पोखरा-पर्यटनको दोस्रो गन्तव्य सहर पोखरामा यो क्षेत्रबाट राजस्व क्रमशः बढ्न थालेको छ। थपिइरहेका होटल, रेस्टुरेन्टसँगै कर कार्यालयको सक्रियताका कारण सेवा क्षेत्रको योगदान राजस्वमा बढ्न थालेको हो।
कर अधिकारीहरु सेवा क्षेत्रबाट राजस्वमा भइरहेको योगदानबाट सन्तुष्ट छैनन्। अपेक्षाकृत असुली हुन नसकेको भन्दै दायरा फैलाउन र वास्तविक कारोबारको आधारमा कर संकलन गर्न राजस्व अधिकारीहरुले अभियान चलाइरहेका छन्।
आर्थिक वर्ष ०६९/७० मा आन्तरिक राजस्व कार्यालयले सेवा क्षेत्रबाट संकलन गरेको कर ११ करोड ५९ लाख रुपैयाँ थियो। यो कुल करको पाँच प्रतिशतमात्रै हो। त्यस वर्ष कार्यालयले दुई अर्ब दुई करोड रुपैयाँ राजस्व संकलन गरेको थियो। सेवा क्षेत्रबाट उठेको करको अधिकांश योगदान पर्यटनको छ। बैंकिङ क्षेत्रबाट भने राजधानीस्थित ठूला करदाता सेवा कार्यालयमा राजस्व दाखिला हुन्छ। वार्षिक ४० करोड रुपैयाँभन्दा बढी कर बुझाउनेलाई सरकारले ठूला करदाताको कार्यालयमार्फत सेवा दिन्छ।
पर्यटनमा भएको लगानीअनुसार करमा योगदान कम देखिएको पोखराका प्रमुख कर अधिकृत जगदीश्वर उपाध्याय बताउँछन्। 'पोखरा सेवा क्षेत्रको राजधानी भनिए पनि अपेक्षाकृत कर संकलन हुन सकेको छैन,' उपाध्यायले भने। उनकै भनाइमा पछिल्लो समय थपिएका केही होटलका कारण भने यो क्षेत्रबाट राजस्व संकलन वृद्धि भइरहेको छ।
पर्यटन क्षेत्रभित्रैबाट करको दायरामा समेट्न बाँकीलाई पनि राजस्वको घेराभित्र प्रवेश गराएकाले असुली क्रमशः वृद्धिको बाटोमा हिँडिरहेको छ। पर्यटन लगायत सेवाक्षेत्रबाट आन्तरिक राजस्व कार्यालयले अन्तःशुल्क, मूल्य अभिवृद्धि र आयकर संकलन गर्छ।
कर अधिकृत शशि भट्टराईका अनुसार पोखराका तीन सय २७ होटल, दुई ८२ रेस्टुरेन्ट, ४५ ट्राभल एन्ड टुर्स र २३ वटा प्याराग्लाइडिङ संस्था करमा दर्ता छन्। संस्थागत रुपमा स्थापित होटल तथा रेस्टुरेन्ट लगायत संस्था धेरै कर तिर्नमा छन्। कतिपय होटल रेस्टुरेन्टले भने करलाई अनिवार्यरुपमा स्वीकार्ने र तिर्ने अग्रसरता कम देखाउने गरेको उपाध्याय बताउँछन्।
फिस्टेल लज, संाग्रिला, पोखरा ग्रान्ड, बाराही, टेम्पल ट्री, अतिथि, मिरा, ल्यान्डमार्क र फेवाप्रिन्स होटल उत्कृष्ट करदाताभित्र पर्छन्। ०६९/७० भन्दाअघि सेवा क्षेत्रको योगदान कति थियो भन्ने कर कार्यालयले छुट्याउने गरेको थिएन। द्वन्द्वका बेला घाटामा रहेको पर्यटन क्षेत्रबाट योगदान कम देखिए पनि त्यसपछि भने उल्लेख्य योगदान भइरहेको व्यवसायी बताउँछन्। पर्यटन बोर्डका सदस्य टीकाराम सापकोटा आम्दानीअनुसार पर्यटनकर्मीले करमा योगदान पुर्याइरहेको बताउँछन्।
पोखराको पर्यटनमा ६० अर्ब रुपैयाँ जति लगानी रहेको सापकोटाको अनुमान छ। योमध्ये अधिकांश द्वन्द्व सकिएपछि थपिएको उनले बताए। 'पर्यटन उद्योगबाट कम्तीमा पनि एक लाखजनाले प्रत्यक्ष/अप्रत्यक्ष रोजगारी पाएका छन्,'उनले भने। एकजना पर्यटक आउँदा नौजनाले रोजगारी पाउने विश्व पर्यटन संगठनको तथ्यांक रहेको जानकारी पनि उनले थिए। पोखरामा वर्षेनी तीन लाख पर्यटक आउँछन्।
आन्तरिक राजस्व कार्यालय पोखरामा ५१ हजार करदाता दर्ता छन्। यो कार्यालयले गण्डकी र धौलागिरीका १० जिल्ला हेर्छ। ठूला उद्योगधन्दा नभएको यो क्षेत्रबाट उल्लेख्य मात्रामा आयकर संकलन हुने गरेको छ। गएको वैशाखसम्म कार्यालयले एक अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलन गरिसकेको छ। त्यसमध्ये आयकर एक अर्ब सात करोड छ।
२०७०/०७१ को वैशाखसम्म पाँच हजार दुई सय करदाता थपिएको जानकारी प्रमुख कर अधिकृत उपाध्यायले दिए। यो वर्ष कार्यालयले सेवा शुल्कतर्फ शिक्षा र स्वास्थ्य क्षेत्रबाट पनि अपेक्षा गरेभन्दा बढी कर संकलन गर्न सकेको छ। दुई करोड १९ लाख स्वास्थ्य सेवा शुल्क उठाउने लक्ष्य लिइएकोमा दुई करोड ८६ लाख रुपैयाँ संकलन भएको छ भने शिक्षातर्फ तीन करोड ४८ लाख रुपैयाँ उठेको छ जबकि दुई करोड ४३ लाख रुपैयाँको लक्ष्य थियो।
२०६५/०६६ देखि अहिलेसम्मको शिक्षा शुल्क बुझाए ब्याज र जरिवाना नलाग्ने गरी सरकारले छुट योजना ल्याएको थियो। यही मौकामा प्याब्सनको समेत साथ लिएर कर कार्यालयले उल्लेख्य राजस्व संकलन गर्न सकेको हो।