काठमाडौं-एक महिनाअघि मुस्ताङको लोमान्थाङको फराकिलो क्षेत्रमा बहुमूल्य युरेनियम खानी रहेको प्रारम्भिक अध्ययन बाहिर आएपछि यसप्रति विश्वभरि नै चासो देखिएको छ। मुलुकभित्र यस्ता धेरै खानीको सम्भाव्यता अध्ययन भइरहेको छ तर उपयोग हुन सकेको छैन।
नेपालमा यस्ता खानी कति होलान्? खानी तथा भूगर्भ विभागको तथ्यांकअनुसार एक सय १४ वटा खानीले व्यावसायिक उत्खननका लागि अनुमति पाएका छन् भने सात सय ४५ खानीलाई खोजतलास अनुमति दिइएको छ।
चालु आर्थिक वर्षको फागुनसम्मको तथ्यांकअनुसार विभिन्न १३ किसिमका खनिजजन्य पदार्थका लागि खानी सञ्चालन अनुमति दिइएको छ। यी खानीमध्ये सबैभन्दा धेरै ४० चुनढुंगा खानीले सञ्चालन अनुमति पाएका छन्। त्यसैगरी १९ पत्थरकोइला, १३ टुर्मालिन, नौवटा खरी र कारनाइट, सात रातोमाटो, पाँचवटा मार्बल, तीनवटा क्वार्ज र क्वारजाइट, दुईवटा फलाम, सिसा, जस्ता तथा म्याग्नेसाइट खानीले सञ्चालन अनुमति पाएका छन्।
विभिन्न किसिमका १३ खानीमध्ये व्यावसायिक रुपमा चुनढुंगा खानी सफल भएको विभागका प्रवक्ता कृष्णदेव झाले बताए। विभागको तथ्यांकअनुसार हालसम्म १३ वटा चुनढुंगामा आधारित सिमेन्ट उद्योग सञ्चालनमा आइसकेका छन्। 'सरकारको सहयोग र सिमेन्ट उद्योगमा व्यावसायिक सफलताले चुनढुंगाा खानी राम्रो सञ्चालन भइरहका छन्,' झाले भने, 'सिमेन्टमा हामी आत्मनिर्भर बन्दै गएका छौं।'
धनकुटा, उदयपुर, सिन्धुली, मकवानपुर, ललितपुर, पाल्पा, स्याङ्जा, सल्यान, अर्घाखाँची, सुर्खेत, दाङलगायत जिल्लामा चुनढुंगा खानी छन्। यी चुनढुंगा खानीमा सडक र विद्युत पुर्याउने सहुलियत सरकारले दिएको छ। सरकारले तीन वर्षभित्रमा सिमेन्टमा आत्मनिर्भर हुने लक्ष्यसहित उद्योग स्थापना भइरहेकाले धेरै चुनढुंगा खानी सञ्चालनमा आएका छन्। चुनढुंगाको थप अध्ययन र खोजतलासका लागि विभिन्न ठाउँका दुई सय ४२ खानीले अनुमति पाएका छन्।
नेपालमा चुनढुंगापछि व्यावसायिकरुपमा सफल पत्थरकोइला खानी हो। दाङ, पाल्पा, रोल्पालगायत जिल्लामा १९ वटा खानी सञ्चालनमा रहेको र ३५ स्थानका लागि खोजतलास अनुमति पाएको तथ्यांकमा छ। पत्थरकोइला भारत निकास हुने र स्वदेशमा पनि यसको धेरै खपत भट्टीमा हुने भएकाले पत्थरकोइलाको राम्रो बजार रहेको झा बताउँछन्।
त्यसैगरी अलि धेरै चल्ने खानीमा काइनाट, क्वार्ज, टुर्मालिन, क्रिस्टल, जेम्स स्टोन छन्। कालिकोट, धादिङ, संखुवासभा, ताप्लेजुङ, दैलेख जाजरकोटका स्थानमा यी खानी छन्। विभिन्न गरगहना, औंठी, रंगीनपत्र आदिमा प्रयोग हुने यी चम्किला धातु बहुमूल्य हुन्छन्। कम गुणस्तरका यी वस्तुलाई धुलो बनाएर चम्किलो वस्तुका रुपमा प्रयोग गरिन्छ। भारतमा पनि निर्यात हुने यी धातुको प्रयोग बढ्दो छ।
खरी र रातोमाटोको खानी पनि राम्रोसँग सञ्चालन भएको झा बताउँछन्। खरीखानी खासगरी तनहुँ सिन्धुपाल्चोक, दोलखा, कास्की र रातोमाटो खानी सिमेन्ट उद्योग भएको ठाउँमा सञ्चालन भएका छन्। सिमेन्ट बनाउनका लागि रातोमाटो चाहिने भएकाले यसको माग बढ्दो छ। खरी धुलो बनाएर फिलरको रुपमा प्रयोग गर्न, कस्मेटिक पाउडर, साबुन, टुथपेस्ट र कागजमा यसको प्रयोग हुने झाले बताए।
यीबाहेक उत्खनन अनुमति पाएका फलाम, म्याग्नेसाइट, मार्बल, जस्ता, सिसाका खानी हाल सञ्चालनमा छैनन्। फलाम उत्पादनका लागि अनुमति पाएका पर्वत र रामेछापका खानीमा काम भइरहेको छ। वर्षौंदेखि स्थानीयले पनि आफैं प्रयोग गर्दै आएका यी खानी सरकारले सञ्चालन पहल गरे पनि अहिलेसम्म फलाम उत्पादन हुन सकेको छैन। धातुमा फलामखानीको सम्भावना धेरै भएको झा बताउँछन्। नेपालमा धेरै फलामखानी भएकाले यसबाट राम्रो आम्दानी लिन सकिने उनी बताउँछन्। हालसम्म ४५ वटा फलामखानीका लागि खोजतलास अनुमति दिइएको छ।
पहिला सञ्चालनमा रहेको नेपाल ओरेन्ट म्याग्नेसाइट अहिले बन्द छ। त्यसैगरी पहिला राम्रोसँग सञ्चालन भएको गोदावरी मार्बलखानी अहिले बन्द छ। मार्बलका लागि पाँचवटा खानीले सञ्चालन अनुमति पाएका छन्। मकवानपुर र काभ्रेमा मार्बलखानी छन्। त्यसैगरी रसुवामा रहेका जस्ता र सिसा खानी अहिले सञ्चालनमा छैनन्।
विभागको तथ्यांकअनुसार हाल नेपालमा ९६ हजार वर्ग किलोमिटरमा खनिजको सम्भावना देखिएको छ। यसमध्ये ४० हजार तीन सय वर्ग किलोमिटरमा खानी उत्खनन भएको छ।