काठमाडौं - वैदेशिक रोजगार विभागले नियमविपरीत काम गरेको भन्दै पछिल्लो तीन महिनामा ४१ म्यानपावर कम्पनीलाई कारबाही गरेको छ। विभागले कारबाहीस्वरुप कतिपय कम्पनीको दैनिक काम नै रोकिदिएको छ। केहीलाई सचेत गराएको छ भने कोही जरिवानामा परेका छन्। विदेश जाने कामदारसँग बढी रकम असुलेको, सम्झौताभन्दा फरक काम र कम्पनीमा पठाएको, सम्झौताअनुसार काम नगरेको र मापदण्डविपरीत कार्यालय सञ्चालन गरेको लगायत कसूरमा कारबाही गरिएको विभागले जनाएको छ।
कारबाहीमा पर्नेमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष हंशराज वाग्लेको पाथिभरा ओभरसिज प्रालिदेखि गत आर्थिक वर्ष धेरै कामदार पठाउनेमा तेस्रो नम्बरमा परेको प्याराडाइज, चौथो नम्बरको दि रिभर ओभरसिज प्रालिसमेत छ। प्याराडाइज तीन महिनाको अवधिमा दुईपटक रोक्कामा परेको विभागले जनाएको छ।
विभाग प्रवक्ता बद्रि कार्कीले कामदारको उजुरीको आधारमा र अनुगमन गर्दा नियमविपरीत चलेको भेटिएका म्यानपावरलाई कारबाही गरिएको बताए। वैशाखदेखि साउन ६ गतेसम्म अनुगमन गर्दा नियम नमान्ने र बढी रकम असुल्ने कम्पनीलाई कारबाही तीव्र पारिएको उनले बताए। कतिपय कम्पनीलाई कारबाहीस्वरुप सात दिनदेखि एक महिनासम्म काराबार गरिएको उनले बताए।
कारबाही भोग्नेमा पाथिभरा, दिपज्योति, अली, इस्ट वेष्ट, कम्पास (आलमदेवी), न्यु ग्लोबल, सिटिजन, युरो एसिया इम्प्लोयमेन्ट, माउन्टेन सन, जब सेन्टर, न्यु ब्लुस्टार, आर एन्ड आर ग्लोबल, एसोसिएट, वेलकम इन्टरनेसनल, किस्ट (फिस्टेल) त्रिवेणी ओभसिज कन्सर्न छन्।
त्यसैगरी प्याराडाइज, जब ट्र्याक, एसपिएम (भेरी बेस्ट ओभरसिज), एनएसओ कन्सल्ट, सुनेरा नेपाल, वर्ल्डवाइज, ह्वाइट पर्ल, केयर ह्युमन, स्विफ्ट गोर्खा, क्यापिटल, एनसिएफ, ट्रस्ट नेपाल, दि रिभर ओभरसिजलाई पनि विभागले कारबाही गरेको छ।
कारबाहीस्वरुप कारोबार रोक्कामा पर्नेमा नवजीवन इन्टरनेसनल, टि्रपल स्टार, गोर्खा नेपाल प्लेसमेन्ट, पाल्ही ओभरसिज, डिडी ओभरसिज, आस्था इन्टरनेसनल, प्याराडाइज, आरबी, गोर्खाज एसोसिएट, एसआरके ओभरसिज, एसआरएस ओभरसिज र खोजी रिक्रुटमेन्ट सर्भिस छन्।
श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले गलत क्रियाकलाप गर्ने म्यानपावरलाई कारबाही गर्न कडा निर्देशन दिएपछि विभागले कारबाहीलाई तीव्रता दिन थालेको हो। म्यानपावर कम्पनीले कामदार ठगेको गुनासो बढ्न थालेपछि अनुगमन र कारबाही सुरु गरिएको हो।
मन्त्री गुरुङले गल्ती काम गर्ने म्यानपावर कम्पनी सजायको भागीदार हुने बताए। पटकपटक कारबाहीमा परेका म्यानपावर कम्पनीको इजाजत पत्र रद्दसमेत गर्ने तयारीमा आफू रहेको उनले बताए। गुरुङले कामदारलाई दुःख दिने र ठग्ने कम्पनीलाई नछाड्न विभागलाई निर्देशन दिइसकेको बताए।
विभागले यसअघि विदेश जाने कामदारलाई तालिम दिने १२ वटा अभिमुखीकरण संस्थालाई मापदण्डविपरीत सञ्चालन गरेको भन्दै निलम्बन गरेको छ।
विभागको पछिल्लो तथ्यांकअनुसार २३ सय पाँचजना वैदेशिक रोजगारीको क्रममा ठगिएका छन्। चालु गत आर्थिक वर्षको ११ महिनामा एजेन्ट र म्यानपावर कम्पनीले विदेश पठाइदिने भन्दै २३ सय पाँचजनालाई ठगेको उजुरी वैदेशिक रोजगार विभागमा परेको छ। विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार ११ महिनामा व्यक्तिगत र संस्थागत गरेर विभागमा २३ सय पाँच जनाले ९३ करोड ५६ लाख ५३ हजार तीन सय ४५ रुपैयाँ दाबी गर्दै उजुरी दिएका छन्।
उजुरीमा सबैभन्दा बढी संस्थागत ठगीविरुद्ध उजुरी परे पनि व्यक्तिगत उजुरीमा दाबी रकम बढी छ। व्यक्तिगततर्फ आठ सय ९९ र संस्थागततर्फ १४ सय ६ उजुरी परेको छ। संस्थागतमा २४ करोड ३१ लाख ९० हजार तीन सय ८३ रुपैयाँ दाबी गरिएको छ भने व्यक्तिगतमा ६९ करोड २४ लााख ६२ हजार नौ सय ५९ रुपैयाँ छ।