लुम्बिनी विकास कोषः साढे ३ अर्बको ठेक्का विवादमा
३० जेष्ठ २०७८
•
५ मिनेट पाठ
लुम्बिनी विकास कोषः साढे ३ अर्बको ठेक्का विवादमा
लुम्बिनी विकास कोषले लुम्बिनी गुरु योजनाअन्तर्गत विभिन्न निर्माण कार्यका लागि प्रकाशन गरेको साढे तीन अर्ब रुपैयाँ बराबरको बोलपत्र विवादमा तानिएको छ ।




कोषले केही व्यवसायीसँगको मिलेमतोमा उनीहरूलाई मात्र मिल्ने प्रावधान समावेश गरी बोलपत्र आह्वान गरेको आरोप निर्माण व्यवसायीहरूले लगाएपछि विवाद सिर्जना भएको हो । कोषले यही जेठ १० मा लुम्बिनी गुरुयोजनाअन्तर्गत सडक, ढल, बिजुलीलगायत विभिन्न निर्माण कार्य गर्न बोलपत्र प्रकाशित गरेको थियो । चारवटा प्याकेजमा तयार बोलपत्र मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक करिब साढे तीन अर्ब रुपैयाँबराबरका हुन् ।

बोलपत्र तयार गर्दा कोषका केही पदाधिकारी र केही निर्माण व्यवसायीबीच मिलेमतो भएको र त्यसअनुसार चारजना व्यवसायीलाई मात्र मिल्ने अनुभवका प्रावधान समावेश गरेकोे आरोप अन्य निर्माण व्यवसायीले लगाएका छन् । कोषले मिलेमतोमा दर्जनौं व्यवसायीलाई प्रतिस्पर्धा गर्नबाट पाखा लगाएको मात्र नभइ आर्थिक अनियमितताको नियतसमेत देखिएको आरोप लागेको छ ।

निर्माण व्यवसायीहरूको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघले आधिकारिक रुपमै यो ठेक्कामा राखिएका प्रावधान (क्राइटेरिया) नमिलेको भनेको छ । महासंघले प्रावधान संशोधनका लागि कोषसमक्ष पत्राचार गरेको छ । उसले यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पनि यसबारे जानकारी गराएको छ ।

महासंघका अध्यक्ष रवि सिंहले धेरै व्यवसायीलाई प्रतिस्पर्धा नगराउने नियत राखी कोषले बोलपत्र प्रकाशन गरेको आरोप लगाए । ‘कोषले केही व्यवसायीको मात्र अनुभव मिल्नेगरी बोलपत्र तयार गरेर प्रकाशित गरेको छ,’ उनले भने, ‘मिलेमतोमा गरिएकोे यस्तो कार्यमा आर्थिक अनियमितताको नियत लुकेको हुन सक्छ ।’

कोषले मागेको बोलपत्रका चार प्याकेजअन्तर्गत १४ किलोमिटर सडक पिच गर्ने, १० किलोमिटरमा ब्लक राख्ने, ५० किलोमिटर ढल बनाउने, सडकको दायाँबाँया हरियाली बगैंचा निर्माण गर्ने, प्रत्येक सडकमा अन्डरग्राउण्ड विद्युतीकरण गर्ने, विभिन्न स्थानमा ११ वटा प्रवेशद्वार निर्माण गर्ने, पर्सा चोक र लोखरिया चोकमा कलात्मक प्रवेशद्वार बनाउने र ५ वटा बक्स कल्भर्ट (स-साना पुल) निर्माण गरिनेछ ।

अध्यक्ष सिंहका अनुसार कोषले आह्वान गरेका यी चारवटै प्याकेजमा निर्माण व्यवसायीका लागि अनावश्यक अनुभवका सर्त तेर्साइएको छ । आफूले चाहेका निर्माण व्यवसायीको मात्र अनुभव मिल्ने बनाउन निर्माणका यी सबै क्षेत्रलाई प्रत्येक प्याकेजमा समावेश गरिएको छ ।

लुम्बिनीमा विभिन्न स्थानमा प्रवेशद्वार निर्माण गर्नेलगायत हेरिटेजअन्तर्गतका काममा सडक र अन्य प्रकृतिको काम गरेको पनि अनुभव मागिएको छ । यस्तै हेरिटेज क्षेत्रमा एकै पटकमा २० करोड रुपैयाँबराबरको काम गरेको हुनुपर्ने सर्त पनि राखिएको छ ।

व्यवसायीहरूका अनुसार ब्लक बिछाउने ठेक्कामा पनि एम ३५ को कलरयुक्त ब्लक बिछाएको अनुभव मागिएको छ । अहिलेसम्म सडक बनाउने काममा ब्लक बिछाएको अनुभव मागिएको इतिहास छैन । काठमाडौं उपत्यका लगायत मुलुकभरका सहरी स्थानमा सडक बनाउँदा सँगै पेटीमा ब्लक बिछाउने काम पनि पर्छ । तर त्यसका लागि कहिल्यै छुट्टै अनुभव मागिएको छैन । ब्लक बिछाउने काम सरल र सबैले गर्न सक्ने हो । त्यसमा पनि अझै कोषले कलरयुक्त ब्लक बिछाएको अनुभव मागेको छ ।

यस्तै कोषले सडक बनाउने र कालोपत्रे गर्ने काममा पनि ल्याण्ड स्पेकिङको अनुभव माग गरेको छ । आरसिसी गर्ने काममा पनि एउटै ठेक्काको अनुभव माग गरिएको छ । यस्तोमा प्रतिवर्ष काम गरेको अनुभव माग्नुपर्नेमा एकै पटकमा एउटै कामको अनुभव हुनुपर्ने भनिएको छ । व्यवसायीहरूका अनुसार सडक बनाउँदा अधिकांश स्थानमा विद्युत्को काम पनि सँगै गरिएको हुन्छ । तर कोषले निकालेको बोलपत्रमा एकै पटकमा १५ करोड रुपैयाँ बराबरको विद्युत्को काम गरेको अनुभव मागिएको छ ।

एक व्यवसायीका अनुसार कोषले आफूले चाहेका व्यवसायीलाई ठेक्का दिन सबै कामलाई मिलाएर चारवटा प्याकेज तयार गरेको हो । ती व्यवसायीका अनुसार कोषले अर्घाखाँची, लुम्बिनी, कमलजित र बाबुल निर्माण सेवासँग मिलेमतो गरेको छ । कोषले मागेका अनुभव यी चार/पाँचवटा कम्पनीबाहेक अरु कसैसँग नभएको दाबी ती व्यवसायीको छ ।

महासंघले कोषलाई पठाएको पत्रमा पनि स्पष्टसँग चार कम्पनीलाई मात्र मिल्नेगरी अनुभव माग गरिएको उल्लेख छ । ‘चार प्याकेजको बोलपत्रमा माग गरेको प्रावधान हेर्दा यस्तो अनुभव भएका नेपालमा जम्मा चारवटा कम्पनी मात्र छन्,’ महासंघको पत्रमा छ, ‘ती कम्पनीहरूका लागि मात्र हुनेगरी अनुभव तोकिएकाले प्रतिस्पर्धालाई सीमित र शंकुचित बनाई आर्थिक मिलेमतो हुनेगरी काम गरेको देखिन्छ ।’

महांसघले बोलपत्रमा समावेश भएका अनुभवका प्रावधान सार्वजनिक खरिद ऐन तथा नियमावलीको मर्मविपरित भएको भन्दै संशोधनको माग राखेको छ । साथै, उसले अख्तियार र खरिद कार्यालय दुवैलाई बोलपत्रका प्रावधान सच्याउन निर्देशन दिन अनुरोध गरेको छ । महासंघले पहिलो पत्र जेठ २५ र दोस्रो पत्र २८ गते लेखेको छ ।

कोषका सदस्यसचिव सानुराजा शाक्यले बोलपत्र तयार गर्दा कुनै मिलेमतो नगरिएको र यसमा कुनै ठूलो विवाद पनि नभएको दाबी गरे । कोषले सार्वजनिक खरिद ऐनअनुसार नै तयार गरी बोलपत्र प्रकाशन गरेको उनले बताए । ‘केही व्यवसायीले बोलपत्रका प्रावधान कडा भएको गुनासो गर्नुभएको छ । प्रावधान खुलुलो भए धेरैजना प्रतिस्पर्धामा सहभागी हुन सक्ने भनिएको छ,’ सदस्यसचिव शाक्यले भने, ‘बोलपत्र प्रकाशन भएको २० दिन हुँदैछ हेरौं, कतिजना सहभागी हुनुहुन्छ । समस्या भए समाधान गर्न सकिन्छ ।’

सदस्यसचिव शाक्यले आइतबार बोलपत्रको प्रिबिडिङ छलफल राखिएको भन्दै निर्माण व्यवसायीका गुनासा भए त्यहाँ पनि छलफल गर्न सकिने जानकारी दिए ।  

कोषका योजना प्रमुख सरोज भट्टराईले गुरु योजनाको डिजाइनअनुसार नै निर्माण कार्य गर्न बोलपत्र तयार गरिएको जानकारी दिए । धेरै व्यवसायीले प्रतिस्पर्धा गर्न सकुन भनेर विभिन्न प्रावधान खुकुलो बनाइएको जानकारी दिँदै उनले व्यवसायीका केही गुनासा भए छलफल गर्न सकिने बताए ।  

सरकारले करिब ४० वर्षअघि लुम्बिनी गुरु योजना तयार गरी निर्माण गर्ने घोषणा गरे पनि धेरै काम अगाडि बढ्न सकेका थिएनन् । पछिल्ला वर्षहरूमा भने निर्माणको कामले गति लिएको छ । गुरु योजनाअनुसार बाँकी काममध्ये अहिलेको यो ठेक्काले करिब ५० प्रतिशत हिस्सा राख्छ । कोषले बाँकी ५० प्रतिशत काम तीन/चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ ।
अर्को समाचार
बौद्ध सम्पदामा ल्हारक्यालको मनपरीतन्त्र
२९ माघ २०८०
•
५ मिनेट पाठ
बौद्ध सम्पदामा ल्हारक्यालको मनपरीतन्त्र
फाइल तस्बिर
लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामामाथि लुम्बिनी र आसपासका बौद्ध सम्पदामाथि लुट मच्चाउन खोजेको आरोप लाग्न थालेको छ। उपाध्यक्ष लामामाथि लुम्बिनीस्थित बौद्ध सम्पदाको संरक्षण गर्नुको साटो अस्तित्व नै संकटमा पार्न उद्यत् रहेको आरोप छ।




उपाध्यक्ष नियुक्त भएलगत्तै उनले गरेका निर्णय र गतिविधि विवादास्पद बनेका छन्। शक्तिको आडमा लामाले कोषका कर्मचारी र बोर्डका सदस्यलाई समेत प्रभावमा पारेर विवादास्पद निर्णय र काम गरिरहेको स्रोतको दाबी छ।  

उनले लुम्बिनीमा विभिन्न संरचना निर्माण गर्ने, मायादेवी मन्दिरको डिजाइन परिवर्तन गरी गुम्बा बनाउने, बुद्धको अस्थि धातु रहेको रामग्राम स्तुप क्षेत्र प्रतिस्पर्धाबिनै निजी कम्पनीलाई लिजमा दिन सैद्धान्तिक सहमति गर्नेजस्ता विवादास्पद निर्णय गरेका छन्।

गत साउनमा उपाध्यक्ष नियुक्त भएलगत्तै लामाले पहिलो बैठकमै कोषको सम्पर्क कार्यालय काठमाडौं राख्ने प्रस्ताव ल्याएका थिए। तर चौतर्फी विरोध भएपछि उनी पछि हट्न बाध्य भए। उनले भदौ २४ गतेको बैठकबाट बौद्ध धर्मावलम्बीको आस्थाको धरोहर, बुद्ध जन्मस्थलको मुख्य चिनारी माायादेवी मन्दिरको डिजाइन परिवर्तन गरी गुम्बा बनाउने निर्णय गरेका थिए।

उनले मायादेवी मन्दिरको पुनः डिजाइनका लागि अन्तर्राष्ट्रिय जगत्सँग चन्दा उठाउने बताउँदै आएका छन्। मन्दिरको पुनः डिजाइनका लागि आफूले सात करोड रूपैयाँ चन्दा दिने प्रतिबद्धता गरेका उनले त्यसको स्रोत भने खुलाएका छैनन्।

स्थानीय तथा सरोकारवालाले मायादेवीको मन्दिर लुम्बिनीको मुख्य चिनारी भएकाले यसको जिर्णोद्धार आवश्यक भए पनि स्वरूपमै परिर्वतन हुनेगरी पुनः डिजाइन गर्न नहुने तर्क राख्दै आएका छन्। पुनः डिजाइनको प्रस्ताव विमति राख्ने कोषका एक सदस्यलाई उनले कारबाहीको पत्र थमाइदिए।

‘मायादेवी मन्दिरको पुनः डिजाइन गर्दा अहिलेको मौलिकता गुम्ने र त्यहाँका पुरातात्विक सम्पदा नासिने, हराउने खतरा छ,’ कोषका एक अधिकारीले भने, ‘कोषमा लामाको मनोमानी छ। जुन सर्तमा उनलाई उपाध्यक्ष बनाइयो त्यही सर्त पूरा गर्नु नै उनको मुख्य उद्देश्य होला।’

मायादेवी मन्दिरको पुनः डिजाइन प्रस्तावको विरोध भएपछि लामाले यसका लागि विज्ञ टोली छनौट गरी प्रारम्भिक प्रस्ताव तयार पार्ने काम अगाडि बढाएका छन्। लामाले विश्व सम्पदा क्षेत्रभित्र गुरुयोजनाविपरीतका कामलाई पनि तीव्रता दिइरहेका छन्। मायादेवी मन्दिर परिसरमा प्रार्थना गर्ने संरचना (सेड) बनाइँदै छ।

मन्दिरको मुख्य प्रवेशद्वारको पश्चिमतिर दियो बाल्ने सेड निर्माण गरिएको छ। कपिलवस्तुको कुदान क्षेत्रमा पुरातत्व विभागको अनुमति नलिईकन आरसिसी संरचनामा गेट निर्माण भइरहेको छ। शाक्यहरूको नरसंहारस्थल सगरहवामा पनि मूर्ति कार्यशाला गर्दै पत्थरका मूर्तिहरू निर्माण गरिएको छ।

पुस २३ देखि माघ ८ गतेसम्म राष्ट्रिय स्तरका मूर्तिकारहरू जम्मा गरेर सगरहवामा ढुंगामा मूर्ति कुँदिएको छ। पुरातात्विक सम्पदामा असर पर्नेगरी मूर्ति कार्यशाला गरिएको भन्दै पुरातत्व विभागले आपत्ति जनाइसकेको छ।

यसैगरी उपाध्यक्ष लामाले नवलपरासीस्थित बुद्धको अस्थिधातु रहेको रामग्राम स्तुप क्षेत्र प्रतिपर्धाबिनै एउटा निजी कम्पनीलाई ९९ वर्षका लागि लिजमा दिन समझदारी (एमओयु) गरेका छन्। मंसिर २६ गतै रामग्राममा आयोजित कार्यक्रममा सम्पदा क्षेत्र निजी कम्पनीलाइ लिजमा दिने गरी समझदारी भएको सार्वजनिक गरेका थिए।

प्रतिस्पर्धाबिनै सिंगापुरमा कार्यालय रहेको मोक्ष फाउन्डेसनले स्रोत जुटाउने र प्रमिस्ड ल्यान्डले व्यवस्थापन गर्ने गरी रामग्राम स्तुप क्षेत्र लिजमा दिने समझदारी भएको उनले बताएका थिए। कोषको बैठकले असोजमै समझदारी गर्ने निर्णय लिएको थियो।

अहिले यो विषय संसद्को सार्वजनिक लेखा समितिमा पुगेको छ। लेखा समितिले कोषसँग आवश्यक कागजात मागेको छ। विवादमा तानिएपछि उपाध्यक्ष लामाले विज्ञप्ति निकालेर चोखिने प्रयास गरेका छन्। निजी कम्पनीलाई लिजमा दिने सम्झौता नगरिएको तर रामग्रामको विकास र संरक्षणमा यस्ता काम गर्न सकिन्छ है भनेर समझदारी मात्र भएको विज्ञप्तिमा उल्लेख छ।

तर कोषका सदस्यसचिव सानुराजा शाक्यले रामग्राम विकास र संरक्षणका लागि निजी कम्पनीलाई लिजमा दिन बोर्डकै निर्देशनमा समझदारी भएको बताए। उनले असोज २९ गते उक्त समझदारीपत्रमा हस्ताक्षर भएको बताए। ‘समझदारी भएको हो, लिजमा दिइहाल्ने निर्णय भएको हैन,’ शाक्यले भने, ‘सम्बन्धित कम्पनीले आवश्यक सर्त पूरा गर्न नसके सम्झौता गर्न सकिँदैन।’

कोष र प्रमिस्ड ल्यान्डबीच भएको समझदारीपत्रमा दूरदर्शी परियोजनाका नाममा हाल संरक्षित जमिन ४ बिघा ५ कट्ठा र स्थानीयको थप ११६ बिघा अधिग्रहण गरी १२० बिघा लिजमा दिने उल्लेख छ। समझदारीपत्रमा गुरुयोजना निर्माणसँगै रामग्रामका नाममा भएको आम्दानीको २० प्रतिशत संंरचना मर्मत र संरक्षणमा प्रमिस्ड ल्यान्डले पाउने पनि भनिएको छ।

समझदरीअनुरूप जग्गा अधिग्रहणसहित परियोजनाका लागि झन्डै ७ अर्ब रूपैयाँ लाग्ने बताइएको छ। मोक्षले सम्पदा क्षेत्रका नाममा अन्तर्राष्ट्रिय दातृ निकायबाट सहयोग जुटाउने बताइएको छ।

निर्णय फिर्ता नभए आन्दोलनको चेतावनी

बौद्ध सम्पदामा लुट मच्याउन प्रतिस्पर्धाबिनै रामग्राम स्तुप क्षेत्र निजी कम्पनीलाई लिजमा दिन गरिएको समझदारीपत्रको रामग्रामका स्थानीय र सरोकावालाले विरोध गरेका छन्। कोषले समझदारीपत्र रद्द नगरे आन्दोलनमा उत्रिने चेतावनी रामग्रामवासीले दिएका छन्।

पुरातात्विक सम्पदाहरूको संरक्षण र विकास सरकारी निकायबाटै गरिनुपर्ने माग उनीहरूको छ। ‘निजी कम्पनीलाई लिजमा दिएर पुरातात्विक स्थलको अस्तिव नामेट पार्न खोजिएको छ, जुन कुरा स्वीकार्य छैन,’ रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्था नवलपरासीका अध्यक्ष शम्भुप्रसाद उपाध्यायले भने।

रामग्राम– ७, उजैनीका रामानन्द कोइरीले रामग्रामको विकास र संरक्षण सरकारी स्तरबाटै गरिनुपर्ने बताए। ‘निजी कम्पनीलाइ ९९ वर्षका लागि लिजमा दिएर अमूल्य सम्पदामाथि लुट मच्याउने र स्थानीयको घरजग्गा हडप्ने योजना सफल हुन दिँदैनौं,’ उनले भने।

रामग्राम स्तुप

रामग्राम बुद्धको अस्थिधातु राखिएका आठ स्थानमध्ये एक भएको बुद्धग्रन्थहरूमा उल्लेख छ। नवलपरासी सदरमुकामबाट तीन किलोमिटर दक्षिण–पूर्वको उजैनी गाँउ नजिकै झरही खोलाको किनारमा रामग्राम स्तुप छ। समथर जमिनमा माटोको थुम्को छ। 

सोही स्तुपलाई अहिले ४ बिगाह जमिनसहित चारैतिरबाट संरक्षण गरेर राखिएको छ। बुद्धदर्शनका अध्येताका अनुसार बुद्धले महापरिनिर्वाण प्राप्त गरेपछि कोलियहरू कुशीनगर पुगेको र तीनैले बुद्धको अस्थि ल्याएर उजैनी गाउँ नजिकै खोला किनारमा गाडेर स्तुप बनाएका हुन्।
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३८ सेकेन्ड अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २९ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस