जाजरकोट– जाजरकोट प्रहरीले जिल्लाको अति दुर्गम मजकोटको दोबाटो भन्ने स्थानमा १० बोरा बहुमूल्य काइनाइट तथा टुर्मालीन वर्गका पत्थर बरामद गरेको छ । गाउँबाट बहुमूल्य पत्थरको चोरी निकासी हुन लागेको खबर पाएपछि इलाका प्रहरी कार्यालय दसेरा र पन्चाला दहको टोलीले राति ११ बजे खच्चडमा लोड गरेर दैलेख जिल्लाको बेस्तडातर्फ लैजाँदै गरेको अवस्थामा कोर्ताङ्ग २ का बालकृष्ण शााही र गर्खाकोट २ का जगतबहादुर शाहीलाई १ सय ५० किलो पत्थरसहित पक्राउ गरेको हो । यस्ता पत्थरबाट विभिन्न गरगहना बनार्इ ताेलाकाे भाउमा बेच्न सकिन्छ । र, त्यस्ता गहना बिदेश निर्यातकाे पर्याप्त सम्भावना पनि छ ।

असोज २२ गते पनि रातिकै समयमा कोर्ताङ्गकै अर्का हरिबहादुर शाहीले स्थानीय भरियाहरुलाई बोकाएर दैलेखतिर लैजाँदै गरेको अवस्थामा तीन जना भरिया र ५० किलो पत्थरसहित उनलाई पक्राउ गरेको हो ।

मजकोटमा बरामद गरिएको पत्थर र अभियुक्तहरु जिल्ला प्रहरी कार्यालयमा । तस्बिरः जनक केसी
दैलेखको लालीकाँडाका जयबहादुर बिसीसम्म पुर्याउनका लागि चोरी गरेर लैजाँदै गरेको अवस्थामा प्रहरीले उक्त पत्थरसहित ६ जनालाई पक्राउ गरेको हो । गाउँमा स्थानीयहरुको प्रयोग गरेर सस्तो मूल्यमा किनेको पत्थर गाउकै दलालहरुले ठेकेदारहरुलाई अवैध रुपमा बिक्री गर्ने गरेको स्थानीयको भनाइ छ। स्थानीयहलाई संकलन तथा निकासी गर्न लगाएका पत्थरलाई गाउँमा १ सय ५० रुपैयाँ किलोदेखि १ सय ६० रुपैयाँ किलासम्ममा किनेर बाहिरका दलाल र ठेकेदारलाई बढी मूल्यमा बेच्ने गरेका स्थानीय जनकबहादुर सिंहले बताए ।

अहिले चाडपर्वको मौका छोपी स्थानीय तस्करहरुले बहुमूल्य पत्थरहरुको चोरी निकासीलाई तीव्रता दिएको प्रहरीले जनाएको छ । पत्थर चोरेर लैजाँदै गरेको अवस्थामा ६ जनालाई राजस्व छली गरेको, अर्काको खानीबाट पत्थर चोरी गरेको, निकासी अनुमति नलिएको र पत्थर निकासीका लागि नक्कली कागजात पेस गरेको आरोप लगाउँदै मुद्धाको तयारी गरेको छ। जिल्लाको पैंक, दह, कोर्ताङ्ग, मजकोट, पजारु, टालेगाउँ, अर्छानीलगाएतका ठाउँमा रहेका खानीहरुमा स्थानीय निकायहरु र अन्य सरोकारवालाहरुको बेवास्ताका कारण चोरी निकासी अत्यधिक मात्रामा बढेको छ । संगठीत रुपमै सञ्जाल बनाएर जिल्लाका विभिन्न ठाउँमा रहेका खानीहरुबाट स्थानीय तथा वाह्य तस्करहरुले मौका छोपेर पत्थरहरुको चोरी निकासी गर्ने गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख दानबहादुर मल्लले बताए । उनले अहिले चाडपर्वको मौका पारी पत्थर चोर तथा तस्करहरुले गतिविधि बढाइरहेकोले यसबारे अनुसन्धनात्मक कारबाही अघि बढाइएको बताए । उनले एक हप्ताको अवधिमा समातिएको पत्थर र तत्करहरुकै अध्ययन गरेर जिल्लामा बहुमूल्य पत्थरको चोरी निकासी नियन्त्रणको पहल गरिएको बताए।

जिल्लाबाट वैध-अवैध दुबै रुपमा निकासी हुने काइनाइट तथा टुर्मालीन पत्थर भारत, अमेरीका, जापान, बेलायतलगाएतका देशहरुमा निर्यात हुने गरेको छ । यो पत्थर विभिन्न मुर्तिहरु बनाउन तथा गहनाहरुमा प्रयोग हुने जानकारहरु बताउँछन् । जिल्लामा हाल आठभन्दा बढी पत्थर खानीहरु दर्ता भए पनि अवैध रुपमा उत्खनन् र चोरी निकासी पनि बढेको छ । जिल्लाबाट हुने पत्थरको अवैध चोरी निकासी रोक्न सम्बन्धित गाउँ विकास समितिहरु र प्रहरीसंग समन्वयको काम भइरहेको जिल्ला विकास समिति जाजरकोटका योजना अधिकृत टेकबहादुर खत्रीले बताए । उनले सबैको सहयोग र चासो भए मात्र अवैध कार्य रोक्न सहज हुने बताए ।