काठमाडौं-सरोकारवालासँगको छलफलपछि कम्पनी ऐन २०६३ को संशोधनको लागि मस्यौदा बनाउने काम सुरु भएको छ। विभिन्न ठाउँमा गरिएको छलफलमा उठेका सुझावलाई संकलन गरेर उद्योग मन्त्रालयले पहिलो मस्यौदा बनाउन लागेको हो।
ऐन संशोधन गर्नको लागि विराटनगर, नेपालगन्ज, बुटवल र काठमाडौंमा पहिलो चरणको छलफल गरिएको थियो। छफलछफलमा बार एसोसियसन, विभिन्न मन्त्रालयका निकायहको सहभागिता थियो। छलफलका क्रममा विभिन्न सुझावहरू आएको र त्यसलाई अध्ययन गर्दै मस्यौदा बनाउन लागेको उद्योग मन्त्रालयका सहसचिव जीतवहाजुर थापाले बताए।
छलफलका क्रममा कम्पनी रजिस्ट्रारको कार्यलयलाई विस्तार गरि आवश्यक क्षेत्रमा शाखा खोल्नुपर्ने सुझाव आएको छ। हाल कम्पनी रजिस्ट्रारको कार्यलय काठमाडौंको त्रिपुरेश्वरमा रहेको छ। कम्पनी दर्ता, खारेजी, वार्षिक प्रतिवेदन बुझाउने लगायतको काम यही कार्यलयबाट हुन्छ। केही समय पहिलादेखि अनलाईनमार्फत काम हुन थालेपछि भने राजधनीमै धाउनु पर्ने बाध्यता हटेको भए पनि कम्पनी दर्ता गर्दा बुझाउने पर्ने दस्तुर र प्रमाण पत्र लिनको लागि अहिले पनि त्रिपुरेश्वर नै आउनु पर्छ। यहि झन्झटलाई हटाउन शाखा विस्तारको माग सरोकारवालाबाट आएको छ।
त्यसैगरी कम्पनी रजिष्ट्रारको कार्यलयले अनलाइनमार्फत काम गर्दै आए पनि यसलाई ऐनमा समेट्न सकिएको छैन्। यस कार्यलयबाट हुदै आएका अनलाइन सेवालाई कम्पनी ऐनमा समावेश गर्न सुझाव आएका छन्।
छलफलका क्रममा कम्पनी खारेजीलाई सरलीकरण गर्नु पर्ने विषय पनि प्राथमिकताका साथ उठेको थापाले जानकारी गराए। दर्ता भएका सबै कम्पनी सञ्चालनमा आउँदैनन्। रेकर्डमा रहेका तर सञ्चालन नभएका कम्पनीलाई खारेज गर्दा हालको कम्पनी ऐनमा झन्झटिलो प्रक्रिया भएकाले यसलाई सरलीकरण गर्नुपर्ने सुझाव आएका छन्।
त्यसैगरी कम्पनीले कार्यलयलाई समयमै आवश्यक विवरण नपठाएमा लाग्ने जरिवानालाई पनि कम गर्नु पर्ने सुझाव सरोकारवालाहरूले दिएका छन्। ऐनले मागे बमोजिमका विवरण कम्पनीले कार्यलयलाई नबुझाएमा लगानी अनुसारको जरीवाना लाग्ने व्यवस्था ऐनमा छ। ऐनमा जरीवाना समयमै नबुझाएमा दोब्बर हुदै जाने व्यवस्था भएकाले दोब्बर हुने व्यवस्थालाई हटाउनु पर्ने सुझाव आएको छ।
'विभिन्न ठाउँ र सरोकारवालाले दिएका यस्तै विभिन्न सुझावलाई संकलन गरेर मस्यौदा ्क बनाउँदै छौं,' सहसचिव थापाले भने, ' मस्यौदा तयार भएपछि यसलाई पुनः सम्बन्धित निकायसँग फेरी छलफलमा लगिनेछ।' त्यसपछि आगामी आर्थिक वर्षमा मन्त्रिपरिषदमा लगिने लक्ष्यसाथ काम भइरहेको उनले जानकारी गराए।