कैलालीको टीकापुर केराखेतीबाट निकै परिचित छ। अन्य उत्पादनभन्दा केराखेतीबाट आकर्षक आम्दानी हुने र बजारीकरणको समस्या नहुँदा टीकापुर केराखेतीको केन्द्रका रूपमा विकसित हुँदै गएको छ।
टीकापुरमा केराखेतीको सुरुआत ज्ञानी शाह र थोमस बर्गिजले गरेको स्थानीय बुढापाका बताउँछन्। त्यसलाई व्यावसायिकरूपमा २०४० सालदेखि कालु हमालले निरन्तरता दिए। उनले थोमस बर्जिजबाट १० बोट हरिखाल जातको केराबाट व्यवसाय सुरु गरेको व्यवसायी हमाल बताउँछन्। केराका लागि सुहाउँदो माटो भएपछि हमालसँगै यतिबेला सयौँ किसानले व्यावसायिक केराखेती गरेका छन्।
'व्यवसायको सुरुआत १० बोट केराबाट भएको हो। त्यसपछि त्यसलाई विस्तार गर्दै लगियो। बीचको समयमा अन्य व्यवसाय गरेँ। त्यसबाट सोचेजस्तो लाभ लिन नसकेपछि त्यो छाडेँ। अन्तिममा केरालाई नै निरन्तरता दिएको हुँ', हमाल भन्छन्,'त्यो बेला म केरा व्यवसाय गर्ने एक्लो थिएँ। अहिले मभन्दा कैयौँ किसान केराखेतीमा अब्बल भएर लाग्नुभएको छ।'हमालले केराखेतीलाई पर्यटन व्यवसायसँग जोडिए। केराको मात्रै परिकार पाइने ‘बननाज रिसोट’ टीकापुरमा प्रसिद्ध छ। यहाँ उत्पादन भएको केराको चिप्स देशभर निर्यात हुन्छ। त्यतिमात्र होइन, टीकापुर आएको व्यक्ति उनको बननाज रिसोर्ट नपुगी फर्कदैनन्।
'मैले लगाउने केरा आफ्नै रिसोर्टका लागि मात्र हो। फेरि मैले स्थानीय जातका केरा लगाउँछु', हमाल भन्छन्, 'अहिले खेतीभन्दा पर्यटन प्रवर्द्धनमा टेवा पुग्न सक्ने काममा मेरो ध्यान छ। उनी राष्ट्रपतिबाट उत्कृष्ट किसानका रूपमा सम्मानित भइसकेका छन्। टीकापुर क्षेत्रमा हाल एक हजार दुई सय बिघा क्षेत्रफलभन्दा बढी जग्गामा केराखेती हुँदै आएको छ। यो वर्ष दुई सय बिघा केराखेती विस्तार भएको व्यवसायी टेकेन्द्र धामी बताउँछन्। 'किसान केराखेतीमा आकर्षित हुँदै गएका छन्। बजारीकरणको समस्या नहुनु, एकपटक खेती गर्दा तीनपटकसम्म आम्दानी हुने भएपछि नोक्सान हुँदैन', धामी बताउँछन्, 'टीकापुरमै सहजरूपमा केराको बेर्ना पाइने तथा सरकारी निकायको सहयोग पनि प्राप्त भएपछि केराखेती फस्टाएको छ।'
किसान धामीले केराको बेर्ना पनि बेच्दै आएका छन्। उनले सात वर्षदेखि टिस्युकल्चर प्रविधिबाट केराको बेर्ना हुर्काएर बिक्री गर्दै आएका हुन्। केही वर्ष पहिले भारतबाट बेर्ना मगाउने धामी अहिले नवलपरासीबाट बेर्ना ल्याएर त्यसलाई माटो सुहाउँदो हावापानीमा हुर्काएर बिक्री गर्छन्। यो वर्ष पनि उनले करिब दुई लाख बिरुवा बिक्री गरिसकेको बताए। 'गत वर्ष तीन लाख बिरुवा बिक्री भएको थियो। यस वर्ष पनि त्योभन्दा बढी बिक्री हुन्छ होला', व्यवसायी धामी भन्छन्, 'केराखेती गर्ने सिजन भर्खर सुरु भएकाले खपत कम देखिएको हो, अझै बढ्छ।'
केराको बजारीकरणका लागि टीकापुरमा समस्या छैन। टीकापुरबाट सबैभन्दा बढी निर्यात हुनेमा केरा हो। टीकापुरमा उत्पादन भएको केरा कैलाली जिल्लासँगै बर्दिया, बाँके, दाङ, रुपन्देही हुँदै पोखरा, काठमाडौँसम्म निर्यात हुने गरेको छ। 'प्राकृतिक विपत्ति नआए केरामा जस्तो राम्रो आम्दानी अन्य क्षेत्रमा छैन। एक बिघामा १० देखि १५ लाखसम्मको केरा उत्पादन गर्न सकिन्छ', व्यवसायी राजकुमार चौधरी भन्छन्, 'बजारीकरणको समस्या छैन, व्यापारी बारीमै आएर नगदमा केरा लिन्छन्।'
केराखेतीका लागि राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले किसानलाई सहयोग गर्दै आएको छ। एकाइले केराको बेर्ना खरिद, मलखाद, विषादी, कृषि उपकरण ५० प्रतिशत अनुदानमा सहयोग गर्दै आएको छ। कार्यान्वयन एकाइका सूचना अधिकारी दिलीपजङ्ग रानाले चालु आर्थिक वर्षमा मात्रै केराखेतीका लागि आयोजनाले रु ६० लाख बजेट विनियोजन गरेको बताए। 'यस वर्ष हाम्रो कमाण्ड क्षेत्रभित्र ६० हेक्टर क्षेत्रफलमा केराखेती विस्तारको लक्ष्य लिएका छौँ। अहिले किसानले केराखेतीका लागि कार्यालयमा आएर सम्झौता गर्ने काम भइरहेकाले कति हुन्छ, यकिन भन्न सकिने अवस्था छैन', सूचना अधिकारी राना भन्छन्।
कृषि कार्यक्रम कार्यान्वयन एकाइले टीकापुरमा विषादीरहित बजारीकरणका लागि केरा पकाउने च्याम्बर पनि निर्माण गरेको छ। जसमा एकाइको रु एक करोड ९० लाख खर्च भएको छ भने उपभोक्ताको रु एक करोड ५० लाख खर्च भएको छ। निर्माण सम्पन्न भएको चार वर्ष हुनलाग्दा पनि च्याम्बर पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन। च्याम्बरमा पकाएको केरा बजार पुर्याउँदासम्म महँगो हुन थालेपछि व्यापारीले केरा किन्न छाड्दा केही महिना सुरु भएको च्याम्बर बन्द भएको हो।
'केरा बजारीकरणमा समस्या भएपछि च्याम्बर बन्द गर्न बाध्य भएका थियौँ। त्यहाँ पकाएको केरा टीकापुर बाहिर पुर्याउन नसकिने, बजारमा बिक्री नहुने भएपछि बन्द भएको हो', च्याम्बर सञ्चालक शिलाकान्त झा भन्छन्, 'अब नयाँ विकल्पका साथ केही दिनमै च्याम्बर सञ्चालनमा ल्याउँछौँ।'
च्याम्बरमा पकाएको केराको बजारीकरण हुन नसके त्यसलाई सुकाएर राख्ने मेसिन च्याम्बर सञ्चालकले जडान गर्न थालेका छन्। सुकाएको केरा छ महिनासम्म राख्न सकिन्छ। त्यसैमा केराका अन्य परिकार तयार गरेर त्यसको बजारीकरणको तयारी भइरहेको झाले बताए। केराका अन्य परिकार तयार पारेर बजारीकरण गर्न सके त्यसबाट टीकापुरलाई केराको हबका रूपमा चिनाउन सकिने व्यवसायी बताउँछन्। रासस
कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ टीकापुरले सात हजार चार सय आठ पशुपन्छीको उपचार गरेको छ। आयोजनाले टीकापुर, लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकाका विभिन्न गाउँमा पशु स्वास्थ्य शिविर सञ्चालन गरी पशुपन्छीको उपचार गरेको हो।
आयोजनाले पशु स्वास्थ्यका हिसाबले उपचार सेवा लिन टाढा रहेका वडा टीकापुर नगरपालिका–४ मौरनीया, वडा नं. ७ दिव्यपुर, जानकी गाउँपालिका वडा नं. २ बडरिया, वडा नं. ६ जगतपुर र लम्की चुहा ७ चाङ्गावाणीमा पशु स्वास्थ्य शिविर सञ्चालन गरेको हो। शिविरमा उपचारसँगै आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको थियो।
टीकापुर–४ मा भएको पशु स्वास्थ्य शिविरमा ९३ गाईभैँसी, चार सय ६८ भेडाबाख्रा, २४ बङ्गुर, एक हजार चार कुखुरा, नौ कुकुरको उपचार गरिएको छ। त्यस्तै टीकापुर–७ मा दिव्यपुरमा भएको शिविरमा ६७ गाईभैँसी, तीन सय ४४ भेडाबाख्रा, १७ बङ्गुर, नौ सय ८३ कुखुराको उपचार गरिएको छ।
जानकी–२ बडरियामा ६६ गाईभैँसी, छ सय ९३ भेडाबाख्रा, १५ बङ्गुर, दुई सय ७९ कुखुराको उपचार गरिएको छ। जानकी–६ जगतपुरमा एक सय ४९ गाईभैँसी, छ सय ४८ भेडाबाख्रा, ५४ बङ्गुर, एक हजार छ सय ४४ कुखुरा, २४ बिरालोको उपचार गरिएको पशु स्वास्थ्य प्राविधिक पुष्पराज भारतीले जानकारी दिए।
भारतीका अनुसार लम्कीचुहा नगरपालिकाको चाङ्गावाणीमा भएको शिविरमा ७८ गाई भँैसी, तीन सय ५५ भेडा बाख्रा, चार सय ३२ कुखुरा, सात कुकुर बिरालाको उपचार गरिएको हो। ‘पाँचवटै स्थानमा गरी चार सय ६२ गाईभैँसी, दुई हजार पाँच सय ४२ भेडाबाख्रा, एक सय २२ बङ्गुर, चार हजार तीन सय ४२ कुखुरा हाँस र ४० कुकुर बिरालोको उपचार गरिएको छ’, उनले भने, ‘पशुपालक किसानलाई गाउँमै सेवा दिने उद्देश्यले उपचारका लागि विकट रहेका वडामा शिविर आयोजना गरेका हौँ। शिविरले किसानलाई धेरै लाभ भएको छ।’
पाँच दिनसम्म चलेको पशु स्वास्थ्य शिविरमा छ सय २५ किसानले सेवा लिएका हुन्। आयोजनाले ग्रामीण क्षेत्रमा रहेका किसानलाई पशुपन्छीको उपचारमा सहजताका लागि गाउँगाउँमा गएर स्वास्थ्य सेवा दिएको हो। कार्यक्रममा पशु चिकित्सक डाक्टर निराजन चौधरीसहित टीकापुर, लम्कीचुहा र जानकी तीनवटै पालिकाका प्राविधिकले उपचारमा सघाएका हुन्।
पशु प्राविधिक भारतीले हरेक वडाका वडाध्यक्षसँगको समन्वयमा कार्यक्रम गरिएको, शिविर आयोजना गर्दा जनप्रतिनिधि र बडघरको सहयोगमा गाउँका किसानले स्थानीयस्तरमै सेवा पाएका बताए। पशुमा स्वास्थ्य समस्या भएमा टाढा लगेर उपचार गर्नुपर्ने वा निजी एग्रोभेटका प्राविधिक घरमा लैजाँदा खर्चिलो उपचार गर्दै आएका स्थानीय गाउँमै उपचार पाएपछि खुसी भएका छन्। टीकापुर–७ बेलुका किसान फुलराम चौधरीको सपना कृषि फर्म छ। उनले गाउँमै पशु स्वास्थ्य शिविर आयोजना भएपछि १० भैँसी र पाँच बाख्राको स्वास्थ्य परीक्षण गरेका हुन्।
‘समय समयमा यस्ता खाले शिविर आयोजना गर्नुपर्छ। मैले पनि गाउँमै पशुको उपचार सेवा पाउँदा खुसी लागेको छ। पशुपन्छीमा समस्या भए टाढा टीकापुर लैजानुपर्ने समस्या हुन्छ, नभए निजी पशु प्राविधिक घरमै ल्याउनुपर्छ’, उनले भने, ‘यसरी गर्दा समय र खर्च महँगो हुन्छ । गाउँमै सेवा पाउँदा सबै किसान खुसी भएका छौँ।’ रासस
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...