काठमाडौं-मुस्ताङको लोमाङथाङमा ठूलो क्षेत्रफलमा युरेनियम खानीको सम्भावना देखिएको छ। खानी तथा भूगर्भ विभागले हालै एक साता लगाएर गरेको पहिलो चरणको अध्ययनमा उक्त क्षेत्रमा ठूलो परिमाणमा युरेनियमको सम्भावना देखिएको विभागका उपमहानिर्देशक हिफजुर रहमानले बताए।
'मुस्ताङको लोमाङथाङ क्षेत्रमा अध्ययन गर्दा बहुमूल्य युरेनियमको सम्भावना देखिएको छ,' उपमहानिर्देक रहमानले भने, 'योे क्षेत्रमा करिब १० किलोमिटर लम्बाइ र तीन किलोमिटर चौडाइमा युरेनियम रहेको भेटिएको छ।'
विभागका उपमहानिर्देशक हिफजुर रहमानकै नेतृत्वमा सिनियर डिभिजन इन्जिनियर धर्मराज खड्का, भूगर्भविद नरेश महर्जनसहितको टोलीले सम्भावित क्षेत्रको अध्ययन गरेको थियो। टोली जेठ १५ गते काठमाडौंै फर्केको थियो। अध्ययनका क्रममा लगभग चार हजार मिटर उचाइको लोमाङथाङ युरेनियमका लागि नयाँ क्षेत्रका रुपमा भेटिएको हो।
'लोमाङथाङको चट्टानको अध्ययन गर्दा युरेनियमको संकेत देखिएको छ,' खड्काले भने, 'थप अध्ययन गर्न आवश्यक छ।' टोलीले उक्त क्षेत्रको विभिन्न ठाउँमा अध्ययन गरेको थियो। युरेनियम भएका चट्टानबाट एक किसिमको किरण निस्किरहेका हुन्छन् जसलाई वैज्ञानिक भाषामा 'गामारेज' भनिन्छ। त्यो गामारेजलाई सिन्टिलेसन काउन्टर नामको मेसिनले रेकर्ड गर्न सक्छ। विभागले सोही मेसिनको प्रयोग गरेर युरेनियम खानीको प्रारम्भिक संकेत पाएको हो।
यो अध्ययन प्रारम्भिक चरणको भएकाले कति परिमाणमा, कति गुणस्तरीय छ भन्ने थाहा नभएको रहमान बताउँछन्। 'ठूलो क्षेत्रफलको भएकाले सम्भावना पनि धेरै देखिएको छ,' उनले भने, 'सतहमा १० किलोमिटर लम्बाइ र तीन किलोमिटर चौडाइमा युरेनियम रहेको देखिएको छ। त्यस्तो चट्टान थप फैलिएको छ वा छैन, विस्तृत अध्ययनपछि मात्र बताउन सकिन्छ।'
धेरै अध्ययन गर्न बाँकी भए पनि प्रारम्भिक चरणको अध्ययनले औद्योगिक सम्भावना देखिएको छ। युरेनियम क्षेत्र फैलिएको लम्बाइ, चौडाइ र गहिराइ, परिमाण तथा गुणस्तर पत्ता लगाएपछि 'कमर्सियल भाइब्रेन्ट' कस्तो भनेर थाहा हुने उनी बताउँछन्।
यो प्रारम्भिक चरण भएकाले थप अध्ययनका लागि सरकारसँग बजेट माग गरेको उनले जानकारी गराए। 'थप अध्ययनका लागि सरकारसँग ४५ दिनको कार्यक्रम बनाएर थप बजेट माग गरेका छौं,' रहमानले भने, 'सरकारले सहयोग गर्यो भने अर्को वर्ष युरेनियम क्षेत्रको थप अध्ययन हुन्छ।'
नेपालमा युरेनियम अन्वेषणको काम भने १९८० को दशकबाटै भएको थियो। लामो समय अन्वेषण भए पनि यसमा उल्लेख्य प्रगति भने हुन सकेको छैन। मकवानपुरको तीनभंगाले, बैतडी, बझाङको बगाबगर बागकोटमा पनि युरेनियम खानी भेटिएको थियो। यी क्षेत्रमा भने सानो 'डिपोजिट' रहेको रहमान बताउँछन्। यसै वर्ष पनि यी क्षेत्रमा थप अध्ययन गरिएको थियो। मकवानपुरको तीनभंगालेमा भने राम्रो गुणस्तरको युरेनियम भेटिएको थियो।
नेपालका विभिन्न ठाउँमा युरेनियम पाइने सम्भावना रहेको रहमान बताउँछन्। उनका अनुसार उच्च हिमाली भेग, चुरे र महाभारत क्षेत्रमा युरेनियमको धेरै सम्भावना छ। ग्रेनाइट चट्टान रहेको उच्च हिमाली क्षेत्रमा युरेनियमको धेरै सम्भावना हुन्छ। अन्य क्षेत्रमा सम्भावना भए पनि मुस्ताङमा ठूलो क्षेत्रफल र राम्रो देखिएकाले सरकारले यही क्षेत्रमा ध्यान दिनुपर्ने उनी बताउँछन्।
युरेनियम भण्डारण जोखिमपूर्ण हुने भूगर्भविद बताउँछन्। नेपाल र हिमाली क्षेत्र उच्च भूकम्पीय जोखिम क्षेत्र भएकाले नेपालमै युरेनियमको प्रशोधन, भण्डारण र प्रयोग जोखिमपूर्ण हुन सक्छ। युरेनियम उत्खनन गर्दा विशेषगरी वातावरणमा ख्याल गर्नुपर्ने उनीहरूको भनाइ छ।
महँगो धातु युरेनियम निर्यात गर्न सके अर्थतन्त्रमा ठूलो फड्को मार्न सकिने उनीहरू बताउँछन्। युरेनियमको बजारमूल्य १५० देखि २३० डलर प्रतिकेजी छ।
ठूलो क्षेत्र र राम्रो सम्भावना रहेकाले सरकारले यसलाई विशेष कार्यक्रम ल्याएर पनि अध्ययन र उत्खनन गर्नुपर्ने खड्का बताउँछन्। यसका लागि सरकार आफैंले गर्ने कि निजी क्षेत्रलाई दिने, वा विदेशी सहयोग लिने भन्ने निर्णय गर्नुपर्ने उनको धारणा छ। विशेष प्रविधि, विज्ञ र धेरै लगानी आवश्यक हुने भएकाले सरकाले विशेष कार्यक्रम बनाउनुपर्ने खड्काले जनाए।
नेपालमा अहिलेसम्म आणविक ऐन नबनेकाले निजी क्षेत्रलाई उत्खनन जिम्मा दिन समस्या रहेको रहमानले औंल्याए। 'युरेनियम अध्ययन र उत्खननका लागि सरकारले छिट्टै आणविक ऐन ल्याउनुपर्छ,' उनले भने। त्यसअघि 'सेफ्टी मेजरमेन्ट' ल्याउनुपर्छ। सरकारले करिब दुई वर्षअघि आणविक ऐन मस्यौदा गरेर कानुन आयोगमा पठाइसकेको छ।
के हो युरेनियम?
युरेनियम एक किसिमको धातु हो। यसको प्रयोग दुई किसिमले हुन्छ, इन्धनका रुपमा र पारमाणविक हतियार निर्माणमा। कैयौं देशले यसबाट बिजुली उत्पादन गरिरहेका छन्।
यसको उपयोग औषधीमा पनि हुन्छ। पहिले–पहिले रंगीन सिसामा पनि यसको प्रयोग गरिन्थ्यो। यस्तो प्रयोगले हानि गर्ने देखिएकाले अहिले प्रयोग गर्न छाडिएको खड्का बताउँछन्।
खड्काका अनुसार युरेनियम चट्टानमा हुन्छ र यो कहिलकाहीँ देखिने र नदेखिने रुपमा हुन्छ। कुन चट्टानमा युरेनियम छ भनेर रेडियोधर्मी विकिरणमार्फत थाहा पाउन सकिन्छ। यो चट्टानमा भएको यौगिकहरू कार्नोसाइड, युरानी साइड, अतिसाइडजस्ता यौगिक प्रशोधनबाट एलोकेट निकालिन्छ। त्यसलाई प्रोसेस गरेर युरेनियम निकालिन्छ। यसको पारमाणिक भार १९.०५ क्युबिक सेन्टर हुन्छ। यो विशेषगरी अक्साइड फर्ममा हुन्छ।
रहमानका अनुसार अस्ट्रेलियामा विश्वको सबैभन्दा ठूलो युरेनियम भण्डार छ। युरेनियम उत्पादनमा भने यो देश तेस्रो स्थानमा पर्छ। अस्टे्रलियाले आफूले उत्पादन गरेको सबै युरेनियम निर्यात गर्छ।