नेपालमै अत्याधुनिक वातावरणमैत्री प्रविधिमा आधारित चाइनिज इटाको उत्पादन सुरु भएको छ। इटाभटाबाट वातावरण प्रदूषण बढेको भन्दै चर्काे आलोचना हुँंदै आएको तर नेपालमै पनि प्रविधि भित्रिएको झन्डै आधा शताब्दीपछि यस्तो अत्याधुनिक प्रविधिबाट चाइनिज इटा उत्पादन थाल्न सफल भएको हो।
पोखराको पोल्याङमा कम्पनीको आफ्नै एक सय रोपनीको क्षेत्रफलमा उद्योग राखी इटाको उत्पादन थालिएको हो। पोखरा इको रेड ब्रिक्स प्रालिले झन्डै ३० करोडको लगानीमा नेपालमा जर्मन होफम्यान प्रविधिबाट इटा उत्पादन थालेको हो।
पोखरा इको रेड ब्रिक्स प्रालिका अध्यक्ष इन्जिनियर कृष्णभक्त दुवालले कारखानाको वार्षिक डेढ करोड इटा उत्पादन गर्न सक्ने क्षमताको रहेको बताए। झन्डै ४५ वर्ष अगाडि भक्तपुरको भक्तपुर चाइनिज इटा तथा टायल कारखाना र ललितपुरको हरिसिद्धि चाइनिज इटा तथा टायल कारखानामा जस्तै इटा पोल्ने प्रविधिको निर्माण गरी इटा उत्पादन थालेको जानकारी अध्यक्ष इन्जिनियर दुवालले बताए। ‘सामान्य इटाभटाको इटा पोल्ने स्ट्रकचर तथा इटा पोल्ने जनशक्ति पनि अहिलेसम्म विशेष गरेर भारतको विहारबाट आएका भारतीयहरूले गर्ने गरेका छन्। तर पोखराको पोल्याङमा नेपाली स्वयमले विशेष प्रकारको इटा पोल्ने प्रविधि होफम्यान क्लिन बनाइ नेपाली जनशक्तिबाट नै इटाको उत्पादन थालेका हौ, उनले भने। यो ठाउँं पोखरा र दमौलीबाट करिव २० किलोमिटरको दुरीमा पर्दछ।
अत्याधुनिक प्रविधिको इटाभटा नेपालीले नै बनाइ उत्पादन थालेको इन्जिनियर दुवालको भनाई छ। ‘सामान्य इटाभटा फोर्स डग नै भारतीयबाट गराउनु परिरहेको बेला नेपालीहरूबाट नै हामीले पोखरामा जर्मन प्रविधिमा आधारित होफम्यान क्लिन प्रविधिबाट इटा पोल्न आधुनिक भटाको निर्माण सम्पन्न गरी उत्पादन समेत थालेका छौँ, इन्जिनियर दुवालले भने, ५० जना नेपालीहरूबाट झन्डै एक वर्षदेखि नै काम गराई अहिले उत्पादनको चरणमा पुगेका हौ।’ यो प्रविधिको विकास सर्वप्रथम जर्मन वैज्ञानिक फ्रेडरिच होफम्यानले सन् १८५८ मा गरेको जनाइएको छ।
प्रालिका प्रमुख कार्यकारी अधिकृत (सिइओ) भरत ओझाले उर्जा किफायती र वातावरणमैत्री हुने भएकाले इटा पोल्नका लागि नयाँ प्रविधिको इटाभटा सञ्चालन गर्ने योजना अनुसार आफूहरू सफल भएको जनाए। अहिले इटाभटाको धुलो धुवाको कारण वातावरण प्रदूषण भयो भनेर तीव्र आलोचना छ। यही आलोचनाबाट जोगाउन नयाँ प्रविधिको इटाभटा सञ्चालन गरेका हौँ, उनले थपे।
यो प्रविधिबाट इटा उत्पादन गर्दा धेरै जसो काम मेसिनले नै गर्ने गर्दछ। इटा पार्ने सम्पूर्ण काम मेसिनले गर्ने जनाइएको छ। निकट भविष्यमा ईटा सुकाउन ड्रायर बनाउने योजना भएको सिइओ ओझाले बताए।
यो प्रविधिबाट इटा उत्पादन गर्दा ड्रायर बनिसकेपछि बाह्रै महिना कारखाना सञ्चालन हुने बताए। इटाको बढ्दो मागलाई ध्यानमा राखी प्रालिले यस्तो उत्पादन थाल्न लागेको जनाएको छ।
नेपालमा पहिला देखि चल्दै आएका यस प्रविधिमा आधारित दुई वटा चाइनिज इटा उद्योग थिए। तर यी दुवै भक्तपुर इटा तथा टायल उद्योग र ललितपुरको हरिसिद्धि इटा तथा टायल उद्योग अहिले बन्द भइसकेका छन्। तर पनि भक्तपुरको इटा तथा टायल उद्योग भने निजी क्षेत्रले सञ्चालन गर्दै आएको छ।
काठमाडौँ, नेपाल बैंकर्स सङ्घले बैंकिङ तथा वित्तीय क्षेत्रको विकास, आधुनिकीकरण र दिगो विकासमा विशिष्ट योगदान पुर्याएका सङ्घका पूर्वअध्यक्ष उपेन्द्र पौड्याललाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेको छ।
सङ्घको ४०औँ वार्षिक साधारणसभाका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले पौड्याललाई सम्मानपत्र प्रदान गरेका हुन्।
सङ्घले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पौड्यालले नेपाल बैंकर्स सङ्घको अध्यक्ष, नबिल बैंकको अध्यक्ष, एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत तथा ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जिएबिभी) एसिया प्यासिफिकको क्षेत्रीय प्रतिनिधिका रूपमा रहेर बैंकिङ क्षेत्रमा योगदान पुर्याएका छन्।
सन् १९८० को दशकदेखि नेपालको बैंकिङ क्षेत्रमा सुरु भएको उदारीकरण प्रक्रियासँगै पौड्यालको व्यावसायिक यात्रा अघि बढेको थियो। परम्परागत बैंकिङ अभ्यासलाई आधुनिक, प्रतिस्पर्धात्मक र प्रविधिमैत्री प्रणालीमा रूपान्तरण गर्न उनीले अनुभव, दक्षता र नेतृत्वमार्फत महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाे सङ्घले जनाएको छ।
सम्मानपछि पौड्यालले आफ्नो चार दशक लामो बैंकिङ यात्राको उपलब्धि व्यक्तिगत नभई सहकर्मी, नियामक, ग्राहक, सेयरधनी र परिवारको सामूहिक योगदानको परिणाम भएको बताए।
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए। सेयर बजार, विदेशी विनिमय, सुधार तथा बैंकिङ सुपरिवेक्षणका क्षेत्रमा क्रमिक सुधार अघि बढाइने उनले बताए।
विदेशी मुद्रा सञ्चिति र बैंकिङ प्रणालीमा तरलता बढेको उल्लेख गर्दै गभर्नर पौडेलले आगामी वर्ष पनि वित्तीय स्थिरता कायम राख्ने प्रतिबद्धता व्यक्त गरे। उनीले बैंकहरूलाई मौद्रिक नीतिअनुसार वित्तीय उत्पादन ल्याउन, कृषि तथा साना र मझौला उद्यममा लगानी विस्तार गर्न र उद्यमशीलतालाई प्रोत्साहन गर्न आग्रह गरे।
बैंकहरूको लगानी ठूला व्यावसायिक घरानामा मात्र केन्द्रित नभई साना व्यवसायी तथा सर्वसाधारणसम्म पुग्नुपर्नेमा जोड दिँदै उनले आकारमा ठूलो मात्र नभई गुणस्तर र सुशासनका दृष्टिले पनि सक्षम बैंक निर्माण गर्नुपर्ने बताए।
यसैबीच, सङ्घको ४०औँ वार्षिक साधारणसभाले ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई नयाँ अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ। उनी यसअघि सङ्घको उपाध्यक्ष थिए।
साधारणसभाले कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाललाई उपाध्यक्षमा निर्वाचित गरेको छ।
निवर्तमान अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा सरोकारवाला पक्षप्रति कृतज्ञता ज्ञापन गरे।
नवनिर्वाचित अध्यक्ष रेग्मीले बैंकिङ क्षेत्रप्रतिको जनविश्वास अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले कृषि तथा साना र मझौला उद्यममा लगानी विस्तार, वित्तीय स्थिरता र डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै सबै सरोकारवालासँग संवाद र सहकार्य गरेर अघि बढ्ने बताए।