२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

नेपाल-कतार संयुक्त वाणिज्य परिषद् स्थापना

नेपाल र कतारका निजीक्षेत्र सम्मिलित नेपाल कतार संयुक्त वाणिज्य परिषद् स्थापना भएको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खलिफा विन जसिम अल थानीले नेतृत्व गर्ने परिषद् स्थापनाका लागि बुधबार दुवै चेम्बरबीच सम्झौता भएको हो।

कतारका अमीर शेख तमीम विन हमाद अल थानी र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा महासंघ अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष शेख खलिफा बिन जसिम अल थानीले सम्झौतामा हस्ताक्षर गरेका छन्। परिषद्ले व्यापार विस्तार, लगानी प्रवर्द्धन, प्रविधि हस्तान्तरण, पर्यटन प्रवर्द्धनका क्षेत्रमा काम गर्नेछ।

तीव्र आर्थिक वृद्धि भैरहेको खाडी मुलुक कतारसँग संवादका लागि परिषद् स्थायी संयन्त्र बनेको छ। संयुक्त वाणिज्य परिषद्को उद्देश्य कतार र नेपालका निजी क्षेत्रबीच सहकार्य र समझदारी बढाउनु हो।

नेपालीहरूको कामको गन्तव्यका रूपमा चिनिँदै आएको कतारको लगानी आकर्षित गर्न र व्यापार विस्तार गर्न परिषद्ले प्रभावकारी भूमिका खेल्नेछ। खाडी मुलुकमा कृषिजन्य उत्पादन, पानी, जडिबुटी, मसला र मसलाजन्य वस्तु लगायतको अत्यधिक माग छ।

तीव्र आर्थिक विस्तारका कारण कतार लगानी गन्तव्यका रूपमा रहेको हुँदा नेपालमा लगानी आकर्षित गर्न परिषद्ले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ। यसैगरी पर्यटन प्रवर्द्धनका क्षेत्रमा पनि परिषद्ले काम गर्नेछ।

परिषद् स्थापनापछि दुई चेम्बरबीचको सहकार्य थप प्रगाढ भएको र यसले लगानी र व्यापार विस्तारमा सहयोग पुग्ने धारणा दुवै अध्यक्षले राखेका थिए। ‘यस सम्झौताले अगामी दिनमा सहकार्यलाई थप बढाउनेछ,’ कतार चेम्बरका अध्यक्ष शेख खलिफा विन जसिम अल थानीले भने।

महासंघका अध्यक्ष ढकालले परिषदमार्फत थप सहकार्यका लागि थप काम गरिने बताए। ‘कतारको तीव्र आर्थिक विकासबाट फाइदा लिन परिषद्ले निरन्तर काम गर्नेछ,’ ढकालले भने । परिषद्को स्थापनापछि नेपालको जल विद्युत्, पर्यटन पूर्वाधार, सूचना प्रविधि र कृषि प्रशोधनका क्षेत्रमा लगानी बढाउन सहज हुने ढकालले बताए।

त्यस्तै महासंघ र कतार चेम्बरबीचको समझदारी पनि नवीकरण भएको छ। नयाँ समझदारीपत्रमा महासंघ अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष शेख खलिफा विन जसिम अल थानीले हस्ताक्षर गरेका थिए।

प्रकाशित: १३ वैशाख २०८१ ०९:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App