वित्तीय सङ्घीयताका लागि गर्नुपर्ने बहस
०४ मंसिर २०८३
•
१० मिनेट पाठ
वित्तीय सङ्घीयताका लागि गर्नुपर्ने बहस
नेपालको सङ्घीयता कार्यान्वयनको एक दशक पुग्न लाग्दा यसको उपलब्धि, कमजोरी र भावी दिशाबारे गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको छ। संविधानले सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहका सरकारलाई अधिकार दिएको छ तर के ती अधिकारअनुसार काम गर्ने स्रोत, साधन, कर्मचारी र प्रशासनिक संरचना पनि हस्तान्तरण भए? जिम्मेवारी तल पुग्यो तर बजेट र निर्णय गर्ने अधिकार माथिमै केन्द्रित रह्यो कि? नागरिकले सरकार घरदैलोमा आएको अनुभूति गरे कि सरकारी कार्यालय र पदाधिकारी मात्र थपिए? यस्ता प्रश्नको वस्तुनिष्ठ उत्तर खोज्नु नै अहिलेको आवश्यकता हो।




२०८३ कात्तिक १६ गते सुर्खेतमा सातै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीहरूको सहभागितामा सम्पन्न प्रदेश आर्थिक मामिला परिषद्को बैठकले वित्तीय सङ्घीयताका यिनै पेचिला विषयलाई राष्ट्रिय बहसमा ल्याएको छ।

सङ्घीयता सफल बनाउन अधिकारको बाँडफाँटसँगै वित्तीय स्रोत, प्रशासनिक क्षमता र जिम्मेवारीको न्यायोचित बाँडफाँट हुनुपर्छ। यसका लागि बैठकले मूल चारबुँदे साझा प्रतिबद्धतापत्र जारी गरेको छ। यसमा सङ्घीय सरकारसमक्ष उठाउनुपर्ने साझा मागहरू १०, अन्तर प्रदेश सहकार्य र साझेदारीका लागि चार , सङ्घीयता सुदृढीकरणका लागि सातै प्रदेशको साझा प्रतिबद्धता पाँच र विविधमा तीन विषय छन्।

अधिकार संविधानमा, नियन्त्रण सङ्घमा नेपालको संविधानको धारा ५६, ५७ र अनुसूची ५ देखि ९ सम्मले तीन तहका सरकारका अधिकार सूचीबद्ध गरेका छन्। प्रदेशलाई प्रहरी प्रशासन, प्रदेश सडक, कृषि, स्वास्थ्य, सिँचाइ र भूमि व्यवस्थापनलगायत अधिकार दिइएको छ।

स्थानीय तहलाई आधारभूत तथा माध्यमिक शिक्षा, आधारभूत स्वास्थ्य, स्थानीय सडक, खानेपानी, सरसफाइ र स्थानीय कर परिचालनको जिम्मेवारी छ। धारा ६० ले राजस्व बाँडफाँट र वित्तीय हस्तान्तरणको आधार दिएको छ।

राज्यको स्रोतमा तीनै तहको संवैधानिक हक स्थापित भएको छ तर राजस्व सङ्कलन र स्रोत परिचालनको ठूलो हिस्सा सङ्घमै केन्द्रित छ। खर्च गर्ने जिम्मेवारी प्रदेश र स्थानीय तहलाई दिने तर त्यसअनुसार स्रोत उपलब्ध नगराउने प्रवृत्तिले वित्तीय सङ्घीयताको जग कमजोर बनाएको छ।

अर्को समस्या अधिकारको अस्पष्टता हो। साझा अधिकारका विषयमा कानुन निर्माणमा ढिलाइ छ। सङ्घीय कानुनसँग प्रदेशका कानुन बाझिने अवस्था छ। प्रदेशको एकल अधिकार क्षेत्रमा समेत सङ्घीय हस्तक्षेपको अनुभूति कायम छ।  यसको ज्वलन्त उदाहरण प्रदेश प्रहरी हो।

संविधानले प्रदेशलाई प्रहरी प्रशासनको अधिकार दिए पनि अझै प्रदेश प्रहरी हस्तान्तरण हुन सकेको छैन। अधिकार संविधानमा हुने तर कार्यान्वयन सङ्घको नियन्त्रणमा रहने अवस्था अन्त्य नभएसम्म प्रदेश सरकारको औचित्य र प्रभावकारिता स्थापित हुन सक्दैन।

जिम्मेवारी तल, बजेट माथि

सुर्खेत बैठकमा उठेको महत्त्वपूर्ण विषय बजेटको असन्तुलित वितरण थियो। नागरिक विकास खोज्दै पालिकामा पुग्छन्, प्रदेशसँग अपेक्षा गर्छन् तर विकासका लागि उपलब्ध बजेटको ठूलो हिस्सा सङ्घमै रहन्छ।  बैठकमा हाल ७० प्रतिशत सङ्घ, १५ प्रतिशत प्रदेश र १५ प्रतिशत स्थानीय तहमा रहने बजेट संरचनालाई परिवर्तन गरी ४० प्रतिशत सङ्घ, ३० प्रतिशत प्रदेश र ३० प्रतिशत स्थानीय तहमा पुर्‍याउने प्रस्तावसमेत उठ्यो। यो संवैधानिक अनुपात होइन, स्रोत र जिम्मेवारीबीच सन्तुलन खोज्ने नीतिगत प्रस्ताव हो।

विश्व बैंकको नेपाल फिस्कल फेडेरालिजम अपडेट २०२४ अनुसार आर्थिक वर्ष २०७९/८० मा स्थानीय तहको कूल राजस्वमा अन्तरसरकारी वित्तीय हस्तान्तरणको हिस्सा ७४.३ प्रतिशत थियो। यसले स्थानीय तहको वित्तीय निर्भरता देखाउँछ।

त्यसैगरी आर्थिक वर्ष २०७५/७६ मा सङ्घीय बजेटको ३३.६ प्रतिशत रहेको प्रदेश तथा स्थानीय तहमा जाने वित्तीय हस्तान्तरण आव २०८३/८४ मा २८.२ प्रतिशतमा झरेको पाइन्छ। जिम्मेवारी बढ्दै जाने तर स्रोतको हिस्सा घट्दै जाने अवस्थाले सङ्घीयताको परिणाम कमजोर बनाउँछ। त्यसैले वित्तीय हस्तान्तरणको सूत्र पुनरावलोकन गरी प्रदेश र स्थानीय तहको खर्च गर्ने क्षमता तथा विकासको आवश्यकताअनुसार स्रोत उपलब्ध गराउनुपर्छ।

भौगोलिक न्याय र वित्तीय समानीकरण

वित्तीय समानीकरण भनेको सबै प्रदेश र पालिकालाई बराबर रकम बाँड्नु होइन।  सबै नागरिकले तुलनायोग्य सार्वजनिक सेवा पाउने अवस्था सिर्जना गर्नु हो। कर्नालीको हिमाली गाउँमा विद्यालय, स्वास्थ्य संस्था वा सडक निर्माण गर्न लाग्ने लागत र तराईको सुगम क्षेत्रमा लाग्ने लागत समान हुँदैन।  त्यसैले जनसङ्ख्यालाई मात्र बजेट बाँडफाँटको आधार बनाउनु न्यायोचित हुँदैन।

भारतले वित्त आयोगमार्फत जनसङ्ख्या, आयको दूरी, क्षेत्रफल, वन तथा पारिस्थितिक अवस्थालाई आधार बनाउने गरेको छ। क्यानडाको ‘इक्वालाइजेशन कार्यक्रम’ले कमजोर राजस्व क्षमता भएका प्रान्तलाई सङ्घीय स्रोतबाट सहायता उपलब्ध गराउँछ।

नेपालले पनि भूगोलको विकटता, विकासको पछौटेपन, मानव विकास सूचक, पूर्वाधारको अवस्था र सेवा प्रवाहको लागतलाई वित्तीय हस्तान्तरणको आधार बनाउनुपर्छ।  कर्नाली, सुदूरपश्चिम र मधेसका पछाडि परेका बस्तीलाई विशेष प्राथमिकता दिनुपर्छ।  समानता भनेको सबैलाई एउटै जुत्ता दिनु होइन, सबैलाई हिँड्न सक्ने बनाउनु हो।

अधिकारको प्रत्यायोजनको सवाल

अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले वित्तीय समानीकरण, सशर्त, समपूरक र विशेष अनुदानको व्यवस्था गरेको छ तर सशर्त अनुदानको अत्यधिक प्रयोगले प्रदेश र स्थानीय तहको निर्णय गर्ने स्वतन्त्रता खुम्च्याएको छ।  सङ्घले योजना छनोट गर्ने, बजेट तोक्ने र कार्यान्वयनको जिम्मेवारी तल्लो तहलाई दिने प्रवृत्ति सङ्घीयताको मर्मविपरीत छ।

सशर्त अनुदानलाई राष्ट्रिय प्राथमिकता र न्यूनतम सेवा मापदण्डमा सीमित गर्दै वित्तीय समानीकरण अनुदान बढाउनुपर्छ। प्रदेश र स्थानीय तहले आफ्ना आवश्यकता र प्राथमिकताअनुसार योजना छनोट गर्न पाउनुपर्छ। सङ्घले नियमन, मापदण्ड र नतिजाको अनुगमन गर्नुपर्छ। यससँगै कर्मचारी र प्रशासनिक संरचनाको हस्तान्तरण पनि आवश्यक छ। अधिकार दिएर कर्मचारी नदिने, जिम्मेवारी दिएर बजेट नदिने र परिणाम माग्ने प्रवृत्ति अन्त्य हुनुपर्छ।

संरचना होइन, सेवा प्रवाहमा सुधार

सङ्घीयता खर्चिलो भयो भन्ने बहस पनि उठ्ने गरेको छ तर सङ्घीयताअघिको प्रशासनिक संरचना पनि खर्चरहित थिएन।  केन्द्र, विकास क्षेत्र, अञ्चल, जिल्ला, इलाका, डिभिजन, नगरपालिका र गाविसमा कार्यालय, कर्मचारी, भवन र सवारीसाधन थिए। त्यसैले सङ्घीयताको वास्तविक अतिरिक्त खर्च र पुरानो खर्चको पुनः वितरण छुट्याएर अध्ययन गर्नुपर्छ।

प्रदेश र स्थानीय तहका संरचना लोकतान्त्रिक प्रतिनिधित्वका आधार हुन् तर मन्त्रालय, कार्यालय र पदाधिकारी थपिँदै जानुलाई उपलब्धि मान्न सकिँदैन।  कार्यभारअनुसार सङ्मा करिब नौ र प्रदेशमा पाँचवटासम्म मन्त्रालय भए पुग्ने भन्ने स्वतन्त्र अध्ययनका निष्कर्षलाई पनि सङ्गठन पुनःसंरचनाको बहसमा लिन सकिन्छ।

हरेक जिल्लामा एउटै कामका लागि सङ्घ, प्रदेश र स्थानीय तहका समानान्तर कार्यालय किन चाहियो ? सङ्घले प्रमुख जिल्ला अधिकारीको कार्यालय, प्रदेशले जिल्लामा एकीकृत विकास कार्यालय स्थापना गरी विभिन्न विषयगत कार्यालयलाई शाखाका रूपमा सञ्चालन गर्न सक्छ।  यसले प्रशासनिक खर्च घटाउनुका साथै समन्वय र सेवा प्रवाहलाई प्रभावकारी बनाउन सक्छ।

अनुगमनका नाममा पूर्व जाँदा पाथीभारा र पश्चिम जाँदा रारा पुग्ने प्रवृत्ति पनि सच्याउनुपर्छ।  अनुगमन भनेको घुमफिर वा औपचारिक उपस्थिति होइन, कामको गुणस्तर, बजेटको उपयोग र नागरिकले पाएको उपलब्धिको मूल्याङ्कन हो।  हाजिर गरे जागिर र काम गरे अतिरिक्त खर्च खोज्ने प्रवृत्तिले सार्वजनिक प्रशासनलाई कमजोर बनाउँछ।  कर्मचारी र जनप्रतिनिधिले आफ्नो जिम्मेवारीलाई सेवा भावसँग जोड्नुपर्छ।

बजेटको आकारभन्दा उपयोग महत्वपूर्ण

बजेट कम भयो भन्ने गुनासो एकातिर छ भने विनियोजित बजेटको प्रभावकारी परिचालन अर्को चुनौती हो। साना र टुक्रे योजनामा बजेट छर्ने प्रवृत्तिले विकासको प्रतिफल कमजोर बनाएको छ।

योजना छनोट गर्दा राजनीतिक पहुँच, व्यक्तिगत स्वार्थ र तत्कालीन लोकप्रियताभन्दा आवश्यकता, सम्भाव्यता र दीर्घकालीन प्रतिफललाई आधार बनाउनुपर्छ। मधेश प्रदेशले कम्तीमा एक करोड रुपैयाँभन्दा तलका योजना विनियोजन नगर्ने नीति लिन खोजेको विषय यस सन्दर्भमा विचारणीय छ। सबै ठाउँमा एउटै सीमा लागू गर्न सम्भव नहोला, तर साना योजनामा बजेट छर्ने प्रवृत्ति रोक्ने सन्देश सकारात्मक छ।

नेपालको भौतिक पूर्वाधारको अवस्था हेर्दा अझै तीन दशकसम्म योजनाबद्ध रूपमा पूर्वाधार निर्माणमा लगानी गर्नुपर्ने देखिन्छ। त्यसैले सडक, सिँचाइ, खानेपानी, शिक्षा र स्वास्थ्यका अधुरा तथा रणनीतिक महत्त्वका आयोजनालाई प्राथमिकता दिनुपर्छ। प्रदेश र स्थानीय तहले कानुनबमोजिम आन्तरिक ऋण परिचालन गर्न सक्ने व्यवस्था भए पनि यसको अभ्यास कमजोर छ। ऋण लिनु उपलब्धि होइन; उत्पादनशील पूर्वाधार र दीर्घकालीन प्रतिफल दिने आयोजनामा लगानी गर्न सक्ने क्षमता महत्वपूर्ण हो।  यसका लागि आयोजना बैंक, सम्भाव्यता अध्ययन र वित्तीय अनुशासन आवश्यक छ।

साझेदारीबाटै सङ्घीयताको सबलीकरण

सङ्घले राष्ट्रिय आर्थिक स्थायित्व, न्यायोचित राजस्व बाँडफाँट र राष्ट्रिय मापदण्डको जिम्मेवारी लिनुपर्छ।  प्रदेशले प्रदेशस्तरीय पूर्वाधार, स्थानीय तहबीच समन्वय र आन्तरिक असमानता घटाउने काम गर्नुपर्छ।

स्थानीय तहले नागरिकका आधारभूत आवश्यकता पूरा गर्ने, स्थानीय राजस्व बढाउने र सेवा प्रवाह प्रभावकारी बनाउने जिम्मेवारी लिनुपर्छ। संविधानको धारा २३२ ले तीनै तहको सम्बन्ध सहअस्तित्व, समन्वय र सहकारितामा आधारित हुने व्यवस्था गरेको छ। त्यसैले जसरी सङ्घले प्रदेशको कार्यक्षेत्रमा अनावश्यक हस्तक्षेप गर्नुहुँदैन, त्यसरी नै प्रदेशले पनि स्थानीय तहको अधिकार क्षेत्रमा प्रवेश गर्नु हुँदैन। अधिकारको सम्मान तीनै तहबाट समान रूपमा हुनुपर्छ।

कर्मचारी र जनप्रतिनिधिको अर्को महत्त्वपूर्ण पक्ष आफ्नो कार्यक्षेत्रको पैरवी हो।  जो जहाँ जिम्मेवारीमा छ, त्यहाँको आवश्यकता र अधिकारका पक्षमा दृढतापूर्वक बोल्नुपर्छ तर आफ्नो कार्यक्षेत्रबाट अर्को ठाउँमा पुगेपछि त्यहाँको समस्या र आवश्यकतालाई बिर्सनु हुँदैन।

कर्नालीको पक्षमा बोल्नेले मधेशको समस्या पनि बुझ्नुपर्छ। मधेसको पक्षमा बोल्नेले हिमाली भूगोलको कठिनाइ पनि आत्मसात् गर्नुपर्छ। सङ्घीयता भनेको आआफ्नो क्षेत्रको स्वार्थ मात्र होइन, समग्र राष्ट्रको सन्तुलित विकासका लागि साझा पैरवी हो।

अब अन्तरसरकारी वित्त व्यवस्थापन ऐनको पुनरावलोकन, वित्तीय हस्तान्तरणको न्यायोचित सूत्र, अधिकारको स्पष्ट कार्यविभाजन, प्रशासनिक पुनःसंरचना र प्रदेशको वित्तीय स्वायत्तता कार्यान्वयनका प्राथमिकता बन्नुपर्छ।  प्रदेश आर्थिक मामिला परिषद्ले सातै प्रदेशका साझा समस्या पहिचान गरी संयुक्त सुझाव सङ्घीय सरकारसमक्ष प्रस्तुत गर्ने नियमित संयन्त्रका रूपमा काम गर्नसक्छ।

सङ्घीयताको सफलता मन्त्रालयको सङ्ख्या, पदाधिकारीको सङ्ख्या वा बजेटको आकारले मापन हुँदैन। नागरिकले पाउने सेवाको गुणस्तर, विकासको पहुँच र अवसरको समानताले मापन हुन्छ। सङ्घले अधिकार र स्रोत आफैँमा केन्द्रित गरेर प्रदेश तथा स्थानीय तहबाट परिणाम खोज्न मिल्दैन।  प्रदेशले पनि सङ्घको मुख ताकेर बस्न मिल्दैन।

स्थानीय तहले आफ्नो जिम्मेवारीबाट पन्छिन मिल्दैन।  प्रदेश सरकारले विगत नौ वर्षमा गरेका कामको तथ्य र उपलब्धि नागरिकसमक्ष प्रस्तुत गर्न सक्नुपर्छ। कमजोरी स्वीकारेर सुधार गर्नुपर्छ। अधिकार पाएर काम गर्न नसक्ने सरकारको क्षमता बढाउनुपर्छ। जिम्मेवारी पाएर बजेट नपाउने सरकारलाई स्रोत दिनुपर्छ। अनावश्यक मन्त्रालय र कार्यालय घटाउनुपर्छ। आन्तरिक राजस्व परिचालन कमजोर भए त्यसलाई बढाउनुपर्छ।

यसैले सङ्घीयताको परीक्षा सिंहदरबारबाट कति अधिकार बाँडियो भन्नेमा होइन, कर्नालीको दुर्गम गाउँमा कति विकास पुग्यो भन्नेमा हुन्छ।  प्रदेश बलियो नभई स्थानीय तह बलियो हुँदैन, स्थानीय तह बलियो नभई नागरिक बलिया हुँदैनन्।

अधिकारको विकेन्द्रीकरणसँगै वित्तीय स्रोतको न्यायोचित विकेन्द्रीकरण, प्रशासनिक क्षमता र जिम्मेवारीको इमानदार कार्यान्वयन हुनसके मात्र सङ्घीयता संविधानका पानाबाट नागरिकको जीवनमा पुग्नेछ। यही नै वित्तीय सङ्घीयताका गाँठा फुकाउने र सङ्घीयतालाई सबल बनाउने बाटो हो।

- रासस
अर्को समाचार
नेपाली कांग्रेस : पुनर्जागृत हुने कि स्खलित ?
०९ मंसिर २०८३
•
७ मिनेट पाठ
नेपाली कांग्रेस : पुनर्जागृत हुने कि स्खलित ?
नेपालमा प्रजातन्त्र स्थापना गर्ने देखी सबै खाले राजनैतिक आन्दोलनहरूमा आफ्नो दर्बिलो उपस्थिति देखाउँदै यस देशको विकास क्रममा नेपाली कांग्रेस कहिले खुम्चिएर त कहिले आम जनताको अभुतपूर्ण समर्थनमा करिब आठ दशकदेखि नेपालको राजनीतिको अग्रमोर्चामा छ।




पहिलो पटक जनताले आफ्नो प्रतिनिधि आफैँ चुन्न पाउनेदेखि, मौलिक हकहरू, समावेशिता, विकास(?)का अनेक पूर्वाधार निर्माणका सवालमा कांग्रेसले महत्त्वपूर्ण योगदान गरेको कुरा अकाट्य छ। नेपालमा बहुदलीय प्रतिस्पर्धात्मक राजनैतिक व्यवस्था , शान्ति प्रक्रिया हुँदै नेपाललाई संघिय लोकतान्त्रिक गणतन्त्रात्मक देशको रूपमा संविधानमै सुनिश्चित गराउने सम्मका काममा नेपाली कांग्रेस सदैव नेतृत्वदायी भूमिकामा रह्यो। 

तर कांग्रेसबाट जनताको अपेक्षा यतिमा मात्रमा सीमित थिएन। हिजोको जहानिया राणाशासन , पञ्चायती व्यवस्थाको विषम परिस्थितिमा समेत डटेर लडेको कांग्रेस आजको यत्तिको अवसरका बिचमा किन लरखराएको छ ? यो नै आम चिन्ताको विषय बनेको छ।

संविधानको कार्यान्वयन , सरकारको पारदर्शिता , भ्रष्टाचार , महँगी , बढ्दो बेरोजगारी , युवा पलायन लगायतका अनकन विषयहरूमा कांग्रेस र यहाँका मुख्य दलहरूमाथि जनताको जबरजस्त अविश्वास पैदा भयो। यही अविश्वासको जगमा समाजमा आक्रोश पैदा गराई देशका महत्त्वपूर्ण धरोहरहरू ; संसद् भवन , राष्ट्रपति कार्यालय ,सिंहदरबार लगायत थुप्रा नेताका घरहरू , व्यावसायिक स्थलहरू , छापाखाना क्षणभरमै खरानी बनाइए। 

नेपाली कांग्रेसको समर्थनमा रहेको तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार शान्ति सुरक्षाको मामिलामा निरीह मात्र रहेन सत्तासीन मन्त्री र सांसदहरूलाई ज्यान जोगाउनै धौधौ पर्‍यो। अझै पूर्वप्रधानमन्त्री समेत बनिसकेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा आफ्नो धर्मपत्नीकै साथ कुटाइ खानुपर्‍यो। अहिले उनको पछिल्लो अभिव्यक्ति अनुसार आफूलाई मार्ने षड्यन्त्रमा आफ्नै पार्टीका तत्कालीन महामन्त्री गगन थापाले व्यक्तिहरू परिचालन गरेको गम्भीर आरोपसमेत आएको छ। समयले थप सत्यहरू उजागर गर्दै पनि जाला।

तर राजनीतिका यी अनकन फोहोरी हर्कतभन्दा माथि आजको मुख्य सवाल नेपाली कांग्रेसको वैचारिक धरातलको हो। नेपालको राजनीतिमा आफूलाई जेठो पार्टी दाबी गरेर मात्रै वा हिजोका अग्रजहरूको योगदानको ब्याज खाएर मात्रै कांग्रेसले भोलिको समयमा आफ्नो औचित्य पुष्टि गरिरहन सक्दैन। 

स्थापनाको समयदेखि अहिलेसम्ममा सायदै काँग्रेस सबैभन्दा बढी विचार शून्य अवस्थामा छ र केवल पद प्राप्तिको लडाइँमा मात्र सीमित देखिन्छ। विशेष र नियमित महाधिवेशनको नाममा कांग्रेस अब प्राविधिक रूपमा मात्र विभाजित हुन बाँकी रहेको छ। तर यो विभाजन कुनै वैचारिक जगमा उभिएको विभाजन भने पटक्कै होइन। यो केवल राजनीतिलाई सतरन्जको खेल सम्झिनेहरूको परिणामहीन कुकृत्य मात्र हो। यसलाई पुष्टि गर्ने केही आधारहरू छन्। 

गत वर्षको भाद्रमा जेनजीआन्दोलनको भावना/मर्मको नाममा भाद्र २२ गतेसम्म भागबन्डामा मग्न नेताहरू भाद्र २५ देखि नेतृत्व हत्याउने हतारमा देखिन पुगे। भातृ संगठनको जगमा पार्टीको महामन्त्रीजस्तो जिम्मेवार पदमा आसीन नेताहरू आफ्नो पूरा कार्यकालभरि कुनै भातृ संगठनको अधिवेशनको पक्षमा न कतै बोले न त कुनै पहलकदमी देखाए। 

अझै भद्दा नेविसंघ र तरुण दलमा आफ्ना मान्छेहरू भन्दै भागबन्डाको बार्गेनिङमा यिनलाई निकम्मा बनाउन लागिपरे , त्यसकै फलस्वरूप युवाहरूको असङ्गठित आवाजले जेनजी आन्दोलनको नाममा विनाशको रूप लियो। फेरि उल्टै सारा दोष अरूमाथि पन्छाएर आफू पानीमाथिको ओभानो देखिन रत्तीभर लाज मानेनन्,हिचकिचाएनन्।

अब प्रश्नहरू आउँछन् , नेपाली कांग्रेसको मुख्य समस्या नीति हो वा नेतृत्व ? शेरबहादुर देउवाको अनुहार फालेर गगन थापा वा कसैको अनुहार देखाउँदैमा पार्टी मजबुत भइहाल्ने भए हालै सम्पन्न निर्वाचनको परिणाममा कांग्रेसको नयाँ सभापति बनेर आएँ भनेकै व्यक्तिको र पार्टीका सबैजसो उम्मेदवारहरूको निर्वाचनमा लज्जास्पद पराजय कसरी हुन पुग्यो ?

महाधिवेशन भनेको सभापति वा पदाधिकारी फेर्ने अभ्यास मात्र हो वा वैचारिक मन्थनको प्रक्रिया पनि हो ?

नेपालको शासन व्यवस्थामाथि जनताको जबरजस्त अविश्वास पैदा भयो , किन? त्यो अविश्वास पैदा हुनुमा तत्कालीन माओवादसहित सबै दल जिम्मेवार छन्। तर कांग्रेस किन र कुन अर्थमा के के कारण बढी जिम्मेवार छ? त्यसको रिफ्लेक्सन कांग्रेसको अन्तर पार्टी संघर्षमा देखिन्छ , कसरी?

अहिलेको कांग्रेसको आन्तरिक अवस्थाले देशको सकारात्मक रूपान्तरणमा सिर्जना हुन सक्ने अवरोधहरू कस्ता छन्? ती अवरोधहरू सिर्जना हुनुमा कांग्रेसको आन्तरिक शक्तिसङ्घर्ष किन र कसरी जिम्मेवार छ?

अहिले जसरी विशेष महाधिवेशन जसलाई ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेको भनिएको छ , त्यो समूहलाई आवश्यक लाग्यो भन्ने बित्तिकै अर्को पक्षलाई निषेध गरेर आफ्नै पार्टी पङ्क्तिलाई दास र लासको संज्ञा दिने हर्कतले कांग्रेसको भलो हुन्छ ?  

हिजो स्थापना कालदेखि कांग्रेसमा बिपी सुवर्णको बिचमा होस् वा केही समय अघिसम्म शेरबहादुर देउवा र कोइराला परिवारको अन्तर सङ्घर्षको बिचमा ! सबै समयमा नेताहरूले संवाद र सहमतिकै बाटो रोजेर पार्टी एक राखेका हुन् भने अहिले विशेष महाधिवेशनको गलत प्रयोग (लुप होल)को सहारा लिएर पार्टी विभाजन गर्नुको प्रयोजन के हो ?

यावत् प्रश्नहरू इतिहासले सोध्ने नै छ।

आज जे सतहमा देखिएको छ यो सरासर वैचारिक स्खलनको दिशातर्फ उन्मुख हर्कतहरु हुन् । तर , सङ्कटले आविष्कारको अवसर पनि दिएकै हुन्छ। अबको कांग्रेस फेरिपनी तब मात्र जनताको अघि सार्थक साबित हुनसक्छ जब कांग्रेस आफ्नो वैचारिक स्खलनको बाटोबाट वैचारिक पुनर्ताजगीको बाटोमा आइपुग्नेछ।

वैचारिक पुनर्ताजगी के हो ? बिपी कोइरालाले समाजवादको सन्दर्भमा भन्नुभएको एक हरफको मद्दत लिन चाहन्छु , "हाम्रो मुलुक गरिब छ , हाम्रो मुलुक किसान छ , जुन नीति र कार्यक्रमबाट गाउँमा बस्ने किसानहरूको भलाई हुन्छ त्यही अवधारणा नै नेपालको समाजवादी अवधारणा हो।" तर आजको दिनमा उत्पादनको साधन बदलिएको छ। 

हिजो बिपीको समयको हलो,कोदालो वा दुहुनो गाईलाई हामी बिम्बात्मक रुममा मनन गर्दै आजको प्रविधियुक्त विश्वमा नेपालका जनतालाई कसरी समृद्धितर्फ उन्मुख गर्न सकिन्छ भन्नेमा मुख्य ध्यान दिनु आवश्यक छ। भूमण्डलीकरण वा पुजीवादबाट समाजको बढ्दो उचनीचको खाडललाई कसरी भर्न सकिन्छ भन्नेमा अबको चासो देखिनु आवश्यक छ। 

शिक्षा , स्वास्थ्य लगायतका मुख्य विषयमा सबैलाई कसरी समान अवसर प्रदान गर्न सकिन्छ भनेर राज्यले र राजनैतिक दलहरूले सोच्न जरुरी छ। जाति, पेसा, भाषा, वर्ण, लिङ्ग, भूगोलको आधारमा हुने विभेदलाई हटाई नेपाललाई अनेकतामा एकता भएको देशको रूपमा सिद्ध गर्न गरिनुपर्ने कार्यक्रमहरूको चर्चा हुनु जरुरी छ।  

बदलिँदो विश्व राजनीति र यसको प्रभावको सन्दर्भमा हाम्रो मुलुकको साझा लक्ष र चुनौतीहरूको बिस्तारमा  छलफल हुनु आवश्यक छ। यी सबै उत्तरदायित्व नेपालको राजनीतिमा अझैसम्म पनि नेपाली कांग्रेसकै हो। अन्तरपार्टी संघर्षमा अनकन बिचारहरूको साझा प्रतिनिधित्व खोज्दै , राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा एकताको मध्य बिन्दु खोज्न सक्ने क्षमता कांग्रेसमा छ र सबै विषयहरूलाई निष्कर्षमा पुर्‍याउनुपर्ने अभिभारा समेत अझैसम्म पनी कांग्रेसको काँधमा छ। तर कांग्रेस बरालिएको देखिएको छ। 

'मियो बिनाको दाइँ ' भनेझैँ वा ' कुहिरोको काग ' भनेझैँ कांग्रेसले अहिले आफ्नो गति, दिशा र लक्ष पहिल्याउन सकिरहेको छैन। लामो वादविवादबाट सही बिचार ठम्याउन सक्नुपर्ने अवस्थामा अहिले तर्कभन्दा बढी कुतर्क , एकतामा भन्दा बढी आपसमा अनावश्यक पौठेजोरी खोज्नमा कांग्रेस मग्न देखिन्छ। अब सारा समस्याको एक मात्र हल भनेको पानी धमिल्याएर माछा मार्ने पदलोलुप , महत्वाकांक्षी र अवसरका भोगिहरुविरुद्ध कांग्रेसका सम्पूर्ण युवा , तरुण र अग्रजहरू एक ढिक्का भई तिनको सही पहिचान गरी तिनलाई परास्त गर्नुमा नै छ। 

भोलिको दिनमा कांग्रेसको वैचारिक धरातलको जग नै यहाँको लोकतन्त्र र देशको भविष्यसँग जोडिएको छ। यसरी आदर्श र बिचारलाई तिलाञ्जली दिँदै फगत चिन्हको लडाइँमा कांग्रेस मग्न रहने हो भने यो कांग्रेसजनका लागि मात्र होइन समग्र देश र यहाँको समग्र लोकतान्त्रिक व्यवस्थाकै लागि अभिशाप सिद्ध हुने निश्चित देखिन्छ। 

जनताको ठुलो त्याग , तपस्या र साहदत्तपश्चात् प्राप्त यो व्यवस्थाको जगमा अझै थुप्रा उपलब्धिहरू हासिल गर्नतर्फ उद्धत हुनुपर्ने कांग्रेस अहिलेको निर्णायक समयमा पतन (स्खलन)को  बाटो नरोजोस् , एउटा उन्नत र परिष्कृत बिचारको साथ जनताको मनमा हाजिर बनोस्। 

केन्द्रमा जुँघाको लडाइँमा मग्न बन्दै जाँदा कसैको आफ्नो व्यक्तिगत अभीष्ट त पूरा होला तर वडा,पालिका तहमा निस्वार्थ भावनाले पार्टीमा आबद्ध लाखौँ सदस्यहरूको मनमा ठेस पुग्नेछ। यसरी शिथिल अवस्थामा आसन्न निर्वाचनमा होमिँदै गर्दा पार्टीको कुन हबिगत रहने हो भन्नेमा पार्टीका जिम्मेवार नेतृत्व पंक्ति बेलैमा होसियार हुनु आवश्यक छ। समयमै कुवा खने पछि सहज होला , घरमा आगो लागिसकेपछि कुवा खन्न हिँड्नुको कुनै तुक हुनेछैन । (नेपाल कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन्।)
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस