सरकारले संचय कोष र पेन्सनमा राज्यकोषको व्ययभार नबढाउन निजामती कर्मचारीको तलब नबढाई ५ हजार रुपैयाँ महँगी भत्ता वृद्धि गरेको छ। तलब बढाएको भए कर्मचारीको संचय कोष र पेन्सनमा पनि व्ययभार थपिन्थ्यो।
कानुनअनुसार कर्मचारीको तलबको १० प्रतिशत तलबबाट काटिन्छ र थप १० प्रतिशत सरकारले संचय कोषमा जम्मा गर्छ। तलब वृद्धि भएमा सरकारले सोही अनुपातमा संचय कोषमा रकम थप्नुपर्ने थियो, तर अब त्यो आवश्यक परेन।
यस्तै, तलब बढेमा पेन्सनको व्ययभार पनि बढ्थ्यो, किनभने पेन्सन तलबको आधारमा निर्धारण हुन्छ। ‘भत्ता बढाउँदा भत्ता मात्र दिए पुग्छ। अन्य सुविधा थप्नुपर्दैन, त्यसैले सरकारले यस्तो रणनीति अपनाएको हो,’ एक कर्मचारी नेताले भने।
कर्मचारी संघ र संगठनले २० प्रतिशत तलब वृद्धिको माग गरेका थिए। तर, सरकारले दिएको महँगी भत्ता निजामती कर्मचारीसहित सेना, प्रहरी, शिक्षकसहित करिब ५ लाख व्यक्तिले पाउनेछन्।
सबै कर्मचारीको तलबमा एकरूपता
सरकारले राज्यकोषबाट सुविधा पाउने सबै कर्मचारीको तलबमा एकरूपता ल्याउने जनाएको छ। हाल प्रतिष्ठान, बोर्ड, समिति र सार्वजनिक निकायका कर्मचारीको तलब फरक-फरक छ। निजामती कर्मचारी र समान पदमा कार्यरत सुरक्षा निकायका कर्मचारीको तलब पनि फरक छ।
बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले राज्यकोषबाट सुविधा पाउने प्रतिष्ठान, बोर्ड, समिति र सार्वजनिक निकायका कर्मचारीको सेवा सुविधा पुनरावलोकन गरी एकरूपता ल्याउन तीन महिनाभित्र सुझावसहितको प्रतिवेदन पेश गर्न सिफारिस समिति गठन गर्ने घोषणा गरेका छन्।
१५ जेष्ठ २०८२
•
१ मिनेट पाठ