उक्लन। मानव सभ्यताको विकासक्रम र डार्बिनको विकासवादलाई छुन डराउने ऊ ब्रह्माण्डको उत्पत्तिका वैज्ञानिक तथ्यहरूभन्दा पौराणिक मिथकमा अगाध श्रद्धा राख्छ। स्मार्टफोनको स्क्रिनमा देखिने अल्गोरिदमले पस्किएका सस्ता सूचनाहरू नै उसका लागि अन्तिम सत्य हुन्। यस्तो पृष्ठभूमिमा प्रश्न उठ्छ– किन लेख्ने?

प्रतिरोधका लागि लेख्ने: जब समाजमा अन्धविश्वास, जडता, सत्ताको भक्तिगान र आत्मसमर्पणको संस्कृति मौलाउँछ, तब मौनता तोड्न लेख्नुपर्छ।

विवेक रक्षाका लागि लेख्ने: अल्गोरिदम र सत्ताको गुलामी गरिरहेको समाजलाई सत्यको ऐना देखाउन लेख्नुपर्छ।

विषयको चयन: विषय कुनै बाहिरी कृत्रिम बजार वा सत्ताको आदेशले होइन, समाजको पीडा, मान्छेका आन्तरिक छटपटी, सत्ताको दम्भ र मानिसभित्र मौलाउँदै गएको बौद्धिक कायरताबाट चयन हुनुपर्छ।

भिडको महारोगबाट मानवचेत बचाउन लेख्ने: कायरता र निराशाको मास हिस्टेरियाविरुद्ध एक्लै भए पनि कलम समाउनेहरू छन् भन्ने सन्देश दिन पनि लेख्नुपर्छ।

साहित्य लेखेर के हुन्छ?

सेल्फ सेन्सरसिपलाई नै मोक्ष–मार्ग ठान्न थालिएपछि सत्ताको आँखामा आँखा जुधाउनुको सट्टा जुत्ता चाट्ने प्रतिस्पर्धा चलिरहेको बेला हो। साहित्य लेखेर के हुन्छ? भन्ने प्रश्न भाट लेखकहरूले न्यारेटिभ तयार गरेका हुन्। त्यसैले आजको ‘कथित बुद्धिजीवी’ वर्ग भन्छ– ‘म सत्ताको विषयमा चुँसम्म गर्दिनँ। अनुकम्पा, म साँचो र चतुर बुद्धिजीवी हुँ। विवेक समयमै उचित मूल्यमा बेचिसकेको छु।’ तर सच्चा साहित्य यही बजारु अवसरवाद र चाटुकारिताविरुद्धको कठोर प्रहार हो।

साहित्य लेखेर सत्ताका ढोङहरू छर्लङ्गिन्छन्। मान्छेभित्रको डरको पर्दा उघ्रिएपछि दबिएको आवाजले आत्मिक ऊर्जा पाएर कुर्लिन थाल्छ। अन्धविश्वासका पर्खाल ढलेका त हामीले नै देखेका हौं। कोभिड महामारीको त्रासदीमा ठुला–ठुला पण्डित, पादरी र मौलवीहरू पनि विज्ञानकै भेन्टिलेटरमा लाइन लाग्न पुगे। विज्ञानचेतका लेखकहरूले नै लेखे– ढोङ जतिसुकै बलियो भए पनि यथार्थ सधैं नग्न र सत्य हुन्छ भन्ने मान्छेभित्रको मृत विवेकलाई जागृत गराउने काम गर्‍यो।

अध्ययनका रूप फेरिएपछि

अडियो बुक्स र डिजिटल युगमा किताब कसले पढ्छ? प्रविधिको यो द्रुत गतिमा अडियो बुक्स, किन्डल र डिजिटल मिडियाले पढ्ने शैली फेरिदिए। मान्छेसँग अब मोटो किताब पल्टाउने धैर्य छैन भन्ने भाष्य निर्माण गरियो।  तर कुरा माध्यमको होइन, नियत र चेतनाको हो। प्रविधि माध्यम मात्र हो, गन्तव्य होइन। अडियो बुक्सले सुनेर ज्ञान लिने बाटो खोलिदिए पनि त्यसले गहिरो चिन्तन र विमर्शको स्थान लिन सक्दैन।

आज समस्या डिजिटल युग आएकोमा होइन, प्रविधिलाई आफ्नो विवेक बन्धकी राख्ने साधन बनाइएकोमा हो। जबसम्म मानिसमा समाजलाई गहिराइबाट बुझ्ने हुटहुटी बाँकी रहन्छ, तबसम्म माध्यम जुनसुकै भए पनि पठन संस्कृति र चेतना कहिल्यै मर्ने छैन।

मान्छे र मेसिनको बौद्धिक लडाइँ तीव्र भएको छ। आजको सबैभन्दा ठुलो जिज्ञासा हो - ‘जब आर्टिफिसियल इन्टेलिजेन्सले केही सेकेन्डमै उत्कृष्ट लेख, कविता र निबन्ध तयार गरिदिन्छ भने मान्छेले लेख्नुको अर्थ के ? यसको सिधा उत्तर हो - एआईले तथ्यांक, व्याकरण र ढाँचा मिलाउन सक्छ तर उसले पीडा महसुस गर्न सक्दैन। एआईसँग अल्गोरिदम हुन्छ तर आँसु हुँदैन। ऊसँग डेटा हुन्छ तर राज्यको दमनविरुद्धको धड्कन हुँदैन। प्रतिरोधको न भाषा हुन्छ न चेतना वा संवेदना। एआईलाई प्रम्ट कसरी दिनुहुन्छ, दिने त मान्छे नै हुनुपर्‍यो नि ! आजका धेरैजसो चाटुकार लेखकहरू एआईजस्तै भइसकेका छन्– जसलाई जे अह्राइयो, त्यही बमन गर्छन्, जसले सत्ताको दानापानी पायो, उसैको जयगान गाउँछन्। उनीहरूको आफ्नै मौलिक विवेक मरिसकेको छ।

एआईले त केवल तिनै मृत चेतनाहरूको डिजिटल प्रतिलिपि मात्र तयार गरिदिने हो तर एक सच्चा लेखक एआई जस्तो तटस्थ र विवेकहीन वा सत्ताको भाट हुन सक्दैन। लेखकसँग रगत र पसिनाको गन्ध हुन्छ, जसमा विद्रोही चेतना हुन्छ। एआईले सुविधाभोगी ‘भाट बुद्धिजीवी’ जन्माउन मद्दत गर्ला तर एउटा निर्भीक लेखकको आत्मसम्मान र सत्यप्रतिको निष्ठालाई कहिल्यै प्रतिस्थापन गर्न सक्दैन।

हाम्रो दायित्व र चेतनाको पुनर्जागरण

आजको यो विमर्शले हामीलाई एउटा कठोर सत्यको सामुन्ने उभ्याएको छ। के हामी पनि भोलि भन्न बाध्य हुनेछौं– ‘म बोल्दिनँ, अब त म बोल्दै बोल्दिनँ। मलाई बोल्न डर लाग्छ हजुर! बोलेकै कुरा कुन बेला पासो बन्छ, मलाई नै थाहा छैन।  मैले अब शक्तिसामु ‘जीहजुर’ भन्ने निधो गरेँ। ’हामीले सत्ताको डरले, आस वा त्रासको लोभमा वा एआई र प्रविधिको दासतामा आफ्नो विवेक सुम्पियौं भने हामी जीवित भएर पनि आफ्नै लास बोकेर हिँड्ने कायर प्राणी हुनेछौं। त्यसैले किन लेख्ने? भन्ने प्रश्नको एउटै अन्तिम जवाफ हो– कुरूप सत्ताको जयजयकार नगर्न, आफ्नै लास बोकेर समाजलाई दुर्गन्धित हुनबाट जोगाउन, विवेकको हत्या रोक्न र निर्भीकतासाथ सत्यको वकालत गर्नका लागि लेख्नुपर्छ।  
अर्को समाचार
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
२ घण्टा अघि
•
१ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
काठमाडाैं, नेपाली लोकसंस्कृतिका अनुसन्धाता तथा प्रजातन्त्रका सेनानी स्व. कालीभक्त पन्तले नेपाली संस्कृति, गीतसंगीतलगायत तत्कालीन नेपाली समाजका विविध विषय तथा क्षेत्रको खोज, अनुसन्धान मात्र गर्नुभएन, नयाँ पुस्तालाई त्यसको अभिलेखसमेत तयार गरिदिनुभयो। त्यसकै आधारमा अहिलेको पुस्ताले त्यो बेलाको नेपालको इतिहास थाहा पाएको छ। उहाँको अर्को परिचय भनेको गीतकार, लोकगीत संकलक तथा गायकको पनि हो। उहाँले लेखेको लोकगीत रेडियो नेपालबाट प्रसारण भइरहेका छन्। ‘क्या यस्तो चाल पर्‍यो, मायासित बोल्दैमा गाल पर्‍यो’ तीमध्ये एक हो। प्राध्यापक पार्थिवेश्वरप्रसाद तिमिल्सिनाका अनुसार पन्तको गायनको क्षेत्रमा प्रवेश गर्नुको उद्देश्य गायक बनी नाम कमाउने थिएन। उहाँले नेपाली समाज अशिक्षित भएकाले समाजमा लोकगीतमार्फत जागरण ल्याउन पुस्तक–पुस्तिका, पम्प्लेट आदिको माध्यमबाट मात्र सम्भव नहुने हुँदा गाउँलेहरूलाई बुझाउने लोकगीतहरू रचेर अनेकौं सांस्कृतिक कार्यक्रमहरू गर्नुहुन्थ्यो। उहाँलाई जनतामा कसरी राजनीतिक, सामाजिक चेतना बढाउने भन्ने तरिकाको ज्ञान थियो।




यसरी गाउँलेहरूमा राजनीतिक चेतनाको अभिवृद्धि गर्न उहाँले सांस्कृतिक टोलीहरूको गठन पनि गर्नुभएको थियो। सो समयमा पन्तले ब्यान्जोको आकारको ‘कालीबाजा’को निर्माण पनि गर्नुभएको थियो। यो पनि अब एउटा इतिहास बनिसकेको छ। पर्वत तथा बागलुङमा हुने चैते–दसैंजस्ता मेलामा पन्तले महिला जागरणको मात्र नभई कन्या बेच्ने बाबुआमाविरोधी गीत पनि गाउनुभएको थियो। उदाहरणका लागि ‘छोरी बेचा हे बाहुन बाजे/अझै तँलाई लाग्दैन सरम’, ‘बिहा मलाई गर्ने हो भने/ल्याउनु होला कत्तुवा, चर्खा, तान’ उहाँले समाजका छुवाछुतलगायतका रूढिवादी परम्पराको अन्त्य तथा महिला र जनजातिको उत्थान गर्ने उद्देश्य राखेर विविध चेतनामूलक कार्य गर्नुभएको थियो।

२००७ सालको राजनीतिक परिवर्तनको आन्दोलनका बेला पश्चिम ४ नम्बरको कमान्डरको जिम्मेवारी पाउनुभएका पन्तले क्रान्तिका नेताका रूपमा पर्वत कुस्मा र बागलुङको मुक्तिसेना सञ्चालन गर्नुभएको थियो। त्यस्तै, पन्तले सो क्षेत्र कब्जा गरी सर्वश्री ओमप्रसाद गौचनको नेतृत्वको प्रान्तीय सरकारमा उपप्रधानमन्त्री भई काम गर्नुभएको थियो। यस समयमा पन्तले सूचना विभाग हेर्नुपथ्र्यो। २०१७ सालको पञ्चायती व्यवस्थाविरुद्धसमेत लड्नुभएको थियो। सो क्रममा उहाँले भूमिगत तथा जेलजीवनसमेत बिताउनुपरेको थियो। २०१९ सालदेखि राजनीतिबाट टाढिनुभएका पन्त त्यसपछि पूर्ण रूपमा लेखनमा लाग्नुभएको थियो।

इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। सो क्रममा पन्त भारत (सिक्किम, दार्जिलिङ, कुमाउँ–गढवाल, आसाम, हिमाञ्चल प्रदेश), चीन, भुटान, पाकिस्तान, श्रीलंका तथा बेलायतमा पुग्नुभएको थियो। म्याट्रिक पास गर्नुभएका पन्तलाई नेपालीबाहेक संस्कृत, हिन्दी, उर्दू, अंग्रेजी भाषाको समेत ज्ञान थियो।

उहाँको जन्म १९६४ साल भदौ ६ गते पर्वत जिल्लाको लिमिठानामा भएको थियो। पिता नरेन्द्र पन्त, माता निलकुमारी पन्तका कान्छा छोरा कालीभक्त २००९ सालदेखि भने पर्वतको फलेवासमा बस्दै आउनुभएको थियो। १७ वर्षको उमेरमा कालीभक्तको कृष्णा पन्तसँग विवाह भएको थियो। उहाँहरूका तीन छोरी र ६ छोरा भए। साहित्यकार देवीप्रसाद वनवासीका अनुसार पन्तको जन्मथलो तत्कालीन धौलागिरी अञ्चल, पर्वत जिल्लामा परे पनि उनी प. ४ नं. स्याङ्जा हो। ‘साइलादाइ कहाँ गयो’ भनेर दोहोरी गाउने मसानेका समकालीन पाथे भाइ हुन्। 
कालीभक्त पन्तका ‘पश्चिम ४ नम्बर (नेपाल) को इतिहास’ (२००९), ‘किसान गीता’ (२०१२), ‘हाम्रो राष्ट्रिय कर्तव्य दर्शन’ (२०२७), ‘हाम्रो सांस्कृतिक इतिहास’ (२०२८), ‘गीत सुधारको राष्ट्रिय बाटो’ (२०३३), ‘छुतभेद र कर्तव्य’ (२०३८), ‘शुम्भबध’ (नाटक, निधनपश्चात् २०५० मा प्रकाशित) लगायतका कृति प्रकाशित छन्। यसबाहेक पन्तका विभिन्न विषयका लेखहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका देखिन्छन्।

विशेषगरी ‘हाम्रो सांस्कृतिक इतिहास’मा पन्तले राष्ट्रिय संस्कृति र यसको आवश्यकताको विषयबाट सुरु गरी राष्ट्रियता, हाम्रा गीत, भाषा आदिको प्रारम्भिक स्थिति, नेपालमा झ्याउरे गीतको बीजरोपण, हाम्रा देशका गीतहरूको बनावटको सिलसिला, गीतको आइनो गर्दा भाषा र लिपि, हाम्रा राष्ट्रिय ध्वनिको दिग्दर्शन र विश्वका गीतका ध्वनिहरू, हाम्रा गीतका बीजरोपक र परिवर्तनकर्ता, हाम्रा गीतका छन्दहरू, लोकगीत र तीबाहेकका गीत–बाजा, हाम्रा गीत–बाजाका भेद, गीतको संक्षिप्त महिमा, दार्जिलिङ–सिक्किम–भुटानका गोर्खालीका र हाम्रा गीतमा एकरूपता, हाम्रा देशमा शास्त्रीय संगीतलगायतका विषयमा केन्द्रित रहेर नेपालको समग्र सांस्कृतिक इतिहासलाई खोजी अभिलेख गर्ने काम गर्नुभएको छ।

दिवंगत संस्कृतिविद् वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले पन्तको यसै कृति अध्ययन गरेर आफूलाई उहाँप्रति निकै श्रद्धा लागेको बताउनुभएको थियो। उहाँले पन्तलाई लोकसंस्कृतिको अगुवा बताउँदै सो समयमा लोकगीत, परम्परा र संस्कृतिका सम्बन्धमा कलम चलाई योगदान पुर्‍याउनु अतुलनीय रहेको बताउनुभएको थियो। भाषा तथा लोकसंस्कृतिविद् प्रा.डा. चूडामणि बन्धुका अनुसार पन्तले ‘हाम्रो सांस्कृतिक इतिहास’मा लोकगीत र लोकनृत्यलाई राष्ट्रिय संस्कृतिका महत्त्वपूर्ण अंगका रूपमा विवेचना गर्नुभएको छ। उहाँका अनुसार यस कृतिमा धेरै कुरा पहिलोपटक प्रस्तुत गरिएका छन् र नेपाली भाषा र लोकगीतमा अनुसन्धान गर्नेहरूका लागि यी तथ्य र विश्लेषण स्रोतका रूपमा रहेका छन्।

बालबालिका, किशोरकिशोरी र युवायुवतीलाई सहगान, सहनृत्य र सहकार्यमा अनिवार्य रूपले सहभागी बनाएर उपयोगी शिक्षा दिन सकिन्छ भन्ने उहाँको महत्त्वपूर्ण मान्यता पनि यस कृतिमा चर्चित छ। ‘गीत सुधारको राष्ट्रिय बाटो’ पुस्तक पन्तले नेपालीले आफ्नै सांस्कृतिक पद्धतिअनुसार गीत सुधार गरी अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सकून् भन्ने उद्देश्यले तयार गर्नुभएको थियो। जसमा उहाँले गायन र नृत्यकलाको प्रारम्भ, नाच्ने–गाउने भावना र गला–कला, छन्दसाहित्य (तीजे, लहरी, झ्याउरे, अनुष्टुप, शार्दूलविक्रीडित, शिखरिणी आदि), हाम्रा पुर्खाकालीन सांगीतिक शाब्दिक सरजाम, गीतको संक्षिप्त महिमा, बहादुर सिंह बराल र नेपाली गीतका बनावटको इतिहास, आफ्नोपना र त्यसको पूर्ति, गीतका संज्ञा, परिभाषा र शब्दकोश, संगीत शब्द र भ्रम, हाम्रा गीत साहित्यले बदल्दै आएको ऐतिहासिक मोड, गीत रेकर्ड गर्नुभन्दा पहिले, केही फुटकर कुरा र गुनासाहरूलगायतका शीर्षकमा रहेर नेपाली गीतसंगीतका विविध विषय तथा पक्षको चर्चा गर्नुभएको छ।

संस्कृतिविद् तुलसी दिवस पन्तका ‘हाम्रो सांस्कृतिक इतिहास’ र ‘गीत सुधारको राष्ट्रिय बाटो’ पढेपछि उहाँबाट निकै प्रभावित हुनुभएको थियो। उहाँका अनुसार ‘नेपालको मेची–महाकालीलगायत पूर्वदार्जिलिङ, सिक्किमदेखि पश्चिम कुमाउँ–गढवालसम्म आफैं घुमेर लोकगीत, साहित्य र संस्कृतिको तथ्य संकलन र अन्वेषण गर्नु त्यो समयमा चानचुने कुरा थिएन, त्यो पनि आफ्नै खर्चले।’

यस्तै पन्तले लेखेका तथा संकलन गरेका थुप्रै रचना तथा कृतिहरू अझै अप्रकाशित देखिन्छन्। तिनलाई संकलन तथा सम्पादन गरी प्रकाशन गर्नु आवश्यक देखिन्छ।

उहाँको निधन भने २०४८ फागुन ६ गते भएको थियो। कालीभक्तको निधन हुनुभन्दा २२ वर्षअघि अर्थात् २०२६ माघ ११ गते नै धर्मपत्नी कृष्णा पन्तको ६० वर्षको उमेरमा निधन भइसकेको थियो। उहाँहरूको स्मृतिमा २०७४ वैशाख १ गतेदेखि कालीभक्त कृष्णा पन्त प्रतिष्ठान स्थापना गरिएको थियो। प्रतिष्ठानले ‘स्रष्टा कालीभक्त पन्त अन्तर्राष्ट्रिय लोक–साहित्य पुरस्कार’सँगै विभिन्न सामाजिक, शैक्षिक, खेलकुद, मानवीय सहयोग तथा सांस्कृतिक गतिविधि पनि गर्दै आएको छ।
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
यो पनि पढौँ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस