२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

४३ वर्षमा साढे तीन लाख पर्यटक भित्रिए

पर्यटकीय क्षेत्र लाङटाङ जान लागेका विदेशी पर्यटक तस्बिरः हिमनाथ/नागरिक

गएको ४३ वर्षमा साढे तीन लाख पर्यटक लाङटाङ राष्ट्रिय निकुञ्जमा भित्रिएका छन्। निकुञ्जको तथ्यांक अनुसार आर्थिक वर्ष २०३५/३६ देखि गएको असार मसान्तसम्ममा तीन लाख ४५ हजार ३ सय १६ पर्यटक भित्रिएका हुन्।  

यो निकुञ्ज तथा विभागमा टिकट काटेर भित्रिएका पर्यटकको संख्या हो। निकुञ्जले केही वर्ष अघिसम्म विदेशी र सार्क राष्ट्रका नागरिकलाई प्रवेश शुल्क लिँदै आएकोमा पछिल्लो समय पर्यटकको रूपमा आएका नेपालीसँग पनि शुल्क लिने गरेको छ।

तथ्यांक अनुसार निकुञ्जमा सबैभन्दा कम आर्थिक वर्ष २०३५/३६ मा ८ सय ८३ पर्यटक र सबैभन्दा बढी आर्थिक वर्ष २०७५/७६ मा १७ हजार ६ सय ९१ पर्यटक आएका छन्। दुई वर्षयता कोभिड–१९ का कारण पर्यटकको आगमन घटेको छ। रसुवामा विदेशी पर्यटकको आगमन कहिलेबाट सुरु भयो भन्ने एकीन तथ्यांक छैन्। तर २०३२ चैत ९ गते लाङटाङ राष्ट्रिय निकुञ्जको स्थापना भएपछि पर्यटकको तथ्यांक राख्न सुरु गरिएको हो।

आर्थिक वर्ष २०३५/३६ मा ८ सय ८३ पर्यटक निकुञ्ज आएका तथ्यांकमा उल्लेख छ। यो भन्दा अगाडिको तथ्यांक निकुञ्जसँग पनि छैन्। निकुञ्ज आउने पर्यटकमध्ये धेरैजसो जिल्लामा रहेका धार्मिक, प्राकृतिक र ऐतिहासिक सम्पदाको अध्ययन, अवलोकन तथा अनुसन्धानका लागि आउने गर्छन्।

निकुञ्जमा पर्यटक प्रवद्धनका कार्यक्रम सञ्चालन भएका कारण पछिल्लो समय पर्यटक बढ्दै गएका प्रमुख संरक्षण अधिकृत सुस्मा रानाले बताइन्। निकुञ्जले पदमार्ग सुधार, विश्रामस्थल निर्माण, सूचना पार्टीहरूको स्थापना लगायतका कार्य गरेको छ। रसुवामा धार्मिकस्थल गोसाइँकुण्ड लगायतका विभिन्न कुण्ड, ऐतिहासिक स्थल रसुवागढी, लाङटाङ, विभिन्न हिमश्रृङ्खला, तामाङ सम्पदा मार्ग, ५५ वटा गुम्बा लगायतका प्राकृतिक तथा मानव निर्मित सम्पदाहरू रहेका छन्।

त्यसैगरी लाङटाङ राष्ट्रिय निकुञ्जमा विश्वको दुर्लभ वन्यजन्तु रेडपाण्डा, हिमचितुवा लगायतका जीवजन्तु पाइन्छ। पछिल्लो समय नेपाली पर्यटकले समेत प्रवेश शुल्क तिरेर आउने गरेका छन्। शुल्क तिरेर आउने नेपाली पर्यटकको संख्या समेत तथ्यांकमा समावेश गरिएको छ।  

जिल्लामा चारवटा पदमार्ग रहेको छ। धुन्चे लौरीविना चन्दनबारी बुद्ध मन्दिर हुँदै गोसाइँकुण्ड पुगिने गोसाइँकुण्ड पदमार्ग, धुन्चे–ठूलोस्याफ्रु–लामाहोटल हुँदै लाङटाङ पुगिने लाङटाङ पदमार्ग, धुन्चे–स्याफ्रु–गोल्जुङ हुँदै गत्लाङ पुगिने तामाङ सम्पदा मार्ग र धैबुङबाट लोकिल हुँदै यार्सासम्म पुगिने रसुवामा मार्ग गरेर चार ओटा पदमार्ग सञ्चालनमा रहेको छन्।  

जिल्लाको पर्यटकीय क्षेत्रहरूमा बाह्रै महिना पर्यटक आउने गरेपनि असोज १५ गतेदेखि कार्तिक मसान्त र चैतदेखि बैसाख अन्तिमसम्म बढी पर्यटक आउने गरेका छन्। सिजनको समयमा लाङटाङमा दैनिक डेड सय जनासम्म पर्यटक जाने गरेका छन्।  

निकुञ्जमा आएका पर्यटकमध्ये करिव ९० प्रतिशत पर्यटक लाङटाङ पुग्ने गरेकोमा  पछिल्लो समय गोसाइँकुण्ड जानेको संख्या उच्च छ। इजरायल, फ्रान्स, क्यानडा, जापान, इटली, अमेरिका, थाइल्याण्ड, वेलायत, कोरिया, रसिया, स्पेन, उरुग्वे, सिंगापुर लगायतका देशका पर्यटक आउने गरेका बताइएको छ।

प्रकाशित: ७ भाद्र २०७८ ०८:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App