१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

लगानी सम्मेलनमा ६० देशका प्रतिनिधि : लगानीकर्तालाई भरोसा दिलाउने प्रयास

काठमाडौंमा आइतबार दुई दिवसीय तेस्रो लगानी सम्मेलन उद्घाटन समारोहमा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री वर्षमान पुनलगायत स्वदेशी तथा विदेशी विशिष्ट प्रतिनिधि। तस्बिर : रासस

विदेशी लगानी आकर्षित गर्न सरकारले आयोजना गरेको तेस्रो लगानी सम्मेलन आइतबार काठमाडौंमा सुरु भएको छ। सम्मेलनमा ६० देशबाट ६८० सहित २१ सय ६३ प्रतिनिधि सहभागी छन्।

‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ मा सहभागी हुन आएका विदेशी लगानीकर्तालाई प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवादेखि निजी क्षेत्रका अगुवाले नेपालमा लगानी गर्न आह्वान गरे। उनीहरूले नेपालमा लगानीका लागि आवश्यक कानुन संशोधन गरेर वातावरण तयार गरेको बताउँदै विदेशी लगानीकर्तालाई विश्वासमा लिने प्रयास गरे।

कम्युनिस्ट नेतृत्वको सरकारमा कतिपय लगानीकर्ता सशंकित हुने गरेकोमा प्रधानमन्त्री दाहालले नेपाल उदार आर्थिक नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पार्दै लगानी सुरक्षित गर्ने प्रतिबद्धता जनाए। उनले नेपाल उदार आर्थिक नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको बताउँदै नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह गरे।

नेपाल लगानीको उपयुक्त गन्तव्य भएको बताउँदै उनले त्यसका लागि अवसरलाई सदुपयोग गरेर फाइदा लिन आग्रह गरे। ‘नेपालले अवलम्बन गरेका उदार नीतिहरूले विदेशी लगानीलाई प्रोत्साहन गर्छ,’ उनले भने, ‘नेपालमा लगानीमैत्री वातावरण सिर्जना भएको छ।’

नेपालमा लगानी गरेर नाफा लैजान सक्ने धारणा उनले राखे। ‘नेपालमा लगानी गरेर विदेशी मुद्रामा नाफा फिर्ता लैजान पाउने सुनिश्चितता गरेका छौं,’ उनले भने, ‘विदेशी र स्वदेशी लगानीकर्तालाई कुनै पनि भेदभावपूर्ण व्यवहार गरिँदैन।’

पर्यटन, कृषि उत्पादन, सूचना  प्रविधि, गार्मेन्ट, कृषि प्रशोधन र पूर्वाधारलगायतमा लगानीका अवसरहरू रहेको उनले बताए। नेपालले विदेशी लगानीकर्तालाई सबल नियामक ढाँचा, दोहोरो करबाट बच्ने व्यवस्था, बौद्धिक सम्पत्ति अधिकारको संरक्षण, प्रतिस्पर्धात्मक कर्पोरेट करलगायत धेरै प्रोत्साहन प्रदान गर्ने नीति लिएको उनको भनाइ थियो।

‘सरकारले हालै द्विपक्षीय लगानी सम्झौताको ढाँचालाई स्वीकृत गरेको छ,’ प्रधानमन्त्री दाहालले भने, ‘कानुन सुधार गरेर द्विपक्षीय लगानीको संरक्षण र प्रवर्धन गर्ने लक्ष्य लिएका छौं।’ प्रधानमन्त्री दाहालले द्विपक्षीय लगानी सम्झौतामा हस्ताक्षर गर्न आग्रह गरे।

भारत र चीनका बीचमा रहेको नेपाल रणनीतिक रूपमा पनि लगानीका लागि उपयुक्त गन्तव्य भएको बताउँदै उनले क्षेत्रीय सम्झौताहरू साफ्टा/बिम्स्टेक र स्वतन्त्र व्यापार व्यवस्थाद्वारा द्विपक्षीय र क्षेत्रीय बजारहरू सुनिश्चित भएको दाबी गरे।

अन्तर्राष्ट्रिय निजी लगानीकर्तालाई सहज तुल्याउन उद्योग विभागले ६ अर्ब रूपैयाँभन्दा कमको लगानी अनुमोदन गर्ने र लगानी बोर्ड नेपालले ६ अर्ब रूपैयाँभन्दा बढीको लगानी आयोजनाको स्वीकृत दिने उनले स्पष्ट पारे।

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीका लागि कर नीति र मुनाफा लैजान सक्ने भएकाले लगानी गर्न आग्रह गरे। नेपालमा लगानी गरे विदेशी लगानी अन्तर्राष्ट्रिय सन्धिद्वारा सुरक्षित रहने उनले बताए।

देउवाले जनसांख्यिक लाभ, बिजुलीको भरपर्दो आपूर्ति, स्थानीय कच्चा पदार्थको उपलब्धता, कम ज्याला भएकाले पनि लगानीकर्ताका लागि अवसर रहेको बताए। नेपालले विदेशी लगानीकर्ताप्रति भेदभावपूर्ण नीति नअपनाउने उनले स्पष्ट पारे।

‘लगानीकर्ताहरूलाई समान व्यवहार गरिन्छ,’ उनले भने, ‘नेपालमा वैदेशिक लगानी नाफामुखी रहेको छ।’ नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीले वर्षौंदेखि राम्रो लाभांश लगेको उनले बताए। सन् १९९० मा कांग्रेसकै सरकारले अर्थतन्त्रलाई उदारीकरण, निजी क्षेत्रलाई आमन्त्रण र विदेशी लगानीका लागि अनुकूल वातावरण सिर्जना गरेको उनको दाबी थियो।

सम्मेलनमा अर्थमन्त्री वर्षमान पुनले पनि विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरे। नेपालमा लगानी गरेका लगानीकर्ताले सफलतासँगै नाफा प्राप्त गरेकाले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उनको भनाइ थियो। ‘विदेशी लगानीकर्ताले प्राप्त गरेको सफलता र नाफा आर्जन गरेको अवस्थाले पनि नेपाल लगानीको उत्कृष्ट गन्तव्य रहेको पुष्टि हुन्छ,’ उनले भने, ‘ढुक्क भएर लगानी गर्नुहोस्।’

नेपालले औद्योगिक विकास, पूर्वाधार विकास, रोजगारी सिर्जना, निर्यात प्रवर्धनका साथै ज्ञान, सीप र प्रविधि हस्तान्तरणका लागि उत्प्रेरकका रूपमा विदेशी लगानीलाई स्वागत गर्ने उनले बताए। ‘सरकार स्वदेशी तथा विदेशी लगानीकर्तासँग साझेदारीमार्फत सहकार्य गर्न प्रतिबद्ध छ,’ उनले भने, ‘नेपालको प्रचुर लगानीको सम्भावनालाई उजागर गर्न र दिगो आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सम्मेलन कोसेढुंगा साबित हुनेछ।’

व्यावसायिक वातावरण सुधार गर्ने र लगानीकर्ताको विश्वास बढाउने उद्देश्यले नीतिगत सुधार गरेको पनि मन्त्री पुनले बताए।

‘नीतिगत र व्यवसाय सुरु गर्दा लाग्ने प्रक्रियागत झन्झटमा सुधार, सार्वजनिक शासनमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गरिएको छ,’ उनले भने, ‘आगामी दिनमा पनि यस प्रक्रियालाई निरन्तरता दिइनेछ।’

अर्थमन्त्री पुनले सम्मेलनका क्रममा लगानीकर्ता र सरोकारवालाबीच धेरै सम्झौता र समझदारीका साथै परियोजना विकास र व्यवस्थापनसम्बन्धी सम्झौता हुने विश्वास व्यक्त गरे। नेपालका आर्थिक सूचकहरू स्थिर र सकारात्मक बन्दै गएको भन्दै नेपालले पछिल्लो समय स्वच्छ ऊर्जा, पर्यटन, सूचना प्रविधि, कृषि र कृषिमा आधारित उद्योगका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको उनले दाबी गरे।

उच्च आर्थिक वृद्धिको लक्ष्य छुन आन्तरिक लगानी र बजार मात्र पर्याप्त नरहेकाले नेपालले विदेशी लगानी प्रवद्र्धनमा जोड दिएको उनको भनाइ थियो। अर्थमन्त्री पुनले नौवटा कानुनमा संशोधन गरेर कानुनी आधार तयार गरेको दाबी गरे। लगानीको वातावरणका लागि सुधारप्रति नेपाल दृढ प्रतिबद्ध रहेको उनको भनाइ थियो।

‘देशको व्यावसायिक वातावरण सुधार गर्न काम गरिरहेका छौं,’ उनले भने, ‘सरकारले करसम्बन्धी कानुनलाई थप लगानीमैत्री बनाउँदैछ।’ अर्थमन्त्री पुनले नेपालको कर प्रणाली अन्तर्राष्ट्रिय मापदण्डसँग मिल्दो रहेको बताए। उनका अनुसार नेपालले केही देशसँग द्विपक्षीय लगानी र दोहोरो कर परित्यागको सम्झौता गरिएको छ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालमा लगानीका लागि सहज वातावरण बन्दै गएकाले लगानी गर्न आग्रह गरे। नेपालमा पर्यटन, ऊर्जा, पूर्वाधार, कृषि, सूचना प्रविधिलगायत क्षेत्रमा लगानीको अवसर रहेको बताए।

विश्वका उदाउँदा ठुला अर्थतन्त्र चीन र भारतका बीचमा रहेकाले दुई देशको बजार, पर्यटन र विकासको फाइदा लिन सकिने धारणा राखे। ‘लगानीका लागि बाधक रहेका केही कानुन संशोधन भएको छ,’ ढकालले भने, ‘मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध देखिएको छ।’ नेपालमा लगानी गर्न इच्छुक लगानीकर्तासँग नेपालको निजी क्षेत्र सहकार्य गर्न तयार रहेको उनले बताए।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालको पर्यटन क्षेत्र, सूचना प्रविधि र जलविद्युत् क्षेत्र पनि लगानीका लागि अवसर रहेको बताए। जलविद्युत् क्षेत्रलाई नेपालमा लगानीको प्रचुर सम्भावना रहेको उनको भनाइ थियो।

नेपालमा सूचना प्रविधि, शिक्षा, स्वास्थ्य सेवा, चिया, घरजग्गा र कपडालगायत विविध क्षेत्रमा लगानी गर्न सकिने उनले बताए। नेपालमा लगानीको वातावरण बनाउन सरकारले नीतिगत र कानुनी सुधारको प्रयास गरेकाले लगानीका लागि अवसर रहेको उनले स्पष्ट पारे। ‘लगानीको अनुकूल वातावरण निर्माण गर्न सरकारको प्रतिबद्धतालाई देखिन्छ,’ उनले भने।

त्यसैगरी नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालको आर्थिक रूपान्तरणका लागि लगानीको वातावरण बन्दै गएकाले लगानी गर्न आग्रह गरे। उनले नेपालको आर्थिक विकासको आकांक्षालाई पूरा लगानीका लागि पर्याप्त सम्भावना रहेको धारणा राखे। नेपालमा लगानी गरे उत्पादित वस्तु तथा सेवाका लागि बजार खोज्न समस्या नरहेको उनको भनाइ थियो।

लगानी सम्मेलनको एक सत्रमा बोल्दै महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञवालीले नेपालमा लगानीको प्रशस्त अवसर रहेको बताइन्। उनले नेपालमा ई–कमर्स, डिजिटल सूचना प्रविधि, जडीबुटी, पर्यटन, सूचना प्रविधिदेखि डिजिटल सूचना प्रविधिको विकासका प्रशस्त सम्भावना रहेको बताएकी हुन्।

‘नेपाल प्राकृतिक स्रोतसाधन, हरियाली, जैविक विविधता र उर्वर माटोका हिसाबले धनी छ। यसले नेपालमा जडीबुटी, पर्यटन, कृषि तथा टेक्सटायल उद्योगमा यथेष्ट सम्भावना रहेको छ,’ उनले भनिन्। ज्ञवालीले यी सम्भावित क्षेत्रमा नवीनताको विकास गर्न तथा अन्तर्राष्ट्रिय लगानीकर्तासँग सहकार्य गर्न नेपाल तयार रहेको बताइन्। नेपालका प्रतिभाशाली युवाले सूचना प्रविधि र ई–कमर्सको क्षेत्रमा विश्वलाई आउटसोर्सिङ सेवा दिन सक्ने उनको तर्क थियो।

यसैगरी अध्यक्ष ज्ञवालीले सार्वजनिक–निजी क्षेत्रको सहकार्य र विदेशी लगानीले नेपालको दिगो आर्थिक विकास हुन सक्ने धारणा राखिन्। विश्वमा जलवायु संकटले मानव अस्तित्वलाई समेत चुनौती दिएको चर्चा गर्दै उनले यो परिप्रेक्ष्यमा विश्वले नवीकरणीय ऊर्जाको विकासमा ध्यान दिइएको र यो नेपालका लागि अवसर रहेको बताइन्।

संकटले अवसर पनि निम्त्याउने चर्चा गर्दै उनले जलवायु संकटले नेपालमा नवीकरणीय ऊर्जाको अथाह सम्भावनको ढोका खुलेको ज्ञवालीको दाबी थियो।

दुर्गम पहाडी जिल्ला जुम्लाका हरेक कुनामा लघुजलविद्युत् परियोजनाको सञ्चालन भएको र त्यसले परिवर्तनकारी प्रभाव ल्याएको चर्चा गर्दै उनले नेपालमा लघु जलविद्युत् तथा सौर्य ऊर्जामा प्रशस्त सम्भावना रहेको बताए। अध्यक्ष ज्ञवालीले नेपालमा महिला उद्यमको विकास राष्ट्रिय स्तरमा मात्र नभई अन्तर्राष्ट्रिय तहमा समेत गराउन महिला उद्यमी महासंघ लागिपरेको बताइन्।

प्रकाशित: १७ वैशाख २०८१ ०६:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App