पुन समुदायका कुल देवता हुन्–करबाकेली बाबा। तिनै बाबाको राष्ट्रियस्तरको थान म्याग्दी जिल्ला, अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडा(२,३३२ मिटर)मा बनाइएको छ। थानभित्र करबाकेली बाबा, उनका दुई श्रीमती हिमला एवं फिमला र छोराहरू रामचन तथा कुलचनका पूर्ण कदका मूर्ति छन्।
करबाकेली थान बनेदेखि नै नेपालीमाझ काफलडाँडाको चर्चा चुलिएको हो। अझ यसलाई केन्द्रमा राखेर ‘करबाकेली इको टे«क’ एक्सप्लोर गरेसँगै करबाकेली बाबा र काफलडाँडा विदेशीहरूका माझ पनि चिनिँदैछन्।
करबाकेली बाबा पुनहिलबाट फूलबारी, करबाकेली थान हुँदै म्याग्दीको सदरमुकाम बेनी बजारलाई जोड्ने पदमार्गलाई ‘करबाकेली इको ट्रेक’का रुपमा ब्राण्डिङ गरिएको छ। विसं २०७५ वैशाखमा यो पदमार्ग एक्सप्लोर गरिएको।
पदमार्गको विकास तथा थान निर्माणमा धेरैको तन, मन र धन खर्च भएको छ। यी कामको अगुवाइ चाहिँ बेलायती सेनाका एकजना रिटायर्ड लाहुरे चामबहादुर पुनले गरेका छन्।
बेलायती सेनाका रिटायर्ड लाहुरे चामबहादुर पुनले करबाकेली क्षेत्रको सामाजिक विकासमा गरेको योगदान अनुकरणीय छ। ढल्कँदो उमेरमा पनि तन्नेरी जोस बोकेर उनी म्याग्दीको काफलडाँडामा क्रियाशील छन्।
पुन समुदायको कला, संस्कार र संस्कृति जर्गेना गर्ने अभियानमा होमिएका चामबहादुर ६४ वर्षमा हिँड्दै छन्। कोभिड–१९ का कारण सुरु लकडाउन र त्यसपछिको समयमा पनि उनी करबाकेली क्षेत्रमै क्रियाशील छन्। यतिबेला उनी पुन सामुदायिक संग्रहालय निर्माणमा जुटेका छन्। कोरोनामुक्त वातावरण बनेमा आउँदो मंसिरमा संग्रहालय उद्घाटन हुनेछ।
धेरै किसिमका अनुभव सँगालेका पुनले जीवनको पछिल्लो कालखण्डलाई सृजनात्मक बनाए। काठमाडौंमा ‘करबाकेली अनुसन्धान समिति’ गठन, काफलडाँडामा करबाकेली थान तथा सामुदायिक लज निर्माण, करबाकेली इको ट्रेक एक्सप्लोर र पुन सामुदायिक संग्रहालय निर्माणका काममा लाग्दा उनले धेरैको स्याबासी पाएका छन्।
करबाकेली क्षेत्रबाट देखिएको धौलागिरि हिमसृङ्खला। विसं २०६९ मा उद्घाटन गरिएको करबाकेली थान बनाउन ७४ लाख रुपैयाँ खर्च भएको थियो। अहिले पुन सामुदायिक संग्रहालय निर्माणमा ४५ लाख खर्च भैसकेको छ। अझै १५ लाख रुपैयाँ लाग्ने उनको अनुमान छ।
‘करबाकेली इको ट्रेक’ ब्राण्डिङमा पनि मनग्गे खर्च भएको छ। पदमार्गको पहिचान, बुकलेट, ब्रोसर, भिडियो र पोस्टर लगायतका प्रवद्र्धनात्मक सामाग्री उत्पादन गरिएको छ।
स्वदेश तथा विदेशमा रहेका मनकारीहरूको सहयोगमा माथिका सबै काम संभव भएको हो।
यसरी सत्कर्म गर्दा उनको अनुहारमा संतोषका रेखा सल्बलाउँछन्। मनमा सामाजिक भावना बोकेर निस्वार्थ रूपमा सक्रिय मनुवा हुन् चामबहादुर। उनलाई नपुग्दो केही छैन, उनको सिंगो परिवार बेलायतमा बस्छ। उनीचाहिँ वर्षका ६ महिना नेपाल र बाँकी ६ महिना बेलायतमा बस्छन्। रिटायर्ड लाइफलाई सृजनात्मक बनाउँदैछन्।
जब बेलायत सरकारले पूर्व गोर्खा सैनिकलाई आफ्नो देशमा आवासीय रूपमा बस्ने सुविधा दियो तब उनीहरू बेलायतमा बस्न थाले। त्यही सिलसिलामा सन् २००६ देखि उनको परिवार पनि बेलायतमै बसाइँ स-यो।
जीवनका उर्वर १५ वर्ष बेलायती सेनामा खर्च गरेका थिए उनले। विसं २०३० मा भर्ती भएर २०४४ सालमा रिटायर्ड भए। लाहुरे बन्दा आर्थिक रुपमा सबल त भए तर गाउँको गरिबी कसरी मेटाउन सकिएला भन्ने कुरा पल्टनमै हुँदा पनि मनमा खेलिरहन्थ्यो। त्यसैले जागिरबाट फुर्सद मिलेसँगै उनी गाउँलाई समृद्ध बनाउने अभियानमा सक्रिय छन्।
जीवनका उर्वर १५ वर्ष बेलायती सेनामा खर्च गरेका थिए उनले। लाहुरे बन्दा आर्थिक रुपमा सबल त भए तर गाउँको गरिबी कसरी मेटाउन सकिएला भन्ने कुरा पल्टनमै हुँदा पनि मनमा खेलिरहन्थ्यो।
उनकी जीवनसाथी राधा पनि संस्कृतिकर्मी हुन्। उनी सामाजिक काममा पनि हुुरुक्कै हुन्छिन्। उनका दुई छोरा शमशेर र ध्रुव अनि एक छोरी सविना छन्। जेठो छोरा हङकङमा बस्छन् भने परिवारका बाँकी सदस्य बेलायतमा।
‘परिवारको सहयोगले गर्दा नै मैले सामाजिक काम गर्न सकेको हुँँ’, उनी भन्छन्,‘स्वदेश तथा विदेशमा रहनु हुने करबाकेलीका भक्तहरूको पनि राम्रो साथ पाएको छु।’
करबाकेली थान उनको मन स्वदेशकै करबाकेलीतिर अल्झेको छ। यतै हाँसेको छ। यतै नाचेको छ। उनी २०५७ सालदेखि सामाजिक काममा लागेका। के कुराले उनलाई सामाजिक काममा लाग्न प्रेरित ग-यो त?
‘काठमाडौंमा बस्दा नेवार, थकाली, तामाङ, गुरुङ, क्षेत्री, बाहुन आदि जातजातिका कार्यक्रममा जान्थें। त्यहाँ उनीहरूले आफ्नो भाषा, संस्कृति र परम्परा संरक्षण गरेको देख्दा’, उनले कारण सुनाए, ‘मलाई हाम्रो पुन समुदायको पनि कला, संस्कृतिको संरक्षण गर्नुपर्छ भन्ने लाग्यो। अनि मनमनै अठोट गरेर काममा जुटें।’
जीवनको बाटो सजिलो छैन। पाइलापाइलामा अप्ठेरासँग जुध्नुपर्छ। अनेकौं घुम्ति काट्नु पर्छ। हिम्मत हार्नेहरू जीवनसँगै हार्छन्। बलियो आत्मविश्वास हुनेहरू सफलताको चुली चुम्छन्। समाजसेवी चामबहादुरको शिरमा करबाकेली बाबाको आशीर्वाद छ। त्यसैले त दुःखलाई पनि सजिलै पचाउँदै गाउँमै श्रम, सीप र विवेक खन्याउँदैछन् उनी।
काफलडाँडामा निर्माणाधिन पुन सामुदायिक संग्रहालय। जन्मेपछि एक दिन त हामीले मर्नै पर्छ। ‘हामी खान मात्र जन्मेका होइनौं, समाजप्रति हाम्रो दायित्व छ’, उनी भन्छन्, ‘आफ्नो परिवार त जनाबरले पनि पालेकै छन्। त्यसैले हामी मानवले समाजका लागि केही न केही गर्नै पर्छ। यसमै आत्मसंतुष्टि मिल्छ।’
काफलडाँडामै जन्मेका उनी धौलागिरि हिमालसँग आँखा जुधाउँदै हुर्के। उनको बाल्यकाल गामबेंसी गर्दै बित्यो। १४ वर्षको उमेरमा एकैपटक कक्षा २ मा भर्ना भएका उनले बार्षिक परीक्षा पनि दिएनन्। माथिल्ला कक्षामा चढ्ने कुरा त टाढाकै विषय बन्यो। तर, जीवनका उकाली र ओरालीहरूमा धेरै परीक्षा दिएर खारिए उनी।
उनी बहुमुखी प्रतिभा हुन्। उनले पुन भाषाका दुइटा चलचित्र बनाएका छन्। तिनमा उनले ‘भिलेन’को भूमिकामा अभिनय गरे। तर, जिन्दगीको रंगमञ्चमा भने ‘हिरो’ बनेका छन् उनी।
उनका बाबा पुण्यबहादुर पनि ब्रिटिश इष्ट इन्डिया कम्पनीका लाहुरे थिए। उनमा पनि बाल्यकालमै लाहुरे बन्ने मोह पलायो। उनका दुई दाइले पनि बाबुकै बाटो पच्छाए, बेलायती र भारतीय सेनामा भर्ती भएर।
करबाकेली पदमार्गको टिर्शट उपहार प्रदान गर्दै समाजसेवी चाम बहादुर पुन । जिन्दगीमा ठूलो आत्मसंतुष्टि सामाजिक काममा लाग्दा मिलेको छ। यद्यपि जीवनका सबै सपना पूरा भैसकेका छैनन्।
‘करबाकेली इको पदमार्गमा ग्वार्रग्वार्ती पर्यटकलाई हिँडाउने रहर छ’, उनले बाँकी जीवनका सपना सुनाए, ‘अब गाउँलेलाई कृषिमा आधुनिकीकरण गराउन मद्दत गर्नेछु।’
उनकै पालामा जस्तै काफलडाँडामा आजका तन्नेरीहरू पनि भर्तीकै सपना देख्छन्। उनलाई लाग्छ सधैं विदेशमा नोकरी गरेर हुँदैन। आफ्नै ठाउँमा सुन फलाउनुपर्छ। त्यसकै लागि पर्यटन र कृषिको उज्यालो बीउ छर्दैछन् उनी।
उनी बहुमुखी प्रतिभा हुन्। उनले पुन भाषाका दुइटा चलचित्र बनाएका छन्, एज्यू भाग १ र भाग २। ती चलचित्रमा उनले पनि भिलेनको भूमिकामा अभिनय गरे। तर, जिन्दगीको रंगमञ्चमा चाहिँ उनी सकारात्मक भूमिका निर्वाह गर्ने हिरो बनेका छन्। उनको सुस्वास्थ्य एवं दीर्घायूको शुभकामना!
एक समय पोखरालाई ‘पानी रंगको पाठशाला’ भनिन्थ्यो। अचेल पोखरामा पानी रंगका साथै एक्रेलिक र तैल रंगमा चित्र बनाउने कलाकारको ठूलो जमात छ। पोखराले राष्ट्रियस्तरमै लोकप्रिय कलाकारहरू जन्माइसकेको छ। त्यस्तै एकजना कलाकार हुन्–पदम घले।
अर्धमूर्त चित्र बनाउन रुचाउने घलेको सृजनामा मौलिकता भेटिन्छ। उनी आफ्नो खुसीका लागि कलाकर्म गर्छन्। जब मनमा कुरा खेल्छ तब त्यसलाई बिम्बका रूपमा क्यानभासमा उर्ताछन्। उनका चित्रमा रंगको मीठो संयोजन हुन्छ।
उनी बेलाबेलामा कार्टुन पनि बनाउँछन्। पोखरा र काठमाडौंका पत्रिकामा उनका कार्टुन छापिन्छन्। उनले विसं २०५५ सालबाट कार्टुन बनाउन थालेका। उनको समूहले मर्दी न्यूज डटकम पनि चलाउँछ।
कलाकार पदम घलेको सृजनामा मौलिकता भेटिन्छ। जब उनको मनमा कुरा खेल्छ तब त्यसलाई बिम्बका रूपमा क्यानभासमा उर्ताछन्। उनका चित्रमा रंगको मीठो संयोजन हुन्छ।
कलाकार पदम घले। विगतमा उनले पोखराका केही विद्यालयमा ८ वर्ष कला सिकाए। कलाकर्मबाटै बाँचेका छन्। विशेषतः ल्याण्डस्केप र पोटे«टको डिमाण्ड बढी हुने उनले बताए।
पुख्र्यौली थलो स्याङ्जाको चिलाउनेबास भएका पदम पोखराकै तेर्सापट्टि टोलमा ४९ वर्षअघि जन्मेका थिए। उनका बुबा बेलायती सेनाका रिटायर्ड लाहुरे थिए। उनका बुबा कृष्णबहादुर र आमा अग्निमाया अहिले हुनु हुन्न।
अचेल उनी पोखराकै अर्चलबोटमा बस्छन्। त्यहीँ बसेर जल रंग र एक्रेलिक रंगबाट सुन्दर चित्र बनाउँछन्।
नविन प्राविमा पढ्दैदेखि उनी चित्र बनाउँथे। पछि २०४५ सालमा पोखरेली युवा सांस्कृतिक परिवारमा आबद्ध भएसँगै उनको कला यात्राले व्यापकता लियो। पोखरामा हुने कला प्रदर्शनी, कार्यशाला, स्वअध्ययन र पुस्तक अध्ययनबाट खारिँदै गए उनी। र, समयक्रममा अब्बल कलाकार बने।
उनी बेलाबेलामा गाउँघर डुल्छन्। त्यहाँ बसेर चित्र बनाउँछन्। उनी आफ्नो कामबाट संतुष्ट छन्।
‘म आत्मसंतुष्टिका लागि नै चित्र बनाउँछु’, कलाकार पदमले भने, ‘कलाबाट नाम र दाम दुवै पाएको छु।’
नेपालसहित क्रोसिया, जापान, सर्विया र क्यानेडामा उनको सामूहिक चित्रकला प्रदर्शनी भैसकेको छ।
उनले चार पटक एकल प्रदर्शनी गर्न भ्याइसके। तीन पटक पोखरामा र एक पटक काठमाडौंमा। उनको पाँचौं एकल प्रदर्शनी सर्वियामा हुनेछ। कोरोना महामारीपछि सर्वियामा एकल कला प्रदर्शनी गर्ने योजना छ।
कुमारी हिमाल माछापुच्छे«को आँगन पोखरा कलापूर्ण छ। त्यहाँ आधुनिक सुविधासहित आर्ट ग्यालरीको आवश्यकता देखिन्छ।
पदमले जीवनमा सयौं चित्र बनाइसके। अहिले पनि क्यानभास रंगाएरै लकडाउन सदुपयोग गरिरहेका छन्। उनको कला यात्रा सफल बनोस्, हार्दिक शुभकामना!
गोठाला
कलाकार पदमको चित्रमा गोठाला सारंगी रेट्दैछन्। एक्रेलिक रंगबाट बनाइएको सारंगीको चित्रमा रंगविरंगका फूल छन्। कलाकारले फूलहरूलाई गोठालाको सपनाका रूपमा सजाएका हुन्। हरेक मान्छेका सपना हुन्छन्। गोठाला पनि मीठो सपना देखेर बाँच्छन्। चित्रमा सारंगीको धुनसँगै अरू गोठाला पनि आनन्द लिँदैछन्। अर्को अर्थमा हेर्ने हो भने यसलाई कलियुगका कृष्ण र गोपीनीहरूको चित्रण मान्न सकिन्छ जहाँ कृष्ण सारंगी रेट्दैछन् भने गोपीनीहरू त्यसको धुनमा मन्त्रमुग्ध छन्।
गुरुङ बस्ती
पदमले सन् २०१७ मा बनाएको कास्कीको ल्वाङघलेल गाउँको चित्रमा गुरुङ बस्तीको सौन्दर्य छ। मनसुनी याममा बस्तीको शिरमा कुमारी हिमाल माछापुच्छे« लजाएको छ भने चारैतिर हरियाली वातावरण देखिन्छ। गाउँले अर्थतन्त्र कृषिमा निर्भर छ। यही कुरा उनले चित्रमा दर्शाएका छन्।
ग्लोवल वार्मिङ
विकासका नाममा मानिसले विनास गर्दै गएकाले वातावरण बिग्रंदै गएको छ। ग्लोबल वार्मिङले पर्यावरणमा धेरै खाले परिवर्तन ल्याएको छ। हिउँदमा जाडो कम, गर्मीमा गर्मी कम हुने गरेको छ। वातावरणमा असंतुलन देखिएको छ। पदमको चित्रले त्यही परिवर्तन झल्काएको छ।
शिवरात्रि
हरेक वर्ष शिवरात्रिका अवसरमा भारतबाट काठमाडौंको पशुपतिनाथमा नागा बाबाहरू आउँछन्। उनीहरू गाँजा, भाङ र धतुरो खान्छन्। कतिपय बाबाले खेला पनि देखाउँछन्। पशुपतिनाथमा भारतीय बाबाहरू आउने संस्कारको प्रतिनिधित्व गरेको छ उनको चित्रले।
रेन्बो ट्राउट
केही वर्ष यता काठमाडौं, पोखरा, सिन्धुपाल्चोक, नुवाकोट लगायत ठाउँमा रेन्बो ट्राउट माछा पालन फष्टाएको छ। जहाँजहाँ ट्राउट पालिएको छ त्यहाँत्यहाँ रेष्टुराँ खुलेका छन्। धार्मिक हिसाबले समेत माछाको ठूलो महत्व छ। भगवान विष्णुले पनि मत्स्य अवतार लिएर राक्षसहरूको वध गरेको पौराणिक कथा छ। माछालाई मत्स्यदेवीका रूपमा पूजिन्छ। पदमले त्यही धार्मिक पाटो उजागर गरेका हुन्।
नेवार बस्ती
काठमाडौं उपत्यकाका तीन जिल्लाहरू काठमाडौं, भक्तपुर र ललितपुरमा नेवार समुदायको घना बस्ती छ। उपत्यकाका आदिवासी हुन् नेवार। उनीहरू प्राचीन कला र परम्परागत संस्कृतिले समृद्ध छन्। त्यही समृद्धि झल्काउँछ उनको चित्रले।
पूर्वेली सभ्यता
स्वस्थ जीवनका दृष्टिले पूर्वीय दर्शन वैज्ञानिक देखिन्छ। कलाकार पदमको चित्रमा योग, नृत्य, चोखो जल झल्काइएको छ। उनको चित्रले आजको व्यस्त जीवनमा स्वस्थ रहन हामीले पूर्वीय जीवन दर्शन अनुकरण गर्नुपर्ने सन्देश दिन्छ।
साँढे
साँढे शक्तिका प्रतीक हुन्। कतिपय मानवीय गुण साँढेसँग पनि मिल्ने पदमको ठम्याइ छ। नकारात्मक र सकारात्मक दुवै गुण मिल्न सक्छन्। साँढे भगवान शिवको वाहन हो। किसानले साँढेलाई खेतबारी जोत्न पनि प्रयोग गर्छन्। साँढेमा सौन्दर्य पनि देखिन्छ।
बुद्ध
अहिंसाका प्रतीक हुन् भगवान् बुद्ध। प्रकृतिसँग उनको सामीप्य थियो। उनले प्रकृतिकै आँगनमा बसेर बुद्धत्व प्राप्त गरे। पदमको चित्रमा बुद्धको वरपर सुनगाभा फूलेका छन्। वर्तमान विश्वलाई बुद्धवाणी आवश्यक देखिन्छ।
घोडा
घोडा अर्थात् शक्ति र सुन्दरताको प्रतीक। मान्छेको सहयोगीका रूपमा घोडाले काम गर्छन्। घोडा मान्छेको विश्वासिलो सहयोगी हो। सन् २०१५ मा बनाइएको चित्रमा सप्तरंगी झलक देखाइएको छ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...