गण्डकी प्रदेशमा धानखेती, बाँझो जमिन हुन थाल्यो हराभरा
२३ असार २०७७
•
५ मिनेट पाठ
गण्डकी प्रदेशमा धानखेती, बाँझो जमिन हुन थाल्यो हराभरा
पोखरा क्षेत्रका विभिन्न फाँटमा धान रोप्दै किसान । तस्बिरः उमेश पुन/नागरिक
पोखरा महानगरपालिका–१६ ठूलीबेसी फाँटका प्र्रकाश भट्टराईको तीन रोपनी जग्गा पाँच वर्षदेखि बाँझो थियो ।  उनको परिवारले अन्य काम–पेसाका कारण खेती गर्न नपाउने र अरुलाई ‘आफैं गर आफैं खाऊ’ भन्दा पनि मान्छे नपाउने अवस्था थियो । अहिले भने उनको खेत रोपिने भएको छ ।  




भट्टराई भन्छन्, ‘यहाँ जेठोबुढो धान फल्छ । यो धान खानेलाई इज्जतदार मानिन्छ । यसपालि एउटा दलित परिवार खेत माग्नै आयो । गर–खाऊ भनेर गरिखान दिएको छु । मान्छेले खान पाउने भए, खेतको पनि उपयोग हुने भो ।’

कोरोना महामारी र लकडाउनका कारण विश्वव्यापी रूपमा रोजगार, व्यापार–व्यवसाय प्रभावित भएको छ । हामीकहाँ भने यसपालि अधिकांश मानिस कृषिमा फर्किएको देखिन्छ । त्यसो त, यो महामारीका बेला मात्रै होइन, पछिल्ला वर्ष गण्डकी प्रदेशमा खेती गर्ने जमिन थपिएको अर्थात् बाँझो जमिनमा खेती हुन थालेको सरकारी तथ्यांकले देखाउँछ ।

गण्डकी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको तथ्यांकले पनि लामो समयदेखि बाँझिएको खेतीयोग्य जमिनमा अहिले कृषिकर्म हुँदै जाँदा धान लगायत बालीको उत्पादन बढ्दै गएको देखाएको छ । मौसमले साथ दिएको र सिँचाइ लगायत सुविधा थपिँदा कृषि उत्पादन बढेको मन्त्रालयको भनाइ छ ।

मन्त्रालयका अनुसार, आर्थिक वर्ष २०७४/७५ मा गण्डकी प्रदेशमा एक लाख १५ हजार सात सय ९६ हेक्टर क्षेत्रफलमा धानखेती भएको थियो, जहाँ चार लाख १८ हजार सात सय ३३ मेट्रिक टन, अर्थात्, प्रतिहेक्टर ३.६ मेट्रिकटनका दरले धान फलेको थियो । त्यो क्षेत्रफल आर्थिक वर्षमा २०७५/७६ मा बढेर एक लाख २२ हजार सात सय ४४ हेक्टर पुग्यो । जग्गा थपिँदा त्यो वर्ष चार लाख ३१ हजार ५२ मेट्रिक टन धान उत्पादन भएको थियो । अघिल्लो वर्षको तुलनामा उत्पादकत्व केही घटेर प्रतिहेक्टर ३.५ मेट्रिक टन धान फलेको थियो ।

आर्थिक वर्ष ०७६/७७ मा अघिल्लो वर्षको तुलनामा चार हजार ६ सय ६४ हेक्टर क्षेत्रफल थपियो, अर्थात् एक लाख २७ हजार चार सय आठ हेक्टर जमिनमा खेती हुन थाल्यो । उत्पादन पनि अघिल्लो वर्षभन्दा बढेर चार लाख ५९ हजार आठ सय ७३ मेट्रिक टन पुगेको थियो । उत्पादकत्व पनि बढेर प्रतिहेक्टर ३.६ मेट्रिकटन पुग्यो ।  

मन्त्रालयको खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवद्र्धन महाशाखाका बाली विकास अधिकृत अमृत रेग्मी प्रदेशमा पछिल्लो समय धानखेतीका लागि क्षेत्रफल, धान उत्पादन र उत्पादकत्वमा वृद्धि हुँदै गइरहेको बताउँछन् । ‘खेतीयोग्य जमिन थपिएको हो । पहिला खेती नभएर बाँझिएको जग्गामा अहिले धमाधम धानखेती हुन थालेको छ,’ रेग्मीले भने, ‘युवा जनशक्ति नहुँदा र खडेरी पर्दा पनि खेत बाँझो हुन्थ्यो, पछिल्लो समय धान रोप्ने बेला नियमित वर्षा भएकाले उत्पादन बढेको छ ।’  

उनका अनुसार प्रदेश सरकारले बाँझिएका गरा–कान्ला, बारीलाई चक्लाबन्दी गराएर खेतीयोग्य बनाएको छ । चक्लाबन्दीले पनि उत्पादन बढाउन सघाएको उनले बताए । चक्लाबन्दीले धान उत्पादनमा प्रोत्साहन मिलेको उनकोे भनाइ छ । त्यसबाहेक सिँचाइका योजना पनि थपिएका छन् । अलपत्र परेका सिँचाइका आयोजना अगाडि बढेकाले पनि कृषि उत्पादन बढाउन सघाएको उनी बताउँछन्।

‘कोरोनाको मारमा परे पनि जनशक्ति गाउँगाउँमा पुगेकाले आगामी वर्ष झनै उत्पादन बढ्ने देखिन्छ,’ उनी भन्छन्, ‘अहिले विदेश गएका युवा फर्कंदै छन् । अर्कोतिर सहरको जनशक्ति गाउँ फर्केको छ । गाउँमा बाँझिएको जग्गामा अहिले धमाधम खेती गरिएको छ ।’

कृषि उत्पादन बढाउन आगामी वर्ष अझै धेरै जग्गा चक्लाबन्दी गर्ने योजना प्रदेश सरकारको छ । ‘चक्लाबन्दी बनाएको फाँटमा खेती गर्दा लागत कम, तर उत्पादन बढ्छ,’ रेग्मीले भने, ‘डाँडापाखामा खेती गर्दा बढी लागत पथ्र्यो । तर, अब कम लागतमा चक्लाबन्दी गरिएको जग्गामा खेती गर्न थालिएको छ ।’

कृषिविज्ञ बेनीबहादुर बस्नेत पछिल्लो समय धान उत्पादन बढ्न थालेको र आगामी वर्ष अझै बढ्ने आँकलन गर्छन् । उनका अनुसार, उत्पादन बढ्नुमा धान रोप्ने समयमा नियमित वर्षा हुनु मुख्य कारण हो । ‘पछिल्लो समय टारी खेत पनि रोपिन थालेको छ । यसले धान उत्पादन बढाएको छ,’ बस्नेतले भने, ‘केही वर्ष अघिसम्म टारीखेतमा धानै रोपिँदैनथ्यो । पछिल्लो समय पर्याप्त वर्षा हुँदा धान रोप्न सहज भएको छ ।’

यो वर्ष झनै बाँझो जग्गा कतै बाँकी नरहने उनले बताए । ‘यो वर्ष अधियाँ रोप्न खोज्नेको हानथाप छ । पोहोरसम्म कसलाई जग्गा दिने होला भन्ने तनाव हुन्थ्यो,’ उनी भन्छन्, ‘अहिले कोरोनाका कारण पनि खेतीमा आकर्षण बढेको छ ।’  

पछिल्लो समय मनसुनी र प्रि–मनसुनी वर्षा नियमित हुँदा धान रोप्न सहज भएको उनले बताए । कुनै बेला पानीकै अभावमा टारीखेत बाँझिएकामा अहिले धान रोप्न थालिएको छ । ‘गत वर्ष धानको उत्पादन देशव्यापी बढेको छ । त्योभन्दा अघि खडेरी हुन्थ्यो,’ कृषिविज्ञ बस्नेत भन्छन्, ‘धान रोप्न नपाएर बिउ सुक्ने र रोपेको धान पनि सुक्ने अवस्था आउँथ्यो । पछिल्ला केही वर्षदेखि भने यो समस्या कम भएकाले उत्पादनमा सघाउ पुगेको छ ।’  

त्यसबाहेक संघदेखि स्थानीय सरकारसम्मले कृषिमा प्राथमिकता दिँदा उत्पादन बढाउन सघाएको बस्नेतको भनाइ छ । उनका अनुसार, सरकारले कृषिमा ठूलो बजेट छुट्ट्याएको र त्यसले कृषकलाई कृषि कर्ममा आकर्षण थपेको छ । कोरोना फैलिँदा आगामी वर्षको उत्पादन २० प्रतिशतसम्म थपिने उनको आकलन छ । ‘आगामी वर्ष उत्पादन बढ्छ । तर, त्यसलाई बजार अभाव हुने देखिएको छ । सहरमा बसेर खाने मान्छे अहिले गाउँमा छन्,’ उनले भने, ‘गाउँमा भएका सबैजसो कृषिमा जुटेका छन् । त्यसले पनि उत्पादन बढ्ने निश्चित छ ।’  

बिउबिजन, मलको गुणस्तर र मौसम सही भएमा २० प्रतिशत उत्पादन आगामी वर्ष थपिने उनले बताए । गाउँगाँउमा ट्र्याक्टरबाट खेती गर्न थालिँदा पनि उत्पादन बढाउन सघाएको छ ।  

महानगरमा मात्र ११ हजार दुई सय हेक्टर

आर्थिक क्षेत्रमा सधैंजसो आलोचना हुने विषय हो– जग्गा प्लटिङ । खेतीयोग्य जग्गा धमाधम प्लटिङ हुँदा धान लगायत उत्पादनमा असर परेको भनी सबैतिर आलोचना हुने गर्छ ।  

पोखरा महानगरपालिकाभित्र प्लटिङको समस्या नभएको होइन, तर यहाँ धान र अन्य तरकारीखेती भइरहेकै छ ।  

महानगरका कृषि महाशाखा प्रमुख मनहर कडरियाका अनुसार, ११ हजार दुई सय हेक्टर क्षेत्रफलमा करिब ३५ हजार मेट्रिकटन धान फल्ने गरेको छ । योपटक बेलैमा र नियमित वर्षा हुँदा धान रोप्न सहज भएको उनले बताए । पोखराका बिरौटा, फेवा, शिशुवा, ठूलीबेसी लगायत धान फल्ने फाँट हुन् । यहाँको करिब ४० प्रतिशत खेतमा अझै पनि जेठोबुढो भनेर परिचित धानखेती हुने गरेको छ । ‘सहरी क्षेत्रमा मात्र उर्वर जग्गामा घर बनेका हुन् । ग्रामीण क्षेत्रमा त अझैै पनि खेती नै हुन्छ,’ कडरियाले भने ।

वर्षाले रोपाइँ नियमित

नियमितजसो भइरहेको वर्षाले गण्डकी प्रदेशमा अहिलेसम्म करिब १५ प्रतिशत धान रोपिसकिएको प्रदेशको कृषि मन्त्रालयले बताएको छ । पोखरा महानगरपालिकाभित्र भने करिब ४० प्रतिशत रोपाइँ सकिएको महानगरले बताएको छ । ‘प्रि–मनसुन र मनसुनमा यहाँ नियमित वर्षा भयो । त्यसले गर्दा सहज भएको हो,’ महानगरको कृषि महाशाखा प्रमुख कडरियाले भने, ‘यो वर्ष धान रोप्न पानीको अभाव छैन । बेलैमा रोपेर सकिनेछ ।’

अर्को समाचार
सुगर मिलको केमिकल खेतमा पुग्दा सुक्यो धान, चिन्तामा किसान
२५ भदौ २०८०
•
२ मिनेट पाठ
सुगर मिलको केमिकल खेतमा पुग्दा सुक्यो धान, चिन्तामा किसान
कञ्चनपुरको पुनर्वास नगरपालिका–५ उद्रीका देव बोगटीले १० कट्ठा जमिनमा धानखेती गरेका थिए। अहिले खेती पूरै सखाप भएको छ। धानका बाटो सुकेका छन्। केही बोट रातो–पहेँलो भएका छन्।




साउनमा दोदा नदीको बाढी खेतमा पसेपछि धानबाली सुक्दै गएको बोगटी बताउँछन्। 'बाढीपछि एकाएक धान सुक्न थाल्यो, विषादी छर्कियौँ तर सुधार भएन', उनले भने, 'आधा बिघा अधिया पनि बनाएका थियौँ, त्यहाँ पनि सबै बाली सखाप छ।'

पुनर्वास –५ उद्रीकै मोहन रानाको तीन बिघा जमिनको धानबाली खेतमै नष्ट भएको छ। उनले पाँच बिघा जमिनमा धानखेती गरेका थिए। साउन तेस्रो साता दोदा नदीमा आएको बाढी बस्तीसम्मै पुगेर डुबान भएको थियो। डुबान भएको पानी घटेपछि एकाएक धानबाली सुक्न थालेको हो।

'बाढी पसेको दुई/तीन दिनपछि पानी घट्यो, त्यसपछि धान सुक्न थाल्यो', उनले भने, 'तीन बिघाको पूरै सुकिसक्यो।' उनका अनुसार पानी जमेको ठाउँमा दुई/तीन दिनसम्म गन्ध आइरहेको थियो भने पानी पनि कालो थियो। कृषि गरेर वर्षभरि खानलाई जोहो गर्ने किसान धानबाली खेतमै सुकेपछि चिन्तित छन्।

'धान सुकेर खेतमै पूरै नष्ट भएको छ, त्यहीको उब्जाउ खाने र बाँकी बेचेर घरखर्च चलेको थियो', किसान रामकिसन चौधरीले भने, 'अब के खाने ? कसरी बालबच्चा पाल्ने ? समस्या छ।' डेढ बिघामा ५० बोरा धान फलाउने गरेको र त्यसैबाट वर्षभरि खान अनि परिवारको खर्चको जोहो गर्ने गरेको उनले बताए।

'रोपाइँमा लागेको खर्चसमेत उठाउन गाह्रो छ', उनले भने, 'अरुबेला पनि बाढी आउथ्यो, तर यस्तो क्षति गरेको थिएन्, यसपटक एक्कासी धान कसरी सुक्यो थाहा भएन।' पुनर्वास नगरपालिकाको सिमरी, उद्री, परासन र दोदा नदी किनारकै तीन सय बिघाभन्दा बढीको धानबाली सुकेर र कुहिएर सखाप भएको छ।

खेत नजिकै रहेको भागेश्वर सुगर मिलले छाडेको केमिकल नालामा मिसिएर त्यही पानीले धान सुकेको किसानको भनाइ छ। सुगर मिलले सिमरी नाला छेउमै डस्ट राखेको र त्यसबाटै केमिकल नालामा मिसिएर खेतमा पुगेको रमेश रानाले बताए।

'सुगर मिलबाट केमिकल बगेर खेतमा पुग्यो, त्यसपछि धान र उखु सुकेको हो', उनले भने, 'यो ठाउँ जहिल्यै बाढी लाग्ने र डुबान हुने हो, अहिलेसम्म यसरी धान र उखु कहिल्यै सुकेको थिएन।'

कृषि ज्ञानकेन्द्र कञ्चनपुरले क्षति भएको धान र उक्त क्षेत्रमा जमेको पानीको नमुना सङ्कलन गरी परीक्षणका लागि काठमाडौँ पठाएको छ। 'परीक्षण रिपोर्ट आएको छैन, धान क्षतिको विवरण सङ्कलन भइरहेको छ', कृषि ज्ञान केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीले भने, 'दुई सय हेक्टरभन्दा बढी जमिनमा क्षति पुगेको अनुमान छ।'
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस