भ्रमण वर्षले छोएन बुद्धस्थल
३१ भदौ २०७६
•
१३ मिनेट पाठ
भ्रमण वर्षले छोएन बुद्धस्थल
रेखा भुसाल/किरणमान बज्राचार्य




लुम्बिनी – अहिले प्रदेश सरकारको लुम्बिनी भ्रमण वर्ष चलिरहेको छ। चार महिनापछि नेपाल भ्रमण वर्ष २०२० सुरु हुनेछ। प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्षको नाममा करोडौं रकम खर्च गरिरहेको छ। केन्द्र सरकारले पनि पर्यटनकै नाममा बजेट छुट्याएको छ। तर, केन्द्र र प्रदेश सरकारले पर्यटन वर्षका नाममा करोडौं बजेट खर्च गरिरहँदा पनि देशकै मुख्य पर्यटकीय स्थल लुम्बिनी  र यहाँका बुद्ध स्थलमा कुनै चहलपहल छैन। न त स्थानीयलाई भ्रमण वर्षबारे कुनै जानकारी नै छ।

बुद्ध स्थलमा न पर्यटकीय गतिविधि भएका छन् न त पूर्वाधार विकासमा कुनै प्रगति छ। लुम्बिनीलाई आधार बनाएर प्रदेश ५ लाई मुलुककै उत्कृष्ट पर्यटकीय गन्तब्य बनाउने भन्दै प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष २०७६ घोषणा गरेको हो। गत जेठ ४ गते  बुद्ध जयन्तीका दिन राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले तामझामका साथ लुम्बिनी भ्रमण वर्षको शुभारम्भ गरेका थिए। तर, चार महिना बितिसक्दा पनि लुम्बिनी, कपिलबस्तु र नवलपरासीका बुद्ध स्थलमा भ्रमण वर्षको कुनै छनकसम्म देखिँदैन। बरु अस्तव्यस्त नाका, भत्केका सडक, कमजोर सुरक्षा व्यवस्थाका कारण सास्ती भोग्नु परेको पर्यटकका गुनासा मात्रै सुनिन्छन्।

भदौ पहिलो साता लुम्बिनी हुँदै कपिलवस्तुको तिलौराकोट पुगेका काठमाडौंका दिपेन्द्र बज्राचार्यले कपिलबस्तुका बुद्धस्थलको अवस्था निकै दयनीय भएको अनुभव सुनाए। ‘लुम्बिनी भ्रमण वर्षको केही न केही नयाँ अनुभूति गर्न पाइएला भन्ने अपेक्षा लिएका थियौं। तर तिलौराकोटसम्म पुग्दा सास्तीमात्रै पायौं। सहज सेवा सुविधाको कही कतै व्यवस्था देखिएन,’ बज्राचार्यले भने। कपिलबस्तुको तिलौराकोट तथा अन्य बुद्धस्थलको अवस्था दयनीय र लथालिंग रहेको उनको भनाइ थियो। बुद्धस्थलको त्यस्तो अवस्थाले स्वदेशी मात्रै नभइ विदेशी पर्यटकको समेत मन कुँडिने उनले बताए।

बज्राचार्यजस्तै लुम्बिनी घुम्न आउने पर्यटकका लागि अहिले भैरहवा–लुम्बिनी र लुम्बिनी–कपिलबस्तु निर्माणाधीन सडकको दूरवस्थाले यात्रा निकै कठिन बनाएको छ। पर्यटकीय क्षेत्रको सडक निर्माणमा ठेकेदारले ढिलाइ गरिरहँदा सरकारी निकाय मूकदर्शक भएर बसेको छ। धुले वा हिले सडकमा सिमेन्ट फ्याक्ट्रीका मालबाहक गाडीको जामले अर्को सास्ती थपेको छ।

लुम्बिनीको मायादेवी मन्दिर परिसरमै पर्यटकका जुत्ता चप्पल हराउँछन्। लुम्बिनीका प्रदेश सभासद फकरुद्धिन खाँनले झट्ट सुन्दा सानो समस्या जस्तो देखिए पनि यसले पर्यटकको मनोविज्ञानमा ठूलो असर पर्ने बताउँछन्। त्यस्तै बुद्धस्थलमा खानेपानी र सार्वजनिक सौचालयको समेत उचित व्यवस्था छैन। गौतमबुद्ध विमानस्थल होस् या देशकै सबैभन्दा धेरै पर्यटक भित्रने बेलहिया नाका। या त लुम्बिनी परिसर। पर्यटकलाई लुम्बिनी, बुद्ध र बुद्धस्थलबारे जानकारी दिने एउटा संयन्त्रसमेत बनाइएको छैन। पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने यी र यस्ता विषयलाई प्रदेश सरकारको लुम्बिनी भ्रमण वर्षले सम्बोधन गर्न नसकेको गुनासो सरोकारवालाले गरेका छन्। त्यसको असर नेपाल भ्रमर्ण वर्ष २०२० मा पनि पर्ने पर्यटन व्यवसायी बताउँछन्।

लुम्बिनीमा पर्यटन विकासको मुख्य समस्या पर्यटकको बसाइ छोटो हुनु नै हो। यहाँ बिहान आएर साँझ फकर्ने पर्यटक धेरै आउछन्। बुद्धको जन्मस्थल लुम्बिनी मात्रै हो भन्ने बुझाइ पर्यटकमा छ। त्यसलाई चिर्नु सबैभन्दा महत्वपूर्ण काम भएपनि प्रदेश सरकारले त्यसतर्फ कुनै कदम नचालेको  लुम्बिनीका पर्यटन व्यवसायी मिथुनमान श्रेष्ठले बताए।

प्राचीन कपिलबस्तु तिलौराकोट दरबारसहितका महत्वपूर्ण बुद्ध स्थल, नवलपरासीको अस्तुधातु रहेको रामग्राम, बुद्ध मावली देवदह, पण्डितपुरजस्ता स्थल ओझेलमा परेका छन्। त्यहाँ पुग्ने बाटो जर्जर छ। तीनलाई लुम्बिनीसँग जोडेर प्रचारप्रसार र भौतिक पूर्वाधारको विकास नगरेसम्म दिगो पर्यटन विकास नहुने तर्क श्रेष्ठले गरे।

प्राचीन कपिलबस्तुमा प्रदेश सरकारले सिन्को नभाचेको आरोप स्थानीयको छ। ‘लुम्बिनी भ्रमण वर्ष मनाउनु राम्रो कुरा हो। तर, चार महिना बितिसक्दा पनि त्यसबारे कपिलवस्तुबासी बेखबर छन्,’ होलट तथा रेस्टुरेन्ट ब्यवसायी संघ कपिलस्तुका अध्यक्ष गोपाल केसीले भने, ‘के हुँदैछ, के गरिँदै छ हामीलाई कुनै जानकारी छैन।’ शौचालय, खानेपानी, सडकजस्ता आधारभूत पूर्वाधारबिना बुद्धस्थलको व्यवस्थित विकासमा सबैभन्दा पहिले ध्यान दिन उनले प्रदेश र केन्द्र सरकारलाई आग्रह गरे।

तर, प्रदेशका पर्यटन मन्त्री लिला गीरीले भने भ्रमण वर्षको सुरुदेखि नै लुम्बिनी क्षेत्रलाई विश्वमै चिनाउने गरी कार्यक्रम तयार गरिएको बताउँदै आएका छन्। प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्षका लागि चार करोड बजेट छुट्याएको छ। त्यसमध्ये प्रचारप्रसारका लागि एक करोड २५ लाख छुट्याइएको छ। तर, विश्वलाई नै लुम्बिनी क्षेत्र चिनाउने गरी के कस्तो प्रचार गरियो भन्नेबारे सम्बन्धित मन्त्रालयका कर्मचारी भने बेखबर छन्। प्रचारका नाममा मन्त्री र सरकार नजिकका व्यक्ति तथा संघसंस्थाका सीमित व्यक्तिको घुमघाम र एकाध घण्टा सडकमा -याली निकाल्ने कार्यक्रम गरिएको पर्यटन मन्त्रालयकै कर्मचारी बताउँछन्। निबन्ध लेखन, ब्रोसर, छलफल, टुर कार्यक्रमका नाममा मन्त्री नजिकका व्यक्तिले बजेट निकासा लगेको ती कर्मचारीले बताए ।

स्थानीय सरकार, स्थानीय जनता र सरोकारवालालाई नै बाइपास गरेर दुई–चारजना आसेपासेको भरमा भ्रमण वर्ष सफल नहुने तर्क गर्छिन् कपिलबस्तुकी प्रदेशसभा सदस्य रिना नेपाल। अहिलेसम्म कपिलबस्तुमा पाहुनालाई आकर्षित गराउन जिल्लाका सरोकारवालासँग छलफलसमेत भएको छैन। ठूलाठूला कार्यक्रम गरिए भनेर प्रचारमात्र गरिएको छ,’ सभासद नेपालले भनिन्। बुद्ध सर्किट आसपासका सांसद्, प्रदेश सभा सदस्य र स्थानीय तहसँग समन्वय गर्नुपर्नेमा त्यसो हुन नसकेको उनले बताइन्। कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले पनि भ्रमण वर्षबारे औपचारिक जानकारी नभएको बताए। ‘भ्रमण वर्ष हो रे भन्ने सुनेको छु।’ के काम गर्ने हो के भइरहेको छ। हामीलाइ थाहा दिइएको छैन,’ नगरप्रमुख सिंहले भने। यता नवलपरासीको रामग्राम झन सुनसान छ। न त्यहाँ कुनै पर्यटकीय गतिविधि भएका छन् न सहज सडक पहुँच छ।  न त जिल्लाका सरोकारवालासँग छलफलका कार्यक्रम भएका छन्।

आठ महिनामा १० लाख पर्यटक आए

पछिल्लो आठ महिनामा १० लाखभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकले लुम्बिनी भ्रमण गरेका छन्। लुम्बिनी विकास कोषको तथ्यांकअनुसार सन् २०१९ को जनवरीदेखि अगस्तसम्म १० लाख १५ हजार ६ सय नौ पर्यटक लुम्बिनी घुम्न आएका हुन्।

जसमा सबैभन्दा धेरै सात लाख ९५ हजार पाँच सय ८५ स्वदेशी, एक लाख १८ हजार सात सय ५५ भारतीय र एक लाख एक हजार दुई सय ६९ विदेशी पर्यटक छन्। आन्तरिक पर्यटकको संख्या यो वर्ष केही कम देखिए पनि बाह्य पर्यटकको आगमन भने बढेको छ। गत वर्षको तुलनामा यो वर्ष सात हजार बढी बाह्य पर्यटक लुम्बिनी आएको कोषले जनाएको छ।

सन् २०१८ को  अगस्तसम्म ९३ हजार चार सय आठ बाह्य पर्यटक लुम्बिनी आएका थिए। लुम्बिनी आउनेमध्ये सबैभन्दा धेरै ३१ हजार सात सय ५५ श्रीलंकाली छन्। थाइल्यान्डका १८ हजार ८५, म्यानमारका १६ हजार नौ सय ७१, भियतनामी तीन हजार ३२ पर्यटक छन्। जर्मनका एक हजार आठ सय ९० र ताइवानी एक हजार तीन सय ८६ पर्यटक लुम्बिनी घुम्न आएको कोषले जनाएको छ।

लुम्बिनी आउने बाह्य पर्यटकको संख्या रहेक वर्ष झिनो रुपमा भए पनि वृद्धि हुने गर्छ। तर, पर्यटकको बसाइ भने लम्बिन सकेको छैन। जसका कारण लुम्बिनीलाई पर्यटनबाट सोचेजस्तो लाभ हुन नसकेको भैरहवाका पर्यटन व्यवसायी बिष्णु शर्माले बताए। ‘विगतमा हामीले पर्यटकको संख्यामै गर्व ग-यौं तर, त्यसबाट राज्यलाई के फाइदा भयो भन्ने हेक्का राखेनौं। कसरी गुणस्तरीय पर्यटक भित्र्याउने र कसरी बसाइ लम्बाउने भन्नेतर्फ राज्य र व्यवसायीको ध्यान जानुपर्छ,’ नाटाको प्रदेश ५ का निर्वतमान अध्यक्षसमेत रहेका शर्माले भने।
अर्को समाचार
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
२१ मिनेट अघि
•
१ मिनेट पाठ
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
मुस्ताङ। नेपाल–चीन उत्तरी कोरलानाकामा भौतिक पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको चार वर्ष बितिसक्दासमेत निर्माण कार्य सुरु हुनसकेको छैन।




विसं २०७९ फागुनमा कोरलानाका क्षेत्रमा भन्सार, अध्यागमन, क्वारेन्टाइन, सुक्खा बन्दरगाह र एकीकृत सुरक्षा पोस्टलगायतका संरचना निर्माण गर्ने उद्देश्यले सरकारले डिपिआर सर्भे गरेको थियो। त्यसअघि नै नाकाको नेपालतर्फ करिब एक हजार रोपनी जग्गा भन्सारलगायतका संरचना निर्माणका लागि नेपाल सरकारका नाममा प्राप्ति गरिएको थियो।

चीनसँगको व्यापारिक मार्ग विस्तार गर्ने उद्देश्यले गरिएको सर्भे दुई महिनासम्म सञ्चालन भएको थियो। सो क्रममा प्रस्तावित पूर्वाधार निर्माणस्थलको भौगर्भिक अवस्था र माटो परीक्षणसमेत गरिएको थियो। तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल इन्टरमोडल यातायात विकास समितिको योजनाअनुसार भन्सारसहितका आवश्यक संरचना निर्माणका लागि डिपिआर तयार गरिएको थियो।

सितारा इन्टुसीप–फुलराइट जेभीले रु एक करोड लागतमा ठेक्का सम्झौता गरी डिपिआर सर्भे सम्पन्न गरेको थियो। प्रतिवेदन सरकारलाई बुझाइएको लामो समय बितिसक्दासमेत पूर्वाधार निर्माणको काम सुरु नहुनु दुखद भएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले बताए।

चीनसँग सीमा जोडिएका नाकामध्ये कोरलानाका महत्वपूर्ण वैकल्पिक व्यापारिक नाकाका रूपमा स्थापित भइसके पनि आवश्यक पूर्वाधार नहुँदा निकासी तथा पैठारी व्यापार व्यवस्थापन र पारवहन नाकाका रूपमा विकास गर्न समस्या भइरहेको अध्यक्ष विष्टको भनाइ छ।

नेपाल–चीन उत्तरी कोरलानाका उपल्लो मुस्ताङका नागरिकका लागि खुला गरिएको तीन वर्ष भइसकेको छ भने वैकल्पिक व्यापारिक नाकाका रूपमा सञ्चालनमा आएको पनि दुई वर्ष बितिसकेको छ। गत वर्ष यस नाकाबाट रु छ अर्बभन्दा बढी राजस्व सङ्कलन भएको थियो। चालु आर्थिक वर्षको पहिलो चार महिनामै रु १२ अर्बभन्दा बढी राजस्व सङ्कलन भइसकेको छ।

पछिल्लो समय कोरलानाकाबाट दैनिक ६० देखि ७० वटासम्म कन्टेनर र करिब १०० विद्युतीय गाडी नेपाल भित्रिने गरेका छन्। तर, आवश्यक भौतिक पूर्वाधार नहुँदा नाकाको सञ्चालन तथा सवारी व्यवस्थापनमा समस्या देखिएको छ।

तातोपानी र रसुवागढी नाका पूर्ण रूपमा बन्द रहेको अवस्थामा नेपाल–चीन जोड्ने कोरलानाकामा व्यापारिक चहलपहल बढेको छ। बेनी–जोमसोम–कोरला सडकमार्ग हुँदै दैनिक सयौँ कन्टेनर तथा विद्युतीय सवारीसाधन आवतजावत गरिरहेका छन्। नाका पूर्ण रूपमा सञ्चालनमा आएपछि लोमान्थाङ–४ न्हेचुङस्थित भन्सार यार्डमा कन्टेनर र विद्युतीय सवारीको चाप बढेको छ। सडकका तीन लेनसम्म ढाकिने गरी कन्टेनर पार्किङ गर्दा कोरलानाका जाने मुख्य सडकमा यातायात आवागमन प्रभावित हुने गरेको छ।

सुक्खा बन्दरगाह नहुँदा कन्टेनर सडकमा अव्यवस्थित रूपमा रोक्नुपर्ने अवस्था रहेको र विद्युतीय गाडीसमेत खोला किनार तथा भिरको छेउमा असुरक्षित रूपमा राख्नुपर्ने बाध्यता रहेको बिवाइडी गाडी आयातकर्ता साइमेक्स इङ्कका प्रतिनिधि धर्मवीर मण्डलले बताए। नाकामा आवश्यक पूर्वाधार र चार्जिङ स्टेसन नहुँदा थप समस्या भइरहेको उनको भनाइ छ।

कोरलानाकाको अवलोकनमा सङ्घ तथा प्रदेशका मन्त्री र विशिष्ट व्यक्तिहरू पुग्ने गरे पनि पूर्वाधार निर्माणका लागि आश्वासनबाहेक ठोस काम अघि बढ्न नसकेको स्थानीय जनप्रतिनिधिको भनाइ छ। गण्डकी प्रदेशको आर्थिक गतिविधि र व्यापारका लागि महत्वपूर्ण मानिएको यस नाकाको पूर्वाधार निर्माणमा ढिलाइ गर्न नहुने उनीहरूको माग छ।

यसै साता कोरलानाकाको अवलोकनमा पुगेको प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको टोलीसँग पनि स्थानीय जनप्रतिनिधिले नाकाबाट राजस्व सङ्कलनमा मात्र नभई आवश्यक पूर्वाधार निर्माणमा समेत ध्यान दिन आग्रह गरेका थिए। समितिका सभापति आशिष गजुरेलसमक्ष उनीहरूले कोरलानाकाको पूर्वाधार निर्माण र पहुँचमार्गको सडकलाई जतिसक्दो छिटो सहज बनाउन माग गरेका थिए।

कोरलानाका क्षेत्रमा मात्र नभई मुस्ताङ भन्सार कार्यालय रहेको लोमान्थाङ–४ न्हेचुङमा पनि सरकारी निकायका लागि विसं २०७५ मै जग्गा उपलब्ध गराइएको थियो। कोरलानाकास्थित लोमान्थाङ क्षेत्रमा विभिन्न सरकारी निकायका लागि एक हजार ४३६ रोपनी जग्गा उपलब्ध गराइएको थियो। त्यस्तै, नेपाली सेनालाई लोमान्थाङको थुर्लुङ फाँटमा एक हजार २७१ रोपनी जग्गा उपलब्ध गराइएको थियो।

न्हेचुङमा भन्सार कार्यालयका लागि १०९ रोपनी, अध्यागमन कार्यालयका लागि १२ रोपनी, नेपाल प्रहरीका लागि १३ रोपनी र सशस्त्र प्रहरीका लागि ३३ रोपनी जग्गा उपलब्ध गराइएको थियो। उपलब्ध गराइएको जग्गामध्ये सशस्त्र प्रहरीले भवन निर्माण गरिसकेको छ भने नेपाल प्रहरीले हालै भवन निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाएको छ। भन्सार र अध्यागमन कार्यालयका भवन भने अझै निर्माण हुन सकेका छैनन्। भन्सार कार्यालयको स्तरोन्नति कार्य भने आंशिक रूपमा क्रमागत रूपमा भइरहेको छ। रासस
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
समाज
Clock २ मिनेट अघि | १ मिनेट पाठ
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ...
Whatsapp
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
समाज
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
बागलुङ, वैदेशिक रोजगारीका लागि जापान पुगेका निसीखोला गाउँपालिका-४ थापागाउँका लीलाबहादुर घर्ती एक वर्षमै स्वदेश फर्किएर कृषि उद्यममा रमाएका छन्।
Whatsapp
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
समाज
Clock १० मिनेट अघि | १ मिनेट पाठ
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
दाङको पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका वडा नं १९ छिल्लीकोट जोड्ने सडक विस्तार तथा स्तरोन्नति हुने भएको छ।
Whatsapp
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
अर्थ
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
नेपाल–चीन उत्तरी कोरलानाकामा भौतिक पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको चार वर्ष बितिसक्दासमेत निर्माण कार्य स...
Whatsapp
पोखरामा दाइँ महोत्सव: धान चुटेर र गोरु धपाएर रमाए विदेशी पर्यटक
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
पोखरामा दाइँ महोत्सव: धान चुटेर र गोरु धपाएर रमाए विदेशी पर्यटक
धान काटेर खाली भएको खेतमा कोही कुन्यूँबाट धान निकालेर चुट्न व्यस्त थिए भने कोही गोरु नारेर दाइँ गरिरहेका थिए। महिलाहरू गुन्द्री बुन्न प्रयोग हुने पराल...
Whatsapp
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
बजार
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
Whatsapp
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस