मध्यपुरले ल्याउन सकेन बजेट
१० असार २०७७
•
१ मिनेट पाठ
मध्यपुरले ल्याउन सकेन बजेट
आन्तरिक झगडाका कारण भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले गतवर्ष जस्तै यस वर्ष पनि समयमै बजेट ल्याउन सकेन । स्थानीय निकायका रुपमा रहेका देशभरका नगरपालिकाको बजेट ल्याउने बुधबार अन्तिम दिन हो ।  




नगरपालिकाको बुधबार भएको चौथो नगर सभा उदघाटन कार्यक्रमको पनि नगरपालिकाकी उपमेयर अन्जनादेवी मधिकर्मी दुई जना वडाअध्यक्षसहित २१ जना कार्यपालिका सदस्यहरुले बहिष्कार गरे । उपमेयरसहित मध्यपुर थिमि नगरपालिका वडा नं २ का वडा अध्यक्ष राम थापा मगर र वडा नं ३ का वडाअध्यक्ष प्रेम कुटुसहित कार्यपालिका सदस्यहरुले नगर परिषद् वहिष्कार गरेका थिए । नगरपरिषद नै बैधता नभएको संयुक्त विज्ञप्ति प्रकाशित गरी उनीहरुले परिषद् वहिष्कार गरेका थिए ।  

स्थानीय निकायको रुपमा नगरपालिकामा भएको निर्वाचनमा मेयर तत्कालिन एमालेबाट विजयी भएका थिए । उपमेयरसहित धेरै वडा अध्यक्षहरु नेपाली काँंग्रेसबाट विजयी भएका थिए । नगर परिषद्को बैठक वहिष्कार गर्ने उपमेयर र दुवै वडा अध्यक्ष काँंग्रेसबाट विजयी भएका थिए ।  

नगर परिषद् वहिष्कार गर्ने र सहभागी हुने विषयमा नेपाली काँंग्रेसबाट नगरपालिकामा निर्वाचित प्रतिनिधिहरु नै दुई खेमामा विभाजित भए । नेपाली काँंग्रेसबाट विजयी उपमेयरसहित दुई वडा अध्यक्षले परिषद् वहिष्कार गरे भने काँंग्रेसबाटै विजयी धेरै वडाअध्यक्षसहित वडा सदस्यहरु नगरपरिषद्मा सहभागी भए । उता नेपाल मजदुर किसान पार्टीबाट विजयी वडा अध्यक्ष र नगर सदस्यहरु पनि परिषद्मा सहभागी रहे ।

भक्तपुर चार वटा नगरपालिकाहरु छन् । भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका, चाँगुनारायण नगरपालिका तीन वटै नगरपालिकाहरुले समयमै बजेट ल्याउन सके पनि आन्तरिक विवादका कारण मध्यपुर थिमि नगरपालिकाले बजेट ल्याउन नसकेको हो । यो नगरपालिकाले गतवर्ष पनि आन्तरिक विवादकै कारण समयमै वजेट सार्वजनिक गर्न सकेको थिएन ।
अर्को समाचार
मिडिया सङ्कट कति गहिरो?
०१ वैशाख २०८१
•
८ मिनेट पाठ
मिडिया सङ्कट कति गहिरो?
नेपालमा स्थानीय अखबार मौलाएका छन्। त्यसका अनेक कारणहरू छन्, तीमध्ये स्थानीय निकायमा शक्ति विकेन्द्रित हुँदै जाँदा त्यहाँको बजेटमा खर्च गर्न पाउने अधिकार पनि हो।




यसका अनेक विकृति पनि देखिएका छन्। यो संसारका अन्य उदाहरणको ठिक उल्टो गतिमा नेपालको पत्रकारिता छ। संसारभरि र खासगरी बेलायत र अमेरिकामा भने स्थानीय अखबारहरू कीर्तिमानी तहमा बन्द हुँदैछन्। विज्ञहरूका अनुसार यो निकै नै चिन्ताको विषय हो।

बेलायत र अमेरिकामा स्थानीय अखबारहरू हराउँदै जान थालेको दुई दशक भइसक्यो। बेलायतको संसद्को कल्चर, मिडिया एन्ड स्पोट्रस कमिटीका अनुसार सन् २००९ देखि २०१९ सम्म बेलायतका ३२० वटा अखबार बन्द भए। बेलायतमा यस्ता स्थानीय अखबारको इतिहास १८ औं शताब्दीदेखिका छन्।

सन् २००७ मा ३८० वटा स्थानीय अखबार सञ्चालित थिए। सन् २०१९ सम्म आइपुग्दा २०९ वटा मात्र रहेका थिए भने अहिले त्यो घटेर १४२ वटामा सीमित भएको छ। कतिपय स्थानीय अखबारहरू ठुला अखबारसँग गाभिएका छन् र तिनको छायामा परिणत भएका छन्। यसो गर्दा तिनले आफ्नो स्थानीयता गुमाउन पुगेका छन्।

पछिल्लो समय स्थानीय अखबारको ग्राहक संख्या यति घटेको छ कि बिर्मिङ्घम पोस्टको ग्राहक संख्या ८४४ मात्र रहेको प्रोस्पेक्ट म्यागेजिनमा द गार्डियनका पूर्व सम्पादक एलन रसब्रिजरले लेखेका छन्।

स्थानीय अखबार लोकतन्त्रलाई ज्युँदो राख्ने एउटा अचूक अस्त्र हो। स्थानीय घटना, स्थानीय भ्रष्टाचार र त्यहाँका समस्याबारे ठुला अखबारलाई मतलब हुँदैन। स्थानीय अखबारले स्थानीय समस्या, घटना र भ्रष्टाचारमाथि लेख्दा तिनको प्रभाव बढी पर्छ। तिनले स्थानीय निकायलाई जिम्मेवार बनाउने द टाइम्स अखबारका विलियम हेगको धारणा छ।

खासमा स्थानीय समस्याबारे त्यहाँको प्रहरी, स्थानीय काउन्सिल, अदालत, प्रहरीका समस्या र प्रहरीको अतिचारका साथै सार्वजनिक सेवाबारे सर्वसाधारणमा चासो बढाउने मात्र नभएर जनसहभागितासमेत गराउँछ। जुन ठाउँका स्थानीय अखबार उच्च बिक्री हुन्छन्, बढी ग्राहक छन्, त्यहाँको मतदान पनि उच्च हुन्छ।

अखबारले समुदायलाई जोड्ने काम गर्छ, आफ्ना गाउँठाउँमाथि गर्व गर्ने अवसर दिन्छ। स्थानीय व्यापार व्यवसाय, दानधर्मजस्ता कुरामा सर्वसाधारणलाई सचेत बनाउने र सक्रिय पार्ने गर्छ।

पछिल्लो समय इन्टरनेटका कारण यी अखबारको ग्राहक संख्या चिन्ताजनक रूपमा घटेको छ। पहिला अखबारहरू घरमा आउँदा छरछिमेकले पनि मागीमागी पढ्थे। अचेल ती अखबार हप्तौंसम्म आँगनमा पछारिइरहेका हुन्छन्, कोही पनि उठाउन आउँदैनन्।

झन् स्थानीय अखबारको अवस्था त यति दयनीय छ कि दुई दशक पहिला निकै ग्राहक बटुलेका अखबारहरू अहिले पिँधमा छन्। अनलाइनमा नै समाचारहरू सबै आउँछन्, पाइन्छन्, त्यो पनि सित्तैमा भन्ने भएपछि पाठक सित्तैमा आकर्षित हुन थाले।

सन् २०१९ सम्म ३१ प्रतिशतले ग्राहक संख्या घटेका थिए। ग्राहक संख्या घटेपछि चोकमा अखबार झुन्डिन पनि कम भएको छ र करिब ४० प्रतिशतले अखबारहरू कम देखिन थालेका छन्। पसलमा झुन्डिन कम भएपछि हातहातै बिक्री भएर आउने पैसा अखबारसम्म पुगेन।

त्यस्तै सर्वसाधारणको आँखामा पर्न छाडेपछि विज्ञापन पनि आउन छाड्यो। त्यसमाथि कागजको भाउ, प्रिन्टिङ मसी र अन्य सामग्री मूल्य चर्किंदै जान थालेपछि पहिले आइरहेको विज्ञापनले समेत नधान्ने अवस्थामा पुग्यो। त्यसमाथि अर्को वज्रपात अखबार जगत्ले बेहोर्नु परिरहेको छ। त्यो हो, विज्ञापन जगत्ले पनि आफ्नो भाग स्थानीय अखबारलाई निकै ठुलो भाग कटाउन थाले।

एकातिर कम बिक्री हुने, अर्कोतिर अखबारले पाउने विज्ञापन घट्ने, यो दोहोरो मार खेपेका स्थानीय अखबारले आफूलाई कसरी ज्युँदो राख्न सकून् ! विज्ञापन घट्नुको मूल कारणचाहिँ इन्टरनेट नै बन्न पुग्यो। अखबारको महँगो विज्ञापनको साटो सस्तो दरको इन्टरनेटतर्फ विज्ञापन लहसिए।

फेसबुक लोकप्रिय हुनुअघिसम्म अखबारको विज्ञापन बजार दुई अर्ब डलर बराबरको थियो। अहिले घटेर लगभग ६३ करोड डलरमा सीमित भएको छ। धेरैजसो विज्ञापन चाहिँ गुगल र फेसबुकले उडाएका छन्। सन् २०१९ सम्म आइपुग्दा डिजिटल विज्ञापनका लागि अहिले साढे १७ अर्ब डलर खर्च गर्न थालिएको छ।

तीमध्ये ८० प्रतिशत गुगल र फेसबुक, इन्स्टाग्राममा खर्च गरिन्छ। पहिला अखबारमा वर्गीकृत विज्ञापन आउँथ्यो। यो अखबारको राम्रो आम्दानीको स्रोत थियो तर अहिले त्यस्ता विज्ञापन गमट्री र फेसबुक मार्केटप्लेसले खोसिदियो। सन् २००३ देखि २०१८ सम्म खोसिएको यो वर्गीकृत विज्ञापनले पनि अखबारलाई ठुलो क्षति गर्‍यो।

एकातिर अखबारको संकुचन, अर्कोतर्फ विज्ञापन अभाव, यी दुवै समस्याका कारण यस क्षेत्रलाई ठुलो असर गरेको एलन रुसब्रिजरको सूत्रजस्तै बन्न पुग्यो। ‘कम विज्ञापन बराबर कम पत्रकार बराबर खत्तम पत्रिका बराबर कम पाठक बराबर थप कम आम्दानी वा विज्ञापन बराबर झन् कम पत्रकार र यो क्रम अझ बढ्दै जाने अवस्था नै अहिलेको अखबारको पतनको कारण बन्न पुगेको हो,’ एलन बताउँछन्।

त्यसो त यस्तो अवस्था आउनुमा सबै दोष प्रविधि र नयाँ सामाजिक सञ्जाललाई मात्र दिन नहुने विज्ञहरूको धारणा छ। बेलायतका तीन ठुला स्थानीय अखबारहरू न्युजक्वेस्ट मिडिया ग्रुप लिमिटेड, रिच पिएलसी र नेसनल वल्र्डजस्ता कम्पनीले बेलायतका स्थानीय अखबारका दुईतिहाइ अखबार नियन्त्रण गर्छन्। ती सबै न्यून गुणस्तरको मारमा छन्। तिनले यति धेरै कामदार कटौती गरे कि नाफाको धुनमा तिनले गुणस्तरमा ठुलो सम्झौता गरे।

कम पत्रकार र सम्पादकको भरमा उनीहरू इन्टरनेटमा कसरी बढी पाठक तान्ने भन्ने ध्याउन्नमा लागे। बढी पाठक तान्ने समाचार स्थानीय समुदायका लागि कामलाग्दा हुँदैनन् भन्ने बिर्सिए। स्थानीयको चासो र रुचिका समाचार कम हुनेबित्तिकै स्थानीयले पनि तिनको आफ्नो पत्रिका भन्ने अवस्था रहेन।

अखबारमा प्रशिक्षार्थीबाट काम चलाउन थालियो। उनीहरूले दिनमा १० वटासम्म समाचार उत्पादन गर्नुपर्ने अवस्था आयो। महिनामा अनलाइनमा पाँच लाख भ्युज हुनैपर्ने दबाबका कारण समाचारको गुणस्तर स्वाट्टै घट्यो।

बेलायतमा स्थानीय अखबारको यो दुरवस्था आउनुमा बिबिसी अनलाइनको क्षेत्रीय संस्करणले ठुलो भूमिका खेलेको आरोप लगाइयो। यस्तो आरोप स्थानीय अखबारहरूको संस्थाले बिबिसीले स्थानीय मिडियाको व्यापार चौपट पारेको आरोप लगाउँदै स्थानीय प्रेस गजेटले एउटा रिपोर्ट छापेको थियो।

बिबिसीसँग साधन स्रोत भएको र त्यसैको बलमा उसले सारा पाठक चोरेको उनीहरूको आरोप थियो। बिबिसीले सित्तैमा सूचना र समाचार दिन्छ, स्थानीय मिडियाले त्यो दिन सक्तैनन्। सित्तैमा दिए पनि बिबिसीसँग प्रतिस्पर्धा गर्न सक्तैनन्। त्यसैले सरकारले स्थानीय मिडियालाई सहयोग गर्नुपर्ने आग्रह गरेका थिए। यसो गरे मात्र स्थानीय मिडियाको अवस्था सशक्त हुने नत्र अवस्था नाजुक नै रहने उनीहरूको जिकिर थियो। तर सरकारले यसतर्फ ध्यान दिन सकेको छैन।

त्यसो त केही स्थानीय र क्षेत्रीय अखबारले राम्रै काम गरिरहेका छन्। द योर्कसायर पोस्ट, बेलफास्ट टेलिग्राफको अवस्था राम्रै छ। यीबाहेक स्वतन्त्र प्रकाशकहरूका साना मिडिया हाउसले पनि स्थानीय बजारमा आफ्नो धाक जमाउन थालेका छन्।

खासगरी द ब्रिस्टोल केबल सामुदायिक लगानीमा सन् २०१४ मा स्थापना भएयता यसले राम्रो सदस्य कमाएको छ। महिनाको जम्मा एक पाउन्डमा यसले राम्रै पाठक तान्न सफल भएको छ। यद्यपि बजार निकै प्रतिस्पर्धी छ। ९ प्रतिशतले मात्र बेलायतमा पैसा तिरेर ग्राहक बन्ने गरेका छन् जबकि नर्वेमा ३९ प्रतिशत र अमेरिकामा २१ प्रतिशत ग्राहक बनेका छन्।

स्थानीय अखबारको यो हालत बेलायतमा मात्र होइन, अमेरिकामा पनि उस्तै छ। नर्थवेस्टर्न विश्वविद्यालयको मेडिल स्कुल अफ जर्नालिज्मको अध्ययनअनुसार सन् २००५ यता अमेरिकामा दुई हजार ९०० अखबारहरू बन्द भइसकेका छन्। ६ हजार अखबारहरू अहिलेसम्म चलिरहेका छन्, तीमध्ये अधिकांश साप्ताहिक छन्।

यही अवधिमा ४३ हजारभन्दा बढी पत्रकार कामविहीन भएका छन्। हरेक साता औसतमा तीन वटा पत्रिकाहरू कि त बन्द भएका छन् कि त अन्य कम्पनीसँग गाभिएका छन्। एउटा अध्ययनअनुसार सन् २०२५ सम्म ती पनि आधाभन्दा बढीजसो बन्द हुने आँकलन छ। जुन मिडिया अहिलेसम्म बाँचेका छन्, तिनले गुणस्तरमा भारी सम्झौता गरेका छन्। यसरी स्थानीय अखबारहरू गायब हुँदै जाँदा अमेरिकाभरि सामाजिक ध्रुवीकरण अचाक्ली बढेको छ।

कतिपय ठाउँमा अखबार नै बन्द भएपछि त्यो ठाउँको समाचार नै आउन छाडेको छ। यसलाई ‘न्युज डेजर्ट’ भन्ने गरिएको छ। यस्तो समाचारको खडेरी भएका ठाउँमा उच्च रूपमा असन्तुष्टि बढ्ने, सामाजिक ध्रुवीकरण हुनेलगायतका समस्या आगामी पाँच वर्षमा अझ चर्कने बताइएको छ। समाचारको खडेरी हुने अधिकांश समुदाय वा ठाउँ भनेको अफ्रिकी अमेरिकी, हिस्पानिक तथा आदिवासी अमेरिकीहरूको संख्या बढी भएको ठाउँ रहेका छन्।

नेपालका क्षेत्रीय तथा स्थानीय मिडियाहरूमा भने समाचारको गुणस्तरको अभाव त छ नै, तिनको विश्वसनियताको कमीका कारण पाठक पनि कम नै छन्। तिनको एक मात्र आम्दानी स्रोत स्थानीय निकाय नै हुन्। स्थानीय निकायले विज्ञापनबापत छुट्याउने थोरै रकमले तिनको गुणस्तर उकास्न सकिरहेको छैन।

एकातिर स्थानीय मिडियाको संख्या आश्चर्यजनक रूपमा बढेको छ भने ती मिडियाप्रति जनविश्वास पहिलेको तुलनामा लज्जास्पद तरिकाले घटेको छ। ठुला कर्पोरेट मिडियाले आफ्नो भूमिका खुम्च्याउँदै जाँदा सबैजसो मिडियामा असर परिरहेको छ।

अर्कोतर्फ, नेपालको विज्ञापन बजारको ठुलो हिस्सा ओगट्ने धूमपान र मद्यपान कटौती हुँदा यसको ठुलो मार मिडियाले भोगिरहेका छन्। त्यसको प्रभाव जनशक्तिमा पनि परेको छ।

त्यस्तै सिपयुक्त जनशक्तिको पलायन, हरेक दिन स्थापना हुने नयाँ नयाँ अनलाइन मिडियाका कारण र तिनले दिने एकै किसिमको सूचना र जानकारीका कारण समाचारप्रति नै वितृष्णा उब्जिएको छ। यो वितृष्णालाई केही साना, छरिता र अलगधारका न्युज तथा भिजुअल संस्थाले सीमित अवधिका लागि यसबाट फाइदा उठाए पनि तिनको दिगोपनामा अझै समस्या छ।

यसरी सुरु भएको मिडिया सङ्कट कहाँ पुग्ने हो, संसारै अन्योलमा छ।
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १५ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस