२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सरकारले ६ महिनामा तिर्‍यो एक खर्ब बढी सार्वजनिक ऋण

सरकारले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा सार्वजनिक ऋणको सावाँ र ब्याज गरेर मात्रै एक खर्ब १६ अर्ब ५८ करोड रुपैयाँ भुक्तानी गरेको छ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको अर्धवार्षिक प्रतिवेदन अनुसार चालु आवको ६ महिनाको अवधिमा आन्तरिक र बाह्यतर्फको ऋण र ब्याजसहित एकमुष्ट एक खर्ब १६ अर्ब रुपैयाँ भुक्तानी गरेको हो।

सरकारले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा आन्तरिक र बाह्यतर्फ सावाँतर्फ भुक्तानी ७७ अर्ब ४५ करोड रुपैयाँ भुक्तानी गर्‍यो। चालु आवकै ६ महिनाको अवधिमा आन्तरिक र बाह्यको ब्याज मात्रै भुक्तानी ३९ अर्ब १२ करोड रहेको थियो।

सरकारले चालु आवको ६ महिनाको अवधिमा आन्तरिक ऋणतर्फ साँवा ५९ अर्ब ३७ करोड र ब्याज ३४ अर्ब १९ करोड गरी जम्मा ९३ अर्ब ५६ करोड भुक्तानी गरेको छ।

सरकारले बाह्य ऋणतर्फ साँवा १८ अर्ब ७ करोड र ब्याजतर्फ चार अर्ब ९३ करोड गरी जम्मा २३ अर्ब १ करोड रुपैयाँ भुक्तानी गरेको अर्थ मन्त्रालयले जनाएको छ।

‘विगत केही वर्षहरूदेखि राजस्व परिचालन लक्ष्य अनुसार हुन नसकेको, वैदेशिक अनुदानको अंश घट्दै गएको जस्ता कारणले वार्षिक बजेटमा आन्तरिक ऋण परिचालनको हिस्सा बढ्दै गएको छ,’ अर्थ मन्त्रालयको अर्धवार्षिक प्रतिवेदनमा भनिएको छ, ‘चालु आर्थिक वर्षमा नेपाल सरकारले उद्घोष गरेका नीति तथा कार्यक्रम कार्यान्वयनका लागि दुई खर्ब ४० अर्ब बराबरको आन्तरिक ऋण परिचालन गर्ने लक्ष्य लिएको छ।’

यो कुल बजेटको १३.७ प्रतिशत हो। यस अर्धवार्षिक अवधिसम्म १ खर्ब २८ अर्ब ३१ करोड आन्तरिक ऋण परिचालन भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा आन्तरिक ऋण परिचालन ३० अर्ब रहेको थियो। यस अवधिमा खुद आन्तरिक ऋण निष्कासन साँवा भुक्तानी भन्दा एक अर्ब ७३ करोडले बढी रहेको छ।

‘राजस्व परिचालन लक्ष्य भन्दा न्यून रहेको, वैदेशिक ऋण र अनुदान लक्ष्य बमोजिम प्राप्त गर्न नसक्नु र राजस्वको तुलनामा खर्च अधिक रहेको हुँदा स्रोत व्यवस्थापन गर्न गत आर्थिक वर्षको तुलनामा आन्तरिक ऋण परिचालनको आकार चालु आर्थिक वर्षको यस अवधिमा बढ्न गएको छ।’ अर्थ मन्त्रालयले अर्थ वार्षिक प्रतिवेदनमा भनिएको छ।

विगत तीन वर्षको पुस मसान्तसम्म निष्कासित ऋणपत्रको विवरण

अर्थ मन्त्रालयका सरकारले परिचालन गरेको कुल एक खर्ब २८ अर्ब ३१ करोड आन्तरिक ऋणमध्ये १५ अर्ब ट्रेजरी बिल रहेको छ।

जसमध्ये पाँच अर्ब ३६४ दिने,  सात अर्ब १८२ दिने र तीन अर्ब ९१ दिने ट्रेजरी बिल रहेका छन्। 

त्यसैगरी एक अर्ब १३ अर्ब ३१ करोडको विकास ऋणपत्र रहेका छन्। गत आर्थिक वर्षको ६ महिनाको अवधिमा आन्तरिक ऋणतर्फ १५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल र विकास ऋणपत्रतर्फ १५ अर्ब निष्कासन भएको थियो।

प्रकाशित: ३ फाल्गुन २०८० १८:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App