तृष्णा-तृप्ति
१० असार २०८३
•
९ मिनेट पाठ
तृष्णा-तृप्ति
त्यो बूढोलाई फुटपाथको पुस्तक–पत्रपत्रिका पसलमा कुनै किताब हातमा लिएर पढ्दै गरेको त कहिले कहीँ देखेको हुँ तर आजचाहिँ सुनधाराकी त्यो अधबैँसे साहुनीले नराम्ररी गाली गरी। पसलमा घण्टौँ घोरिएर सित्तैँमा पत्रपत्रिकाहरू पढिसिध्याएर हिँड्नेहरूदेखि आजित भएका पत्रिका पसलेहरूको रीसको पारो चढेको झोकमा कतै म आफू पो पर्ने हुँ कि भन्ने डर लागिरहन्छ। सबै पत्रपत्रिकाहरू किनेर हेर्न साध्य लाग्दैन, त्यसैले बरु एउटा पत्रिका किन्ने र त्यसैको निहुँमा अरू पत्रिकाहरू हेरिसिध्याउने गर्नाले उनीहरूको हेराइमा म सभ्य नागरिकमा परेको छु। त्यस दिन त त्यो पत्रिका पसल्नीले मेरै उदाहरण दिएर एउटा बूढालाई नराम्रोसँग झम्टिई। कुराको चुरो नबुझेसम्म वाल्ल परेर झम्टिने साहुनी र झम्टाई खाने बूढो पाठकलाई एकोहोरो हेरिरहेँ।




कुरो त उही रहेछ जुन मैले अनुमान गरेको थिएँ। साहुनी भन्दै थिई– “कि त उहाँले जस्तो कम्तीमा पनि एउटा पत्रिकासम्म त किन्नुप¥यो। दिनदिनै आउने र सित्तैँमा सिङ्गासिङ्गै कितावहरू पढ्ने ! त्यसमा पनि यौनका कितावहरू ! कि त किनेर लैजाऊ, होइन भने आइन्दा मेरो पसलमा नआऊ। पिण्डखाने बेलामा खुबै लछारपाटो लाउने भयौ यौनका कुराहरु पढेर।”

साहुनी यत्तिमै रोकिइन। उसले कहिलेदेखिको र कसकसको रीस हो कुन्नि, आजै त्यही बूढोमाथि पोखी। बूढो पनि के कम्ती हुन्थ्यो, निकै ज्याद्रो रहेछ। सँगसँगै जवाफ फर्काइरहेथ्यो साहुनीलाई– “पख न नानी, एकैछिन त हो नि। तिम्रो किताव खाएको छैन, च्यातेको छैन। किन मर्न खोज्छ्यौ यसरी।”

“अब त अति भयो, तँ रण्डो बूढालाई। यहाँबाट खुरुक्क जान्छस् कि घोक्रयाइदिउँ।” साहुनीको रीसको पारो चढेको देखेर म पो डराएँ बरु। बूढोचाहिँ कितावमै एकोहोरिरहेको थियो।

त्यतिबेलाको स्थितिको सरसर्ती मूल्याङ्कन गर्दा बूढाले टेर्ने छाँट थिएन र कुनै पनि बेला त्यो अधबैँसे पसल्नीले उसमाथि धावा बोल्न सक्छे भन्ने निर्णयमा म पुगिसकेको थिएँ। अब भने म पनि आफूले पैसा तिरेको पत्रिका मात्र हातमा लिएर सतर्क भइसकेको थिएँ।

पसल्नीको अनुहारमा रीसका ज्वारभाटाहरू एकपछि अर्को उठ्दै गरेका स्पष्टै देखिन्थे। त्यतिबेलासम्म त्यो पसलमा भीड नै लागिसकेको थियो। के भइरहेको छ भन्ने त्यो भीडलाई थाहा थिएन र भीडले जान्न चाहिरहेको थियो, आखिर कुरो के हो भन्ने। साहुनी एकोहोरो जङ्गिरहेकी थिई भने त्यो बूढोचाहिँ कितावमा एकोहोरिएकै थियो। उसलाई न त साहुनीको गालीको पर्वाह थियो, न त भीड लागिसकेको नै थाहा पाएको थियो। लाग्थ्यो - त्यो किताव नै उसको संसारको सबैभन्दा प्रिय वस्तु हो अथवा त्यो किताव पढेर तत्कालै ऊ कुनै पास गर्नैपर्ने जाँच दिनुपर्ने बाध्यतामा छ। कुनै बाध्यात्मक अवस्थामा भएजस्तो अचम्मकै कितावप्रेमी देखिइरहेछ त्यो बूढो।

पत्रिका पसल्नीले सहन सकिन। सायद त्यहाँ जम्मा भइसकेको भीडका कारण पनि उसले तत्काल केही गरिहाल्नुपर्ने सम्झिई। हिंस्रक बाजले परेवालाई झम्टिएजस्तै गरी त्यो बूढोको हातको कितावलाई थुती। टुक्रुक्क बसेर पढिरहेको बूढालाई उसले कुटिहाल्न त चाहिन तर घुर्चिएर पुर्लुक्क लडाइदिई।

बूढालाई त्यहाँबाट उठ्न निक्कै धौधौ पर्‍यो। ऊचाहिँ लु पढ्, अझै पढ्छस्, खुबै तरिका सिक्नुपर्ने तँलाई। मर्ने बेलामा हरियो काँक्रो! केके हो कुन्नि, उसले जानेसम्मका शब्दहरूले लडेको बूढालाई झन्झन् थिचिरहेकी थिई। जम्मा भएको भीड गलल्ल हाँस्थ्यो।

यसपछि भने म दर्शक मात्र रहिरहन सकिनँ। म पनि पाठक बनेँ र बूढोमाथि पाठकीय मूल्याङ्कन गर्न थालेँ।

आखिर जुनिसुकै विषयवस्तुमा लेखिएको किताव किन नहोस्, लेखकले पाठकको ध्यान तान्नकै लागि लेखेको त हो नि। त्यो कितावले एउटा वृद्धलाई त्यसरी बेइज्जती सहनुपर्ने हदसम्म तान्न सक्यो भने त्यस कितावको लेखक आफ्नो उद्देश्यमा शतप्रतिशत सफल भएको हो। उसले आफ्नो मनले पढ्न अह्राएको किताव पढ्यो, पढ्नु उसको अपराध होइन। बरु त्यो किताव उसले पढ्नैपर्ने बाध्यता किन बन्यो? उसले किनेर, घरैमा लगेर किन पढ्न चाहेन अथवा ऊसँग किताव किन्न सक्ने क्षमता नभएर पो हो कि! एउटा बृद्ध पाठकभित्र लुकेका धेरै रहस्यका पोकाहरू फुकाउन सकेँ भने म आफू पनि पाठक हुनुको धर्म राख्दै लेखक हुनुको कर्म पनि गर्न सक्दछु भन्ने निष्कर्षमा पुगेँ।

वृद्ध पाठक उठ्ने जमर्को गर्दै थियो। सायद कतै ढोक्किएको हुनुपर्छ। त्यसैले जुरुक्क उठ्न सकेन। मैले उसलाई सहारा दिँदै उठाएँ। उसलाई निकै ठूलो ढाडस मिलेछ र मेरै पाखुराले भर दिएर उठाएजस्तो गरी ऊ उठ्यो। मायालु आँखाले मेरो मुखमा हेर्‍यो बूढाले। मैले ‘बा’ भनेँ। बूढाका दुवै आँखामा छिनमै आँसु भरिए। भक्कानिएर एकछिनसम्म बूढो बोल्न सकेन।

“झन्नै मारेकी वाइफालेले! त्यसको छाला पढ्न पनि नहुने। खाइदिन्छ कि जस्तै पो गरी है” उसले बोलेका शब्द सुन्दा बूढो पनि कम्ती रिसाएको थिएन। उसले सक्ने भए त्यो आइमाईलाई बदला लिन हातै पनि हाल्न बेर गर्ने थिएन होला। तर के गरोस्, उसमा शक्ति–सामर्थ्य थिएन त्यसो गरिहाल्न पनि।

साहुनी यी बूढाले पढेको किताव कुन हो? मैले रीसले आगो भएकी साहुनीलाई चिस्याउन खोजेँ। अब त सम्भवतः ऊ मसँग पनि रिसाएकी हुनुपर्छ। किनभने म उसले कारवाही गरेको बूढोपट्टि लागेको जस्तो मेरो व्यवहारले देखाइरहेथ्यो।

“त्यहीँ छ, फुँडोको कुसेत्रो!” उसको बोलाइको शब्द छनोटले कतै मैमाथि पनि खनिन्छे कि भन्ने डर पलायो। बिस्तारै मागेँ त्यो किताव। धन्न दिई मेरो हातमा। किताबको बाहिरी नामकरण पढेँ मैले। आवरणचित्र हेर्दैमा पनि भित्र के कस्ता कुराहरू होलान् भन्ने सहज अनुमान गर्न सकिन्थ्यो। चरम उत्तेजनामा प्रवेश गरेका जस्ता हाउभाउमा केटा र केटी आपसमा टाँस्सिएर मुखमा मुख जोडिरहेको नाङ्गो दृश्य कितावको आवरणमै थियो। यति लेखिसकेपछि कितावको नाम नलेखे पनि हुने हो मैले तर लुकाउनपर्ने नै के छ र। “यौनक्रीडामा सफलता चाहनेहरूका लागि?”

मैले हातमा लिएको बूढाले एकोहोरो लागेर पढेको कितावको आवरणचित्र र उल्लिखित नाम देखेर भीड फेरि एकपटक हाँस्यो। मैले पुस्तकको मूल्य हेरेँ - पचहत्तर रुपैयाँ रहेछ।

पर्स निकालेँ। खुद्रा पैसा सत्तरी रुपैयाँ मात्र रहेछ। साहुनीलाई दिएँ र भनें - पाँच रुपैयाँ त डिस्काउन्ट होला नि!

एकैछिन अघि ‘रणचण्डी’ बनेकी साहुनीको अनुहारमा एकाएक लाली छायो। पूरै अनुहार हँसिलो देखियो त्यो आइमाईको। म पनि पाँच रुपैयाँ डिस्काउन्टकै लागि भए पनि फिस्स हाँसे। मेरा आँखामा आफ्ना आँखा जुधाउँदै भइहाल्छ नि भनी उसले र पैसा समाई।

त्यो किताव बूढाको हातमा दिएँ र आफ्नो पाखुराले उसको पाखुरामा भर दिँदै खिचापोखरीतिर लागेँ। यतिबेलासम्ममा बूढो पनि सहज अवस्थामा फर्किइसकेको थियो। तर पनि त्यो आइमाईलाई गाली गर्न भने छोडेको थिएन। आफूतिर बूढाको ध्यान खिच्ने उद्देश्यले सोधेँ– उमेर कति भयो बाको?

“यसै महिनादेखि पचहत्तर लागेँ बाबु।” बूढाले आफ्नो उमेर बताउँदा म तीनछक्क परेको थिएँ। उमेरभन्दा पनि त्यो उमेरमा आएर पनि यौनमूलक कितावहरूमा देखिएको बूढाको रुचिचाहिँ महत्त्वपूर्ण कुरा थियो। यस्तो कितावमा मरिहत्ते गर्नुको कारणले पक्कै पनि यो बूढोकी तरुनी श्रीमती हुनुपर्छ भन्ने अनुमान गरेँ मैले।

यस घटनाले गर्दा बूढाले मसँग साथीको जस्तै व्यवहार देखाउन थाल्यो। पचहत्तर वर्षे वृद्धको रुचि र घरव्यवहार जान्नकै लागि पनि उसलाई अझै केही घण्टा नछोड्ने निर्णय गरेँ मैले। त्यतिञ्जेलसम्ममा बूढाले आफ्नो घर ओखलढुङ्गाको टोक्सेल गाउँमा भएको, सात वर्षदेखि काठमाडौँमा ज्याला–मजदूरी गर्दै बसिरहेको, कान्छी श्रीमती र एउटा तीन वर्षे छोरो साथमा भएका लगायतका कुराहरू मलाई बताइसकेको थियो। गफकै सुरमा हामी न्यूरोड पिप्पलबोट निस्किसकेका थियौँ। अफिस जान हतार भइसकेको थियो तर पनि किनकिन त्यो बूढोको पारिवारिक जीवन, उसको विगत र हालको काठमाडौँको बसाई जान्नलाई म उत्सुक थिएँ। बूढालाई सोधेँ– “चिया खाने हो?”

“हुन्छ, मलाई पनि बाबुसँग गफ गरौँगरौँ लागिरहेको छ। आज किन हो किन, कति वर्षपछि मिल्ने साथी भेट्टाएजस्तै लागिरहेछ।” बूढोले मसँग साँच्चिकै आत्मीय देखायो।

हामी एउटा चिया पसलमा छिर्‍यौँ। बूढालाई अरू पनि केही खाने हो भनेर सोधेँ तर उसले भर्खरै डेराबाट भात खाएर निस्किएको बतायो। चियासँगै बूढाको विगत कोट्याएँ। बूढोले एकपटक खुइय्य गर्‍यो। अनि आफ्नो जीवनका तीतामीठा पोकाहरू फुकाउन थाल्यो।

“गाउँमा काम गरेर खानपुग्ने राम्रै बन्दोबस्त थियो। पहिलो बिहे एघार वर्षकै उमेरमा गरिदिएका थिए बाबुआमाले। त्यतिबेला केटीको उमेर नौ वर्षकी भन्थे। परिवार राम्रैसँग चलेको थियो। पन्ध्रै वर्षको उमेरमा ऊ गर्भिणी भएकी थिई। कर्ममा नभएपछि के गर्नु, नानी पाउन नसकेर ऊ मरी।”

जीवनको पूर्वस्मृतिमा बूढो निकै गम्भीर देखियो। त्यसपछि अर्को बिहे कहिले गर्नुभयो त? मैले जिज्ञासा राखेँ।

“पहिलेकी श्रीमती मरेको दुई वर्षपछि गाउँमै अर्को बिहे गरेँ। मलाई त कर्मैले ठगेको हो कि के हो, त्यो श्रीमतीले पनि दुई छोरा भइसकेपछि मलाई छोडेर अर्कैसँग पोइला हिँडी। विरक्त लागेर आयो र धेरै वर्षसम्म बिहे नै गरिनँ। छोराहरू हुर्किए, काम गर्ने भए। दुवैको बिहे भयो। उनीहरुले आफ्नै घर–संसार बसाए। म बूढो एक्लाको एक्लै। यसै भएर घरमा बस्नै मन लागेन र काठमाडौँ आएँ। काठमाडौँमा भारी बोक्ने, ज्यालादारीमा काम गर्ने गर्दै, बस्दै आएको थिएँ। यस्तैमा एउटी केटी त के भनौँ, आइमाईसँग भेट भयो। ऊ पनि एक्लै, म पनि एक्लै। उसलाई लोग्नेले सौता हालेछ र कुटेर घरबाट निकालेछ। त्यसैले गाउँकाहरुसँग काठमाडौँ आएकी रहिछे। मलाई नढाँटेकी हो भने छत्तीस वर्षकी भएँ भन्छे।”

म छक्क परेँ। सात–आठ वर्षको उमेरको फरक हुँदा मात्र पनि मेरी श्रीमती कत्ति न धेरै फरक भएजस्तो छेड हान्छे। कहाँको पचहत्तर वर्षको बूढो, कहाँको छत्तीस वर्षकी तरुनी! कुराको चुरो राम्ररी बुझेँ मैले। बूढेसकालमा ल्याएकी श्रीमतीलाई यौन सन्तुष्टि दिलाउन बूढाले यौनशिक्षाका पुस्तकहरू पढ्ने विचार गरेका रहेछन्। काम गरेर पेट पाल्नुपर्ने। किताव किन्ने पैसा कसरी पुगोस् त। अनि पसलमा घोत्लिएर नपढे के गर्नु। पाठक बूढो र पसल्नी आइमाई दुवै आआफ्नो ठाउँमा ठीक देखिए मेरो हेराइमा। बेच्न राखेको पुस्तक त्यसै पढेपछि उसले के गरोस् त आक्रमण नगरे। अनि आवश्यक पनि छ, किन्न पैसा पनि छैन भने त्यसै नपढेर के गरोस् त बूढाले।

किताव पल्टाएँ। त्यसमा धेरै कुरा थिए। किताव भनेको शिक्षामूलक चिज नै हो तर लेखाइ ज्यादा अश्लील थियो। त्यसमा यौनक्रीडाका केही आसन पनि थिए। एकले अर्कालाई फकाउने तरिका, तताउने तरिका, खुशी पार्ने तरिका, त्यसमा धेरै कुरा थिए। बूढाकै अगाडि कितावका पानाहरू सरसर्ती  पल्टाउँदा उसमा केही लजाएजस्तो भाव पनि देखिन्थ्यो। किताव किनिदिएकोमा मप्रति अनुगृहीत पनि उसका आँखाहरूबाट ऊ भइहरहेथ्यो।

तृष्णाले नै मान्छेलाई डोर्‍याउँछ। जीवनप्रति मोह जगाउने, परिवार बनाउन खोज्ने, चाहनाहरू एकपछि अर्को उमार्दै जाने यसैले गर्ने रहेछ। पचहत्तर वर्षको बूढालाई तृष्णा जाग्यो ! छत्तीस वर्षकी आइमाईले ऊबाट तृप्तिचाहिँ! यिनीहरूको मिलन कस्तो होला, गुजारा कसरी चलेको होला भन्ने यथार्थ नजिकबाट हेर्न चाहेर पनि सम्भव थिएन। बूढाले मलाई देउता नै भेटेजस्तो गरी लठ्ठिएको छ। म पनि उसका कुराहरूबाट आफ्नो जीवनको उत्तरार्द्धको सम्भावित अवस्थाको कल्पनामा डुबेको छु।

अनि शरीरमा कत्तिको तागत छ त? सन्तुष्टि दिन सकिन्छ? बूढालाई जिस्क्याएँ मैले। उसले भन्यो– त्यतिसाह्राे गलेको त छैन तर पनि यो उमेरमा आएर अब बैँसको जस्तो खोजेर कहाँ हुन्छ र बाबु। यसलाई एउटासम्म सन्तान दिन सके ढुक्क हुने थिएँ।

घडी हेरेँ, निकै अबेर भइसकेको थियो तर बूढालाई कुनै हतारो थिएन। मैले नै हतारो देखाएँ उसलाई। यो पूरै किताव पढिसकेपछि एकपटक मलाई फोन गर्नु है भनेर त्यही कितावमा आफ्नो टेलिफोन नम्बर लेखिदिएँ। यदि आवश्यक पर्‍यो भने अर्को किताव पनि किनिदिउँला नि भन्दा बूढो खित्का छोडेर हाँस्यो र भैहाल्छ नि भन्यो। बूढोलाई विदा गरेर म पनि अफिसतिर लागेँ।

म बूढाको फोनको प्रतीक्षामा छु। अहिलेसम्म उसले फोन गरेको छैन।

(कथाकार काेइरालाकाे  ‘न्यूराेडका झाँकी ’ कथासंग्रहमा सङ्गृहीत।)
अर्को समाचार
एकल व्यक्ति चमत्कारवाद!
७ मिनेट अघि
•
१ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
काठमाडाैं, हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं। कोही सरकारी जागिरबाट बिदा लिएका, कोही अड्डा–अदालतमा सेवा गरिरहेका त कोही मालपोतका हाकिम, साथै मालपोतमा लेखापढी गर्ने, सबै जना साथीहरू विभिन्न पार्टीका समर्थक छौं।




कहिलेकाहीं छलफलकै क्रममा चर्काचर्की पनि पर्छ। यसै क्रममा एकजना दाइको मुखबाट यो राज्यमा एकल व्यक्ति चमत्कारवादले काम गरेको छ भन्ने कुरा निस्कियो। अनि के हो त एकल व्यक्ति चमत्कारवाद ? भन्ने विषयमा केन्द्रित भएर मैले केही लेख्ने जमर्को गरेको छु।

सर्वप्रथम त एकल व्यक्ति चमत्कारवाद भनेको के हो, बुझ्न जरुरी हुन्छ। एकल व्यक्ति चमत्कारवाद भनेको यस्तो सोच वा प्रवृत्ति हो, जहाँ समाज, राजनीति वा राष्ट्रका सबै समस्या एकजना विशेष व्यक्तिले मात्र समाधान गर्न सक्छ भन्ने विश्वास गरिन्छ। अझ यसलाई सरल शब्दमा भन्दा यो देश, पार्टी, समाज बिग्रिएको छ, अब फलानो व्यक्ति आएपछि सबै ठिक हुन्छ भन्ने सोच नै एकल व्यक्ति चमत्कारवाद हो।

२०४६ सालमा बहुदलीय व्यवस्था आएपछिको एकल व्यक्ति चमत्कारवादका केही कुरा गरौं।
उदाहरण नम्बर एक: स्वर्गीय नेता मदन भण्डारी स्पष्ट वैचारिक प्रतिवाद गर्न सक्ने नेतामा गनिए। उनले टुँडिखेलमा गरेको भाषणमा राजालाई श्रीपेच फुकालेर आफूसँग चुनाव लड्न चुनौती दिए। यो भाषणबाट नेपाली जनता प्रभावित भएका थिए। पछिल्लो उनको दस्ताबेज नेपालमा (जबज) जनताको बहुदलीय जनवाद ल्याएर एउटा चमत्कार गरे। त्यस दस्ताबेजलाई अहिले पनि नेकपा एमालेले अनुसरण गरिरहेको छ। त्यतिबेला स्व. मदन भण्डारीलाई महान् मानव मानेर पुज्ने जनता थिए र छन्। भलै यो व्यक्ति बाँचेको भए देख्न पाइन्थ्यो, त्यो नेपालीहरूको दुर्भाग्य भयो।

उदाहरण नम्बर दुई:  नेता शेरबहादुर देउवा अहिलेसम्म पाँच पटक यो देशको प्रधानमन्त्री भएका व्यक्ति हुन्। उनले अहिलेसम्म डडेल्धुरा जिल्लाबाट निर्वाचनमा हारेका छैनन्। अझै छैटौं पटक प्रधानमन्त्री हुने होडमा थिए। उनी कम उमेरमै गृहमन्त्री हुँदै २०५१ सालमा प्रधानमन्त्री भएका थिए। २०८२ भदौ २३ र २४ को जेनजी आन्दोलनबाट उनको राजनीतिमा ब्रेक लाग्यो।

नेकपा एमाले र नेपाली कांग्रेसको सरकार थियो। शेरबहादुरकी पत्नी आरजु राणा परराष्ट्रमन्त्री थिइन्। उनीहरू दुवै जनालाई जेनजी आन्दोलनमा मरणासन्न हुने गरी घाइते बनाइयो। देउवा निवासमा तोडफोड र आगजनी गरियो। कम बोल्ने र जनताका लागि खासै काम केही नगर्ने देउवाले अझै चेतेको अवस्था देखिँदैन। जनताले लखेटेको नेतालाई नेपाली कांग्रेसका कतिपय कार्यकर्ताले अझै उनको चमत्कारवाद हेर्न रुचाउँछन् र उनको सपोर्टमा लागिपरेको देखिन्छन्।
उदाहरण नम्बर तीन: नेता पुष्पकमल दाहाल, उनले २०५२ बाट सुरु गरेको माओवादी जनयुद्धले नेपाली समाजलाई आक्रान्त बनायो। उनका सहयोगी बाबुराम भट्टराईले देउवा प्रधानमन्त्री भएको बखत ४२ बुँदे ज्ञापनपत्र दिएर जंगल पसेको माओवादीका अध्यक्ष पुष्पकमल दाहाल २०६२–६३ सम्म आइपुग्दा नेपाली समाजको रूपान्तरणका लागि आशाको केन्द्रमा थिए।

यिनलाई पनि नेपाली समाजले केही गर्ने नेताको रूपमा हेरेर पहिलो संविधानसभामा लगभग बहुमत दिएर संसद्मा पुर्‍याएका थिए। तर नेपाली सेनाका प्रधानसेनापति रुक्मांगत कटुवाललाई फाल्ने जुन प्रपञ्च यिनले गरे, आफैं उत्तानो परे। विभिन्न समयमा गरी तीन पटक यो देशको प्रधानमन्त्री त भए तर पनि यिनीबाट देशका लागि केही हुन सकेको अवस्था छैन। अझै म बाँचुन्जेल यो देशमा उथलपुथल गर्छु भन्दै नेपाली जनतालाई धम्की दिन्छन्। अब पनि म नेपाली जनता र देशका लागि केही गर्छु भनी हुँकार 
पिट्दै छन्।

उदाहरण नम्बर चार:  झापा काण्डबाट चौध–पन्ध्र वर्ष जेल जीवन बिताएका नेकपा एमालेका नेता खड्गप्रसाद ओलीलाई २०७४ सालको निर्वाचनमा झन्डै दुईतिहाइ बहुमत पाएर पनि सरकार टिकाउन सकेनन्। उनले दुई–दुई पटक संसद् विघटन गरे। उनी तीन पटक प्रधानमन्त्री भए। उखान–टुक्का जान्ने र भाषण गर्न सक्ने खुबी उनमा छ। पछिल्लो पटक २०८० मा उनी सबैभन्दा ठुलो दल नेपाली कांग्रेस र नेकपा एमालेको सरकारका प्रधानमन्त्री थिए।

२०८२ भदौ २३ र २४ गते जेनजीहरूले आन्दोलन गरे। त्यसमा २३ गतेको आन्दोलनमा परी १९ जनाको हत्या भयो। यो अवस्थामा गृहमन्त्री रमेश लेखकले राजीनामा दिए। ओलीले भोलिपल्ट २४ गते स्थिति सम्हाल्न नसकेपछि आफ्नै ज्यान जोगाउन धौ–धौ भयो। सेनाको सुरक्षामा हेलिकोप्टर चढेर भागे। उनले २४ गते २ बजेपछि मात्र प्रधानमन्त्री पदबाट राजीनामा दिए। यो धेरै ढिला भइसकेको थियो। सारा जनता घरघरबाट सडकमा निस्किएका थिए। झन् ठुलो आन्दोलन भयो।

सिंहदरबार, सर्वोच्च अदालत, प्रहरी विभागहरू, काठमाडौं जिल्ला अदालतदेखि महत्त्वपूर्ण कार्यालयहरू जलेर खरानी भए। त्यस दिनमा पनि ५०–५५ जनाको ज्यान गयो। सरकारमा बस्ने प्रधानमन्त्रीले यसको जिम्मेवारी लिएनन्। 
उदाहरण नम्बर पाँच:  २०७९ सालमा यही वैकल्पिक धारको नेतृत्व गर्दै मिडियामा नाम कमाएका व्यक्ति रवि लामिछानेले रास्वपा पार्टी खोलेर ६ महिनामै चमत्कार गरिदिए। एकै चुनावमा राष्ट्रिय पार्टी बनेर २० सिट जितेर गृहमन्त्री तथा उपप्रधानमन्त्री पड्काए। त्यसपछि काठमाडौंको मेयर पद जितेर कहलाएका पूर्वमेयर केशव स्थापितलाई उत्तानो पारेर बालेन्द्र शाहले मेयरको पद पड्काए। हाल यिनै शाह देशका प्रधानमन्त्री छन्। यिनीहरू पनि चमत्कारी व्यक्ति गणना भए।
विभिन्न कालखण्डमा यसरी एउटै व्यक्तिलाई हिरो बनाउने र त्यसको पछाडि लागेर भजन गाउने संस्कारले नेपाली समाज आक्रान्त छ। अझै पनि नेपाली समाजमा चेत पलाएको छैन। एकल व्यक्ति चमत्कारवादका जति उदाहरण हेरे पनि आजसम्म यो देशले सही दिशा लिन सकेको देखिँदैन। यो किन भने एकल व्यक्ति चमत्कारवादले यहाँ केही हुनेवाला छैन।

यस्तै कुसंस्कार र एकल व्यक्तिवादी सोच र चरित्रले गर्दा नै देश यो अवस्थामा पुगेको हो भन्न सकिन्छ। यहाँ हरेक क्षेत्रमा कुसंस्कार छ, भ्रष्टाचार छ, मनमौजी सोच छ, जसले जे गरे पनि छुट छ, न्यायालयमा न्याय छैन, सबैलाई समान अवसर छैन, ठुलालाई चैन र सानालाई ऐन छ, गरिब जनता झन्–झन् गरिब भएका छन्। नेपालका प्रायः सबै पार्टी आआफ्नो विचारबाट स्खलित भएका छन्, मूल्य र मान्यताबाट च्युत भएका छन्।

सत्तामा पुग्ने र मिलेर खाने प्रवृत्ति देखेर जनता आजित छन्। एउटै व्यक्ति पटक–पटक सत्तामा पुग्ने र जनताका लागि कुनै राम्रो काम नगर्ने भएर नै पार्टीप्रति विश्वास घट्दै गएको छ। अहिलेको अवस्थामा जनतालाई यो चाहिँ पार्टी ठिक छ भन्ने विश्वास नै छैन।
त्यसैले आजको आवश्यकता कुनै नयाँ चमत्कारी व्यक्ति खोज्नु होइन, विधिको शासनमा आधारित बलियो प्रणाली निर्माण गर्नु हो। व्यक्ति आउँछन्, जान्छन् तर राष्ट्र संस्थाले चल्नुपर्छ। एकल व्यक्ति चमत्कारवादले क्षणिक आशा त दिन सक्छ तर दीर्घकालीन रूपमा यसले समाजलाई अझै निराश र दिशाहीन बनाउने खतरा रहन्छ। सचेत नागरिक, उत्तरदायी संस्था र पारदर्शी शासनबिना समृद्ध नेपाल सम्भव छैन।

– सापकोटा नेपाली सेनाबाट अवकाशप्राप्त मानार्थ उपसेनानी हुन्।
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस