२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

चार अर्बको चिया निर्यात, उत्पादन सामान्य वृद्धि

वैशाख १४ गत आर्थिक वर्ष २०७९/०८० को अवधिमा नेपालबाट झन्डै ४ अर्ब रुपैयाँ बराबर चिया निर्यात भएको छ। 

उक्त अवधिमा १ करोड ६५ लाख केजी चिया निर्यातबाट ३ अर्ब ९४ लाख रुपैयाँ आर्जन भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ। २८ औँ राष्ट्रिय चिया दिवसको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनका अवसरमा बोर्डका निमित्त कार्यकारी निर्देशक डा. दीपक खनालले यस्तो बताएका हुन्। 

उनले गत आव २०७९/०८० मा कुल २० हजार २३० हेक्टर जमिनमा चिया उत्पादन भएको जानकारी दिए। सो अवधिमा २ करोड ६४ लाख केजी चिया उत्पादन भएको उनले बताए। जुन अघिल्लो वर्ष २०७८/०७९ को तुलनामा २२ हजार ४४९ केजी चिया उत्पादन बढी हो। सो आवमा २ करोड ३७ लाख चिया उत्पादन भएको बोर्डले जनाएको छ। 

 बोर्डका अनुसार, गत आवमा भने चिया उत्पादन हुने क्षेत्रफल पनि सामान्य घटेको छ। चियाका बगानहरू धेरै पुराना भएका कारण चिया उत्पादन क्षेत्र ७ हेक्टरले घटेको छ। आव २०७८/०७९ मा २० हजार २३७ हेक्टर क्षेत्रफलमा चिया उत्पादन भएकोमा गत आवमा २० हजार २३० हेक्टरमा मात्र चिया उत्पादन भएको हो । नेपाल निर्यात गर्नेमध्ये ९७.८० प्रतिशत चिया निकासी भारतमा नै हुने गरेको छ। 

तर, केही हप्ता अघि भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको निर्यात रोक्दा काँकडभिट्टाबाट जाँच पास भएर भारतीय सीमावर्ती पानी टङ्की नाका पुगेका १७ ट्रक तयारी चिया अलपत्र परेको थियो। राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, मेची भन्सार कार्यालय, चियाका वस्तुगत सङ्घसंस्थाहरू एवं व्यवसायीहरूको संयुक्त पहलमा तत्कालका लागि भारतीय अवरोध हटेर हाललाई ती १७ वटा ट्रक छुटाएका खनालले बताए। 

तर, विगतमा पनि भारतीय पक्षबाट यस्ता अवरोधहरू भई नै रहेकाले भविष्यमा फेरी विभिन्न बहानामा नेपाली चियाको निकासी रोक्ने सम्भावना रहेको उनले बताए। बोर्डले वैशाख १५ गते २८ औँ राष्ट्रिय चिया दिवस मनाउँदै छ। ‘कृषि, पर्यटन र औद्योगिकीकरण, नेपाली चियाको दिगो बजारीकरण’ भन्ने मूल नाराका साथ बोर्डले केन्द्रीय कार्यालय कीर्तिपुर चिया दिवसको मूल समारोह आयोजना गर्दै छ। उक्त समारोहको कृषि तथा पशुपन्छी मन्त्री ज्वालाकुमारी साहले उद्घाटन गर्ने कार्यक्रम रहेको बोर्डले जनाएको छ। 

चिया दिवसका अवसरमा उत्कृष्ट चिया उत्पादक किसान, सप्लायर्स, चिया उत्पादक कम्पनी तथा सङ्घसंस्थालाई सम्मान गर्ने कार्यक्रम रहेको बोर्डले जनाएको छ।

प्रकाशित: १४ वैशाख २०८१ १५:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App