१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

किन महँगियो चकलेट ?

यस्तो पनि

शताब्दिऔँदेखि डार्क चकलेट रुचाइँदै आइएको छ तर गएको फेब्रुअरी यता यसको मूल्य यति बढेको छ कि यसको मिठास तिक्ततापूर्ण बन्न पुगेको छ। चकलेट बनाउन प्रयोग हुने कोको फलको मूल्य प्रति टन अमेरिकामा दोब्बर हुन पुगेको छ। अहिले यसको मूल्य ५ हजार ८ सय ७४ डलर छ।

आखिर डार्क चकलेट यति किन मन पराइन्छ ? चकलेट इतिहास अध्ययन गरिरहेकी रेडिङ विश्वविद्यालयकी प्राध्यापक केटी स्यामप्याक अनुसार, चार हजार वर्ष पहिले अमेजनको ज·ल क्षेत्रमा पर्ने इक्वेडर र भेनेजुएलाका रुख पाइएको थियो। पछि ती रुख मेक्सिको र मध्य अमेरिकामा रोप्न थालियो। ‘पहिले कोको फलको रस निचोरेर पिउने गरिन्थ्यो। पछि यसको फल बिउका रूपमा प्रयोग गर्न थालियो र खाद्य सामग्री बन्न पुग्यो,’ केटी भन्छिन्, ‘यो फल पछि मन्दिरहरूमा चढाउन थालियो। माया सभ्यताका केही शिलालेखमा कोको खाँदाका फाइदाका बारेमा बयान गरिएको छ। चौथो शताब्दीतिर त यो यति महत्वपूर्ण हुन पुग्यो कि यसको बिउले मुद्राझैँ काम गर्न थाल्यो। एक समय त एल साल्भाडोर संसारकै सबैभन्दा बढी कोको निर्यात गर्ने मुलुक बन्यो।’

पछिल्लो समय जलवायु परिवर्तनका कारण कोको उत्पादनको समय छोटो हुँदै जान थालेको छ। ५० वर्षअघि किसानले फेब्रअुरीमा बिरुवा रोप्थे तर अचेल मेसम्म प्रतीक्षा गरिन्छ। छोटो सिजन भएकाले किसानले राम्रोसँग काम गर्न सकिरहेका छैनन् भन्ने जलवायु विज्ञहरूको धारणा छ। पर्यावरण विज्ञहरूको अनुसार अबका केही दिनमा अझ बढी खडेरी पर्ने सम्भावना छ। ठूला उत्पादक छैनन् र साना किसानले उत्पादन गर्ने हुनाले उनीहरूले व्यवस्थित उत्पादन गर्न सकिरहेका छैनन्। उत्पादकत्व बढाउन घानाले कोको उद्योग नियन्त्रण बोर्ड बनाएको छ र किसानलाई सित्तैमा बिरुवा र खाद दिने गरेको छ। उत्पादित सारा कोको बोर्डले किन्छ। बोर्डले नै यसको मूल्य तय गर्छ।

संसारमा सबैभन्दा बढी कोको किन्ने देशहरूमा नेदरल्याण्ड्स, जर्मनी र अमेरिका हुन्। यसको कुल व्यापार २० अर्ब डलरको छ। यसको आधा भाग चकलेट बनाउन प्रयोग गरिन्छ। चकलेट उद्योगको एक सय अर्ब डलरको बजार छ। सन् २०२६ सम्म यसको बजार बढेर १८९ अर्ब डलर पुग्ने अनुमान गरिएको छ। कोको उत्पादन कम हुनेबित्तिकै यसको मूल्य ह्वात्तै बढेको छ–एक वर्षमै १६३ प्रतिशतले।

प्रकाशित: ५ वैशाख २०८१ ०६:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App