प्याज किलोको ८५
०४ भदौ २०८०
•
३ मिनेट पाठ
प्याज किलोको ८५
भारतले प्याजमा ४० प्रतिशत निर्यात कर लगाउने घोषणा गरेसँगै नेपाली उपभोक्ताको भान्सा महँगिएको छ। प्याजमा कर लगाउने भारतीय निर्णयको प्रत्यक्ष असर नेपाली बजारमा परेको हो।  




भारतको वित्त मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै निर्यात कर ४० प्रतिशत लगाउने घोषणा गरेको छ। भारतीय घोषणासँगै आइतबार नेपाली बजारमा प्याजको भाउ किलोमै सरदर २५ रूपैयाँ बढेको छ। पुरानो खरिद भए पनि व्यापारीले भाउ बढाएका छन्।

नेपाली भान्सा भारतीय प्याजमा निर्भर रहेकाले कर लगाउने निर्णयले भाउ बढेको नेपाल आलु प्याज व्यवसायी संघका महासचिव प्रकाश गजुरेलले बताए। ‘भारतले आफ्नो देशबाट निर्यात घटाउन ४० प्रतिशत निर्यात कर लगाएको छ,’ उनले भने, ‘त्यसको प्रत्यक्ष असर नेपालको बजारमा पर्न थालेको छ।’ भारतले प्याज उत्पादनमा कमी आएपछि निर्यात घटाउन कर लगाउने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

आन्तरिक बजारलाई ध्यानमा राखेर भारतले निर्यातमा उच्च कर लगाएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक डालप्रसाद पुडासैनीले बताए। ‘आफ्ना उपभोक्तालाई प्याज अपुग हुने भएपछि निर्यात रोक्न भारतले कर लगायो,’ उनले भने, ‘मारमा नेपाली उभोक्ता परेका छन्।’  

४० प्रतिशत निर्यात करका अतिरिक्त नेपालको भन्सारमा १.५ प्रतिशत एआइटी र ९ प्रतिशत कृषि सुधार कर लगाइन्छ। त्यसमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर पनि जोडिन्छ। यसले प्याजमा किलोमै २४ रूपैयाँ लागत बढ्ने उनले बताए। उदाहरणका लागि १ सय भारु (१ सय ६० रूपैयाँ) पर्ने प्याजमा ४० प्रतिशत कर लगाउँदा ६४ रूपैयाँ थपिन्छ। यस आधारमा प्याजको लागत मूल्य बढेर नेपलामा २ सय २४ रूपैयाँ पुग्छ।  

भारतले कर बढाएपछि उताबाट नेपालमा निर्यात पनि कम हुन्छ। कम आयात भएपछि नेपाली बजारमा प्याजको अभाव हुन गई भाउ अझै बढ्ने देखिएको छ।

स्वदेशमा उत्पादन निकै कम भएकाले भारतीय प्याजको भर पर्नुपर्ने अवस्था छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक पुडासैनीका अनुसार काठमाडौं उपत्यकामा प्रयोग हुने ९९ प्रतिशत प्याज भारतबाट आयात हुन्छ। ‘प्याजमा स्वदेशी उत्पादन नगन्य छ,’ उनले भने, ‘भारतले निर्यातमा उच्च कर लगाउँदा नेपाली उपभोक्ता मर्कामा परे।’

मुलुकभरिका उपभोक्ताले प्रयोग गर्ने करिब ९५ प्रतिशतभन्दा बढी प्याज भारतबाट आयात हुन्छ। आर्थिक वर्ष २०७९/०८० मा भारतबाट ६ खर्ब ७५ अर्ब रूपैयाँको करिब १८ करोड किलो प्याज आयात भएको थियो। भारत विश्वमै सबैभन्दा धेरै प्याज निर्यात गर्ने मुलुक हो।

कालिमाटी फलफूल तथा तरकारी बजारमा आइतबार बिहान प्रतिकिलो ६२ रूपैयाँमा बिक्री भएको प्याज दिउँसो उपत्यकाका खुद्रा बजारमा ८५ देखि ९० रूपैयाँमा बिक्री भएको छ। एकदिनमै प्याजको भाउ किलोमा २५ रूपैयाँ बढेको उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सनाले बताए।

‘भारतले कर लगाउने सूचना पाउनासाथ व्यापारीले प्याजको भाउ बढाए,’ उनले भने, ‘भारतबाट नयाँ खरिद आउँदा अझै बढ्ने निश्चित छ।’ उनका अनुसार व्यापारीले मनपरी ढंगले भाउ बढाएका छन्। नयाँ कर तिरेको प्याज आउँदा उपभोक्ताले अझै महँगोमा खरिद गर्नुपर्नेछ। भारतसँग कूटनीतिक पहल गरेर प्याज निर्यातमा लगाएको कर हटाउन पहल गर्नुपर्ने तिमल्सिनाले बताए। ‘सरकारले उपभोक्तालाई राहत दिन कूटनीतिक पहल गरी अहिलेकै मूल्यमा प्याज दिने वातावरण मिलाउनुपर्छ,’ उनले भने।

नेपाल सरकारले प्याज उत्पादन योजनाबिना बजेट भाषणमा १३ प्रतिशत भ्याट लगाएको साढे दुई महिनापछि भारतले निर्यात करमा भारी वृद्धि गरेको हो। 

सरकारले उत्पादन बढाउने योजनाबिनै भ्याट लगाएको भनेर आलोचना भइरहेका बेला भारतले पनि निर्यात कर बढाएको हो।  भारतले निर्यात निरुत्साहित गर्न कर बढाएसँगै नेपाल उत्पादन बढाउने रणनीतिमा लाग्नुपर्ने आवाज उठेको छ।  

भारतले यसअघि विभिन्न समयमा प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो। उसले अहिलेको निर्यात कर डिसेम्बरसम्म लागु हुने जनाएको छ। सरकारले प्याज उत्पादन बढाउन विगतमा प्याज मिसन कार्यक्रम सञ्चालन गरेको भए पनि प्रभावकारी हुन सकेन। सिरहा, सप्तरी, सर्लाही, बारा, रूपन्देही, धनुषा, दाङ, पर्सा, बाँके, बर्दियालगायतका जिल्लामा सञ्चालन गरिएको प्याज मिसन कार्यक्रम अनियमितता भएपछि परिणाममुखी हुन नसकेको थियाे।
अर्को समाचार
प्रहरी र भन्सारको भर छ, तस्करलाई केको डर छ !
१८ माघ २०८०
•
१० मिनेट पाठ
प्रहरी र भन्सारको भर छ, तस्करलाई केको डर छ !
नम्बर प्लेट बिनाको मोटरसाइकल सिरहाको विभिन्न सुरक्षा पोष्ट बेरोक पार गर्दै गोदामसम्म प्याजको बोरा पुर्याउँदै तस्कर। तस्बिर: मिथिलेश यादव/नागरिक
तीन महिनाअघि राजश्व अनुसन्धान कार्यालय इटहरीले तस्करको गोदाममा छापा मारेर करिब तीन करोड रुपैयाँ बराबरको तस्करीको सामान बरामद गरेपछि सिरहामा कार्यरत सशस्त्र प्रहरीका तीन जना अधिकारी मुख्यालय तानिए।




सशस्त्र प्रहरी बल ७ नम्बर गणका तत्कालीन गणपति प्रमोद भारती, बोर्डर आउटपोष्ट माडरका डिएसपीद्वय रामहरी खतिवडा र पवन खड्का जिम्मेवारीबाट हटाइए। नेपाल प्रहरीका एसपी टेकुनन्द इवा लिम्बु, सिडिओ राजेन्द्रदेव पाण्डे र भन्सार प्रमुख रामराज प्रसाद चौरसीयामाथि कुनै कारबाही भएन।

सशस्त्रका तीन जना अधिकारी बदलेर जिल्लामा नयाँ अधिकारी पठाइयो। सशस्त्र प्रहरी बल ७ नम्बर गणको गणपतिमा (एसपी) शिव गैरे र बोर्डर आउटपोष्ट माड्रमा डिएसपी राजु दाहाल आएका छन्। जिल्लामा प्रहरी र प्रशासनका अधिकारीहरू फेरबदल हुनु नौलो होइन। प्रहरी प्रशासनका अधिकारीहरू फेरिए पनि नफेरिएको धन्दा हो  ‘तस्करी’। मधेस प्रदेशका जिल्लामा नयाँ जिल्ला सुरक्षा प्रमुख हाजिर भएपछि केही समय सुस्ताउने र सेटिङ मिलेपछि फस्टाउने आकर्षक धन्दा ‘तस्करी’ हो।

तस्करीजन्य बेथितिले हद नाघेपछि सिरहाका बुद्धिजीवीहरू गृह मन्त्रालयमा गुनासोको पोको पुर्‍याएर नियन्त्रणका लागि आग्रह गरेका छन्। मिटर व्याजीको आडमा थर्काएर व्यक्तिगत लाभ लिने, तस्करलाई सङ्गठित बनाएर लाभ लिने, अवैध क्रसर र चुरे दोहनमा आँखा चिम्लेर लाभ लिनेलगायतका बेथितिले आजित बनेका छन्, स्थानीय।

यसैबीच, गृह मन्त्रालयले सिरहाका सिडिओलाई राजेन्द्रदेव पाण्डेलाई जिम्मेवारीबाट हटाएर गृह मन्त्रालयमा तानेको छ। उनी शुक्रबार तोकिएको जिम्मेवारीमा जाँदै छन्। राजेन्द्रदेव पाण्डे गत असार १८ गते मात्र जिल्ला प्रशासन कार्यालय सिरहामा हाजिर भएका थिए।

बेथितिबाट आजित सिरहाली जनताले संवाद यात्राको क्रममा सीमावर्ती गाउँ सोनवार्सा र बरियारपट्टी पुगेका नेपाली काँग्रेसका महामन्त्री गगन थापासमक्ष समेत जिल्लामा तस्करी, लागूऔषध ओसारपसारले सीमा नाघेको सुनाउन भ्याए। यहाँ सेटिङमा तस्करी, लागूऔषध ओसारपसारलगायतका बेथिति उकालो लागेको स्थानीयले गुनासो गरे।

तस्करसँग सेटिङ मिलेपछि सीमा क्षेत्रमा सशस्त्र र नेपाल प्रहरीको  टोलीले तस्करी नियन्त्रणमा आँखा चिम्लिदिँदा र भन्सार कर्मचारी दर्शक बनिदिँदा तस्करी बढेको सिरहा केन्द्रित पत्रकार देवकुमार यादवले बताए।

सीमादेखि सहरसम्म सुरक्षाकर्मी र भन्सार कर्मचारीको धापका कारण सीमा क्षेत्रमा तस्करहरू सलबलाएका छन्, उनले भने, ‘दिउँसै नम्बर प्लेट बिनाको मोटरसाइकल तस्करीका सामान बोकेर बेरोक प्रहरी पोष्ट पार गर्नुले ‘सेटिङ’ लाई प्रस्ट्याउँछ।’

‘प्रहरी र भन्सारको भर पाएपछि तस्करलाई केको डर हुनु’, उनी भन्छन्,‘नियन्त्रणकारी निकायले नै आँखा बन्द गरिसकेपछि बाँकीले देखेर पनि के गर्न सक्छन्!’

जिल्लास्थित राजश्व चुहावट नियन्त्रण समितिको अध्यक्ष प्रमुख जिल्ला अधिकारी हुन्छ। यस समितिको बैठक एक महिनामा एक पटक गर्नुपर्ने प्रावधान छ। माड्र भन्सार कार्यालय सिरहाका प्रमुख रामराज प्रसाद चौरसियाका अनुसार बैठकमा राजश्व चुहावट र राजश्व वृद्धि कसरी गर्ने विषयमा छलफल केन्द्रित हुन्छ जसको अध्यक्षता सिडिओले गर्छन्।

प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे सिरहामा हाजिर भएको सात महिनामा पटक–पटक समितिको बैठक अध्यक्षता गरे। तर, राजश्व उकालो लाग्नुको साटो झन्–झन् ओरालो झर्दै गयो। राजश्व ओरालो झर्नुका कारणहरूमध्ये चुहावट अर्थात् तस्करी प्रमुख रहेको भन्सार प्रमुख चौरसीया स्विकार्छन्। पारीबाट वारी आउजाउ गर्ने धेरै बाटोहरू छन् जसमा निगरानी र नियन्त्रणका लागि सुरक्षाकर्मीहरू तयनाथ छन्।

तस्करी नियन्त्रणका लागि भन्सारसँगै सुरक्षा र प्रशासनको पनि भूमिका रहन्छ चौरसीयाले भने, ‘भेट्टाएको बखत सामान बरामद गरेर भन्सारमा बुझाउने गरिएको छ। बाटा प्रशस्त छन्, कतै न कतैबाट मालबस्तु छिराइहाल्छन् कहाँ कहाँ नजर दौडाउनु ?' उनले भने।

चौरसीयाले भन्सार राजश्वमा प्रगति उन्मुख भएको दाबी गरेपनि यर्थात फरक छ। चौरसियाले चालु आर्थिक वर्षको ६ महिनामा (साउनदेखि पुष मसान्तसम्म) ५० प्रतिशत राजश्व सङ्कलन भएको दाबी गरेपनि यर्थातमा सङ्कलन २४ प्रतिशतमात्र देखिन्छ। यस वर्षको लक्ष्य ११ करोड ९९ लाख ५६ हजार रुपैयाँ रहेकोमा पुष मसान्तसम्म २ करोड ८३ लाख ६५ हजार मात्र राजश्व सङ्कलन भएको भन्सारको तथ्याङ्कले देखाउँछ।

नेपाल सरकारले मुलुकभरका १५ वटा भन्सारमा खाद्य क्वारेन्टिन तोकेको छ जसमा सिरहाको कुनैपनि नाका पर्दैन। बिना क्वारेन्टिन पास गरी खाद्यवस्तु आयात गर्नु अवैध ठहरिने भन्सार प्रमुख चौरसीया बताउँछन्। तर, उनी प्रमुख रहेकै माड्र भन्सारबाट दैनिक सैयौं बोरा प्याज राजश्व छली गरी भित्रिरहेको छ। 

सिरहाको माड्र भन्सारबाट भारतीय नम्बर प्लेट र बिना नम्बर प्लेटको मोटरसाइकलमा लोड गरी दिउँसै आलु र प्याजका बोरा तस्करी भइरहेकोबारे चौरसीया अनवीज्ञ छैनन्। उनी भन्छन्, ‘पालिकाहरुको सिफारिसमा कतिपयलाई आँखा चिम्लिनुपर्छ।’

एउटा मोटरसाइकलमा ५० किलोका कम्तिमा चार वटा प्याजका बोरा लोड गरी तस्करका भरियाहरु भन्सारबाट बेरोक विभिन्न सुरक्षा पोष्ट पार गर्दै मिर्चैया, गोलबजार र लहान स्थित तस्करका गोदामसम्म पुर्याउँछन्।

पारिदेखि गोदामसम्म पुर्याइदिए वापत भरियाले तस्करबाट प्रति टिप एक हजार पाउँछन्। यस कार्यमा सीमादेखि सहरसम्मका सैयौं युवा भरियामा प्रयोग भएका छन्। पारि ३० रुपैयाँ किलो पाइने प्याज वारिको बजारमा ६० देखि ७० रुपैयाँमा विक्री भैरहेको छ। मूल्यको अन्तरले फाइदा बढी भएपछि पछिल्लो समय मधेस प्रदेशका सीमा नाकामा प्याज तस्करी व्यापक बनेको छ।

दिउँसो मोटरसाइकलमा हुने आलुप्याज तस्करी रात परेपछि टेम्पो, पिकअप र मिनि ट्रकमा सीमा पार हुने भारतीय सहर लौकहाका एक किराना पसलले बताए।

‘अहिले ट्रकका ट्रक प्याज पारि (नेपाल) गइरहेको छ’ उनले भने, ‘यहाँदेखि लहानसम्म उनीहरुको सेटिङ छ। दिउँसो मोटरसाइकलमा र राती मिनि ट्रकमै प्याज सीमा पारि पुग्छ, उनले भने, ‘भन्सार र सुरक्षा मिलेपछि डर कस्कोरु’

लौकहा नजीकको ठाढी भन्सारका निमित प्रमुख रामेश्वरप्रसाद चौधरीका अनुसार यस भन्सारबाट भारतीय सवारी साधनको पास मात्र जारी हुन्छ। त्यसो भए आलु, प्याज, धान, लताकपडालगायत दैनिक उपभोग्य बस्तु थोकमा कसरी भित्रिन्छरु उनले जवाफ दिए,‘खै, हामी कहाँ त आउँदैन। यहाँ एउटै बाटो छैन नी, कतै न कतैबाट जादोहोला, उनले थपे।’

ठाढी भन्सारले लक्ष्यको २० प्रतिशत पनि राजश्व संकलन गर्न सकेको छैन्। यस भन्सारले ९ करोड ९ लाख ९३ हजारको लक्ष्यमा पुससम्म  १ करोड ६० लाख ६० हजार मात्र असुली गर्न सकेको छ।

तस्करको उर्वर भूमि मधेस

सोमबार जनकपुरधामबाट जयनगर हुँदै माड्र भन्सार पुग्दा प्याजको बोरा लोड गरिएको भारतीय नम्बर र नम्बर प्लेट नै नभएको मोटरसाइकल बेरोक सिरहातर्फ हुइँकिदै अघि बढ्यो। पछ्याउँदै जाँदा उक्त मोटरसाईकल सिरहाको माडरस्थित बोर्डर आउटपोष्ट, माडर प्रहरी, नगर प्रहरी कार्यालयलाई बेरोक पार गर्यो। त्यसपछि त्यो मोटरसाइकल सिरहास्थित हेमनारायण चोक हुँदै गुलरिया नजीक सिरहा–चोहर्वा सडकमा चोहर्वातर्फ अघि बढ्यो। नम्बर प्लेट नै नभएको सो मोटरसाइकलमा चार वटा प्याजका बोरा लोड थियो। सो मोटरसाइकल प्रहरी चौकी नरहा, इलाका प्रहरी कार्यालय विष्णुपुर र सडकमा ट्राफिक र प्रहरीको चेक पोइन्ट पार गर्दै चोहर्वा पुग्यो। त्यहाँ तायनाथ प्रहरीको अगाडि बाटै पश्चिम मिर्चैयातर्फ लाग्यो।

यो दृश्यबारे चोहर्वा चोकको एक पान पसललेसँग जिज्ञासा राख्दा उनले भने, ‘मोटरसाइकलमा प्याज तस्करी देखेर आश्चर्य नमान्नुस्। राती आउनुस् पूरा फिल्म हेर्न सक्नुहुनेछ उनले भने, ‘मँ चोकमा व्यपार गर्ने मान्छे हो, धेरै बोले मेरो चुलो बन्द हुन्छ। अहिले भईरहेको तस्करीमा पावरफुल मान्छे संलग्न छन्। यसलाई धेरै नकोट्याउनुस्, सबै मिलेका छन्, उनले भने।’

मधेस प्रदेशमा सुरक्षाकर्मीको उपस्थिति रहेकै ठाउँबाट तस्करको राज चलेको उल्लेखित दृश्य सिरहाको भएपनि मधेसका आठ वटै जिल्लाको कथा उस्तै छ। सबै जिल्लाको सीमा भारतसँग जोडिएका छन्। सबै जिल्लामा कमबेस तस्करीको संगठित सञ्जाल चलेकै छ।

सिरहाको ठाढी, नगरी, कुसन्डी, झाझपट्टी, मडर, बुधौरा, लगडीगोठ, चतरी, कल्याणपुर, बरियारपट्टी, औरही, पटेर्वा नाका अहिले तस्करलाई जिम्मा लगाइदिए जतिकै अनुभूति गर्छन्, स्थानीयबासी।  

यी नाकाबाट नुनदेखि सुनसम्म तस्करी हुने गरेको सीमा क्षेत्रका स्थानीय बताउँछन्। यी नाकाबाट प्याज, आलु, कपडा, मोटरपार्टस्, लताकपडा, किराना सामान, पान मसाला, सुर्तीजन्य पदार्थ (रजनीगन्धा, गुटखा) भन्सार राजस्व छली गरी भित्रिन्छ। वारिबाट मदिरा, चिनियाँ स्याउ, मटर, ग्याँस लाइटर, गाँजा पारि पु¥याइन्छ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सारसँगको त्रिपक्षीय सेटिङमा ९लाइन मिलाएर० यहाँ तस्कर राज चलेको सीमावर्ती क्षेत्रका स्थानीय बताउँछन्।

मधेस प्रदेशको सप्तरी जिल्लाको सीमा नाका तस्करको उर्वर भूमि बनेको छ। यहाँको विभिन्न नाकाबाट गाँजा, स्याउ, मटर, मरिच, मदिरा, छोकरासहितका सामग्रीको भारत तस्करी फस्टाएको छ। पारिबाट आलु, प्याज, चिनी, दाल, चामल, मोटरपार्ट्सदेखि कस्मेटिक्सलगायत दैनिक उपभोग्य मालबस्तु तस्करी व्यापक छ। सप्तरीको बलान बिहुल गाउँपालिकाको बेल्ही नाकाबाट आलु, प्याज, स्याउ र मदिरा तस्करी व्यापक छ। यो सहितको सीमा नाकाबाट पछिल्लो समय तस्करी व्यापक छ। पातो, छिन्नमस्ता, सोभरणपटी र बेल्ही लगायतका नाकाबाट स्याउ, सुन, सुपारी, मदिरा तस्करीको सुरक्षित नाका मानिन्छ।

सुरक्षाकर्मीको उपस्थिति रहेकै सीमा नाकाबाट तस्करको राज चलेको मधेस प्रदेशको अर्को नामी जिल्ला हो, धनुषा। नाता सम्बन्धका कारण धनुषा र महोत्तरी बाक्लै आउजाउ गर्ने अरजीत यादव भन्छन्, ‘धनुषा र महोत्तरीका सीमानाका अहिले तस्करलाई जिम्मा लगाइदिए जतिकै महसुस हुन्छ।’

यहाँका नाकाबाट प्याज, आलु, चिनी, कपडा, मोटरपार्टस्, पान मसाला, तेल, दाल, चामल, मैदा, कुखुरा, सुर्तीजन्य पदार्थ (रजनीगन्धा, गुट्खा) देखि हरेक सामान भन्सार राजश्व छली गरी भित्रिन्छ। यताबाट (वारिबाट) मदिरा, चाइनिज स्याउ, गाँजा पारि पु¥याइन्छ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सारसँगको त्रिपक्षीय सेटिङमा (लाइन मिलाएर) यहाँ तस्कर राज चलेको बताउने स्थानीय सीमावर्ती क्षेत्रमा प्रशस्त भेटिन्छन्। सुरक्षाकर्मीबाट (घुमुवा) ‘लाइन क्लियर’ रहेको संकेत पाएपछि अन्धाधुन्ध वारिपारि सामान ढुवानी सुरु हुन्छ। सीमादेखि सहरसम्म लाइन क्लियर गर्न मोटरसाइकलमा तस्कर र प्रहरीका प्रतिनिधि (घुमुवा) खटिएका हुन्छन्।

सीमावर्ती क्षेत्रका स्थानीयको सीधा बुझाइ छ सीमादेखि सहरसम्मका प्रहरी तस्करसँग नमिल्ने हो भने भन्सार राजश्व छलेर सामान वारपार गर्ने आट पुग्दैन। पछिल्लो मधेस प्रदेशका धनुषा, महोत्तरी, सप्तरी, सिरहा, रौतहट, सर्लाही, बारा र पर्सा जिल्लाका सीमा नाकामा तस्करी बढिरहेको घटनाक्रमबाट पुष्टि हुन्छ।

सप्तरीको बेल्ही, छिन्नमस्ता, कुनैली, गोबरगाढा, बरसाइन, धनुषाको मैनाथपुर, भररिया, खौना, जटही, इनर्वा, दुहबी, अकौरा, दिबदिहा, खजुरी, महोत्तरीको सम्सी, इटहर्वाकटी, मरुवाही, मटिहानी, जलेश्वर, भिठामोड, सर्लाही पर्सा, रौतहटको बंकुल, सरमुजवा, रामपुरखाप, लक्ष्मनपुर बेलबिचवा, सेरवाब्रहमपुर, बाराको कचोरवा, सिमरौनगढ, बेलदारी, कबही, मटिअर्वा, छतवा, गण्डक र पर्साको इनर्वा, छपकैया, अलौ, अमरपटी, परसौनी, खेस्राहा, सबैठबा, भिस्वा, टिहुकी, मिर्जापुर, जानकी टोला, विजयवस्ती, ठोरी नाकामा तस्करको रजाइँ छ।

यी नाकाबाट पछिल्लो समय मदिरा, चाइनिज स्याउ, सुन, छोकरा पारि तस्करी हुने र पारिबाट आलु, प्याज, धान लगायत दैनिक उपभोग्य सामानसहित लत्ताकपडा र मोटरपार्टस वारि तस्करी हुने गरेको छ। सुरक्षाकर्मी र भन्सार कर्मचारीसँगको सेटिङमा तस्करको संगठित सञ्जालमार्फत सीमा वारिपारि तस्करी फस्टाएको सीमा क्षेत्रवासी बताउँछन्।

तस्करलाई लाइनमा ल्याउन भन्सारका कर्मचारी र राजमार्गतिरका प्रहरीले कहिलेकाहीँ केही सामान समात्ने गरेको पाइन्छ। लाइन मिलेपछि सबै नदेखे झैँ गरेर चुप बस्ने गरेको सीमा क्षेत्रवासी बताउँछन्।

प्रदेश प्रहरी र सशस्त्र प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, प्रहरी चौकी, राष्ट्रिय अनुसन्धानको प्रदेश र जिल्ला कार्यालयका सादा पोशाकका प्रहरी (घुमुवा) सीमा क्षेत्र र सहरमा अखाडा बनाएर तस्करको लाइन मिलाउँछन्।

सीमाबाट सहरका गोदामसम्म तस्करलाई सघाउने काम यीनै घुमुवाहरुले (सशस्त्र, नेपाल र अनुसन्धानका सादा पोसाकधारी) गर्छन्। घुमुवाहरु बारम्बार विवादित भइरहँदा पनि उनीहरुलाई केही समय ब्रेक दिएर पुनः जिम्मेवारमा फर्काइने गरिएको छ।

सशस्त्र प्रहरीका मधेस प्रदेश प्रमुख दीपेन्द्र शाहका अनुसार सशस्त्र प्रहरी तस्करी नियन्त्रणका लागि मात्र परिचालित नभएको बताउँछन्। ‘अन्य निकाय पनि छन्। हामीले थाहा नपाएको ठाउँमा अन्य निकायबाट पनि कारबाही भएका छन्। हामीले थाहा पाएको ठाउँमा हामीले पनि गरेका छौं। तस्करीमा हाम्रो कहीँ कतै मिलेमतो छैन’, शाहले भने।
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ४३ सेकेन्ड अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस