५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

९ अर्ब लगानी स्वीकृत १६ अर्बको सम्झौता

लगानी सम्मेलन सम्पन्न

विदेशी लगानीकर्तालाई आकर्षित गर्न सरकारले आयोजना गरेको तेस्रो लगानी सम्मेलनमा करिब २५ अर्ब रूपैयाँको लगानी स्वीकृत तथा सम्झौता भएको छ।

६० मुलुकका प्रतिनिधि सहभागी रहेको दुई दिने सम्मेलनबाट विदेशी लगानीकर्तालाई आशा जगाउन सफल भएको भन्दै सरकार उत्साहित भएको छ। सम्मेलनमा १५० आयोजना सोकेस गरेकोमा विदेशी लगानीकर्ताले करिब २५ अर्ब रूपैयाँको लगानी स्वीकृत, सम्झौता तथा सम्झौताको ड्राफ्ट आदानप्रदान भएको छ।

सम्मेलनबाट सरकार उत्साहित देखिए पनि अपेक्षाकृत लगानी प्रतिबद्धता भने आएन। आशयपत्र पेस गर्न लगानीकर्तालाई ऊर्जा परियोजनाका हकमा ४५ दिन र गैरऊर्जा परियोजनाको हकमा ३५ दिनको समय दिइएकाले थप लगानी आउने अपेक्षा गरिएको छ।

विश्व बैंक समूह, चीन, भारत, कुवेत, युएई, बेलायत, अमेरिकालगायत मुलुकका प्रतिनिधिले लगानीका अवसरहरू खोज्न चासो व्यक्त गरेका छन्। लगानी सम्मेलनमा सोकेसमा राखिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा जापानी बैंकले चासो राखेको छ। यो परियोजनाको लागत करिब ८ खर्ब ७३ अर्ब अनुमान गरिएको छ। निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि जापानको रेसोना बैंकले इच्छा जाहेर गरेको लगानी बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले बताए।

सम्मेलनमा दर्जनौं एमओयु सम्झौताहरूमा हस्ताक्षर भएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बताए। ‘विभिन्न परियोजनामा विदेशी लगानीकर्ताले सम्झौता गरेका छन्,’ उनले भने, ‘नेपाललाई लगानी गन्तव्यका रूपमा प्रस्तुत गर्न सफल भयौं।’

कतिपय आयोजना सम्मेलन स्थलमा सम्झौता भएका छन् भने केही विदेशी लगानीकर्ताले उद्योग विभागमार्फत पनि स्वीकृत गराएका छन्। सम्मेलनकै अवसरमा चारवटा परियोजनाका लागि ९ अर्ब १३ करोड रूपैयाँ बराबरको लगानी स्वीकृत गरेको उद्योग विभागले जनाएको छ।

भक्तपुरमा लगानी कम्पनी स्थापनाका लागि ६ अर्ब र काठमाडौंमा व्यावसायिक भवन निर्माणका लागि ३ अर्ब रूपैयाँ बराबरको लगानी स्वीकृत भएको उद्योग विभागले जनाएको छ।

त्यसैगरी संयुक्त अधिराज्यको एकेलस इनर्जी लिमिटेडको ८५ प्रतिशत र कैलालीको मोहन्याल गाउँपालिकाको १५ प्रतिशत लगानीमा २ सय किलोवाट क्षमताको जलविद्युत् आयोजनाको स्वीकृत भएको छ। त्यसैगरी, ललितपुर जिल्लामा होटल तथा रेस्टुरेन्ट निर्माणका लागि पनि ६ करोड २५ लाख रूपैयाँ बराबर लगानी स्वीकृत भएको छ।

ऊर्जा, आइसिटी, पर्यटन र पूर्वाधारजस्ता क्षेत्रहरूमा प्राथमिकता र सम्भावित परियोजनाहरू प्रदर्शन गरेर नेपाललाई लगानी गन्तव्यका रूपमा प्रस्तुत गर्न सफल भएको बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले बताए। लगानी कानुनमा सुधारका लागि अन्तर्राष्ट्रिय तथा स्वदेशी लगानीकर्ताहरूको चासो र अनुरोधप्रति सरकारले प्रतिबद्धता जनाएको उनले बताए।

‘सम्मेलन सफल भएको छ,’ उनले भने, ‘विदेशीमार्फत सकारात्मक सन्देश गएको छ ।’ एक दर्जन सत्रहरूमा नवीकरणीय ऊर्जादेखि आइसिटीसम्मका विभिन्न सम्भावित लगानी क्षेत्रहरूलाई हाइलाइट गर्न सघाउ पुगेको भट्टले बताए। अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रचुर सम्भावनाहरू बारे प्रचार भएको उनले बताए।

लगानी सम्मेलन भव्य रूपमा सफल भएको अर्थमन्त्री वर्षमान पुनले बताए। ‘लगानी सम्मेलनमा विदेशी लगानीकर्ता र विकास साझेदारहरूको सक्रिय सहभागिताले उत्साहित भएका छौं,’ पुनले भने, ‘विदेशी लगानीकर्ताको सहभागिताले नेपाल लगानीका लागि विश्वकै उत्कृष्टमध्येको गन्तव्य भएको पुष्टि भएको छ।’

नेपाल लगानीका लागि आकर्षक गन्तव्य भएको र लगानीका प्रसस्त अवसरहरू रहेको सन्देश गएको अर्थमन्त्री पुनले बताए। ‘लगानी सम्मेलनमा प्रदर्शनीमा राखिएका आयोजनाहरूमा विकास साझेदार र लगानीकर्ताको राम्रो आकर्षण देखियो,’ उनले भने, ‘लगानीमैत्री वातावरण बनाउन अध्यादेशमार्फत नौवटा कानुनमा गरिएको संशोधनले लगानीकर्तामा विश्वास बढ्यो।’

सम्मेलनका अवसरमा लगानी तथा लगानी प्रवद्र्धनसम्बन्धि विभिन्न सम्झौता भएका छन्। सम्मेलनमा शाखः ग्रुपले करिब २ अर्ब रूपैयाँको लगानीमा कपिलवस्तुको गोरुसिङेमा होटल सञ्चालन गर्न हङकङको कम्पनीसँग सम्झौता गरेको छ। शाखः एन्ड कम्पनी प्राइभेट लिमिटेड र बोअर ग्रुप अफ होटल चाइनाबीच होटल व्यवसायमा लगानी गर्ने सम्झौता भएको छ।

कपिलवस्तुमा वेलनेस होटल परियोजना सञ्चालन गर्ने सम्झौता भएको हो। होटलमा जग्गाबाहेक १० करोड चिनियाँ युआन (करिब २ अर्ब नेपाली रूपैयाँ) लगानी हुने बताइएको छ। अर्थमन्त्री वर्षमान पुन र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टको उपस्थितमा दुई कम्पनीका प्रतिनिधिले सम्झौता आदानप्रदान गरेका हुन्।

सम्मेलनमा करिब ३ अर्ब रूपैयाँ लगानीमा विद्युतीय गाडी उत्पादनका लागि सम्झौता भएको छ। चिनियाँ कम्पनीले नेपालमै विद्युतीय गाडी (इभी) उत्पादनका लागि सम्झौता गरेको छ। एनके मोटर्स प्रालि र चीनको सियाम गोल्ड ड्रागन अटो बडी कम्पनी लिमिटेडबीच इभी उत्पादनका लागि सम्झौता भएको हो।

चारपाङग्रे सवारीसाधन प्लान्ट विराटनगरमा राख्ने योजना छ। प्लान्ट लगाउन विराटनगरमा करिब १४ बिघा जग्गासमेत लिइएको कम्पनीले जनाएको छ। एक वर्षभित्रै गाडी उत्पादन गर्ने योजनासहित सम्झौता भएको कम्पनीको दाबी छ।

लगानी सम्मेलनका अवसरमा मनोरञ्जन क्षेत्रमा लगानी गर्न पनि सम्झौता भएको छ। लगानी सम्मेलनकै अवसरमा भारतीय र चाइनिज लगानीकर्ताले गोपी कृष्ण सेन्ट्रल कम्प्लेक्स (जिकेसिसी) परियोजनामा लगानी गर्न इच्छा देखाएका हुन्।

जिकेसिसी परियोजनामा लक्जरियस अपार्टमेन्ट, फाइभ स्टार होटल, सपिङ मल तथा मल्टिप्लेक्स सिनेमा छन्। लगानी सम्मेलनका अवसरमा चिनियाँ र भारतीय कम्पनीसँग जिकेसिसी परियोजनाका प्रबन्ध निर्देशक निरक पौडेलले सम्झौतापत्रको ड्राफ्ट साटफेर गरेका छन्।

जिकेसीसी परियोजनालाई चिनियाँ सिन्चेन ह्वाह इन्टरनेसनल र जज्याङ अर्बन कन्स्ट्रक्सन ग्रुप तथा भारतीय कम्पनी क्रस काउन्ड्री एडभाइजरी र साइस्पेक्टिभ इन्टरनेसनलले लगानीको इच्छा जाहेर गर्दै सम्झौतापत्रको ड्राफ्ट साटफेर गरेका हुन्। ५० मिलियन डलर अर्थात् ६ अर्ब ६७ करोड रूपैयाँ लागत रहेको परियोजनामा चिनियाँ र भारतीय कम्पनीबीच साझेदारी गर्ने सहमति भएको हो।

त्यसैगरी, मुगुको रारा ताल क्षेत्रमा होटल निर्माण गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ। रारामा सुविधा सम्पन्न रिसोर्ट निर्माणमा अस्ट्रेलियन कम्पनीले लगानी गर्ने भएको छ। रिसोर्ट निर्माण गर्न १ अर्ब १० करोड रूपैयाँ लाग्ने बताइएको छ।

रारा होल्डिङ्स रिसोर्ट प्राइभेट लिमिटेड र अस्ट्रेलियाको एक्सपर्ट ग्रुपबीच सम्झौता भएको हो। एक्सपर्ट ग्रुपका तर्फबाट बद्री अर्याल र सञ्जीव शर्मा तथा रारा होल्डिङ्स रिसोर्ट प्राइभेट लिमिटेडका तर्फबाट अभिषेकविक्रम शाहले हस्ताक्षर गरे। मुगुको छायानाथ रारा नगरपालिका–९ मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बन्ने यो रिसोर्टमा पहिलो चरणमा करिब ७० करोड रूपैयाँ र दोस्रो चरणमा करिब ४० करोड रूपैयाँ बराबर लगानी गरिनेछ।

नेपालमा डेटा सेन्टर स्थापना गर्न करिब ३ अर्ब रूपैयाँको परियोजनामा भारतीय लगानीकर्ताले सम्झौता गरेका छन्। डेटा सेन्टर निर्माण तथा सञ्चालनका लागि वसन्त चौधरीको बिएलसी ग्रुप नेपाल र भारतको योट्टा डेटा सर्भिसेसबीच आइतबार सम्झौता भएको हो।

त्यसैगरी व्यापार तथा लगानी प्रवद्र्धन गर्न नेपाल उद्योग वाणिज्य महासंघ र नेसनल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री मलेसियाबीच पनि सम्झौता भएको छ।

सम्मेलनका क्रममा नेपालमा सार्वजनिक–निजी साझेदारी (पिपिपी) प्रवर्द्धनका लागि ‘वर्ल्ड एसोसिएसन अफ पिपिपी युनिट्स एन्ड प्रोफेसनल्स’ (वाप) र ‘नेपाल एसोसिएसन अफ पिपिपी प्रोफेसनल्स अफ प्राक्टिसनर्स’ (नाप) बीच द्विपक्षीय समझदारी भएको छ।

 समझदारीपत्रमा वापका तर्फबाट अध्यक्ष जियाद–अलेक्स्यान्डर हायक र नापका तर्फबाट अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरे। सार्वजनिक–निजी साझेदारी (पिपिपी) सम्बन्धी ज्ञान तथा अनुभव आदानप्रदान गर्ने समझदारी भएको हो। स्विजरल्यान्डको जेनेभामा मुख्यालय रहेको वाप पिपिपीका क्षेत्रमा अध्ययन, अनुसन्धान र अन्तर्राष्ट्रिय असल अभ्यास प्रवद्र्धन गर्ने गैरसरकारी संस्था हो।

यसैगरी चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन दुईवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ। नेपालको नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्राइभेट लिमिटेड र चीनको ‘एमएबिसी इन्भेस्टमेन्ट प्राइभेट लिमिटेड’बीच तथा नेपाल उद्योग व्यापार महासंघ (एफएनआइसी) र चाइना दोङ्गन जिङ लङ लाइटिङ प्रोडक्ट कम्पनी लिमिटेडबीच छुट्टाछुट्टै समझदारी भएको हो।

प्रकाशित: १८ वैशाख २०८१ ०६:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App