पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको दरबाङ म्याग्दीखोला जलविद्युत् आयोजनालाई कम लागतमा आगामी दुई वर्षभित्र परीक्षण उत्पादन गर्ने आयोजना पक्षले प्रतिबद्धता जनाएको छ । दरबाङमा आयोजित प्रारम्भीक वातावरणीय परीक्षण प्रतिवेदनको सार्वजनिक सुनुवाई कार्यक्रममा आगामी बैशाख महिनाभित्र सुरूङ थिचोल्दै ब्रेक थ्रू गर्ने गरी सिभिलतर्फको काम दुई सिफ्टमा गर्न जनशक्ती व्यवस्थापन गरिएको आयोजना पक्षको भनाई छ।
कार्यक्रममा गण्डकी प्रदेशका पूर्व भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले समुदायलाई फाइदा हुने गरी समयमै आयोजनाको काम सम्पन्न गर्न अनुरोध गरेका थिए ।
मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले निर्माणधिन अवस्थामा रहेका जलविद्युत आयोजनाले प्रभावित क्षेत्रका बासिन्दाको समस्यालाई समेत समाधान गर्नुपर्ने बताए ।
धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, मालिका–१ निस्कोटका वडा अध्यक्ष टंकबहादुर पुन, मालिका–६ का पथबहादुर रोका र वडा नं ७ का टक बहादुर पुनले प्रभावित क्षेत्रका जनताको गुनासोलाई सम्बोधन गर्न अनुरोध गरेका थिए ।
सुरुङमा विष्फोट गर्दा आसपासमा हुने असर, खानेपानीको मुहान सुक्न सक्ने अवस्थलाई ध्यान दिन स्थानीय समुदायले आयोजना पक्षको ध्यानार्कषण गराएका थिए । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले तोकिएको समयमा आयोजना सम्पन्न हुदाँ लगानीकर्तालाई फाइदा हुने बताए । प्रतिमेगावाट १७ करोड लागतमा सम्पन्न गर्ने प्राविधिक मुल्याङ्कन निकै सस्तो र लगानीकर्तालाई समेत सहज हुने अन्य बक्ताहरूको भनाई थियो ।
सार्वजनिक सुनुवाईमा परामर्शदाता संस्था इन्भारोमेन्ट पार्टनर्स प्रालिका प्रमुख शंकर बस्यालले आयोजनाबाट समुदायको बस्तीमा असर नगर्ने बताएका थिए ।
धौलागिरी कालिकाका सञ्चालक तथा अध्यक्ष विनोद कुँवरले मजदुर, उपकरण र निर्माण सामग्रीको कुनै समस्या नहुने गरी अबको दुई वर्षमा परीक्षण उत्पादन गर्ने बताए ।
सार्वजनिक सुनुवाईमा आयोजनाका प्रबन्ध निर्देशक हर्कमान मगर, सञ्चालक समिति सदस्य चित्रबहादुर पुनले आयोजना क्षेत्रमा हाल भइरहेको प्रगतिका बारेमा जानकारी गराएका थिए ।
दरबाङ म्याग्दीखोला जलविद्युत् आयोजनाको मालिका–५ देवीस्थान,७ बिमको सिमानामा पर्ने इल्पुमा बाँध रहने आयोजनाको सुरुङमार्गबाट ल्याइने पानीलाई दुखुबेँसीमा रहने आउटलेटबाट बालौटेमा निर्माण हुने विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गर्ने तयारी छ ।
पाँच अर्ब १५ करोड कूल लागत अनुमान गरिएको आयोजनामा ३० प्रतिशत प्रवद्र्धक र सर्वसाधारणको सेयर लगानी रहनेछ । ३० प्रतिशत संस्थापक र साधारण शेयर तथा ७० प्रतिशत वित्तीय संस्थाको लगानीमा आयोजना निर्माण भइरहेको छ ।
आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणले मालिका गाउँपालिका–७ विमदेखि रघुगङ्गा गाउँपालिका–३ राहुघाटको अम्वाङ जोड्ने १३२ केभी क्षमताको प्रसारण लाइनमार्फत केन्द्रीय प्रसारणमा जोडिनेछ ।
हिउँदको चार महिना प्रतियुनिट आठ रुपैयाँ ४० पैसा र वर्षायामको आठ महिना प्रतियुनिट चार रुपैयाँ ८० पैसामा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिदबिक्री हुने सम्झौता भएको छ ।
मुस्ताङ। मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ।
मुक्तिनाथ विकास समिति कोषमा चालु आव २०८३/०८४ को पहिलो चार महिनामा रसिद र दान पेटिकामार्फत उक्त रकम सङ्कलन भएको सङ्कलन भएको हो।
समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार चालु आवको पहिलो चार महिनामा रसिद र दान पेटिकामा समेत गरी नेपाली रु २६ लाख ५९ हजार ५५७ र भारु ११ लाख ७९ हजार ५४७ कोषमा जम्मा भएको थियो। उनका अनुसार भक्तजनले स्वेच्छिक रुपमा रु १०० भन्दा बढी चन्दा दिन चाहेमा रसिद काटेर उक्त सहयोग सङ्कलन गरिँदै आएको छ।
त्यस्तै १०० भन्दा कम दिन चाहना राख्नेलाई चन्दा बाकसमा स्वेच्छिक रुपमा दान गर्न सक्ने व्यवस्था गरिएको छ। चालु वर्षको साउनदेखि कात्तिकसम्म भक्तजनले रसिदमार्फत प्रदान गरेको रु १७ लाख ५८ हजार ५६२ र भारु तीन लाख ९२ हजार ६८७ सङ्कलन भएको छ। मन्दिरमा नेपाली र भारतीयबाहेक १० राष्ट्रका मुद्रा रसिदमार्फत सहयोग र दान पेटिकामा जम्मा भएको छ।
व्यवस्थापक भुसालका अनुसार चालु आवको यस अवधिमा अमेरिकी डलर ८०२, अष्ट्रेलियन डलर २७०, थाइभाट ४४०, युएइ दिराम १०२५, क्यानेडियन डलर ७०, मलेसियन रिङ्गेट १२३, बेलायती पाउण्ड २१, ओमन रियल पाँच, युरो एक र युआन १३० भेटी सङ्कलन भएको छ।
समितिका अनुसार, गत आर्थिक २०८२/०८३ सम्म कोषमा रु ११ करोड ७६ लाख ३३ हजार १९१ मौज्दात छ। उक्त चन्दा रकम कोषको कृषि विकास बैंक, नेपाल बैंक माछापुच्छ्रे बैंक, प्रभु बैंक र साङ्ग्रिला बैंकमा रहेको खातामा जम्मा हुने गरेको छ।
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...