म्याग्दीमा यो वर्ष सुन्तला उत्पादनमा भारी गिरावट आएको छ । टिप्ने बेला भएको सुन्तलाको दानामा सिट्रस फुडफ्लाई (औंसा) नामक किराको प्रकोपले नोक्सानी गर्दा जिल्लाभर सुन्तलाको उत्पादनमा कमी आएको किसानले बताएका छन् ।
यो पटक किराकै कारण करिब ७ सय २० टन सुन्तलाका दाना खेर गएको कृषि ज्ञान केन्द्रको अनुमान छ । किराको प्रकोपका कारण ३ करोड रुपैयाँ भन्दा बढी नोक्सानी भएको केन्द्रले बताएको छ । सुन्तलाको पकेट क्षेत्र मानिने जिल्लाका करिब एकदर्जन गाउँमा सुन्तलाको बोटमा औंसा किरा लागेर फल पहेँलो हुँदै झर्न थालेपछि स्वाद र फलको आकारमा समेत असर गरेको कृषि ज्ञान केन्द्र म्याग्दीका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताए ।
‘सुन्तलाको दाना टिप्ने बेलामा किसानले ठूलो नोक्सानी बेहोर्नुपरेको छ, उनले भने, ‘प्रकोपले बाहिरी बजारमा जाने सुन्तलाको मुल्यमा पनि असर गरेको छ ।’ जिल्लाको ६ वटै स्थानीय तहको ३ हजार ४५ हेक्टर जमिनमा सुन्तला खेती भइरहेकोमा २६ सय मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । यसवर्ष करिब ९ करोड १० लाख रुपैयाँ मुल्य बराबरको सुन्तला उत्पादन भएकोमा ६० देखि ७० प्रतिशत सुन्तला बाहिरी जिल्लामा निर्यात भएको उनले बताए । ‘किराको प्रकोपले सबैतिरका सुन्तलाबारीमा असर गरेको छ, हामीले क्षतीको विवरण संकलन गरी पठाएका छौ,’ पाण्डेले भने ।
यो पटक म्याग्दीका एकैजना किसानले दुईलाख रुपैयाँसम्मको आम्दानी गुमाएका छन् । म्याग्दीको बेनी नगरपालिकाको भकिम्ली, राखु, मरेक, सिंगाको बास्कुना, सुर्केमेला, थामडाँडा, मंगला गाउँपालिकाको बरंजा, अर्मन, मालिका गाउँपालिकाको ओखरबोट, देविस्थान, बिम र रघुगंगा गाउँपालिकाको बेगखोला, राखु, अन्नपूर्ण गाउँपालिकाको दानाबाट गतबर्ष करिब ११ करोड रुपैयाँको सुन्तला जिल्ला बाहिर निर्यात भएको थियो ।
सुन्तलामा किराको प्रकोपले बाहिरी जिल्लाबाट आउने ब्यापारीले समेत कम मुल्य दिएको बास्कुनाका अगुवा कृषक तिलक गुरुङले बताए । सुन्तलाको बोटमा औंसा किरा लागेर पाक्न लागेको सुन्तला झरेपछि स्वाद समेत गुमेको भन्दै कम मुल्यमा बिक्री गर्नुपरेको उनले बताए ।
‘एकदशक यता कृषकले धेरै क्षती बेर्होनुपरेको अवस्था छ,’ उनले भने, ‘क्षती बराबरको राहतको माग समेत माग गरेका छौ ।’ बगैचामा झरेको सुन्तलाको दानालाई संकलनको आधारमा क्षतिपुर्ती दिनुपर्ने किसानको माग छ । म्याग्दीमा एउटै किसानले ८ लाख रुपैयँसम्मको सुन्तला बिक्री गर्ने गरेका छन् । गतवर्ष बास्कुना–सुर्केमेला र थामडाँडा क्षेत्रबाट मात्रै ४० लाख रुपैयाँको सुन्तला बिक्री भएको थियो ।
‘ए’ र ‘बि’ ग्रेडको सुन्तलाको मुल्यमा समेत ठेकेदारले किराको प्रकापको बाहनामा कम गरको किसानको गुनासो छ । म्याग्दी जिल्लाको समुन्द्री सतहबाट १ हजार २ सय मिटरदेखि १ हजार ६ सय मिटरको उचाइसम्म सुन्तला खेती हुँदै आएको छ । यसवर्षको क्षतीलाई मध्यनजर गरी पकेट क्षेत्रमा बगैचा विस्तार, सुधार, पुराना बोटको मर्मत, अनुदानलाई प्राथमिकता दिने ज्ञानकेन्द्रले जनाएको छ ।
हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्ष सुन्तला उत्पादन चार सय मेट्रिकटनभन्दा धेरैले वृद्धि भएको छ। जिल्लामा गत आर्थिक वर्ष २०७९÷०८० को तुलनामा चालु आव २०८०-८१ मा चार सय ६९ मेट्रिकटनले वृद्धि भएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ।
ज्ञान केन्द्रका सूचना अधिकारी कुलबहादुर राईका अनुसार अघिल्लो आर्थिक वर्ष एक हजार छ सय ९० मेट्रिकटन सुन्तला उत्पादन भएको जिल्लामा यस वर्ष दुई हजार एक सय ५९ मेट्रिकटन उत्पादन भएको छ। हाल दुई सय ९५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिँदै आएको ज्ञान केन्द्रको तथ्याङ्क छ।
यसमा दुई सय ५७ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाले उत्पादन दिएको सूचना अधिकारी राईले बताए। यस वर्ष उत्पादन दिने बिरुवाको संख्या बढेसँगै उत्पादन पनि बढेको उनको भनाइ छ।
जिल्लाको आठ पालिकामध्ये खुम्बु पासाङ ल्हामु गाउँपालिकाबाहेक सबै स्थानीय तहमा सुन्ताल खेती हुने गरेको ज्ञान केन्द्र प्रमुख दुर्गाबहादुर तिरुवाले जानकारी दिए। उनले भने, ‘सोलुखुम्बु हिमाली जिल्ला भए पनि यहाँको धेरै क्षेत्रमा सुन्तलाखेती राम्रो हुन्छ, खुम्बुमा चिसो भएकाले खेती हुँदैन त्यसबाहेक अरू सबै पालिका क्षेत्रमा यसको खेती राम्रो हुन्छ, गत वर्ष रोग, किरा र फलमा देखिने औँसाले दुःख दिएकाले सुन्तला उत्पादन घट्यो यस वर्ष बेलैमा उपचार भएर रोग किरा नियन्त्रण हुँदा उत्पादन बढ्यो।’
जिल्लामा उत्पादित सुन्तलाको झण्डै ६० प्रतिशत हिस्सा थुलुङ दूधकोसीले ओगटेको कृषि ज्ञान केन्द्रले जनाएको छ। थुलुङ दूधकोसीको देउसा क्षेत्र सुन्तला खेतीको प्रचुर सम्भावना बोकेको ठाउँ भएकाले यहाँ बढी उत्पादन भएको ज्ञान केन्द्र प्रमुख तिरुवाले बताए।
देउसालाई जिल्लाको सुन्तला भण्डारकै रुपमा लिइन्छ। सदरमुकाम सल्लेरीस्थित साप्ताहिक हाट नयाँबजारमा बिक्रीका लागि ल्याइने अधिकांश सुन्तला देउसाकै हुने गरेको ज्ञान केन्द्रका सूचना अधिकारी राईको भनाइ छ। ‘जिल्लालाई देउसाकै सुन्तलाले धानेको छ, अन्य ठाउँहरूमा खासै व्यावसायिक रुपमा सुन्तला खेती नभए पनि देउसामा व्यावसायिक सुन्तला खेती हुन्छ, यसका कारण देउसाको सुन्तलाले बजार नै ओगटेको छ, त्यहाँको सुन्तला बगान त हेर्दै रहर लाग्दा छन्, देउसाको सुन्तला स्वादको हिसाबले समेत निकै स्वादिष्ट छ त्यही भएर माग पनि राम्रो छ त्यहाँका सुन्तलाको’, उनले भने।
ज्ञान केन्द्रको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८÷७९ मा एक हजार एक सय ३४ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो। यस्तै आर्थिक वर्ष २०७९÷८० मा एक हजार ६ सय ९० मेट्रिकटन र चालु आर्थिक वर्ष दुई हजार एक सय ५९ मेट्रिकटन सुन्तला उत्पादन भएको ज्ञान केन्द्रको तथ्यांक छ।
बजारीकरणमा समस्या
जिल्लामा उत्पादन हुने सुन्तलाको बजारमा भने समस्या रहेको छ। जिल्लाको विभिन्न क्षेत्रमा वार्षिक दुई हजार मेट्रिकटनभन्दा धेरै सुन्तला उत्पादन भए पनि बजारीकरणको समस्या रहेको किसानको गुनासो छ। उत्पादित सुन्तलाले बजार नपाउँदा यत्तिकै कुहिएर खेर जाने गरेको देउसाका किसान सङ्गम राईले गुनासो गरे ।
उनले भने, ‘सुन्तला धेरै फल्यो भनेर रमाउनु मात्रै हो, बजार छैन, फलेर के गर्नु, त्यतिकै कुहिएर खेर जाने गरेको छ। यहाँको बजारमा कति नै पो बिक्छ र ? धेरै उत्पादन भए पनि खासै भाउ नै छैन, गाउँमा त सबै वस्तुभाउलाई चारो पकाएर दिने हो। त्योभन्दा अरू विकल्प नै छैन नि।’
हाल जिल्लामा उत्पादन भएको सुन्तलाको बजार जिल्लाभित्र मात्रै सीमित बनेको छ। जसका कारण बजारीकरणमा समस्या रहेको किसानको दुखेसो छ। देउसाको सुन्तला जिल्ला सदरमुकाम सल्लेरीसम्म ढुवानी गरेर किलोको ५० रुपैयाँमा पनि बिक्री नहुने गरेको देउसाका किसान अम्बर राईको भनाइ छ।
उनले भने, ‘बजार नपाउँदा सिजनमा फलेको सुन्तलाबाट किसानले खासै राम्रो आम्दानी गर्न सकेका छैनन्, बजार सानो छ, खाने मान्छे कम छन्, त्यसैले गर्दा हामीले फलाएको सुन्तलाको केही भाउ छैन, रोग किरा, औँसाबाट कति दुःख गरेर जोगाउनुपर्छ, फलेपछि बजारमा भाउ छैन, किसानलाई जताबाट पनि घाटा नै घाटा, सुन्तलाखेतीबाट यसो आम्दानी होला कि भनेर बारीभरि सुन्तलाको बोट रोपियो, योबाट पनि खै त आम्दानी यस्तै त रहेछ नि।’ जिल्लामा उत्पादित सुन्तला व्यावसायिक रुपमा अन्यत्र निर्यात गर्न सकेको छैन।
थुलुङ दूधकोसी गाउँपालिकाले केही मात्रामा सुन्तला काठमाडौँ पुर्याएर बिक्री गरे पनि पालिका क्षेत्रमै उत्पादित सबै सुन्तला ढुवानी गर्ने व्यवस्था हुन नसकेको किसान सङ्गम राईले बताए। साथै जिल्लामा सुन्तलाबाट जुस उत्पादन गर्ने व्यवस्था नहुँदा फल यतिकै खेर जाने गरेको किसानको दुखेसो छ। स्थानीय सरकारले सुन्तला, कागती, जुनारजस्ता सिजनमा हुने फलहरूबाट जुसहरू तयार गर्न सके किसानको लगानी र मेहनतको सदुपयोग हुने नेलेका सन्तोष खत्रीले बताए।
हाल जिल्लामा उत्पादन हुने सुन्तला खानकै लागि मात्रै प्रयोग हुँदा किसानले सोचेजस्तो आम्दानी लिन नसकेको उनको भनाइ छ। यहाँ उत्पादन हुने सुन्तला ढुवानी गरी अन्य जिल्लामा समेत पुर्याउन सके बजारको चिन्ता नहुँने सल्लेरीका मिङ्मार शेर्पाले बताए।
देउसामा उत्पादन हुने सुन्तला अहिले साप्ताहिक हाट नयाँ बजारको भर पर्नुपरेको छ। हाट बजारमा बिक्री नभएको सुन्तला किसानले यतिकै फर्काएर लैजानुपर्दा गाडी भाडा तथा ज्यालामा समेत दोहोरो घाटा हुने किसानको दुखेसो छ। सुन्तलाबाट जुस बनाएर बाहिर निर्यात गर्ने सवालमा आफूहरू गम्भीर रहेको थुलुङ दूधकोसी गाउँपालिका प्रवक्ता भोजराज कार्कीले बताए।
किसानको मेहनत र लगानीलाई खेर जान नदिन स्थानीय सरकार ठोस योजनाका साथ बढ्ने उनको भनाइ छ। ‘हामीले जुस उत्पादन गर्ने कारखाना त खोल्छाँै तर यति मात्रै सुन्तलाले पुग्दैन, त्यसैले उत्पादनलाई अझै बढाउन आवश्यक छ, फेरि यो फल याममा मात्रै उत्पादन हुने फल भएकाले यसलाई भण्डारण गर्ने उचित व्यवस्थापनका लागि पनि हामी योजना बनाएर अघि बढ्छौँ, केही ठाउँमा त हामीले भण्डारण केन्द्र पनि बनाइसकेका छौँ’, उनले भने। –रासस
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...