४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

अनिश्चित बन्दै पोखराको हवाई उडान

पाँचदिनमा करिब १५० उडान रद्द, जम्मा १० वटा जहाज आए

हवाई उडान नभएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएका पर्यटक। तस्बिरः नागरिक

वायु प्रदूषणले भिजिविलिटी अपुग हुँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको हवाई सेवा अझै अवरुद्ध छ। पोखराको वायुमण्डलमा रहेको बाक्लो तुवाँलो तत्काल हट्ने अवस्था नदेखिँदा हवाई उडान अझै अनिश्चित बन्दै गएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भनाई छ।  

पछिल्लो पाँचदिन अवधिमा गत आइतबार मात्र मध्यान्हपछि विमानस्थल खुलेर केही उडान भएपनि त्यसपछि पनि विमानस्थल खुल्न सकेको छैन। सोमबार र मंगलबार पनि विमानस्थल खुल्न सकेन । हेलिकप्टर उडान भएपनि ठुला जहाजको उडान ठप्प रहेको विमानस्थलको भनाई छ। हवाई उडान नियमित नहुँदा पर्यटन क्षेत्रले ठूलो नोक्सान खेपेको पर्यटन क्षेत्रको गुनासो छ।  

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार पोखरामा अहिले बुद्धले दिनमा २०, यतीले १२ र श्री एयरलाइन्सले ३ गरि दिनमा ३५ (एकतर्फी) वटासम्म  उडान गर्दै आएका छन। ती सबै उडान प्रभावित छन । त्यस्तै पोखराको पुरानो विमानस्थलबाट जोमसोम हुने उडान पनि ठप्प छन। बुद्धले पोखरा–काठमाडौंसँगै भरतपुर, भैरहवा र नेपालगञ्ज पनि उडान गर्छ। तर, विमानस्थलको भिजिविलिटी अपुग हुँदा काठमाडौंबाट जहाज पोखरा आउनै नसकेको विमानस्थलले बताएको छ। पोखरामा जहाज आउन नसकेपछि पोखराबाट भैरहवा, भरतपुर र नेपागञ्जको उडान पनि प्रभावित छन।

विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर अपरेशन शाखा प्रमुख योगेन्द्र कुँवरका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण गर्नका लागि कम्तिमा ३७ सय मिटरको भिजिविलिटी चाहिन्छ। तर, पछिल्लो समय पोखराको भिजिविलिटी १५ सयदेखि २ हजार मिटरसम्म हुने गरेको छ। ‘जहाज अवतरण गर्नका लागि पर्याप्त भिजिविलिटी नै छैन। त्यही भएर उडान रोकिएको हो,’ कुँवरले भने। उनका अनुसार पोखराबाट जहाज उड्नका लागि भने १६ सय मिटरको भिजिविलिटी भए पुुग्छ।

कुँवरका अनुसार अनुसार गत विहीबार पोखरामा रात्री बिसान गरेका दुइवटा जहाज शुक्रबार उडेर काठमाडौं गएका थिए। त्यसबाहेक शुक्रबार पोखरामा कुनै पनि जहाज आउन सकेनन। त्यस्तै शनिबार पनि कुनैपनि जहाज आएनन। आइतबार दिउँसो १ बजेपछि विमानस्थल खुलेर सबैगरि नौ वटा उडान भएका थिए। आइतबार १ बजेपछि विमानस्थल खुल्दा श्री एयरलाइन्सको एक, यतीको दुई र बुद्धका ६ वटा गरि नौवटा जहाज पोखरा आएका थिए। पोखरा आएका मध्ये बुद्धका २ वटा जहाज त्यही दिन पोखरामा रात्रीबिसान गरेर सोमबार बिहान काठमाडौं उडेका थिए। तर, सोमबार दिनभर काठमाडौंबाट कुनैपनि जहाज पोखरा आउन सकेका थिएनन। मंगलबार पनि जहाज पोखरा आउन नसकेको उनले बताए।  

‘पाँचदिनदेखि पूर्ण रुपमा विमानस्थलको उडान अवरुद्ध भएको छ। बीचमा केही उडान भएपनि त्यो संख्या निकै कम हो,’ उनले भने, ‘अहिलेको भिजिविलिटी हेर्दा पोखराको तुवाँलो हट्न अझै केहीदिन लाग्ने अवस्था छ।’ उनका अनुसार पोखराको विमानस्थलमा पछिल्लो केहीदिनदेखि प्रदूषणको अवरोध भइरहेको थियो। तर, शुक्रबारदेखि भने नियमित नै अवरुद्ध भएको उनले बताए।  

उनका अनुसार वनमा डढेलो लगाउँदाको धुँवा र बिस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको धुलो मिसिँदा त्यसले पोखरा क्षेत्रको वायुमण्डमा बढी असर परेको हो। ‘धुँवाले र धुलोको मिश्रण अहिलेको वायुमण्डलमा तैरिएको छ। गोरखाको मनकामनादेखि पोखरातिरको आकाशमा मात्र बढी समस्या हो,’ उनले भने, ‘तिब्रगतिको हावा चलेमा मात्र यो प्रदूषण हट्ने सम्भावना रहन्छ।’  

हवाई कम्पनिका अनुसार पाँचदिन अवधिमा पोखराको मात्र एकतर्फी १५० हाराहारीमा उडान रद्द भएका छन। यो हिसाबले दोहोरो गर्दा ३ सय उडान प्रभावित भईसकेका छन। वायुप्रदूषणका कारण करिब २० हजार हवाई यात्रु प्रभावित भइसकेको हवाई कम्पनिको आँकलन छ।  

‘आर्थिक रुपमा हवाई कम्पनि र पर्यटन क्षेत्रलाई वायु प्रदूषणले असर पारेको छ। यो बेला पदयात्राको सिजन भएकोले पर्यटक आगमन राम्रो थियो। त्यसको प्रभाव हवाई उडानमा परेको थियो,’ बुद्ध एयरका पोखरास्थित स्टेशन म्यानेजर गौतम बरालले भने, ‘तर, सिजनको बेलाको आउजाउलाई असर पर्नेगरि हवाईसेवा अवरुद्ध भएको छ।’

होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली पनि पर्यटकीय राजधानी पोखरालाई वायु प्रदूषणले ठूलो असर पारेको बताउँछन। ‘धेरै पर्यटकले पोखराको यात्रा रद्द गरिसके। पाहुना एकाएक आगमन खस्केको छ। जसोतसो आएका पाहुना पनि दृष्यावलोकन देख्न नपाएर दुखि छन,’ उनले भने, ‘पर्यटन क्षेत्रमा बारम्बार प्रकृतिले मार पारेको थियो । अहिले फेरि वायु प्रदूषणको मार परेको छ।’  

उनका अनुसार स्थलमार्गको झन्झटिलो यात्रा र हवाई मार्गमा तुवाँलोको मार पर्दा पोखराको पर्यटन क्षेत्रले यो बेला ठूलो नोक्सानी खेप्नुपरेको छ। ‘नियमित हवाई यात्रा नहुँदा पर्यटक आउन पाएनन। हजारौं पर्यटक आउनै सकेनन,’ उनले भने, ‘यसको मार सर्वत्र परेको छ। पर्यटन क्षेत्रले बढी नोक्सान खेप्नपरेको हो।’ वन डढेलो लगाउने व्यक्तिलाई पक्राउ गरि कारवाहि गर्न नसक्दा यो अवस्था आएको उनले बताए।  

प्रकाशित: १८ वैशाख २०८१ १४:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App