विदेशी फिल्मको करोडौं व्यापार, स्वदेशी भने धमाधम हलबाट बाहिरिँदै
०६ फागुन २०८२
•
३ मिनेट पाठ
विदेशी फिल्मको करोडौं व्यापार, स्वदेशी भने धमाधम हलबाट बाहिरिँदै
नेपाली चलचित्र उद्योगमा पछिल्लो समय चिन्ताजनक प्रवृत्ति देखा परेको छ। एकातिर नेपाल भित्रिने कैयौं विदेशी चलचित्रहरूले बक्स अफिसबाट करोडौंको व्यापार गरिरहेका छन् भने अर्कोतर्फ नेपाली मौलिक भनिएका चलचित्रहरू प्रदर्शनको केही दिन पनि नबित्दै सिनेमाघरबाट बाहिरिनुपर्ने अवस्था सिर्जना भएको छ।




विशेषगरी ठूलो लगानी र नाम चलेका कलाकारहरूको अभिनय रहेका चलचित्रहरू समेत दर्शक तान्न असफल भएपछि निर्माण टोलीले बाह्य कारण देखाउँदै प्रदर्शन स्थगित गर्ने क्रम बढ्दो छ।

निर्माण पक्षले यस असफलतालाई चुनावी माहोलले गर्दा चलचित्र हेर्ने वातावरण नभएको र प्रचार–प्रसारको कमीजस्ता कारणहरूको आवरणमा लुकाउन खोजे पनि, यसको भित्री कारण भने नितान्त फरक देखिन्छ।

विश्लेषकहरूका अनुसार ठूलो लगानी र स्टार कलाकार हुँदाहुँदै पनि दर्शकलाई हलसम्म तान्न नसक्नुमा कथावस्तुमा नयाँपनको अभाव र कमजोर प्रस्तुति नै मुख्य जिम्मेवार रहेका छन्।

यही निराशाजनक शृङ्खलाको पछिल्लो उदाहरणका रूपमा माघ १६ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘द ब्ल्यू लाइट’ लाई लिन सकिन्छ।

‘साइकोलोजिकल थ्रिलर’ जनरामा निर्माण भएको भनिएको यस चलचित्रमा नेपाली चलचित्र क्षेत्रका स्थापित र चर्चित अनुहारहरूको ठूलो जमात थियो।

चलचित्रमा बेनिशा हमाल, अर्पण थापा, आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानीजस्ता कलाकारहरूको मुख्य भूमिका थियो।

यति विघ्न स्टार कलाकारहरूको उपस्थिति हुँदाहुँदै पनि चलचित्रले दर्शकको मन जित्न सकेन। बक्स अफिसको तथ्याङ्क हेर्दा यो चलचित्रले प्रदर्शनको चार दिनमा देशभरबाट जम्मा तीन लाख १९ हजार पाँच सय रुपैयाँको मात्र व्यापार गर्न सक्यो।

दर्शकको न्यून उपस्थिति र व्यावसायिक असफलताका कारण निर्माण टोलीले प्रदर्शनको एक साता पनि नबित्दै, अर्थात् माघ १९ गतेदेखि नै चलचित्रलाई देशभरका सिनेमा घरबाट उतार्ने निर्णय गर्नुपर्‍यो।

यसले पनि थप पुष्टि के गर्छ भने केवल कलाकारको अनुहारले मात्र अब दर्शकलाई हलसम्म डोर्‍याउन सम्भव छैन।

आज बुधबार मात्रै पनि एकैदिन थप तीनवटा नेपाली चलचित्रहरूले सिनेमाघरबाट आफ्नो प्रदर्शन स्थगित गरेका छन्। फागुन १ गतेदेखि प्रदर्शनमा आएको रमेश कोइराला निर्देशित चलचित्र ‘बिगुल’ ले पनि प्रदर्शन रोकेको छ।

विडम्बनापूर्ण कुरा त के छ भने यस चलचित्रको प्रचारप्रसारको मुख्य नारा नै ‘निर्वाचन भन्दा अगाडि हेर्नै पर्ने’ भन्ने थियो। तर, अन्त्यमा निर्माण पक्षले त्यही निर्वाचनको कारण देखाउँदै दर्शक हलसम्म नआएको निष्कर्षसहित प्रदर्शन स्थगित गरेको छ।

निर्वाचनलाई नै केन्द्रमा राखेर प्रचार गरिएको चलचित्र निर्वाचनकै कारण चल्न नसक्नुले निर्माण पक्षको रणनीति र दर्शकको मनोविज्ञानबीच तालमेल नमिलेको स्पष्ट हुन्छ।

त्यसैगरी, फागुन १ गतेदेखि नै प्रदर्शनमा आएको अर्को चलचित्र ‘श्री बुकुरो’ को अवस्था पनि उस्तै रह्यो। यस चलचित्रको वितरण गर्ने जिम्मा लिएको नेसनल सिने ग्रुप नेपालले फागुन ६ गते (आज) देखि लागू हुने गरी प्रदर्शन स्थगित गरिएको घोषणा गरेको छ।

वितरण कम्पनीका अनुसार अब यो चलचित्र आगामी नयाँ वर्षको सुरुवाती महिना अर्थात् वैशाख १८ गतेदेखि पुनः प्रदर्शनमा ल्याइने तयारी गरिएको छ।

यसका साथै, सन्तोष कुमार आत्रेयको निर्देशनमा बनेको चलचित्र ‘शिवांश: च्याप्टर १’ ले पनि बक्स अफिसमा अपेक्षित नतिजा नदिएपछि आजैदेखि प्रदर्शन रोकेको छ।

विकास जोशी, प्रदीप कुमार चौधरी, सबिन चुरोटे, प्रविन खतिवडा, तेज गिरी र बिमला लिम्बुजस्ता कलाकारहरूको अभिनय रहेको यस चलचित्रले पनि दर्शकलाई आकर्षित गर्न नसक्दा बीचमै हलबाट बाहिरिनुपर्ने अवस्था आएको हो।

केही दिनको अन्तरालमै यसरी एकपछि अर्को गर्दै तीन-चारवटा चलचित्र सिनेमाघरबाट उत्रिनुले नेपाली चलचित्र उद्योगमा गम्भीर प्रश्न खडा गरेको छ। निर्माण टोलीहरूले तत्कालका लागि चुनावी माहोल र प्रचारको कमी लाई दोष दिएर पन्छिन खोजे पनि वास्तविकता भनेको दर्शकले स्वीकार गर्न लायक सामग्री पस्कन नसक्नु नै हो।

कथा भन्ने शैलीमा परम्परागत ढर्रा, पटकथामा मेहनतको कमी र प्रस्तुतिमा देखिएको फितलोपनले गर्दा दर्शकहरू नेपाली चलचित्रबाट टाढिँदै विदेशी चलचित्रतर्फ आकर्षित भइरहेका छन्।

यद्यपि, स्थगित भएका यी सबै चलचित्रका निर्माण टोलीहरूले पछि अनुकूल समयमा पुनः प्रदर्शनमा आउने दाबी गरेका छन्। तर, एकपटक हलबाट उत्रिसकेको चलचित्रलाई फेरि दर्शकमाझ स्थापित गराउनु निकै चुनौतीपूर्ण हुने देखिन्छ।
अर्को समाचार
एकल व्यक्ति चमत्कारवाद!
३६ मिनेट अघि
•
१ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
काठमाडाैं, हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं। कोही सरकारी जागिरबाट बिदा लिएका, कोही अड्डा–अदालतमा सेवा गरिरहेका त कोही मालपोतका हाकिम, साथै मालपोतमा लेखापढी गर्ने, सबै जना साथीहरू विभिन्न पार्टीका समर्थक छौं।




कहिलेकाहीं छलफलकै क्रममा चर्काचर्की पनि पर्छ। यसै क्रममा एकजना दाइको मुखबाट यो राज्यमा एकल व्यक्ति चमत्कारवादले काम गरेको छ भन्ने कुरा निस्कियो। अनि के हो त एकल व्यक्ति चमत्कारवाद ? भन्ने विषयमा केन्द्रित भएर मैले केही लेख्ने जमर्को गरेको छु।

सर्वप्रथम त एकल व्यक्ति चमत्कारवाद भनेको के हो, बुझ्न जरुरी हुन्छ। एकल व्यक्ति चमत्कारवाद भनेको यस्तो सोच वा प्रवृत्ति हो, जहाँ समाज, राजनीति वा राष्ट्रका सबै समस्या एकजना विशेष व्यक्तिले मात्र समाधान गर्न सक्छ भन्ने विश्वास गरिन्छ। अझ यसलाई सरल शब्दमा भन्दा यो देश, पार्टी, समाज बिग्रिएको छ, अब फलानो व्यक्ति आएपछि सबै ठिक हुन्छ भन्ने सोच नै एकल व्यक्ति चमत्कारवाद हो।

२०४६ सालमा बहुदलीय व्यवस्था आएपछिको एकल व्यक्ति चमत्कारवादका केही कुरा गरौं।
उदाहरण नम्बर एक: स्वर्गीय नेता मदन भण्डारी स्पष्ट वैचारिक प्रतिवाद गर्न सक्ने नेतामा गनिए। उनले टुँडिखेलमा गरेको भाषणमा राजालाई श्रीपेच फुकालेर आफूसँग चुनाव लड्न चुनौती दिए। यो भाषणबाट नेपाली जनता प्रभावित भएका थिए। पछिल्लो उनको दस्ताबेज नेपालमा (जबज) जनताको बहुदलीय जनवाद ल्याएर एउटा चमत्कार गरे। त्यस दस्ताबेजलाई अहिले पनि नेकपा एमालेले अनुसरण गरिरहेको छ। त्यतिबेला स्व. मदन भण्डारीलाई महान् मानव मानेर पुज्ने जनता थिए र छन्। भलै यो व्यक्ति बाँचेको भए देख्न पाइन्थ्यो, त्यो नेपालीहरूको दुर्भाग्य भयो।

उदाहरण नम्बर दुई:  नेता शेरबहादुर देउवा अहिलेसम्म पाँच पटक यो देशको प्रधानमन्त्री भएका व्यक्ति हुन्। उनले अहिलेसम्म डडेल्धुरा जिल्लाबाट निर्वाचनमा हारेका छैनन्। अझै छैटौं पटक प्रधानमन्त्री हुने होडमा थिए। उनी कम उमेरमै गृहमन्त्री हुँदै २०५१ सालमा प्रधानमन्त्री भएका थिए। २०८२ भदौ २३ र २४ को जेनजी आन्दोलनबाट उनको राजनीतिमा ब्रेक लाग्यो।

नेकपा एमाले र नेपाली कांग्रेसको सरकार थियो। शेरबहादुरकी पत्नी आरजु राणा परराष्ट्रमन्त्री थिइन्। उनीहरू दुवै जनालाई जेनजी आन्दोलनमा मरणासन्न हुने गरी घाइते बनाइयो। देउवा निवासमा तोडफोड र आगजनी गरियो। कम बोल्ने र जनताका लागि खासै काम केही नगर्ने देउवाले अझै चेतेको अवस्था देखिँदैन। जनताले लखेटेको नेतालाई नेपाली कांग्रेसका कतिपय कार्यकर्ताले अझै उनको चमत्कारवाद हेर्न रुचाउँछन् र उनको सपोर्टमा लागिपरेको देखिन्छन्।
उदाहरण नम्बर तीन: नेता पुष्पकमल दाहाल, उनले २०५२ बाट सुरु गरेको माओवादी जनयुद्धले नेपाली समाजलाई आक्रान्त बनायो। उनका सहयोगी बाबुराम भट्टराईले देउवा प्रधानमन्त्री भएको बखत ४२ बुँदे ज्ञापनपत्र दिएर जंगल पसेको माओवादीका अध्यक्ष पुष्पकमल दाहाल २०६२–६३ सम्म आइपुग्दा नेपाली समाजको रूपान्तरणका लागि आशाको केन्द्रमा थिए।

यिनलाई पनि नेपाली समाजले केही गर्ने नेताको रूपमा हेरेर पहिलो संविधानसभामा लगभग बहुमत दिएर संसद्मा पुर्‍याएका थिए। तर नेपाली सेनाका प्रधानसेनापति रुक्मांगत कटुवाललाई फाल्ने जुन प्रपञ्च यिनले गरे, आफैं उत्तानो परे। विभिन्न समयमा गरी तीन पटक यो देशको प्रधानमन्त्री त भए तर पनि यिनीबाट देशका लागि केही हुन सकेको अवस्था छैन। अझै म बाँचुन्जेल यो देशमा उथलपुथल गर्छु भन्दै नेपाली जनतालाई धम्की दिन्छन्। अब पनि म नेपाली जनता र देशका लागि केही गर्छु भनी हुँकार 
पिट्दै छन्।

उदाहरण नम्बर चार:  झापा काण्डबाट चौध–पन्ध्र वर्ष जेल जीवन बिताएका नेकपा एमालेका नेता खड्गप्रसाद ओलीलाई २०७४ सालको निर्वाचनमा झन्डै दुईतिहाइ बहुमत पाएर पनि सरकार टिकाउन सकेनन्। उनले दुई–दुई पटक संसद् विघटन गरे। उनी तीन पटक प्रधानमन्त्री भए। उखान–टुक्का जान्ने र भाषण गर्न सक्ने खुबी उनमा छ। पछिल्लो पटक २०८० मा उनी सबैभन्दा ठुलो दल नेपाली कांग्रेस र नेकपा एमालेको सरकारका प्रधानमन्त्री थिए।

२०८२ भदौ २३ र २४ गते जेनजीहरूले आन्दोलन गरे। त्यसमा २३ गतेको आन्दोलनमा परी १९ जनाको हत्या भयो। यो अवस्थामा गृहमन्त्री रमेश लेखकले राजीनामा दिए। ओलीले भोलिपल्ट २४ गते स्थिति सम्हाल्न नसकेपछि आफ्नै ज्यान जोगाउन धौ–धौ भयो। सेनाको सुरक्षामा हेलिकोप्टर चढेर भागे। उनले २४ गते २ बजेपछि मात्र प्रधानमन्त्री पदबाट राजीनामा दिए। यो धेरै ढिला भइसकेको थियो। सारा जनता घरघरबाट सडकमा निस्किएका थिए। झन् ठुलो आन्दोलन भयो।

सिंहदरबार, सर्वोच्च अदालत, प्रहरी विभागहरू, काठमाडौं जिल्ला अदालतदेखि महत्त्वपूर्ण कार्यालयहरू जलेर खरानी भए। त्यस दिनमा पनि ५०–५५ जनाको ज्यान गयो। सरकारमा बस्ने प्रधानमन्त्रीले यसको जिम्मेवारी लिएनन्। 
उदाहरण नम्बर पाँच:  २०७९ सालमा यही वैकल्पिक धारको नेतृत्व गर्दै मिडियामा नाम कमाएका व्यक्ति रवि लामिछानेले रास्वपा पार्टी खोलेर ६ महिनामै चमत्कार गरिदिए। एकै चुनावमा राष्ट्रिय पार्टी बनेर २० सिट जितेर गृहमन्त्री तथा उपप्रधानमन्त्री पड्काए। त्यसपछि काठमाडौंको मेयर पद जितेर कहलाएका पूर्वमेयर केशव स्थापितलाई उत्तानो पारेर बालेन्द्र शाहले मेयरको पद पड्काए। हाल यिनै शाह देशका प्रधानमन्त्री छन्। यिनीहरू पनि चमत्कारी व्यक्ति गणना भए।
विभिन्न कालखण्डमा यसरी एउटै व्यक्तिलाई हिरो बनाउने र त्यसको पछाडि लागेर भजन गाउने संस्कारले नेपाली समाज आक्रान्त छ। अझै पनि नेपाली समाजमा चेत पलाएको छैन। एकल व्यक्ति चमत्कारवादका जति उदाहरण हेरे पनि आजसम्म यो देशले सही दिशा लिन सकेको देखिँदैन। यो किन भने एकल व्यक्ति चमत्कारवादले यहाँ केही हुनेवाला छैन।

यस्तै कुसंस्कार र एकल व्यक्तिवादी सोच र चरित्रले गर्दा नै देश यो अवस्थामा पुगेको हो भन्न सकिन्छ। यहाँ हरेक क्षेत्रमा कुसंस्कार छ, भ्रष्टाचार छ, मनमौजी सोच छ, जसले जे गरे पनि छुट छ, न्यायालयमा न्याय छैन, सबैलाई समान अवसर छैन, ठुलालाई चैन र सानालाई ऐन छ, गरिब जनता झन्–झन् गरिब भएका छन्। नेपालका प्रायः सबै पार्टी आआफ्नो विचारबाट स्खलित भएका छन्, मूल्य र मान्यताबाट च्युत भएका छन्।

सत्तामा पुग्ने र मिलेर खाने प्रवृत्ति देखेर जनता आजित छन्। एउटै व्यक्ति पटक–पटक सत्तामा पुग्ने र जनताका लागि कुनै राम्रो काम नगर्ने भएर नै पार्टीप्रति विश्वास घट्दै गएको छ। अहिलेको अवस्थामा जनतालाई यो चाहिँ पार्टी ठिक छ भन्ने विश्वास नै छैन।
त्यसैले आजको आवश्यकता कुनै नयाँ चमत्कारी व्यक्ति खोज्नु होइन, विधिको शासनमा आधारित बलियो प्रणाली निर्माण गर्नु हो। व्यक्ति आउँछन्, जान्छन् तर राष्ट्र संस्थाले चल्नुपर्छ। एकल व्यक्ति चमत्कारवादले क्षणिक आशा त दिन सक्छ तर दीर्घकालीन रूपमा यसले समाजलाई अझै निराश र दिशाहीन बनाउने खतरा रहन्छ। सचेत नागरिक, उत्तरदायी संस्था र पारदर्शी शासनबिना समृद्ध नेपाल सम्भव छैन।

– सापकोटा नेपाली सेनाबाट अवकाशप्राप्त मानार्थ उपसेनानी हुन्।
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस