काठमाडौं– भिसा प्रोसेसिङ शुल्क भन्दै नेपाली कामदारबाट थप रकम असुलिरहेको मलेसिया भिएलएन नेपाल प्रालिकै पक्षमा परराष्ट्र मन्त्रालय देखिएको छ।
गैरकानुनी काम गरेको भन्दै श्रम तथा रोजगार मन्त्रालयले उसलाई कारबाही गर्ने बताइरहँदा परराष्ट्र मन्त्रालयले भिसा शुल्क बढाउन मलेसिया सरकारले नेपालसँग सहमति लिनु नपर्ने आशयको पत्र अर्थ र श्रम तथा रोजगार मन्त्रालयलाई पठाएको छ।
परराष्ट्रले गत सोमबार अर्थ र श्रम तथा रोजगार मन्त्रालयलाई पठाएको पत्रमा भिसा प्रोसेसिङ शुल्क वृद्धि र अन्य व्यवस्था मलेसिया सरकारको विशुद्ध आन्तरिक मामिला र भिसा उसको अधिकार भएकोले सोसम्बन्धी शुल्क र प्रक्रियाबारे नेपाल सरकारलगायत अन्य कुनै पनि देशको पूर्व सहमति लिनु नपर्ने उल्लेख गरेको छ। 'मलेसिया सरकारले अल्ट्रा किराना एसडिएन बिएचडी नामक कम्पनीसँग सम्झौता गरेको र सो कम्पनीले नेपालमा भिएलएन काउन्टर स्थापना गर्न मलेसिया भिएलएन नेपाल प्रालिलाई प्रतिनिधि तोकेकाले कम्पनीले काठमाडौंस्थित मलेसियाली राजदूतावासको प्रत्यक्ष निगरानीमा रहेर काउन्टर सञ्चालन गर्न आपसमा सम्झौता गरी नेपालको कम्पनीलाई अख्तियार दिएको हुँदा त्यसमा परराष्ट्र मन्त्रालयको सकारात्मक धारणा रहेको' शाखा अधिकृत रमेशकुमार चर्मकारले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ।
गत नोभेम्बरदेखि मलेसियाली दूतावासले भिसा शुल्क सात सयबाट बढाएर ३९ सय पुर्याअएको थियो। भिएलएन नेपालले प्रोसेसिङ चार्जको नाममा रकम उठाएपछि उसको वैधतामाथि शंका गर्दै श्रम तथा रोजगार मन्त्रालयले कारबाही गर्ने निर्णय गरेको थियो।
मन्त्रालयले गत वैशाख ३० गते भिएलएन नेपालले अवैधानिक रुपमा काम गरिरहेको भन्दै विभिन्न निकायमा पत्र काटी कारबाहीको सिफारिस गरेको थियो। उसले परराष्ट्र, विज्ञान तथा प्रविधि, अर्थ मन्त्रालय र वाणिज्य विभागको नाममा पत्र काटेर स्वीकृतिबिना काम गरिरहेको भन्दै कारबाहीको सिफारिस गरेको थियो।
यसअघि मन्त्रालयको निर्देशनमा वैदेशिक रोजगार विभागले भिएएलएनलाई कारबाही गर्ने पत्र काटेको थियो। पछि विभागले प्रवेशाज्ञासम्बन्धी प्रक्रिया वैदेशिक रोजगार ऐन, २०६४ तथा नियमावली २०६४ को क्षेत्राधिकारभित्र नभएको भन्दै भिएलएनको विषय तामेलीमा राख्ने निर्णय गरेको थियो।
श्रम तथा रोजगार राज्यमन्त्रीले भिएलएनका विषयमा अन्तरमन्त्रालय छलफल हुनुपर्ने औंल्याउँदै अझै यो विषयमा अनुसन्धान हुने बताए। 'कतिपय कुरा अन्य निकायमा प्रस्ट भएको छैन, ती कुरालाई प्रस्ट पार्न जरुरी छ। यो विषयमा मलेसिया सरकारसँग पनि छलफल हुन्छ,' उनले भने।
भिएलएनले २०१३ नोभेम्बरदेखि २०१४ मेसम्म एक लाख ३८ हजार पाँच सय ३७ जनाको भिसा प्रोसेसिङ गरेको छ। जसमा एक लाख ३२ हजार सात सय तीन कामदार छन् भने पाँच हजार आठ सय ३४ सोसल (टुरिस्ट) भिसा रहेको छ। भिसा प्रोसेसिङबापत भिएलएनले अहिलेसम्म ४४ करोड ३३ लाख १८ हजार चार सय रुपैयाँ उठाइसकेको छ। उठाएको रकम विदेश पठाउन राष्ट्र बैंकले स्वीकृति दिएको छैन।
मन्त्रीको नाममा घुस
मलेसिया भिएलएन नेपाललाई सहयोग गर्ने र निर्वाध चल्न दिने भन्दै मन्त्री र मन्त्रालयको नामबाट करोडौं रकम घुस मागिएको भिएलएनले दाबी गरेको छ। भिएलएनका सञ्चालक राम श्रेष्ठले मन्त्री र मन्त्रालयको नाम लिँदै मन्त्रालय र बाहिरका मान्छेले पटकपटक पाँच करोड रुपैयाँसम्म मागेको आरोप लगाए।
'टेकबहादुर दाइलाई शेरबहादुर देउवाले मन्त्री बनाएको र देउवालाई समेत रकम दिनुपर्ने भन्दै ब्लाकमेलिङ शैलीमा रकम मागिरहेका छन्,' उनले भने। आफूलाई रेस्टुरेन्ट र होटलमा बोलाई रकम दिन दबाब दिइरहेको उनले बताए।
'भिएलएन गैरकानुनी छ भने कारबाही गर्दा हुन्छ, खारेज भयो भने राम्रै होला तर पैसा दिन सक्दिन,' उनले भने।
राज्यमन्त्री गुरुङले मन्त्रालय र आफ्नो नामबाट कसैले रकम मागेको विषयमा जानकारी नभएको बताए। भिएलएनलाई कारबाही गर्ने भन्ने मन्त्रालयको अडानलाई लिएर बीचमा कसैले चलखेल गरेको हुन सक्ने उनको भनाइ छ। 'यस विषयमा मन्त्रालयभित्रै अनुसन्धान हुन्छ,' उनले भने।