सामाजिक सुरक्षा भत्तामा जताततै 'चुहावट'
२२ असोज २०७७
•
६ मिनेट पाठ
सामाजिक सुरक्षा भत्तामा जताततै 'चुहावट'
मात्तिम (विर्ता)की मधुकुमारी राईको नाममा दोहोरो र फुलसरी राईको नाममा तेहोरो सामाजिक भत्ता गएको देखिने कागजात । तस्बिर : नागरिक
खोटाङको साकेला गाउँपालिका–५ मात्तिम (विर्ता) मा ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको सूचीमा दुई जना मधुकुमारी राईको नाम उल्लेख छ। आर्थिक वर्ष २०७६/०७७ मा सामाजिक सुरक्षा भत्ता बुझे/बुझाएको तथ्यांक अध्ययन गर्दा दुबै मधुकुमारीको जन्म मिति बाहेक ठेगाना र नागरिकता नम्बर एउटै छ। एउटा मधुकुमारी राईको जन्म मिति २००५ साल असोज २५ गते उल्लेख छ। अर्की मधुकुमारी राईको जन्म मिति २००५ साल असोज १५ गते उल्लेख छ। तर दुबै जनाको नागरिकता नम्बर भने १२१०२९/१६९ देखिन्छ। एउटै नागरिकता नम्बर देखाइएको मधुकुमारी नामको दुई लाभग्राहीले आर्थिक वर्ष २०७६/०७७ को तेश्रो अर्थात अन्तिम किस्ता बुझेको तथ्यांकमा देखिन्छ।  




यस्तै, विक्रम सम्वत २००५ साल असोज २ गते जन्म मिति भएकी गंगामायाँ तामाङको नागरिकता नम्बर १२१०२९/२३२ छ। त्यही जन्म मिति र नागरिकता नम्बर प्रयोग गरेर गंगामायाँ राईको नाममा भत्ता निकासा गरिएको देखिएको छ। तर, आर्थिक वर्ष २०७६/०७७ तेश्रो चौमासिकमा गंगामायाँ राईको नाम हटाइएको रेकर्डमा देखिन्छ। कतिसम्म भने सो वडामा जन्म मिति २००४ साल फागुन १ गते र नागरिकता नम्बर ८६५/७२७ भएको फुलसरी राई नाम गरेको तीन जनाको नाममा आर्थिक वर्ष २०७६/०७६ को पहिलो चौमासिकसम्म सामाजिक सुरक्षा भत्ता वितरण भएको देखिन्छ। यद्यपि, फुलसरी नामको तीन जनाको नाम आर्थिक वर्ष २०७६/०७७ को दोश्रो चौमासिकमा (गत फागुनमा) हटाइएको देखिन्छ।  

वडा–वडामा सामाजिक सुरक्षा भत्ता वितरणमा कसरी अनियमितता भए÷भइरहेको छ भन्ने बुझ्न यी उदाहरण काफी छन्। मात्तिम (विर्ता) मा मृत्यु भइसकेका, बसाई सरिसकेका, नक्कली व्यक्ति वा एउटै व्यक्तिको नाममा दोहोरो सामाजिक सुरक्षा भत्ता निकासा गरेर चुहावट भइरहेको पाइएको छ। सो वडामा मृत्यु भइसकेका व्यक्तिको नाममा वा बसाई सरेर अन्यत्र गएका व्यक्तिको नाममा वर्षौंदेखि सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको देखिएको छ। कतिपय एउटै नाम, एउटै नागरिकता नम्बर, एउटै ठेगाना, एउटै जन्म मिति उल्लेख गरेर नक्कली लाभग्राही खडा गरिएको पाइएको छ। एकै व्यक्तिको नाममा विधवा र एकल महिलाको सामाजिक सुरक्षा भत्ता बाँडिएको तथ्यांक पनि फेला परेको छ। 

साकेला गाउँपालिका–४ मात्तिम (मानेभञ्ज्याङ) मा मृत्यु भइसकेका, कतिपय बसाई सरिसकेका तथा ‘फेक डकुमेन्ट’ बनाएर सामाजिक सुरक्षा भत्ता दुरुपयोग भइरहेको खबर सार्वजनिक भएको केही समयपछि मात्तिम (विर्ता)मा पनि सोही प्रकृतिको अनियमितता हुँदै आएको तथ्य बाहिरिएको हो। सामाजिक सुरक्षा भत्ता वितरणलाई चुस्त र पारदर्शी बनाउनका लागि गाउँपालिकाले अभियान चलाएपछि सामाजिक सुरक्षा भत्ता दुरुपयोगको फेहरिस्त छताछुल्ल हुन थालेको हो। राज्यको रकममा भइरहेको दोहन रोक्नका लागि कडाईकासाथ अभियान थालिएको गाउँपालिका अध्यक्ष अर्जुन खड्का (झंकार)ले बताए। अध्यक्ष खड्काले सामाजिक सुरक्षा भत्तामा हुँदै आएको बेतिथिलाई शुन्यमा झार्ने दाबी गरेका छन्।  

ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता पाउँदै आएकी मात्तिम (विर्ता) की मनसिला राईको २०७३ सालमा मृत्यु भएको थियो। नागरिकता नम्बर १४१८ भएकी मनसिलाको नाम अहिले पनि लाभग्राहीको सूचीमा समावेस छ। उनले आर्थिक वर्ष २०७६/०७७ को अन्तिम चौमासिकसम्म भत्ता लिएको देखिन्छ। यस्तै, विक्रम संवत १९९८ साल फागुन १५ गते जन्म मिति भएकी तुलसादेबी खत्रीको २०७३ साल पुसमा मृत्यु भयो। तर नागरिकता नम्बर २३५८ भएकी तुलसादेबीको नाम गत असारबाट मात्र हटाइएको छ। मृतकको नाममा कसले सामाजिक सुरक्षा भत्ता लियो भन्ने थाहा नभएको उनका श्रीमान जगतबहादुर खत्रीले बताएका छन्।  

विक्रम संवत १९९२ साल चैत ३० गते जन्म भएकी अबमायाँ खत्रीको २०७३ सालमा मृत्यु भयो । तर नागरिकता नम्बर २६९० भएकी अबमायाँको नाम गत असारमा मात्र लाभग्राहीको सूचीबाट हटाइएको छ । २०७४ साल फागुनमा मृत्यु भएकी विष्णुमायाँ पौडेलको नाममा आर्थिक वर्ष २०७६/०७७ को दोश्रो चौमासिकसम्म भत्ता निकासा गएको पाइएको छ ।  

व्यक्ति एक ठाउँको, लाभग्राही अर्कै ठाउँको  

विधवा भत्ता लिँदै आएकी साकेला गाउँपालिका–४ मात्तिम (मानेभञ्ज्याङ) की टिकादेबी थापा कट्वाल (नागरिकता नम्बर ०९१०४९/३८) सुनसरीको रामधुनी नगरपालिका–५ बसाई सरिन् । दुई वर्षअघि स्थायी शिक्षकमा नाम निस्केपछि टिकादेबीले भत्ता लिन छाडेकी थिइन्। तर, साकेला गाउँपालिका–५ मात्तिम (बिर्ता) बाट टिकादेबीको नाममा आर्थिक वर्ष २०७६/०७७ सम्म भत्ता निकासा गइरहेको तथ्य बाहिरिएको छ। आफ्नो नाममा अर्कै वडाबाट सामाजिक सुरक्षा भत्ता निकासा भइरहेको बारेमा टिकादेबी भने बेखबर छिन्। राज्यबाट दोहोरो सुविधा लिन नमिल्ने भएकाले उनले शिक्षकमा नाम निस्केपछि सामाजिक सुरक्षा भत्ता त्यागेकी थिइन्।

यस्तै, विधवा तस्बिरा खत्री साकेला गाउँपालिका–४ मात्तिमकी बासिन्दा हुन्। तर साकेला गाउँपालिका–५ मात्तिमबाट पनि तस्बिराको नाममा सामाजिक सुरक्षा भत्ता निकासा गइरहेको पाइएको छ। विधवाको सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको सूचीमा २०२० साल माघ २ गते जन्मिएकी श्रवनीमायाँ राईको नागरिकता नम्बर १२३०२९/१३ उल्लेख छ। सोही वडामा श्रवनीमायाँकै जन्म मिति र नागरिकता नम्बर भएको अर्की सव्नीमायाँ राईको नाम पनि लाभग्राहीको सूचीमा देखिन्छ। उनीहरुको नाममा गत असारसम्म भत्ता निकासा भइरहेको देखिएको छ।  

एकै जनालाई एकल र विधवा भत्ता  

नागरिकता नम्बर २१६८ भएकी मात्तिम (विर्ता) की अनुमायाँ राईले एकल महिलाको भत्ता लिँदै आएकी छन्। तर तिनै अनुमायाँको नाममा विधवा भत्ता पनि निकासा गइरहेको देखिएको छ। यद्यपि, गत असारमा उनको एकलतर्फको नाम हटाइएको पाइएको छ। यस्तै, नागरिकता नम्बर २३२५ भएकी एकल महिला पुड्कीमायाँ राईको नाममा विधवाको रकम पनि गएको पाइएको छ। नागरिकता नम्बर २८५/३८९ भएकी एकल महिला बालकुमारी राईको नाममा विधवा भत्ता समेत निकासा गएको देखिएको छ। तर गत असारमा बालकुमारीको विधवातर्फको भत्ता कटाइएको पाइएको छ। आफ्नो वडामा सामाजिक सुरक्षा भत्ता तलमाथि भएको बाहिरिएपछि वडाध्यक्ष बिरवल राई अप्ठ्यारोमा परेका छन्।  

साकेला गाउँपालिका–५ मात्तिम (बिर्ता)मा आर्थिक वर्ष २०७६/०७७ मा प्रथम, दोश्रो र तेश्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता भने एकै महिना फस्र्यौट भएको पाइएको छ। प्रथम चौमासिकको २०७७ साल असार ४ गते, दोश्रो चौमासिकको २०७७ साल असार १४ गते र तेश्रो चौमासिकको २०७७ साल असार ३१ गते फस्र्यौटका लागि वडा कार्यालयले गाउँपालिकामा पेश गरेको श्रोतले जनाएको छ। श्रोतका अनुशार मात्तिम (बिर्ता)मा आर्थिक वर्ष २०७६/०७७ को प्रथम चौमासिकमा ३१ लाख ७६ हजार ४ सय भत्ता निकासा भएकोमा सबै वितरण भएको, दोश्रो चौमासिकमा २७ लाख २३ हजार ६ सय पेश्की निकासा भएकोमा सबै वितरण भएको थियो। 

तर तेश्रो चौमासिकमा २६ लाख ७३ हजार ६ सय भत्ता निकासा भएकामा २५ लाख ६९ हजार ६ सय वितरण गरेर १ लाख ४ हजार फिर्ता भएको श्रोतले जनाएको छ। सामाजिक सुरक्षा भत्ता चुहावटमा वडादेखि पालिकासम्मका कर्मचारी र जनप्रतिनिधिकै कमजोरी देखिन्छ। तर यस बारेमा प्रश्न उठ्दा जनप्रतिनिधि कर्मचारीलाई दोष देखाएर पन्छिने गरेका छन्।  

कसैको परेन दाबी/विरोध  

साकेला गाउँपालिकाले दाबी बिरोधका लागि सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीको नामावली प्रकाशन गरेको थियो। १५ दिनको म्याद दिएर असोज ५ गते लाभग्राहीको सूचना आव्हान गरिए पनि दाबी बिरोध नपरेको गाउँपालिकाका पञ्जिकरण शाखा प्रमुख डिल्लीमान राईले बताए। सामाजिक सुरक्षा भत्ता वितरणलाई चुस्त र पारदर्शी बनाउनका लागि गाउँपालिकाले पाँच वटै वडाका सामाजिक सुरक्षा भत्ता पाउने १ हजर २१४ व्यक्तिको नामावली दावी बिरोधका लागि सार्वजनिक गरेको थियो। दाबी/बिरोध नआए पनि आगामी दिन वास्तविक लाभग्राही बाहेक अन्य व्यक्तीलाई हुँदै आएको भत्ता वितरण रोकिने गाउँपालिका अध्यक्ष खड्काले बताए।  

दावी बिरोधका लागि साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका ३५५ जना, साकेला गाउँपालिका–२ रतन्छाका २९८ जना, साकेला गाउँपालिका–३ खिदिमाका १२७ जना, साकेला गाउँपालिका–४ मात्तिमका २५९ जना र साकेला गाउँपालिका–५ मात्तिमका १७५ जनाको नामावली सार्वजनिक गरिएको छ। प्रथम चौमासिकको सामाजिक सुरक्षाभत्ता वितरण गर्नु अगाडी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको नामावलीलाई निक्र्यौल गर्न दावी बिरोधका लागि सार्वजनिक गरेको थियो।
अर्को समाचार
८७ लाख सामाजिक सुरक्षा भत्तामा अनियमितता
२५ मंसिर २०७७
•
३ मिनेट पाठ
८७ लाख सामाजिक सुरक्षा भत्तामा अनियमितता
सामाजिक सुरक्षा भत्ता दुरूपयोगका विषयमा गाउँपालिका अध्यक्ष अर्जुन खड्कालाई प्रतिवेदन बुझाउँदै गाउँपालिकाकी उपाध्यक्ष सरिता खड्का। तस्बिर : नागरिक
खोटाङको साकेला गाउँपालिकामा एक आर्थिक वर्ष ८७ लाखभन्दा बढी सामाजिक सुरक्षाभत्ता चुहावट भएको पाइएको छ। 




मृत्यु भइसकेका, कतिपय बसाइँ सरेका तथा हुँदै नभएका व्यक्तिको नाममा नक्कली कागजपत्र बनाएर सामाजिक सुरक्षा भत्तामा अनियमितता भइरहेको विषय बाहिरिएपछि गाउँपालिकाकी उपाध्यक्ष सरिता खड्काको संयोजकत्वमा छानबिन समिति गठन भएको थियो। उक्त समितिले आर्थिक वर्ष २०७६/०७७ मा ८७ लाख ४१ हजार ६ सय रूपैयाँ रकम अनियमितता भएको प्रतिवेदन सार्वजनिक गरेको छ। सामाजिक सुरक्षा भत्ता दुरूपयोगका विषयमा गत असोज १४ गते गठन भएको उक्त समितिले मंगलबार प्रतिवेदन सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष अर्जुन खड्कालाई बुझाएको छ।

छानबिन समितिले आर्थिक वर्ष २०७६/०७७ मा गाउँपालिका वडा नम्बर १ मा २० लाख ३४ हजार ४ सय, वडा नम्बर–२ मा १२ लाख २८ हजार, वडा नम्बर–३ मा ११ लाख ८७ हजार २ सय, वडा नम्बर–४ मा २२ लाख ८७ हजार २ सय र वडा नम्बर–५ मा २० लाख ४८ हजार रूपैयाँ सामाजिक सुरक्षाभत्ता अनियमितता भएको प्रतिवेदनमा उल्लेख छ।  

सुरुमा गाउँपालिका–४ मा मृत्यु भइसकेका व्यक्तिको नाममा पनि सामाजिक सुरक्षा भत्ता चुहावट भएको खबर बाहिरिएपछि न्यायिक समितिका संयोजक समेत रहेकी उपाध्यक्ष खड्काको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो। १५ दिनभित्र प्रतिवेदन बुझाउन समय पाएको उक्त समितिले मंसिर १३ गते नै छानबिन प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको थियो। तर, समितिले तयारी गेको १० दिनपछि मात्रै प्रतिवेदन सार्वजनिक गरेको हो।  

अघिल्ला आर्थिक वर्ष वितरण भएका सामाजिक सुरक्षाभत्ताको खर्च फस्र्योट भइसकेकाले एक वर्ष (आर्थिक वर्ष २०७६/०७७) भित्रको सामाजिक सुरक्षाभत्तामा दुरूपयोगका विषयमा मात्रै छानबिन गरिएको समितिका संयोजक खड्काले बताइन्। ‘मृत्यु भइसकेको, बसाइँ सरेर गएको, हुँदै नभएको मान्छेको नाममा राखेर अनियमितता गरेको पाइएको छ,’ उनले भनिन्, ‘त्यसमा पनि दलितको नाममा बढी दुरूपयोग भएका छ। छानबिनका क्रममा जे देख्यौं, त्यहीँ प्रतिवेदनमा लेखेका छौँ, यहाँ गलत भएको छ।’  

सामाजिक सुरक्षाभत्ता पाउने कतिपय लाभग्राहीको एउटै नाम, एउटै नागरिकता नम्बर, एउटै ठेगाना, एउटै जन्ममिति उल्लेख गरेर नक्कली लाभग्राही खडा गरिएको पाइएको छ। एकै व्यक्तिको नाममा एकल महिलाको सामाजिक सुरक्षा भत्ता बाँडिएको तथ्या पनि फेला परेको छ। सामाजिक सुरक्षाभत्तामा अनियमितता भएको प्रतिवेदन सार्वजनिक भएपछि वडा तथा गाउँपालिकाका जनप्रतिनिधिलाई समेत नैतिक प्रश्न उब्जीएको छ। स्थानीय तहमा जनप्रतिनिधि भएको अवस्थामा यसरी रकम दुरूपयोगमा कर्मचारी मात्रको हात नरेको कतिपयको आशंका छ।  

सामाजिक सुरक्षाभत्तामा एक आर्थिक वर्षमा ८७ लाखभन्दा बढी रकम अनियमितता भएको छानबिन प्रतिवेदन सार्वजनिक भएपछि अघिल्ला आर्थिक वर्ष सोभन्दा बढी रकम अनियमितता भएको हुनसक्ने अनुमान गरिएको छ। सामाजिक सुरक्षा भत्ता दुरूपयोग गरेको पुष्टी हुने जो कसैलाई सामाजिक सुरक्षा ऐन २०७५ र सामाजिक सुरक्षा नियमावली २०७६ अनुसार कारबाही हुने गाउँपालिका अध्यक्ष खड्काले बताए। ‘छानबिन प्रतिवेदन आएको छ, तर त्यो अझै पूरा छैन। त्यसलाई पूरा बनाउन केही समय लाग्छ,’ अध्यक्ष खड्काले भने, ‘रकम दुरूपयोगमा क–कसको संलग्नता छ ? को बाट कति असुल गर्नु पर्ने हो ? त्यसको यकिन सँगै प्रमाणीत भएपछि कारबाही अघि बढ्छ।’
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३३ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ३९ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस