२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

तेस्रो पटक म्याद थप्दा पनि बनेन नेपालगन्ज सिटी हल

निर्माणाधीन नेपालगन्ज सिटी हल। अर्जुन ओली/नागरिक

संघीय सरकारले निर्माण गर्न लागेको नेपालगन्ज सिटी हल निर्माणमा ढिलाई भएको छ।

नेपाल सरकारको सङ्घीय आयोजना कार्यान्वयन इकाई कार्यालय नेपालगन्जले सिटी हल निर्माण गर्न ५ वर्षअघि २०७५ माघ २५ गते ठेकेदार कम्पनीसँग सम्झौता गरेर काम अगाडी बढाएको थियो। निर्माणका लागि ठेकेदार कम्पनी लामा कन्स्ट्रक्सन प्रा.लिई.ले मूल्य अभिवृद्धि कर बाहेक २९ करोड ४५ लाख ५५ हजार ९ सय ५१ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ भवानीयापुरमा २०७८ साउन २५ गतेभित्र काम सम्पन्न गरिसक्नुपर्नेमा कम्पनीले अहिलेसम्म तेस्रो पटक म्याद थप गरिसकेको छ। पछिल्लो पटक थप भएको म्याद अनुसार २०८० चैत मसान्तभित्र ठेकेदार कम्पनीले काम सम्पन्न गर्नुपर्ने थियो। तेस्रो पटक तोकिएको अवधिभित्र पनि काम सम्पन्न नहुने भएपछि २०८१ असार मसान्तभित्र सम्पन्न गर्ने गरी पुनः चौथो पटकका लागि म्याद थप गर्न कम्पनीले प्रस्ताव गरेको छ।

कार्यालयका अनुसार अहिलेसम्म ठेकेदार कम्पनीले ८५ प्रतिशत मात्र काम सम्पन्न गरेको छ। सङ्घीय आयोजना कार्यान्वयन इकाई कार्यालय नेपालगन्जका निमित्त प्रमुख विजय केशर खनालले भौतिक पूर्वाधार निर्माणको काम करिब सम्पन्न भईसकेपनि ‘फिनिसिङ’ को काम चलिरहेको बताए। उनका अनुसार भवनमा कुल ७ सय ९५ सिट क्षमताको ठुलो हलसहित अन्य चार वटा साना हल, प्रशासनिक कक्ष, पार्किङ लगायत पूर्वाधार निर्माण गरिएको छ।

निर्माणको काम अनुसार अहिलेसम्म ठेकेदार कम्पनीलाई सम्झौताको ८० प्रतिशत रकम भुक्तानी गरिएको कार्यालय प्रमुख खनालले जानकारी दिए। ‘नेपालगन्ज सिटी हलमा ठेक्का लागेर पनि जुन बेला काम सुरु भयो, कोरोना महामारीले गर्दा बिचमा काम रोकियो, त्यसले गर्दा पनि काम पछाडि धकेलियो,’ खनालले नागरिकसँग भने ‘अर्को कुरा काम गर्ने क्रममा केही जटिलताहरू पनि आयो, केहीको पुर्नडिजाईन गर्नुपर्ने भएको हुँदा पुनः ‘भेरियसन’ गर्नुपर्ने भएकाले त्यसले पनि कामलाई पछाडि धकेल्यो।’ आगामी असार मसान्तभित्र सम्पूर्ण काम सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीले अहिले फिनिसिङको काम गरिरहेको उनले सुनाए। खनालले थपे, ‘सार्वजनिक खरिद नियमावलीको १३ औं संशोधन अनुसार आगामी असार मसान्तसम्म म्याद थप गर्नका लागि प्रस्ताव गर्दैछौं।’

ठेकेदार कम्पनीका प्रतिनिधि खेम बडुले कोरोना महामारीसँगै केही पूर्वाधारमा ‘पुर्नडिजाईन’ गर्नुपर्ने भएकाले तोकिएको समयमा काम सम्पन्न गर्न नसकिएको सुनाए। ‘पहिलो त कोरोना महामारीका कारण हामीलाई काम गर्न कठिनाइ भयो, दोस्रो कुरा पहिलेको डिजाइनमा केही त्रुटि भएपछि आयोजना कार्यालयले पुर्नडिजाईन गरेर हामीलाई नक्सा दिँदा त्यसको असर निर्माणको काममा पर्‍यो,’ बडुले टेलिफोनमा भने।

सिटी हल निर्माण सम्पन्न भएपछि नेपालगन्जमा ठुलो क्षमताका कार्यक्रम गर्न सहज हुने विश्वास गरिएको छ। ठुलो क्षमताको हल नहुँदा कतिपय कार्यक्रमहरू यहाँका होटलमा हुने गरेका छन्। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ स्थित कारकाँदोमा यसअघि उक्त सिटी हल निर्माण गर्ने निकै चर्चा चलेको थियो। नेपालगन्ज उद्योग वाणिज्य संघले सिटी हल निर्माण सहयोगार्थ भन्दै पटक पटक महोत्सव समेत चलाएको थियो। नेपाल सरकार सडक विभागको नाममा रहेको जग्गा भोगाधिकार प्राप्त सरकारी जमिनमा सिटी हल निर्माण गर्ने तयारी हुँदै गर्दा तत्कालीन सरकारले भोगाधिकारको निर्णय नै खारेज गरेपछि नयाँ ठाउँमा जग्गा खोज्न सुरु गरिएको थियो।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ भवानीयापुरमा सरकारी जमिन रहेको पत्ता लागेपछि तत्कालीन मन्त्री मोहम्मद ईस्तियाक राईको पालामा शहरी विकास मन्त्रालयले उक्त ठाउँमा सिटी हल निर्माणको काम सुरु गरेको थियो। सिटी हल निर्माण स्थल भने नेपालगन्ज बजारभन्दा टाढा नेपाल–भारत सीमा नजिक पर्दछ।

प्रकाशित: २७ चैत्र २०८० १८:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App